उनकी आमा टीकादेवी रिजाल गीत गुनगुनाइरहन्थिन्। आमाले गुनगुनाएका गीत विजयले थुपै्र पटक सुनेका छन्। गायन उनको सपना थियो थिएन, कहिल्यै सुनाइनन्। एसएलसीसम्म पढेकी टीकादेवी इलाम, बरबोटेबाट बेलाबेला फिक्कल झर्थिन्। हरेक पटक घर फर्किंदा उनी गीतका क्यासेट बोकेर जान्थिन्। अनि धित मरुञ्जेल सुन्थिन्।
नारायणगोपाल, तारादेवी, मीरा राणा, बच्चु कैलाश, रामकृष्ण ढकालहरूलाई उनकी आमाले सानैमा खुब सुनेको कुरा सुनाउँथिन्। आमाले जम्मा गरेका तिनै गीत सुन्दै कवि विजय लुइँटेलको बाल्यकाल बित्यो।
‘त्यही गीतहरूले ममा साहित्यको रस भरिदिएको हो,’ विजय सम्झना गर्छन्, ‘परिवारका लागि गृहणी मेरी आमा मेरा लागि गुरु हुनुहुन्थ्यो।’
हिजोआज विजय आफ्ना पुराना कागजात पल्टाएर हेर्छन्, त्यहीँ भेटिन्छ एउटा प्रमाणपत्र। जुन प्रमाणपत्रमा लेखिएको छ, प्रथम कवि विजय लुइँटेल। उनले यो प्रमाणपत्र कक्षा ५ मा पढ्दै पाएका रहेछन्। उनी सम्झिन खोज्छन्, कस्तो कविता थियो होला त्यो, याद आउँदैन। त्यसपछि लगभग ५ वर्ष उनले कविता लेखेनन्।
उनका बुवा कविता लेख्थे। साहित्यका किताब पढ्थे। घरमा साहित्यिक पुस्तकको सानोतिनो लाइब्रेरी नै बनेको हुन्थ्यो। विजय बुवाका कविताका डायरी पल्टाउँथे। बुवाले दराजमा मिलाएर राखेका साहित्यका किताब पढ्थे। उनका बुवाले कविता लेखेर पनि मञ्च खोजेनन्, संग्रह निकालेनन्। उनमा त्यो रहर भएन अथवा जिम्मेवारीले थिचिए, विजयलाई थाहा छैन। विजय भन्छन्, ‘मैले चुपचाप सिर्जना गर्ने प्रेरणा बुवाबाटै पाएको हुँ।’
इलाम सूर्योदय–६, फाजी गाउँका स्थायी बासिन्दा विजयको बाल्यकाल भक्तपुरको सानोठिमीमा बित्यो। उनका बुवा डिल्लीराम लुइँटेल सरकारी जागिरे थिए। बुवाको सरुवासँगै भक्तपुर आएका विजयले भक्तपुरकै हिमचुली एकेडेमीबाट एसएलसी पास गरे। उनी भन्छन्, ‘त्यसपछि बल्ल मेरो कविता लेखन यात्राले गति लिएको हो।’
११ कक्षा भर्ना भएपछि उनले चेतन भगतको ‘रिभोलुसन ट्वान्टी ट्वान्टी’ किताब पढे। अंग्रेजी र हिन्दी साहित्य खोजीखोजी पढ्न थाले। गुल्जारबाट प्रेरित भए। यसपछि उनलाई लाग्यो, साहित्यमा त सानो सानो कुरा पनि सुन्दर तरिकाले भन्न सकिने रहेछ। स्नातक भर्ना भएसँगै उनले आफ्नै ब्लग खोले, त्यहीँ कविता लेख्न थाले। २०८० सालमा उनले कविता संग्रह नै प्रकाशन गरे। उनको पहिलो कविता संग्रह ‘समयका खुकुला चप्पल’ आफैँले लगानी गरेर निकालेका हुन्।
सुरुमा त विजयले कविताको पाण्डुलिपी बोकेर थुप्रै पब्लिकेसन धाए। उनीहरूले कविता कस्ता छन् भनेर हेरेनन्। केवल भनिरहे, ‘१ लाख लाग्छ हामी कविता छापिदिन्छौँ।’ पब्लिकेसन अनुसार रेट फरक थियो, भनाइ उस्तै।
प्रकाशन नेपालयले भने एक वर्षका लागि किताब निकाल्ने सेड्युल बनिसकेकोले पर्खिन भनेको थियो। विजय सुनाउँछन्, ‘नेपालयको रेस्पोन्स भने राम्रो थियो। एक वर्ष कुर्न भन्नु भएको थियो। मैले एक वर्ष पर्खिन सकिनँ।’
विजयले ब्याचलर्स पढ्दै गर्दा एक विज्ञापन एजेन्सीमा काम गरेका थिए। त्यहीँ कमाएर जोगाएको थोरै पैसामा उनका बुवाले थपथाप पारिदिए। यसरी उनको पहिलो कविता संग्रह निस्कियो। तर, उनका कविता पब्लिकमा पुग्न सकिरहेका थिएनन्। त्यही बेला कविताको रियालिटी सो ‘द पोयट आइडल’को दोस्रो सिजनको अडिसन खुल्यो। विजयले सोचे, मेरा कविता अडियन्ससम्म पु¥याउने सबैभन्दा राम्रो स्थान यही हो।
अहिले उनी ‘द पोयट आइडल’को दोस्रो सिजनको फाइनलिस्ट भएक छन्। फाइनलसम्मको यो यात्रामा विजयले केही नयाँ कविता लेखे। केही नयाँ प्रयोगको साक्षी भए। अनुभूति नै गर्न नसक्ने विषयमा कविता लेखे। उनी भन्छन्, ‘यो यात्रा सुन्दर तर कठिन पनि थियो।’ विजय फाइनलसम्म आइपुग्दा एकपटक पनि बटममा परेनन्। धेरैले उनलाई उपाधि दाबेदारका रुपमा लिएका छन्।
तिमी छोरा भन्छौ, म धम्की सुन्छु
म बा भन्छु, तिमी अर्ती सुन्छौ
बा यो के पाउने लालसा हो?
विजयले पोयट आइडलको मञ्चमा सुनाएको यो कविता सुनेर निर्णायक कवि उपेन्द्र सुब्बा अवाक् भए।
उनी भन्छन्, ‘बाको कविता, हात्ती र माउतेको संवाद र देखिन खोज्नेहरूको भीड कविताले म आफैंलाई छोएका छन्। यी कुरा म घरमै बसेर म लेख्न सक्दैनथेँ। घरमा नसिकिने कुरा पोयट आइडलको यात्राले सिकाएको छ।’
विजयसँग कवितामाथि अभिनय गर्ने कला थिएन। सुरुसुरुमा उनलाई डर लागेको थियो। तर केकी अधिकारी र अनुप बराल उनका लागि सहयोगी बनिदिए। कविता लेखनमा कवि विप्लव प्रतीक र उपेन्द्र सुब्बा जज कम, गुरु ज्यादा भइदिए। विजय भन्छन्, ‘यहाँ जसरी कविता लेखियो, त्यसरी कहिल्यै सोचेकै थिइनँ।’
यो यात्रामा विजयले आफ्नै कवितासँग समय बिताउन पाए। आफैँले लेखेका कवितासँग प्रेम गर्न पाए। ‘प्रेम पोख्न कविता लेख्नु र प्रेमले कविता लेख्नुको अनुभूति फरक हुँदो रहेछ,’ विजय सुनाउँछन्।
नतिजा कस्तो आउँछ विजयलाई थाहा छैन। तर, अहिलेसम्म पाएको दर्शकको साथ, जज र दर्शकबाट पाएको प्रतिक्रियाले उनी उत्साहित छन्। भन्छन्, ‘नतिजा कस्तो आउँछ थाहा छैन। यहाँसम्मको यात्रा तय गरेपछि जितौँ भन्ने त भइहाल्छ।’
Shares
प्रतिक्रिया