ad ad

कारोबार


क्रिप्टो अर्बपति झाओ : विश्वका २५औँ ठूला धनी, जेलबाटै जोड्दै छन् अर्बौँ सम्पत्ति

क्रिप्टो अर्बपति झाओ : विश्वका २५औँ ठूला धनी, जेलबाटै जोड्दै छन् अर्बौँ सम्पत्ति

चाङपेङ झाओ (photo: x @JakeGagain)


जेभियर पेज र स्टिभन अलिच
असार ८, २०८१ शनिबार १२:३२, काठमाडौँ

क्रिप्टोका अनुरागीमाझ सीजेटले परिचित छन् बाइनान्सका संस्थापक चाङपेङ झाओ। उनका लागि जेल समय पनि फलीफाप सिद्ध भइरहेको छ। जेल गएपछि पनि उनको सम्पत्ति वृद्धिमा कुनै असर परेको छैन। बरु उल्लेख्य मात्रामा बढेको छ। 

शुक्रबारको फोर्ब्स रियलटाइम नेटवर्थ हेर्ने हो भने उनीसँग ६० अर्ब २० करोड अमेरिकी डलर सम्पत्ति छ। फोर्ब्सको अर्बपति सूचकांकअनुसार उनी विश्वका २५औँ ठूला धनी व्यक्ति हुन्। क्रिप्टो क्षेत्रमै अर्का धनाढ्य व्यक्ति भने क्वाइनबेसका संस्थापक ब्रायन आर्मस्ट्रंग हुन्। ब्रायनसँग शुक्रबारसम्म १० अर्ब २० करोड अमेरिकी डलर सम्पत्ति छ। 

सीजेटको सम्पत्ति वृद्धिका दुई पाटा छन्। पहिलो संसारकै ठूलो क्रिप्टो एक्सचेन्ज बजार बाइनान्समा उनको ९० प्रतिशत स्वपुँजी छ। जसको बजार मूल्यांकन ३३ अर्ब अमेरिकी डलर छ। उनले सन् २०२३ नोभेम्बरमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए। 

अमेरिकी ‘डिपार्टमेन्ट अफ जस्टिस’सामु सम्पत्ति शुद्धीकरण र प्रतिबन्ध उल्लंघनको आरोप स्वीकारेपछि उनले पद छाडेका थिए। उनको कम्पनीले यस मुद्दामा ४.३ अर्ब डलर अमेरिकी सरकारलाई जरिवाना तिरेको थियो। यद्यपि यसले झाओको सम्पत्तिमा धेरै क्षति गरेन। उनले ५ करोड डलर मात्रै तिर्नुपर्‍यो। आफूविरुद्धका आरोप स्वीकारेको ६ महिनामा बाइनान्स व्यापार आयतनका हिसाबले विभिन्न क्रिप्टो एक्सचेन्जमाझ अझ शक्तिशाली बन्न पुग्यो। 

‘द ब्लक’बाट प्राप्त तथ्यांकअनुसार विभिन्न एक्सचेन्जमाझ बाइनान्सको हिस्सा बढेर उनले सीईओ छाडेको छ महिनामै ४२ प्रतिशत पुगेको छ। उनले आफ्नो मुद्दा सल्टाउनु २ महिनाअघि बाइनान्सको हिस्सा औसतमा ३८ प्रतिशत थियो।  

सीजेटको कुल सम्पत्तिमा ठूलो परिवर्तन ल्याउने कारक भने उनको एक्सचेन्जले जारी गरेको बीएनबी टोकनमा रहेको उनको व्यक्तिगत सेयर हो। हाल कुल १४ करोड ७५ लाख बीएनबी टोकनहरु सर्कुलेसनमा हुँदा त्यसको ६४ प्रतिशत अर्थात् ९ करोड ४० लाखको स्वामित्व उनमा रहेको फोर्ब्सको आकलन छ। ती टोकनमध्ये ७१ प्रतिशत स्वामित्व बाइनान्सको छ। 

एक्सचेन्जको कानुनी झमेलाका बाबजुद बीएनबीको मूल्य उच्च वृद्धिदर (१०० प्रतिशत)मा छ। जसले बिटक्वाइन (५४ प्रतिशत माथि), इथर (५३ प्रतिशत माथि) र सलाना (४९ प्रतिशत माथि)लाई पछि पारिदिएको छ। बीएनबीले भर्खरैमात्र ७ सय १४ अमेरिकी डलरको उच्च मूल्य सीमा छोएको थियो। जसले यसको बजार पुँजीकरण १ खर्ब १० अर्ब अमेरिकी डलर पुर्‍याइदियो। 

के हो बीएनबी? 
बीएनबी भनेको बाइनान्स क्वाइन हो। सन् २०१७ मा सीजेटलाई नयाँ एक्सचेन्ज ल्याउन पैसा जम्मा गर्ने माध्यमका रुपमा ल्याइएको थियो।

बीएनबीजस्ता टोकनहरु क्रिप्टो परियोजना सञ्चालन गरिरहेका डेभलपरहरुले बनाएका हुन्। यो कुनै पनि कम्पनीमा रहेको खुद स्वपुँजी सेयरभन्दा एयरलाइन माइलेज लोयल्टी प्वाइन्ट्ससँग बढी मिल्छ। यिनीहरु क्रिप्टो एक्सचेन्जमा सेयरजस्तै कारोबार हुन्छन् भने लगानीकर्ताले यसको देखभाल गर्छन्।

यस्ता टोकनले स्वामित्व नदिए पनि वाहकलाई पुरस्कृत गर्छन् जो भनेका ग्राहक नै हुन्। उनीहरुले यसको व्यापारमा छुट पाउँछन्। नयाँ क्रिप्टो खातावाहकलाई लिन यसलाई इन्सेन्टिभ (सुविधा)का रुपमा लिने गरिन्छ। यी टोकनहरु सेयरजस्तै गरी प्रयोग गरिँदै आएको छ किनभने यहाँ पब्लिक इक्विटी हुँदैन।

अमेरिकाको धितोपत्र विनिमय आयोग (एसईसी)ले पनि यसलाई यहीरुपले लिएको देखिन्छ। अहिले बाइनान्सविरुद्ध एक दर्ताविहीन धितोपत्रको रुपमा अमेरिकी ग्राहकलाई यसको बिक्री गरेको आरोपमा एसईसीले मुद्दा हालेको छ। 

चाङपेङ झाओ (४७)ले दुई माध्यमबाट बीएनबी थुपारेका छन्। सन् २०१७ मा बाइनान्स खडा गरिएको थियो। उनी र उनका सहसंस्थापकहरुले २० करोड बीएनबीको आपूर्तिमा ८ करोड बीएनबी प्राप्त गरेका थिए। फोर्ब्सको ग्रे वुल्फ अनालिटिक्ससँगको वालेटहरुको फरेन्सिक विश्लेषणले पनि ८ करोड टोकनमध्ये ४ करोड ६२ लाख कम्पनीको नियन्त्रणमा छ। बाइनान्समा ९० प्रतिशत स्वामित्व रहेकाले सीजेटसँग मात्रै ४ करोड १६ लाख टोकन रहेको विश्लेषण छ। 

त्यस्तै सीजेटको सम्पत्ति आर्जनको अर्को माध्यमबारे भने अझै अस्पष्टता छ। सन् २०२३ अक्टोबरमा गरिएको फोर्ब्स र ग्रे वुल्फसँगको अनुसन्धानले बाइनान्सको आईसीओ सुरुमा खरिद गरिएको नै थिएन जसले सीजेट र उनको कम्पनीलाई नबेचिएका सेयरलाई आफूले नियन्त्रणमा रहेका वालेटमा राख्न दियो।

सन् २०१७ मा बाइनान्सले १० करोड बीएनबी प्रतिएक मूल्य ०.१५ अमेरिकी डलरमा बेचेर डेढ करोड डलर संकलन गरेको दाबी गरेको थियो। फोर्ब्सको पछिल्लो विश्लेषणले १ करोड ८ लाख बीएनबीभन्दा बढी बिक्री नभएको र ५० लाख डलरभन्दा कम मात्र संकलन गरेको देखाएको छ। 

आफ्नो आधिकारिक श्वेतपत्रमा बाइनान्सले बिक्री नभएका टोकनहरु के हुने भन्ने खुलाएको छैन। आईसीओ लगानीकर्ताका लागि क्रिप्टो संसारमा यही श्वेतपत्रलाई सूचनापत्र मानिन्छ। अन्ततः फरेन्सिक विश्लेषणले ती टोकन बाइनान्स स्वामित्वको वालेटहरुमा राखिएको नै देखिन्छ। आज यी वालेटहरुमा ५ करोड ८० लाख बीएनबी रहेको देखिन्छ। जसको मूल्य प्रतिबीएनबी ५७८.७९ डलरको शुक्रबारको मूल्यअनुसार साढे ३३ अर्ब अमेरिकी डलर हुन आउँछ। 

सीजेटको ९० प्रतिशत स्वामित्वका कारण उनीसँग ५ करोड २० लाख माथिको थप बीएनबी रहेको देखिन्छ। यसअनुसार उनले झण्डै ९ करोड ४० लाख बीएनबी टोकनको स्वामित्व लिएका छन्। 

बाइनान्सका संस्थापकको सेयर ५६ अर्ब ६० करोड डलरबराबर हुने भए पनि यदि उनले यसलाई बिक्री गर्न खोज्दा समेत उनले त्यो सबै रकम पाउने सम्भावना कमै देखिन्छ। यसमा फोर्ब्सले ५० प्रतिशत तरलता छुट गरेर हिसाबकिताब गरेको थियो। अहिले बीएनबीको व्यापार आयतन प्रतिदिन टोकनहरुको मूल्य १.६ अर्ब डलरजतिमा भइरहेको छ। 

विश्वभर २० करोड ग्राहक रहेको दाबी गरे पनि बाइनान्सबारे कम मात्र थाहा भएको छ। किन कि यसको अडिट नै भएको छैन र ५३ प्रतिशतभन्दा बढी बीएनबी कारोबार बाइनान्सको आफ्नै एक्सचेन्जमा हुने गरेको छ। अघिल्लो महिना बीएनबी ५ प्रतिशतले बढेको थियो।

त्यो भनेको बाइनान्सका संस्थापकका लागि ३ अर्ब डलर आर्जन हो। त्यसकारण जब उनले ४ महिनाको जेलसजाय काट्छन्, क्यालिफोर्नियामा रहेको लोम्पोक २ जेलको आँगनबाट उनको अर्बौँ सम्पत्ति बढिरहेको देख्नेछन्। फोर्ब्सबाट भावानुवाद

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .