ad ad

कला


‘सीता’ को भूमिका निभाएपछि समाजले लिइरह्यो दीपिकाको ‘अग्नि परीक्षा’

‘सीता’ को भूमिका निभाएपछि समाजले लिइरह्यो दीपिकाको ‘अग्नि परीक्षा’

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १३:४५, काठमाडौँ

रामायण रावणको वधसँगै सकिँदैन। लामो समय लंकामा कैद परेकी सीतालाई श्रीरामले रावणको वध गरी जब मुक्त गरे, तब सीताले ठूलो अग्नि परीक्षाबाट गुज्रिनुपर्‍यो। 

सीताको पवित्रतामाथि समाजमा निकै चर्चा-परीचर्चा भयो। एक धोबीले सीता लामो समय लंका बसेर आएकाले उनलाई पुन: रानी बनाउन नसकिने बताए। धोबीको कुरा सुनेर रामले सीताको अग्नि परीक्षा लिए।

सन् १९८७ मा रामानन्द सागरले सोही कृतिमा आधारित धारावाहिक नाटक 'रामायण' निर्माण गरेका थिए। उक्त नाटक नेपालमा पनि उत्तिकै लोकप्रिय थियो। नाटकका सबै पात्र लोकप्रिय बने। 'सीता'को भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलियाले पनि राम्रै प्रशंसा बटुलिन्। तर नाटकपश्चात् भने उनलाई सो भूमिकाले कम पीडा दिएन। समाजले पल-पलमा उनको अग्नि-परीक्षा लिइरह्यो।

सीताको भूमिका निभाएपछि समाजमा मानिसहरूले आफूलाई पात्रको चरित्रअनुसार नै बाँच्न दबाब दिएको उनी बताउँछिन्। उनी भन्छिन्, 'त्यसपछि मैले खुलेर बाँच्न पाइनँ।'

सार्वजनिक ठाउँमा उनले नाचेका र रमाएका भिडि‌ओ सामाजिक सञ्जालमा ट्रोल बन्न थाले। यो क्रम अहिले पनि नरोकिएको उनी बताउँछिन्।

समाजले आफूलाई पर्दाबाहिर पनि सीता माताकै रूपमा हेर्न चाहेको बताउँदै दीपिकाले जनताको त्यो चाहानामा सकेसम्म ठेस नपुगोस भनेर सचेत पनि भएको बताइन्। जसकारण आफ्ना व्यक्तिगत चाहना मार्नु परेको उनको गुनासो छ। 

दीपिकाले हालै एक अन्तर्वार्तामा भनेकी छिन् ‘पब्लिक फिगर भएकाले म आफ्ना फ्यान र उनीहरूको भावनामा चोट नपुगोस् भनेर प्रयास गर्छु। तर तिमीलाई सीता माताको रूपमा हेरौं, अन्य खालका काम नगर भन्ने सन्देश मलाई अझै आउँछ।’

उनले अगाडि भनेकी छिन्, ‘मलाई थाहा छ कि मेरो छवि र अनुहार देवी सीताको चरित्रको लागि चिनिन्छ, त्यसैले म अन्य काम  गर्ने बेला विचार गर्छु।  म मेरा फ्यानहरूलाई ध्यानमा राखेर सरल र मीठा भिडियोहरू बनाउँछु। त्यो गरीमालाई मैले सधैं सम्मान गरेकी छु।’

दीपिकाले थप भनिन् ‘भिडिओ हेरेर मानिसहरू दुःखी हुन्छन्। उनीहरूले बुझ्नुपर्छ म अभिनेत्री हुँ र मान्छे पनि हुँ। म सधैं उस्तै रहन सक्दिनँ।’

उनले पछिल्लो कामका बारेमा जानकारी दिँदै भनिन्, ‘मैले भर्खरै अरुण गोविलसँग एउटा फिल्म गरेँ, जसमा मैले क्रोधित गृहिणीको भूमिका निभाएकी थिएँ। जहाँ त्यो पात्र सधैं श्रीमानसँग झगडा गर्छ। एक अभिनेत्रीको हैसियतमा म सधैं फरक चरित्रको खोजीमा रहनेछु। मलाई यो स्वतन्त्रता चाहिन्छ। म पक्कै पनि मेरा फ्यानहरूको अपेक्षा पूरा गर्ने प्रयास गर्छु, तर उनीहरूले मेरो रोजाइको पनि सम्मान गर्नुपर्छ।’

८० को दशकमा प्रशारित रामानन्द सागरको रामायणमा दीपिकाले सीताको भूमिका निभाएकी थिइन्। त्यसपछि उनलाई भारतमा मात्रै होईन् हिन्दु धर्म मान्ने विश्वका धेरै देशमा सीता माताकै रुपमा हेरे। उनका पोस्टर बिक्री भए। तर, यसले दीपिकाको करियरलाई भने असर गरिरह्यो।

उक्त नाटकपछि उनले कहिल्यै आधुनिक युवतीको भूमिका पाइनन्।

रामायणबाहेक दीपिकाले रामानन्द सागरको सिरियल विक्रम एण्ड वेताल, दादा दादी की कहानी, लव कुश, द स्वर्ड अफ सुल्तान जस्ता शोमा काम गरेकी छिन्।

उनले सन् १९८३ मा फिल्म सुन मेरी लैला, १९८६ मा भगवान दादा, १९८९ मा बंगाली फिल्म आशा ओ भालोबाशा, १९८४ मा खुदाई, १९८६ मा गाल, १९८७ रात के अन्धारेमा काम गरेकी छन्।

दीपिकाको अन्तिम फिल्म ‘गालिब’ हो, जसमा उनले मुस्लिम महिलाको भूमिका निभाएकी थिइन्। यस बाहेक २०१९ मा अभिनेत्रीले आयुष्मान खुरानाको फिल्म बालामा काम गरेकी थिइन्, जसमा दीपिकाले यामी गौतमकी आमाको भूमिका निभाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .