‘साउन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्’ साथी अरुण तिवारीले लेखेको यो गीतमा उनले संगीत भरे। र, गाउन दिए गायक नागेन्द्र श्रेष्ठलाई। यो गीत संगीतकार टीका भण्डारीका लागि खास थियो। किनकि रेडियो नेपालमा आएपछि उनले संगीत गरेको यो पहिलो गीत थियो।
नभन्दै यो गीतले उनको करिअर नै बदलिदियो। सुनेपछि उनलाई नातिकाजी र शिवशंकरले पनि ‘अहो तिमी त राम्रो संगीत पनि गर्दा रहेछौ’ भनेर स्याबासी दिए।
त्यसपछि उनले ‘जीवनको यात्रा’ गीत गाए।
‘जसमा मेरो स्वरले पनि स्याबासी पायो। मेरो आवाज स्वर परीक्षामा उत्तीर्ण भयो,’ टीका भन्छन् ‘त्यसपछि मेरा गीतहरू क्रमशः प्रकाश श्रेष्ठ, ज्ञानु राणा, मीरा राणा, नागेन्द्र श्रेष्ठ लगायतका गायकले गाउनुभयो। त्यो भन्दा पछिल्लो पुस्ताका राजेशपायल राई, रामकृष्ण ढकाल, यम बराल, कर्णदास लगायतले पनि मेरा संगीतमा गीत गाउनुभएको छ।’
उनको सांगीतिक यात्राले गति त लियो नै, उनलाई काम गर्न भ्याइनभ्याइ भयो। प्यारोडी गीतसहित २२ वटा एल्बम निकालेको र करिब ७ सय आधुनिक गीतमा संगीत तथा स्वर दिएको उनी बताउँछन्।
उनको जन्म नेपालको सुदूरपूर्वी जिल्ला झापाको शान्तिनगरमा भएको हो। २०२२ साल जेठ १३ गते जन्मिएका टीका पिता भेषबहादुर भण्डारी तथा आमा जानुकादेवी भण्डारीका साइँला छोरा हुन्। शान्तिनगरकै शान्ति आदर्श माविमा शिशु कक्षा पढेका टीकाको परिवार त्यसपछि झापाकै मधेस क्षेत्र धुलाबारीमा बसाइँ सर्यो।
‘त्यतिबेला पहाडी गाउँबाट समथर गाउँमा झर्ने परम्परालाई मधेस बसाइँ जाने भनिन्थ्यो,’ टीका सम्झन्छन्।
धुलाबारी झरेपछि उनी कवि शिरोमणि प्राविमा भर्ना भए। प्रावि तहको अध्ययन त्यही स्कुलमा पूरा गरेपछि उनी माध्यामिक तहको अध्ययनका लागि धुलाबारी माविमा भर्ना। यो स्कुलको वातावरणले टीकालाई संगीतको बाटोमा डोर्यायो। धुलाबारी स्कुलमा हरेक शुक्रबार गायन प्रतियोगिता हुन्थ्यो। टीका सधैँ प्रथम हुन्थे।
हरेक बिहान आमाको भजन गायनसँगै खुल्थे टीकाका आँखा। उनकी आमा कृष्णप्रणामी, आमा हरेक बिहान ७ वटा भजन गाउँथिन्। उनको गायनमा पहिलो प्रभाव आमाले नै पारेकी हुन्। काका चन्द्र भण्डारी आमापछि संगीतका अर्का गुरु हुन्।
२०३६ सालतिर झापामा एउटा ठूलो कार्यक्रम भयो। संकल्प परिवारले गरेको उक्त कार्यक्रममा विनोद गुरुङ, चन्द्र भण्डारी लगायतका कलाकारले प्रगतिशील गीत गाए। त्यसपछि प्रगतिशील गीतको तरंग नै आयो। त्यही तरंगले टीकालाई पनि छोयो। उनी पनि प्रगतिशील गीत गाउँदै हिँड्न थाले।
स्कुल पढ्दै गरेको छोरो गिटार बोकेर गीत गाउँदै हिँडेको उनका बुवालाई मन परेको थिएन। उनी भनिरहन्थे, ‘ड्वाँग्रो बाजा बोकेर केटो बिग्रिने भयो।’ आमा भने गीत गाएर छोराले बटुलेको प्रशंसाले फुरुङ्ग हुन्थिन्। बुवाको हप्काइलाई आमाको खुसीले जित्न त खोज्थ्यो, तर सक्दैनथ्यो। टीका घरबाट गिटार बोकेर निस्कन्थे, पाटाबारीमा भित्र छिरेर एक्लै घण्टौँसम्म बजाइबस्थे।
स्कुल पढ्दै उनले थुप्रै स्टेजमा गीत गाए। त्यही बेला ‘गिटारभन्दा सानो मान्छेले गीत गायो’ भनेर उनको बारेमा पत्रिकाहरूमा समाचार पनि छापेको थियो।
भरियाले भारी बोक्यो मिठो गीत गाउँदै
खोला नाला बग्छन् झरना चोखो प्रीत लाउँदै
हे नेपाली...हे नेपाली... हे नेपाली
टीकाले धुलाबारी स्कुलको प्रतियोगितामा भाग लिँदा गाएको यो गीतले उनलाई प्रथम बनायो। जिल्लामा उनको लोकप्रियता पनि बढायो।
संगीत सिक्न बनारस
एसएलसीपछि टीकालाई संगीतको औपचारिक शिक्षा लिने रहर पलायो। त्यतिबेला झापामा संगीत पाठशाला थिएनन्। सबैले संगीत सिक भन्थे, तर कहाँ जाने थाहा थिएन। झापाबाट थुप्रै मानिस त्यतिबेला बनारस पढ्न जाने प्रचलन थियो। उनले पनि संगीत पढ्न बनारस जाने निधो गरे।
बुवा उनको बनारस यात्रासँग सहमत थिएनन्। आमाले आफूलाई मन लागेको शिक्षा लिनु भनेर आफूसँग भएको साढे २ सय रुपैयाँ हातमा हालिदिइन्। त्यही वर्ष देउसी खेलेर उनले ७ सय जम्मा गरे। त्यही पैसा बोकेर टीका २०४० सालमा बनारस हानिए।
बनारस जाँदा उनले घरबाट १ बोरा चामल, बाँसुरी र भायोलिन अनि एउटा टिनको बाकस लिएर गएका थिए। टिनको बाकसमा आफ्नो लुगा तथा आमाले हालिदिएका अन्य खानेकुरा थिए। उनी सिलगुडीबाट ट्रेनमा चढेर बनारस गए।
बनारसमा उनका गुरु दामोदर भारद्वाज थिए। उनैले टीकालाई बासको व्यवस्था गरिदिए। उनको कोठामा एउटा स्टोभ थियो। एउटा बिस्तारा र केही भाँडाकुँडा थिए। उनलाई दाल भात खाने व्यवस्था थियो। कहिलेकाही अचारको पनि जोहो हुन्थ्यो।
बनारस पुगेपछि उनी डीएबी इन्टर कलेजमा नागरिक शास्त्र लिएर भर्ना भए। संगीत सिक्न गुप्ता संगीतालयमा भर्ना भए। संगीत सिकेको मासिक शुल्क ७५ रुपैयाँ बुझाउनु पर्थ्यो। कलेजको शुल्क सहित उनले घरबाट लगेको पैसा ५ महिनामा सकियो। त्यसपछि उनले विभिन्न कार्यक्रम गरेर आफ्नो खर्च जोहो गरे।
टीका भन्छन्, ‘त्यो बेला घरबाट खर्च पठाउने भन्ने थिएन। गुरुले चाहिँ सपोर्ट गर्नुहुन्थ्यो। निकै दुःख गरेर बनारसमा पढियो।’
मञ्चमा उभिएर उन भायोलिन र बाँसुरी बजाउँथे। एकपटक इलाहाबादबाट अर्केस्टा समूह बनारसमा सांगीतिक कार्यक्रम लिएर आयो। त्यहाँ टीकाले बाँसुरीमा फिल्मी धुन बजाए। भायोलिनमा पनि त्यतिबेलाको हिट गीत ‘सायद मेरी शादी का खयाल’ बजाए। त्यसपछि उनी बनारसमा रातारात हिट भए। बनारस पढ्न गएका सबै नेपालीका प्रिय भए। यसरी उनले बनारसमा ३ वर्ष बिताए।
बनारसका नेपालीमाझ लोकप्रिय भएपछि टीकालाई काठमाडौँ जान सुझाव आयो। साथीहरूले भने, तिमी काठमाडौँ जाऊ, तिम्रो राम्रो सम्भावना छ।
उनी झापा फर्किए।
बनारसपछि काठमाडौँ
२०४३ सालमा टीका काठमाडौँ आए। त्रिचन्द्र क्याम्पस भर्ना भएका टीकाको लागि यहाँको वातावरण संगीतका हिसाब झन् उर्बर भइदियो। त्रिचन्द्रमा भएको एक सांगीतिक कार्यक्रम नै उनको जीवनको टर्निङ पोइन्ट भइदियो। उक्त कार्यक्रममा टीकाले गिटार, भायोलिन र मान्डोलिन बजाएर गीत गाएका थिए। त्यही कार्यक्रममा भेटिएका थिए संगीतकार बुलु मुकारुङ। बुलुले त्यही दिन टीकालाई समातेर सोधे, ‘तिमी को हौ?’
टीकाले आफ्नो परिचय दिए र कोठा देखाए। टीका त्यतिबेला घट्टेकुलोमा बस्थे।
त्यसपछि बुलु टीकाको कोठामा आए। उनको सांगीतिक जादुको खबर रेडियो नेपालसम्म पुग्यो। नातिकाजी, शिवशंकर, तारादेवीले उनलाई रेडियोमा बोलाए। टीकाले अन्तर्वार्ता दिए। त्यही बेला रेडियो नेपालमा वाद्यवादकको आवश्यकता भएको रहेछ।
टीका सम्झना गर्छन्, ‘वाद्यवादनका लागि मलाई टेक बेसिसमा काम गर्न नातिकाजी, शिवशंकरले भन्नुभयो मैले हुन्छ भनेँ। जुनबेला रेडियो नेपालमा एउटा भायोलिन र मान्डोलिन मात्र थियो।’
टीकाले एउटा गीतमा मान्डोलिन बजाएको २० रुपैयाँका दरले पारिश्रमिक पाए। त्यो बेला दिनमा दुईवटा गीत रेकर्ड हुन्थे। त्यो बाजा बजाउने अरु कोही थिएनन्। जसले गर्दा उनी मान्डोलिन बजाउने कलाकारका रुपमा रेडियो नेपालमा स्थापित भए।
काठमाडौँ आउँदा टीका बसमा टिकट काटेर सिटमा बसेर आएका होइनन्। उनी बसको छतमा चढेर काठमाडौँ आएका थिए। उनका बुवा खेतीकिसानी गर्थे। आमा गृहणी। उनको घरको आर्थिक अवस्था कमजोर थियो।
‘बनारस पढ्न जाँदा पनि म घरको खर्च लिएर गएको थिइनँ। देउसी खेलेर जम्मा गरेको रकम बोकेर म बनारस गएको थिएँ। गाउँका मान्छेहरूले हामीले गाएको जनताको गीतहरू मन पराउँथे। हामी जनवादी गीत गाउने भएकाले गाउँलेहरूले मेरोमा आइदिए हुन्थ्यो भन्ने गर्थे,’ टीका सुनाउँछन्, ‘तत्कालीन अवस्थामा रामेश, रायन, मन्जुल, जेबी टुहरेजस्ता व्यक्तित्वहरूको गीतबाट मान्छेहरू प्रभावित भइरहेको बेला हाम्रो एउटा टोली नै जनवादी गीत गाएर हिँड्थ्यो। जसले समाजमा हाम्रो पहिचान बनाएको थियो। गाउँगाउँमा गएर मान्छे ब्युँझाउँदा धेरैलाई रुवाउने, हँसाउने र चेतना फैलाउने काम हुन्थ्यो। जसबाट आएको रकम बोकेर नै मैले बनारस पढ्न गएको थिएँ। तर अहिलेको अवस्थामा म गरिब छैन। म निरन्तर संगीतमा लाग्ने व्यक्ति भएकोले कहिल्यै प्यासिभ भएर बस्न सकिनँ र नै आजको यो स्थान हासिल गरेको छु।’
२०५२ सालमा रेडियो नेपाल १०० मेगाहर्ज सुरु भयो। त्यसपछि रेडियो नेपालमा काम गरेका १० जनामध्येबाट टीका छानिए। उनले पहिलोपटक रेडियोमा बोल्ने अवसर पाए।
‘जसले मेरो स्वर अझ धेरैले सुन्ने मौका पाए। मेरो आवाज पनि चिनिन थाल्यो,’ टीका सम्झना गर्छन्।
२०५४/५५ तिर उनले चलचित्रमा संगीत गर्ने अवसर पाए। तेजेन्द्र भुर्तेल नामक निर्देशक विदेश पढेर आएका थिए। उनको चलचित्र ‘बिहानी’मा संगीत गरेपछि टीकाको चलचित्र संगीत यात्रा सुरु भयो। उक्त चलचित्रका लागि टीकाले संगीत गरेको ‘सुन हे धर्ती आकाश, चिसो चिसो सुनकोशी बग्यो सलल’ अहिले पनि उत्तिकै लोकप्रिय छन्।
यो चलचित्रको गीत चर्चित भएपछि टीकालाई ‘बहादुर’ चलचित्रमा अशोक श्रेष्ठले लिए। गोपाल कर्माचार्यले ‘गाउँले’ चलचित्रमा संगीत भर्न लगाए। ‘गाउँले’मा टीकाले संगीत गरेको ‘गोली सिसाको’ बोलको गीत निकै चर्चित बन्यो। त्यो गीतले एमएन म्युजिकको एमएन अवार्ड पनि प्राप्त गर्यो। त्यसपछि टीका चलचित्र संगीतका पनि व्यस्त संगीतकार भए।
Shares
प्रतिक्रिया