ad ad

कला


खप्परको खातमाथि बसेकी आमामार्फत गाजा युद्ध अन्त्यको आह्वान गरिरहेकी रागिनी

खप्परको खातमाथि बसेकी आमामार्फत गाजा युद्ध अन्त्यको आह्वान गरिरहेकी रागिनी

प्रदर्शनीमा राखिएका रागिनीले बनाएका पेन्टिङको मूल्य प्रतिगोटा सात लाख रुपैयाँ राखिएको छ। तस्बिर : सरोज नेपाल


लक्ष्मी बलायर
जेठ २९, २०८१ मंगलबार १५:१६, काठमाडौँ

पृथ्वीरूपी एक महिला खप्परमाथि बसिरहेकी छन्। ती खप्परहरूले युद्धमा मृत्यु भएका मानिसलाई संकेत गर्छ। उनले काखमा बच्चाहरूलाई च्यापेकी छिन्। जसले युद्धबीच एक आमाले आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न खोजिरहेको सन्देश दिन्छ। मयुरको सपना, माछाहरू तडपिरहेको दृश्यले युद्धगस्त क्षेत्रको अवस्था दर्शाउँछ। ती महिलाको एउटा हातमा प्रकृति छ अर्को हातमा कमलको फूल। कमलको फूलले मुटु बाहिर निस्किएर जलिरहेको अर्थ दिन्छ।

पृथ्वीआमाको अनुहारको भागभङ्गी पनि फरकफरक प्रकारको देखिन्छ। उनी दु:खी छिन्। आशावादी अनि बेचैन पनि। ‘गाजामा पृथ्वी आमा’ शीर्षकको यो चित्रमार्फत युद्धताकाको पृथ्वी आमाको मनस्थितिलाई देखाउन खोजेको बताउँछिन् कलाकार रागिनी उपाध्याय ग्रेला।

‘यस पेन्टिङमा पृथ्वी यति दु:खी छिन् भनेर देखाउन खोजिएको छ। उनले युद्ध के हुन्छ भनेर भविष्यको चिन्ता गरिरहेकी छिन्। त्यसैले यो पेन्टिङ भविष्यमा लागि युद्ध अन्त्य गर्नुपर्छ भन्ने सन्देशसँग सम्बन्धित छ,’ उनले भनिन्।

विगत आठ महिनादेखि इजरायल र प्यालेस्टाइनबीचको युद्ध जारी छ। जुन युद्धमा करिब पैँतीस हजार मानिसको मारिइसकेका छन्। जसको ठूलो हिस्सा महिला र बालबालिका छन्।

निरन्तर गाजाको समाचार पढ्दा रागिनीको मन बिथोलिन थाल्यो। कलाकारका हैसियतले युद्ध रोक्ने अभियानमा आफ्नो पनि जिम्मेवारी हुने महसुस गरिन्। युद्धको पीडालाई पेन्टिङमा नउतारी बस्न सकिनन् रागिनी।

‘मलाई जुन समसामयिक विषयवस्तुलाई छुन्छ। त्यस्ता विषयवस्तुलाई चित्रमा उतार्न मन पर्छ। गाजाको समाचार निरन्तर आएपछि मेरो पनि कलाकारका हिसाबले मेरो पनि दायित्व हुन्छ भन्ने लाग्यो। किनभने बच्चाहरू र महिलाहरू त्यत्तिकै मरेका छन्। त्यतिबेला राष्ट्रिय ललितकला प्रदर्शनीको निम्तो पनि आएको थियो। अनि युद्धकै विषयवस्तुलाई पेन्टिङ बनाएँ,’ उनले भनिन्।

रागिनीको उक्त पेन्टिङ बबरमहलस्थित नेपाल कला परिषदमा भइरहेको नेपालका देवी-देवता शीर्षकको प्रदर्शनीमा राखिएको छ।

इजरायलसहित रागिनीले युक्रेन र रुसको युद्धसम्बन्धी पेन्टिङ समेत प्रदर्शनीमा राखेकी छिन्।

गाईको आकृतिमार्फत उनले युक्रेन युद्धले सिर्जित अवस्थालाई देखाउन खोजेकी छिन्। जसको पखेटाहरू भए पनि सपना हराएका छन्। स्तनबाट पनि रातो रगत बगेको देखिन्छ। युद्धले प्रकृति उजाड भएको कुरा पनि पेन्टिङले छुन्छ। जीवित कुमारीलाई पूजा गरेजसरी पृथ्वी पनि पूजाको लायक भन्ने सन्देश दिने उनले सुनाइन्।

युद्धको अन्त्य होस् भन्ने आग्रहसहित यी पेन्टिङहरू बनाएको सुनाउँछिन् उनी।

‘यो जुन इजरायलको युद्ध चलिरहेको छ। यसले मानव अधिकारको उल्लंघन गरेको छ। यो युद्धलाई अन्त्य गर्नुपर्छ विचार राखेका हुँ,’ उनले भनिन्, ‘यो मानव विरोधी हो। जसको लागि धेरै देशका मानिसहरू विरोधमा सडकमा आएका छन्। तर, इजरायलले सुनेको छैन। आखिर मारिएका ती बच्चाहरूको के दोष! हाम्रो नेपाली दाजुभाइको के दोष! यो युद्ध बन्द हुनुपर्छ। त्यसको कारण यो कलाकारको आग्रह हो।’

यी पेन्टिङहरूले पृथ्वीआमालाई मनस्थितिलाई पनि देखाउने सुनाउँछिन् उनी। साथै यस्ता पेन्टिङ भविष्यका पुस्तालाई इतिहास समेत हुने उनको धारणा छ।

‘पेन्टिङले इतिहास बोकेको हुन्छ। यी मैले २०२४ मा बनाएँ। तर, म मरेर गए पनि यो म्युजियममा गएपछि यसले इतिहास बोकेको हुन्छ। नयाँ पुस्ताका कलाकारलाई प्रेरणा हुन्छ। जीवनमा कलामार्फत देश, समाज र विश्वमा के दिन सक्छु। अर्को कुरा पृथ्वी मातालाई हेर, कुन मनस्थितिमा छिन्। खरानी भइसकेकी छिन्। युद्ध बन्द गर। नत्र एकदिन पृथ्वीमाता रिसाउँछिन् भन्ने पनि सन्देश हो,’ उनी भन्छिन्।

यसअघि रागिनीले भुइँचालो र कोरोना महामारी ताका सिरिज नै चलाएकी थिइन्।

प्रदर्शनीमा राखिएका रागिनीले बनाएका पेन्टिङको मूल्य प्रतिगोटा सात लाख रुपैयाँ राखिएको छ। जेठ १५ गतेदेखि कला परिषद्, बबरमहलमा सुरु भएको प्रदर्शनी मंगलबारसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .