ad ad

कला


गाउँ आएको बाटो : ‘विकास’ले उठीवास लगाएका गाउँलेहरूको कथा

गाउँ आएको बाटो : ‘विकास’ले उठीवास लगाएका गाउँलेहरूको कथा

श्रीजु सरल
जेठ २७, २०८१ आइतबार १९:५, काठमाडौँ

जसलाई फिल्म बनाउनका लागि कथा भन्नु छैन। बरु कथा भन्नका लागि फिल्म बनाउँछन्। उनै नवीन सुब्बाको नयाँ नेपाली फिल्म 'गाउँ आएको बाटो' अन्तर्राष्ट्रिय भ्रमण गरिसकेर यतिबेला स्वदेश आइपुगेको छ। हिजै शुक्रबारबाट क्यूएफएक्स लगायत देशभरका हलहरूमा सुब्बा निर्देशित 'गाउँ आएको बाटो' प्रदर्शनरत छ।

त्यसो त सुब्बाको यो चौथो फिचर फिल्म हो। यद्यपि, नेपाली दर्शकले उनलाई विशेषगरी आजभन्दा दुई दशकअघिको फिल्म 'नुमाफुङ'का लागि चिन्ने गर्छन्। आदिवासी तथा उत्पीडित समुदायका कथा भन्न रुचाउने निर्देशक सुब्बा कथावाचनका नेपाली मौलिक शैली खोज्नुपर्ने बताउँछन् र उनका सिनेमाले त्यो प्रयत्न गरिरहेको महसुस पनि दर्शकलाई हुने गरेको पाइन्छ। आउनुस्, अब भने उनको चौथो फिचर 'गाउँ आएको बाटो'कै यात्रामा लागौँ।

कथा
भोजपुरको एउटा पहाडी गाउँको राई बस्तीमा माइला र उसको सानो-सुखी परिवार बस्छ। बाँस मज्जाले पाइने उक्त ठाउँमा बाँसकै सामग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएको माइला अचानक गाउँमा बाटो आएपछि बेरोजगार र बेकम्मा हुन्छ। उसको सानो र सुखी परिवार अझै सानो हुन्छ तर न सुखी नै रहन्छ न त बस्तीमा बसिरहन नै सक्छ। तर किन? यही प्रश्नको जवाफ नै फिल्मको कथा हो।

पटकथा
विश्वका अधिकांश सिनेमाका पटकथा फ्राइटग्स पिरामिडमा पुगेर ठोक्किन्छन् या त फेरि लेख्न बस्दा नै सोही पिरामिडलाई आधार बनाइएका हुन्छन्। १९औं शताब्दीका प्रसिद्ध साहित्यकार गुस्ताभ फ्राइटगले पटकथा लेखनका लागि तयार पारेको संरचनागत सिद्धान्त 'फ्राइटग्स पिरामिड' को नामले प्रख्यात छ। यस संरचनामा सुरुमा केही हुन्छ (उद्घाटन) जसले पात्रमा तनाव (उत्साहन) सिर्जना गर्ने काम गर्छ। त्यही तनावले चरम रूप लिँदा द्वन्द्व (उत्कर्ष) सिर्जना हुन्छ। त्यस द्वन्द्वको दौरान पात्रले केही यस्तो कुरा सिक्छ वा पत्ता लगाउँछ (उत्खनन्) जसको फलस्वरूप उसको जीवनले नयाँ मोड (उपज) लिन पुग्छ।

गाउँमा बाटो आउनु, बाटोले आधुनिकता भित्र्याउनु, आधुनिकताले सपनाको काउकुती लगाउनु, सपनाको भ्रम टुट्नु र यथार्थमा पछारिनु! गाउँ आएको बाटोको पटकथा पनि सोही पिरामिडमा पुगेर ठोक्किएको देखिन्छ।

तर, कारण र प्रभावको सिद्धान्त फ्राइटगको भन्दाअघि विज्ञान र त्यसभन्दा पनि अघि प्रकृतिको सिद्धान्त हो। बाँकी रह्यो पटकथामा दृश्यहरूको गठन वा भनूँ सिलसिला कति प्राकृतिक लाग्छ? कति स्वाभाविक र विश्वसनीय लाग्छ? र यो प्रश्नको चित्तबुझ्दो जवाफ दिन फिल्म सफल छ। अथवा भनूँ पात्रको हरेक क्रियाकलाप वा निर्णयको एउटा धरातल छ। जुन धरातलमा टेकिएर पात्रद्वारा ती घटित हुन्छन्।

जस्तो, बेरोजगार भएको माइला अचानक निद्राबाट ब्युँझेर वा चोया बुन्दाबुन्दै उठेर भाले बेच्न हिँडेको छैन। पीडाको वेगमा रन्थनिएर चोया फाल्दा 'झण्डै मारिनस् माइला' भन्ने भावमा भाले उफ्रिएको छ! र त्योभन्दा पनि अघि भाले मर्नुको मोलबारे उसले कतै कोहीसँग संवाद गरेको थियो, अनायासै तर, कारणवश!

उसको चोया रङ्ग्याउने उपाय होस् या फेरि गाडीको बाटो छेक्ने बिन्द्रको जुक्ति। लाउरेले बिन्द्रलाई सित्तैमा कोक पिलाउनु, त्यो पनि जम्बो! यसको पछाडि पनि केही कारण छ, उसको मनको विज्ञान छ। सायद ऊ बिन्द्रलाई हतियार बनाएर उसको बाबुबाट केही काम निकाल्न चाहन्छ!

अनि दृश्यमा नदेखिने माइलाकी हराएकी छोरी- ऊ पनि यसै पटकपटक संवादहरूमा आएकी छैन। अन्तर्मुखी स्वभावको माइला अक्सर अनकनाई अनकनाई बोल्छ। ऊ शान्त र लजालु स्वभावको छ। तर, यही पात्रको बेलाबेला रौद्र रूप देख्न पाइन्छ। उसले तबतब खुकुरी उज्याएको छ जबजब कसैले उसको छोरोलाई दु:ख दिएको हुन्छ। कतै बिन्द्रकी दिदी हराउँदा बिन्द्रकै उमेरकी त थिइन?

पात्रहरूको हरेक गतिविधिको सिलसिला मनोवैज्ञानिक लाग्छ, स्वाभाविक लाग्छ। जसले पटकथालाई स्पष्ट र सलल बग्न धार दिएको छ।

कथावाचन
लिनियर शैलीमा उत्तरोत्तर कथा भन्ने यो फिल्मले दुईवटा कथालाई सँगसँगै भनेको छ। एउटा कथा माइलाको आँखाबाट वाचन भएको छ भने अर्को बिन्द्रको।

माइलाको आँखाबाट भनिएको कथा निबन्धजस्तो छ। जसले हामीलाई यथार्थसँग बढी ठोकाउँछ। भोगाइसँग संगत गराउँछ। वर्तमानसँग साक्षातकार गराउँछ। उता बिन्द्रको आँखाबाट भनिएको कथा कविताजस्तै लाग्छ। जसले हामीलाई स्मृतिहरूमा लिएर जान्छ, कल्पनाहरूमा भुलाउँछ। भविष्यको सपना देख्न घचघच्याउँछ। यसरी, फिल्ममा अगलबगलमा बाबु र छोरा दुवैको कथा समानान्तर बगिरहेको छ।

खैर, बिन्द्रको स्वप्निल कथावाचनलाई माइलाको हैसियतको यथार्थले पूरा हुन दिँदैन। त्यसैले, 'गाउँ आएको बाटो' बाबु-छोराको कथा हुँदाहुँदै पनि बाबुको कथा ज्यादा हो। आखिर, भविष्य भ्रम मात्रै न हो, सत्य त बस् वर्तमानमा छ।

कथावाचनको कुरा गर्दा वाचनशैलीको कम पात्रको कुरा ज्यादा आएको त होइन? अवश्य हो। तर यसको कारण छ। पटकथाकार महेश राईसँगै निर्देशक सुब्बाको आफ्नै पनि लेखन रहेको यो फिल्म अलि पृथक लाग्छ। लाग्दैन कि सुब्बाले कथा भेटेपछि बल्ल पात्र कल्पिएका हुन्। बरु यस्तो लाग्छ पहिला उनले पात्र भेटे र त्यही पात्रले मानौँ उनलाई आफ्नो कथा सुनायो!

यदि कथालाई पहाड र पात्रलाई त्यसकै कापकापमा उम्रिएका लहरा मान्न सकिन्छ भने उनी पहरा फोडेर लहराको जग खोस्रिने बाटोमा लागेनन्। बरु, लहरा ताने र पहाड आफै थरथराउन, गर्जिन थाल्यो। वास्तवमा हुन पनि कथाले पात्रलाई बोक्ने होइन, बरु पात्रले नै कथा बोक्ने हो।

त्यसैले, गाउँ आएको बाटोमा निर्देशक गौण लाग्छन्। पात्रहरू टड्कारो लाग्छन्। बिन्द्रले चस्मा लगाएपछि देखेको घुर्मैलो संसार दर्शकले पनि देख्छन्। लाउरेको पोखरीमा देखिएको प्रतिविम्ब पनि माइलाले देखेको

दृश्य हो। यसो भन्न सकिन्छ, सुब्बाले फिल्ममा आफ्ना मुख्य पात्रहरूलाई खुलेर बग्ने पर्याप्त बाटो दिएका छन्। तर, तिनले पर्याप्त बग्न पाउँदै गर्दा समाजका अन्य पात्र अथवा समाज खोल्सो बनेका हुन् कि? खुम्चिएका हुन् कि? छिटपुट रूपमै सही बाटोले निम्त्याएको द्वन्द्वमा उजस्तै अर्को कुनै पात्रले पनि पिसिनु परेको देखाउन सकिएको भए मुख्य पात्रकै कथा-व्यथालाई त्यसले अझै प्रखर रूपमा उजागर गर्ने थियो कि? तर, त्यति सानो कुराको अभावले एउटा प्रश्न जन्माइदिएको छ- माइलालाई मात्रै सबै समस्या किन? कारण उही- यो पात्रकेन्द्रित सिनेमा हो। जीवन्त कथावाचनका लागि यो योगदायी माध्यम पनि हो जसलाई फिल्मको अनेक सबल पक्षले साबित समेत गरिसकेको छ।

यद्यपि, मुख्य पात्रको संघर्षलाई हरेक कोणबाट निस्सन्दिग्ध तुल्याउन अन्य केही वा अर्को कुनै पात्रमा पनि त्यो संघर्षको बाछिटा देखाउन सकिन्थ्यो।

पात्र 
त्यसो त सुरुदेखि नै पात्रहरू तपसिलका रूपमा आइराखेकै हुन्। अब भने तिनकै विषयमा कुरा गरौँ। पहिला त पात्रवृत्तबाटै सुरु गरौँ। यस फिल्ममा कुनै पनि पात्रमा चारित्रिक परिवर्तन आएको छैन। चरित्रको आधारमा हेर्ने हो भने हरेक पात्रहरू सिधा रेखामा हिँडेका छन्। मानौँ पात्रहरू पानीमा नउमालिएका वा रङमा नभिजाइएका बाँसको चोया हुन्। सुरुदेखि अन्तिमसम्म कुनै पनि पात्रले आफ्नो चरित्र फेरेको छैन, स्वभाव छोडेको छैन।

खैर, कथाले निम्त्याउने द्वन्द्वमा परेर उनीहरूको पारिस्थितिक पात्रताले भने एउटा नकारात्मक वृत्त बनाएको छ। चरित्र नफेरिए पनि वा हुनसक्छ चरित्र नफेरिएकै कारण (मुख्य) पात्रहरूको परिस्थिति फेरिएको छ।

बाबु पात्र, माइला। उसका लागि दुई थोक सबैभन्दा महत्त्वपूर्ण छ। एउटा आत्मसम्मान र अर्को छोरो! छोरो बिन्द्रलाई माइलीले पिट्दा रोउँलाझैं गर्ने माइला पहिलोपटक छोरोलाई आफैले हात त्यतिबेला उठाउँछ जब ऊ जेल पर्छ। छोरोकै रहर पूरा गर्ने सूरमा हिँड्दा ऊ अपमानजनक तरिकाले समातिन्छ। अपराधी करार गरिन्छ। मानौँ, एउटा हातमा उसले आत्मसम्मानको लौरो (बाँसको?) समाएको छ र अर्को हातमा छोरोको हात। र जतिबेला उसले त्यो कठोर निर्णय लिएको छ त्यतिबेला उसको दुवै हात खाली छन्।

उसका लागि आत्मसम्मान यति महत्त्वपूर्ण छ कि पेमाकहाँबाट डालो नबोकेरै ऊ घर फिरिदिन्छ। कतै सत्कारको जाँड त्यसै छोडिराखेर निस्किदिन्छ त कतै जिल्लापारि पुर्‍याएको भारी सँगसँगै फर्काएर ल्याइदिन्छ। आफ्नो श्रम, समय र सीप आशासँग बेच्न उसको स्वाभिमानले दिँदैन। उसको चोयाको सीप, गाउँप्रतिको लगन र असल मान्छे हुनुको इमानको कदर नहुँदा ऊ अपमानित महसुस गर्छ। र यो स्वाभिमानी स्वभावलाई उसले अन्तिमसम्म पनि आफूसँगै लिएरै हिँडेको छ।

उसको छोरो बिन्द्रको चरित्र पनि लगभग उस्तै छ। त्यसो त आमाले पनि त्यही नै भन्छे- जस्तो बाबु, उस्तै छोरो! तर, बालसुलभ मनोविज्ञानले उसलाई झुटो बोल्न पनि लगाएको छ जुन उसको बाबुको भन्दा फरक छ।

आत्मसम्मानमा लागेको चोटको भरपाइ बाबु श्रम र कर्मद्वारा गर्न खोज्दै गर्दा यता छोरो भने बठ्याइँ, बिठ्याइँ, झुट र घुर्कीद्वारा गर्न खोज्छ। तायाको पछि लागेर आफूलाई एक्ल्याएको बदला ऊ कोक पिलाएर लिन्छ साथीहरूसँग। तिनलाई लेफ्ट राइट गराएर, उठकबैठक गराएर असुल्छ आफ्नो आत्मसम्मानको मूल्य।

तायाको पासँग पनि त उसले झुटको साहाराले असुलेको थियो आफ्नो स्वाभिमानको मूल्य! जे होस्, उसको बाबुजस्तै बिन्द्र पनि इखालु स्वभावको छ। यसैबीच दुवैको साझा इख हो- घरमा टीभी ल्याएर देखाउनु! खैर, इखालु भइकन पनि बिन्द्रमा बालसुलभ निर्दोषी भने कायमै छ।

माइलीको चरित्र भने यी दुवै पात्रको भन्दा बेग्लै छ। ऊ घरी समाजजस्ती छ त घरी माइलाकी छायाजस्ती। यसरी मिसिएर उसको चरित्र मध्यममार्गी बनिदिएको छ। ऊ छुच्ची छ तर, स्थिति उथलपुथल बनाउने गरी छैन। ऊ मायालु छ तर, देखाएर माया गर्न पनि ऊ जान्दिन।

छोरोलाई पैसा दिँदा किन बिगारेको भन्ने ऊ आफै पनि छोरोको रहर पूरा गर्न आफूसँग भएको सबैथोक गुमाउन तयार छ। समाजले जस्तै विदेश गएर पैसा नकमाएको गुनासो ऊ पनि गर्छे माइलासँग, तर माइलालाई विदेश जानबाट रोक्ने पनि उही हो।

ऊ भविष्यको अनिश्चितताले वर्तमानमा दोमन भएकी एउटी पात्र हो। आखिरको निर्णयमा पनि ऊ खुसी त कहाँ छ र? तर, अनिश्चिततासँग डराउने पात्र हो ऊ। आफ्नो ढिपी समाएर न ऊ एक्लै बस्न सक्छे न त माइलालाई नै एक्लै पठाउन सक्छे। जीवनमा आइपर्ने स्थिति परिस्थितिहरूसँग सम्झौता गरिदिने पात्र हो माइली।

खैर, हरेकपटक माइला आवेगमा आउँदा रोक्ने माइली हरेकपटक छोरो बहकिँदा भने पर्दापछाडि हुन्छे। त्यसो त सन्तानको विशेष ख्याल राख्न आमाहरूलाई कसैले भनिरहन नपर्ला। छोरोको विशेष ख्याल राख्न सुझाव पाउँदा पनि दर्शकले माइलीबाट त्यो देख्न पाउँदैनन्। छोरो पटकपटक हराउँछ। तर, छोरोलाई हराउन नदिन आमाले के गरिन्? माइलीको पात्र भने यहाँनेर आइपुग्दा थोरै फितलो लाग्छ। आमाको होसियारी र रेखदेखका बाबजुद पनि त सन्तान हराउन सक्छ! लेखकद्वयले यसबारे पनि सोचिदिएको भए?

अनि, आफ्नो निगाहमा छोडिएको छोरो हराउँदा जुन आत्मग्लानि देखिनुपर्ने हो, त्यो माइलीमा नदेखिएको हो कि? हुनसक्छ, बाबु र छोराको पात्रमा केन्द्रित हुँदै गर्दा आमा पात्र ओझेलमा परेकी हुन्।

खैर, अन्य सहायक पात्रहरूको भूमिकाले केन्द्रीय पात्रहरूको कथालाई स्वाभाविक रूपमै बग्न सहयोग गरेका छन्। विशेषगरी, कुनैप नि पात्रलाई नायक वा खलनायक नबनाएर, तिनलाई बस् मानवीय गुणदोष बोकेका जीवन्त पात्रका रूपमा उतार्नु फिल्मको सुन्दर पक्ष हो।

अभिनय र प्रविधि
कलाकार दयाहाङ राईले राई नै भएर अभिनय गर्न पाउँदा पात्रलाई न्याय गरेका छन्। अन्तर्मुखी र सनकी दुवै चरित्रमा राईको अभिनय जीवन्त लाग्छ। माइलीको भूमिकामा देखिएकी कलाकार पशुपति राईले पनि आमा र श्रीमतीको चरित्रमा प्रशंसायोग्य अभिनय कौशल देखाएकी छन्। बिन्द्रको रूपमा बाल कलाकार प्रसन राईले त जीवन र सिनेमाबीचको मिहीन रेखालाई झण्डै मेटाई नै दिए भन्दा फरक नपर्ला। बाँकी कलाकारहरूको अभिनय पनि सन्तोषजनक नै लाग्छ।

प्रविधिको पाटोमा सबैभन्दा सुन्दर फिल्मको ध्वनि लाग्छ। फिल्मभित्र ध्वनिमा अति सुन्दर कामहरू भएको देख्न सकिन्छ। अक्सर नेपाली फिल्महरूमा कथानकसँग सम्बद्ध ध्वनि अर्थात् डाइजेटिक साउन्डमाथि त्यति ध्यान दिइएको पाइँदैन। या फेरि ती ध्वनिलाई अतिरिक्त ध्वनि (नन-डाइजेटिक साउन्ड)ले अतिक्रमण गरेको पाइन्छ। यस फिल्ममा भने सम्बद्ध ध्वनिलाई पृष्ठभूमिमा बज्ने अतिरिक्त ध्वनिको प्रभावबाट बचाइएको पाइन्छ। भान्छामा आगो बल्दा निस्किने ध्वनि, केही खाँदा सुनिने चपाएको आवाज, भाँडाहरू बज्दा सुनिने घर्षणको आवाज इत्यादिलाई स्पष्टसँग चाहिँदो मात्रामा स्थान दिइएको पाइन्छ। दर्शकलाई पात्रको संवेदनासँग जोड्न राखिएको पार्श्वध्वनि पनि सन्तुलित लाग्छ।

विम्ब र रङ
विम्बको कुरा गर्नुपर्दा सालको दुनामा कोक पिएको दृश्य सहर बनाउन खोज्दा बिग्रिएको गाउँको विम्बात्मक चित्रण हो। गाउँ आएको मोटरबाटोले गाउँलाई न त सहर बनाउन सक्यो, न त गाउँ नै रहिरहन दियो!

सलेदो पसेर बिग्रिएको टुकी फेरि सल्काउन मेहनत गरेको दृश्यले पनि आश्वासन दिलाएर 'हात्ती आयो हात्ती आयो फुस्सा' बनाउने सरकारमाथि विम्बात्मक कटाक्ष गरेको छ।

कथा बाबु र छोराको आँखाबाट अगलबगल गरेर भनिएको छ। बाबुको कथामा लाहुरे, नेताज्यू र समाजका तथाकथित सम्भ्रान्तहरूसँग माइला सोध्छ- अहिले आएर त्यसो भन्न मिल्छ? नेताज्यू र सम्भ्रान्तहरूसँग जवाफ हुँदैन, अकमक्क पर्छन्। लगत्तै 'किन नबोल्या?' शिक्षक बिन्द्रलाई कक्षा कोठामा

उभ्याएर सोधिरहेको हुन्छ। शिक्षकले सजिलै सोध्न सकेको यो प्रश्न माइलाले स्थानीय सरकारलाई बडो संघर्षका बाबजुद पनि मनैमन सोधेको प्रश्न हो।

छोरोलाई पढ्न मन नलाग्नु र बाबुलाई चोयाको काम गर्न मन नलाग्नु। यी दुवैलाई एउटै कुराले तर फरक कोणबाट सताइरहेका छन्। माइलाको आँखा पर्नासाथ टीभीको पर्दा निभ्नु कल्पनाको जगमा उभिएको विम्ब हो भने चुलो पूजा गरेपछि नयाँ काम पाइनु संस्कृतिको जगमा उभिएको विम्ब हो।

रङ्गीन आँगनको शून्य दृश्यले त अझै पात्रको मनोदशा र देश-समाजको परिस्थितिलाई एकैसाथ चित्रण गर्न समेत सकेको छ। अनि, अन्तिममा उडेको त्यो कागजको पत्ता? फिल्ममा यति धेरै विम्ब र प्रतीकहरू छन् तर, यसरी छन् जुन राख्नकै लागि मेहनत गरी गरीकन राखिएका छैनन्। त्यसो हुँदा कतिपय दर्शकलाई फिल्म कलात्मक छ र? जस्तो पनि लाग्नसक्छ।

तर, फिल्मलाई चित्रकला मान्न सकिन्छ भने यो चित्र, विषयमाथि पोतिएका रङका कारण नभएर विषयलाई कोरिएको बान्की र विन्यासका कारण सुन्दर छ। हुनसक्छ, त्यो चित्रमा रङ पोतिएकै पो छैन कि? त्यो चित्र एउटा ब्ल्याक एन्ड ह्वाइट चित्र पो हो कि? के रङ नपोतिएका स्केचहरू सुन्दर हुँदैनन्? आँखालाई झट्टै सम्मोहित नगर्दा हुन् तर, सौन्दर्य तिनमा पनि अवश्य हुँदो हो! यो फिल्म त्यस्तै एउटा सादा पेन्सिल स्केच हो।

खैर, सिनेमाकै हकमा भने यो एउटा रङहरूको सन्तुलन मिलेको फिल्म हो। गाउँमा भर्खरै बाटो आउँदा फ्रेमहरू पनि घमाइला देखिन्छन्। खेतको पहेँलोमा मात्र होइन, त्यतिबेला आकाशको नीलोमा पनि एउटा न्यानोपन भेटिन्छ। तर, जब बाटो आउनुले पात्रको जीवनमा असर देखाउन थाल्छ त्यसपछि बल्ल पहिलोपटक साँझ पर्छ। बिजुली काटिन्छ र अँध्यारो छाउँछ।

बीचमा आशा-अपेक्षासँगै घाम पनि फर्किन्छ। तर, आशाको अन्तिम त्यान्द्रो पनि चुडिँसक्दा आकाशमा काला बादलहरू मडारिन्छन्।

माइलाले लगाउने दुईवटा नीला ज्याकेटले पनि उसको दुई थरी मनोदशा झल्काएको छ। एउटा ज्याकेटको नीलो चिसो र उदास लाग्छ भने अर्को ज्याकेटको नीलो न्यानो र खुसी। यी दुवै नीला ज्याकेट लगाएर ऊ तायाको आपाकहाँ पुगेको छ। एकपटक रिस र आवेगमा खुकुरी लिएर र अर्कोपटक कृतज्ञ मुद्रामा माफी माग्न कोसेली बोकेर!

अर्थ-सामाजिक पक्ष

बाटो, माइला र लाहुरे : गाउँमा बाटो आएपछि माइलाको घर-परिवारको उठिबास लागेको छ। बाटोसँगसँगै भित्रिएको तथाकथित आधुनिकताले एउटा परिवार किनाराकृत भएको छ र पलायन रोज्न बाध्य भएको छ।

बाटो, एउटा नभई नहुने आवश्यकता हो। तर, त्यही बाटो गरीबको गाँस, बास, कपास खोस्न मानौँ तत्पर छ। कसैको ज्यान नै समेत निल्न मानौँ तम्तयार छ। तर, माइला बाटोको विरोधमा छैन।

बाटो आएपछि लाहुरेले पसल खोलेको छ। लाहुरेको त्यही पसलले माइलाको रोजीरोटी खोसेको छ। तर, माइला र लाहुरेको सम्बन्ध बिग्रिएको छैन। हेर्ने नै हो भने अझै गाढा पो भएको छ कि? सल्लाह माग्न होस् या सहयोग, ऊ लाहुरेकहाँ नै पुगेको छ।

माइलाको गुनासो बाटो वा लाहुरेसँग होइन बरु योजनाविहीन बाटो ल्याउने राज्यसत्तासँग हो। पुस्तौंदेखि त्यस भूगोलमा उपलब्ध बाँसको कर्मले जीवन चलाइरहेका स्थानीयलाई बाटो आएपछि कस्तो प्रभाव पर्छ? सायद, माइला सोच्दो हो- राज्यले यस्ता प्रश्नहरूको जवाफदेहितासहित योजनाबद्द रूपमा ल्याउनुपर्थ्यो बाटो।

बाटो, वस्तु-विनिमय र पैसा : आर्थिक संकटले साह्रै पारेपछि छिमेकी पेमाबाट फिफीको रकम पाउने आशामा थियो माइला। तर, फिपीको रकम नदिएर पेमा डालोभरि अनाज दिई पठाउन खोज्छे। के अनाजले उसको घरमा बिजुली बाल्न सक्छ? बिजुली नबल्दा उसको छोरोले पढ्न सक्दैन! उसलाई जसरी पनि कागजका नोट चाहिएको छ, रुपैयाँ चाहिएको छ।

अब गाउँमा बिजुली र बाटो आइसकेको छ, विकास र आधुनिकता भित्रिइसकेको छ। समयकाल फेरिइसकेको छ। माइला र माइली त जसोतसो बिजुलीबिना काम चलाउन सक्लान् तर, बिन्द्रलाई बिजुलीबिना न भात रुच्छ न त पढ्न नै मन लाग्छ। अब वस्तु-विनिमयको जमाना छैन। अब, हरेक वस्तुलाई रुपैयाँ-पैसासँग साट्न नसके मानिस भोकभोकै मर्छ। तर अब, पहिलाझैं हरेक वस्तु पैसासँग साटिन लायक पनि त छैन। कागज र प्लास्टिकले संसारलाई मुठ्ठीमा कसिसकेको छ। अब काठ-बाँसहरू जग हालिरहन सक्दैनन्। तबसम्म, जबसम्म राज्यबाटै तिनको संरक्षण र प्रवर्द्धनमा ध्यान जाँदैन। 

माइला पेमाले फिपीको मूल्यमा दिएको अनाज नलिएरै फर्किन्छ। उसलाई जुनै हालमा यतिबेला पैसा चाहिएको छ।

बाँस र रक्सी : गाउँमा आधुनिकता भित्रिएसँगै बाँस बिक्न छोड्छ। बिक्न छोडेपछि बनाउने जाँगर स्वतः हराउने नै भयो। तर, बजार/सदरमुकामतिर भने बियरको स्वादले अघाएर हुनसक्छ लोकल रक्सी नै बढी बिक्छ। तर, लोकल रक्सी बेच्न राज्यको कानुनले दिँदैन। कानुनले नदिए पनि बजारको माग भएको कुरा उत्पादन हुन छोड्दैन। माइलाले नगरे साइँला नत्र काइँलाले भए पनि लोकल रक्सी बनाउँछ र बेच्छ। कानुनका पहरेदारहरू पनि आखिर आधुनिकता अर्थात् पैसाकै दास न हुन्! बिक्ने कुरो (रक्सी) घुस खुवाएर पनि बिक्छ। तर, नबिक्ने कुरा (बाँस) कसैगरी पनि बिक्दैन।

गैरकानुनी भनिएका कुरा घुसखोरी गरेर पनि बिकिरहँदा, कानुनी ठहरिएका कुराहरू बेच्ने वातावरण पनि छैन। त्यो वातावरण कसरी सिर्जना हुनसक्ला? र त्यो वातावरण सिर्जना गर्ने जिम्मेवारी कसको हो? फिल्मले विम्बात्मक रूपमा यो प्रश्न पनि उठाएको छ।

त्यसो त विदेशी ब्रान्डेड रक्सीहरू खुलेआम बिक्री भइरहँदा लोकल रक्सीकै बिक्री रोक्ने नीतिमाथि पनि फिल्मले मौन प्रहार गरेकै छ। साच्चै, देश र समाजको विकासमा यस्ता नीति कसरी सहयोगी हुन सक्लान् है? के कुनै पनि वस्तु विदेशी भएकैले राम्रो र स्वदेशी भएकैले नराम्रो हुने हो?

छोरी, विकास र नीति : १० वर्षअघि हराएकी सानी छोरी अहिले कहाँ, के गर्दै होली? पैसाको इसारामा चल्ने तथाकथित आधुनिक संसारमा बिन्द्र हराएको भए उसले बाँच्नको लागि कस्तो संघर्ष गर्थ्यो होला? उसँग त उसको बाबुको जस्तो सीप पनि त छैन। झन् आजभन्दा दशकौंअघि हराएकी एउटी ६/७ वर्षकी बच्चीले आफूलाई जिउँदो राख्थी भने कसरी जिउँदो राख्थी होली?

राज्यको नीति त छैन हराएर वा परिवार गुमाएर अनाथ भएका, बेसहारा भएकाको उद्दार गर्ने, तिनलाई सीप सिकाएर बाँच्न काबिल बनाउने! माइला मध्यरातमा सडककिनारामा उभिएर ग्राहक कुरिरहेकी किशोरीमा आफ्नी छोरी खोजिहिँड्छ। 

सीप विकासको नीति, आत्मनिर्भर नागरिक र सम्मृद्ध समाजको नीति राज्यसँग वास्तवमै हुन्थ्यो भने आज माइलाकी मात्रै होइन, कसैका पनि छोरी ग्राहक पर्खेर मध्यरातमा सडकमा भेटिँदैन थिए होलान्। लोकल रक्सी  देशभित्रै प्रतिबन्धित हुनुको सट्टा आफैमा एउटा ब्रान्ड बनेर विदेश निर्यात हुन्थे होलान्। अब देशमै केही गर्छु भनेर फर्किएका तायाका आपाहरू फर्किएर फेरि विदेश नै भास्सिने थिएनन् होला। बाँसकै प्रयोग गरेर पनि कसरी गुणस्तरीय छानो बनाउन सकिन्छ, माइलाहरूलाई तालिम दिइन्थ्यो होला। होइन प्लास्टिकको विकल्प नै छैन भन्ने निष्कर्ष निकालिए पनि प्लास्टिकको उत्पादनमा माइलाहरूलाई नै परिचालन गराइन्थ्यो होला।

विकास भनेको विदेशबाट तथाकथित आधुनिक वस्तु-उपकरणहरूको आयात गर्नु मात्रै हो र? स्थानीय मौलिक वस्तु र सीपको संरक्षण, परिष्कार र प्रवर्द्धन गर्ने नीति माइलाहरूले पर्खिएको आजदेखि होइन। बिन्द्रले पनि गाउँ छोड्न मानेको छैन। ऊ पनि सायद माइलाले आफ्नो सीपलाई पैसासँग साटेको हेर्न चाहँदो हो!

द्वन्द्वकालपछिको सङ्क्रमणकालीन समयको यो कथा आज गणतान्त्रिक, संसदीय व्यवस्थासम्म आइपुग्दा पनि उत्तिकै सान्दर्भिक लाग्छ। गाउँ पुगेको बाटोले गाउँको बस्ती उठिबास लगाउन आज पनि छोडेको छैन। विदेश भास्सिनेहरूको सङ्ख्या दिनदिनै बढ्दो छ। लोकल रक्सी हिजो पनि घोप्ट्याइन्थे, आज पनि घोप्ट्याइन्छ। विदेशी उत्पादनको आयात घटाउने, स्वदेशी वस्तुहरूको उत्पादन र बिक्री विनिमय बढाउने कुरामा आज पनि सरकारको प्रस्ट नीति बनिसकेको छैन।

हिजो पनि नेताज्यूहरू भाषणमा आश्वासन दिन्थे- सुखी नेपाली, सम्मृद्ध नेपाल! र आज पनि भाषण उही छ, आश्वासन उही छ। परिवर्तन यत्ति भएको छ, हिजो गाउँमा धुलेबाटो जान्थ्यो, आज पिच बाटो जान्छ!

त्यसो त माइलाहरू बाटोको विरोधमा कहिल्यै थिएनन्। माइलाहरू यत्ति चाहन्छन् कि त्यो बाटोबाट गाउँमा गुलामी नभित्रिओस्! देशले आज पनि गुलामी त्यागेर आत्मनिर्भर हुने बाटो ल्याउन/पहिल्याउन सकेको छैन।

सुब्बाको 'गाउँ आएको बाटो' गुलाम सरकारप्रतिको एउटा भद्र विद्रोह हो। नेपाली सिनेमाले कथावाचनमा मौलिकता खोज्नुपर्छ भनिरहने निर्देशक सुब्बाले यस फिल्ममार्फत् विकासमा पनि मौलिकताको टड्कारो आवश्यकता औँल्याएका छन्।

यो पनि पढ्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .