ad ad

कला


केजीएफको ‘साँचो कथा’ थङ्गलान : राम्रो अभिनय, फितलो प्रस्तुति

केजीएफको ‘साँचो कथा’ थङ्गलान : राम्रो अभिनय, फितलो प्रस्तुति

श्रीजु सरल
भदौ १६, २०८१ आइतबार २०:६, काठमाडौँ

दक्षिण भारतीय सिनेमाका दर्शक नेपालमा उल्लेख्य छन्। यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा दक्षिण भारतीय चलचित्र 'थङ्गलान' प्रदर्शरत छ। पा रञ्जित निर्देशित यस फिल्ममा 'आइ स्टार' चियान विक्रम मुख्य भूमिकामा छन्।

दक्षिण भारतीय सिनेजगतमा भर्सटायल अभिनेताको छाप बनाइसकेका विक्रमले यस फिल्ममा एकैपटक धेरै पात्रको चरित्र निभाएको पूर्वसमाचारका कारण पनि फिल्म चर्चामा छ। विक्रमको काम र पात्रको चर्चा त हुँदै रहला। अहिलेलाई पा रञ्जितको काममाथि नै कुरा गरौँ। 'थङ्गलान'को पत्रहरू पल्टाऔँ।

कथा
भारतको कर्नाटक राज्यभित्र पर्ने 'केजीएफ' उर्फ 'कोलार गोल्ड फिल्ड्स' को यथार्थ कथा हो 'थङ्गलान'। सन् १८५० ताका इतिहासमा घटेकै घटनालाई कल्पनाको बुट्टा भरेर भनिएको कथा हो यो। एउटा मामुली किसानले आफ्नो देशभित्रको सुन तत्कालीन ब्रिटिस सरकारको हातमा पर्नबाट कसरी जोगाउँछ? खैर, कसरी भन्दा पनि 'किन जोगाउँछ?' भन्ने प्रश्नको जवाफ हो यो फिल्म।

त्यसो त अझै गहिरिएर हेर्ने हो भने, सुनखानीको कहानीभन्दा बढी एउटा जातीय संघर्षको ऐतिहासिक वृत्तान्त हो 'थङ्गलान'को कथा। जसलाई रञ्जितले खानी मजदुरको माध्यमबाट भन्नु सहज माने। निर्देशकको त्यो सहजतामा दर्शकले आनन्दको सुन कति फेला पार्लान्, त्यो पनि छँदैछ।

पटकथा

कथामै सतह र गहिराइ गरी पत्रहरू देखिसकियो। पटकथामा पत्रहरू थपिँदै जाने त भइहाल्यो नै। सुनखानी र जातीय संघर्ष त छँदैछ। यीबाहेक फिल्मले जनराको नाममा एक्सन एड्भेन्चरलाई पनि दुई घण्टा ३७ मिनेटको अवधिभित्रै अटाएको छ।

खैर, एक्सन देखाउने लहडमा कथाको भारी बोकेर हिँडेका पात्रहरू अलमल र अलपत्रमा पारिएका छन्।

बोल्नुपर्ने त लेखक/निर्देशकमार्फत् पात्रहरू हुन् तर फिल्मभरि पात्र कम र पात्रमार्फत् लेखक/निर्देशक नै ज्यादा बोलिरहेको हो कि जस्तो लागिदिन्छ। र यति नै कारणले एकातिर (सन्देश त स्पष्ट हुन्छ तर) कथा स्पष्ट हुन सकेको छैन भने अर्कोतिर पात्रहरूको संवेदनासँग दर्शक चाहेर पनि एकाकार हुन सक्दैनन्।

उदाहरणको लागि पर्दामा विलियमको शोकमा पात्रहरू भावविह्वल भइरहँदा यता दर्शकहरू 'विलियम को पो थियो?' भनी सोच्दै हुनेछन्। अशोकाको दुर्हाल देखेर बाबुआमा चीत्कार गर्छन् तर, दर्शक ती दृश्यहरूमा थोरै पनि दुख्नेछैनन्। कारण, माथि नै भनिहालियो एक्सन देखाउने लहडमा पात्रहरूको कथा खोलाले बगायो र खोला मानौँ, स्याप्पै सुकिदियो।

त्यसो त पहिलो हाफको पहिलो एक्सनका दृश्यले बाँधेरै पनि राख्छन्। तर, जति अघि बढ्दै जान्छ दर्शकलाई बाँधेको एक्सनको गाँठो खुकुलिँदै गइदिन्छ। गाँठो कहाँ, कसरी खुल्यो त्यता पनि जाऔँला।

कथावाचन
कथालाई यदि नृत्य र पटकथालाई नृत्यमा प्रयुक्त चाल मान्ने हो भने कथावाचनलाई नृत्य गर्नेको प्रस्तुति-शिल्प मान्न सकिन्छ। अथवा निर्धारित पटकथालाई कथावाचकले भन्ने शैली नै कथावाचन हो। परिभाषाभन्दा थोरै मात्र तल ओर्लिएर भन्नुपर्दा फिल्मको कथावाचन नन-लिनियर शैलीमा अघि बढ्छ। कहिले हिजोको कथा, कहिले आजको कथा त कहिले अस्तिको कथा।

अझै गहिरिएर भन्नुपर्दा यी अनेक कालखण्डका कथालाई कथावाचकले सुरुमा त समानान्तर गतिमा सुनाइरहेका हुन्छन्। तर, एउटा विन्दुमा पुगेर ती आपसमा जेलिन्छन्। सुन खन्न हिँडेको 'थङ्गलान' युद्ध गर्न हिँडेको 'आरन'सँग जेलिएर गुजुल्टिन्छ। अगाडिका दृश्यको मज्जा लिने कि गुजुल्टो फुकाउन थाल्ने? यस्तोमा निरुपाय पर्दामा आँखा टिकाइरहनुबाहेक दर्शकले गर्नसक्ने अर्को काम हो आफैले आफैलाई सान्त्वना दिनु- अगाडि बुझिएला नि त!

यिनै कथालाई जेलिन नदिएरै पनि भन्न सकिन्थ्यो कि?

कथावाचनको अर्को समस्या हो यथार्थवाद र अतियथार्थवादको अस्पष्ट मिश्रण। कहीँ यसै आगलागी भएको छ, कतै यसै भागमभाग चलेको छ। अतियथार्थवादको अर्थ तर्कविहीन मान्छे वा पंख नभएको जीवलाई हावामा हिँडाउनु वा तैराउनु होइन। तर्कसंगत नै हावामा हिँड्न वा तैरनसक्ने देखाउनु हो। आगलागी भयो त कसरी भयो? भागमभाग चल्यो त किन चल्यो? हावा नै होस् तर, केही त तर्क होस्। यहाँनेर फिल्मको कथावाचक दर्शकलाई आलोकाँचो लागिदिन्छ।

पात्र
त्यो मायावी प्राणी कुनै पुरुष नभएर एउटी स्त्री हो! धुम धडाकासँग मायावी स्त्री 'आरती'को दर्शन/प्रवेश गराइन्छ। ओहो! के के नै होला जस्तो भान परिदिन्छ दर्शकलाई। केही एक्सनका दृश्यहरूमा दम पनि नभेटिने होइन। तर, क्षणभरमै त्यस्तो मायावी पात्र मानवतुल्य लागिदिन्छ। अथवा भनौँ यति आम लागिदिन्छ कि जसको विनाश सम्भव मात्रै होइन अण्डा फुटाउनु जसरी नै सहज छ।

त्यसो त त्यो शक्तिशाली अण्डा जो कसैले फुटाएको होइन, आरन उर्फ थङ्गलानले फुटाएको हो। तर, थङ्गलान को हो, आरन को हो? यतिन्जेल दर्शकलाई थाहा हुँदैन। तर, दर्शकलाई आरतीको महिमागान पहिल्यै भरपुर सुनाइसकिएको हुन्छ।

एउटा कमजोर वा नपत्याउँदो पात्र शक्तिशाली वा चलाख भएर निस्किएको दर्शकलाई मनपर्छ। तर, एउटा बलियो पात्र (जबसम्म ऊ खलपात्र होइन) कमजोर भएर गएको दर्शकलाई खास रुच्दैन।

थङ्गलानको पात्रत्वको कुरा त ठाउँठाउँमा माथिदेखि नै आइरहेकै छ। एउटै पात्र अनेक चरित्रमा देखिन्छ। विशेषगरी, आरन नामको भुतिया पात्र वर्तमानको हाम्रो मुख्य पात्र थङ्गलानसँग यसरी जेलिएको छ कि ऊ कतिबेला थङ्गलान भएर सोच्छ या कतिबेला आरन भएर लड्छ केही पनि स्पष्ट लाग्दैन। ठीक छ, पात्रलाई द्विविधा होस् तर, दर्शकलाई द्विविधा हुनुभएन। दर्शकलाई यति मात्रै थाहा हुनपर्‍यो कि पात्र द्विविधामा छ। तर, यहाँ त द्विविधाको कुनै छेकबार नै पो छैन।

अशोक, जसलाई सुरुदेखि नै 'यो अलग छ है' भन्ने देखाउन फिल्मले मिहेनत गरेको छ। यही अलि फरक पात्रलाई कुनै बिन्दुमा पुगेर केही अनौठो भइदिन्छ। अब त केही होला भनेर (आरतीसँग पछि) फेरि एकपटक अपेक्षा टल्किन्छ दर्शकको आँखामा सुनौलो भएर। तर, फेरि पनि त्यो अपेक्षा माटोमै मिलिदिन्छ।

दर्शकको अपेक्षा खेर जानु फिल्म अझै राम्रो बन्नसक्ने सम्भावनाहरू खेर जानु पनि त हो। अपेक्षाकै कुरा गर्नुपर्दा (कमसेकम ट्रेलर हेरेर फिल्म हेर्न पुगेका) दर्शकलाई थङ्गलानकी 'बाइडी'बाटै पनि त हुन्छ दुवै हाफको सुरुवाततिर।

अनि, नकारात्मक चरित्र वृत्त पाएको पात्र क्लिमेन्टको 'यू टर्न'लाई पनि फिल्मले स्थापित गर्न सकेजस्तो लाग्दैन। उसमा आउने परिवर्तनलाई मिहीन रूपमा समय लिएर देखाएको भए विश्वसनीयता खोज्न दर्शकले पात्र र दृश्यबाट भड्किनुपर्ने थिएन। त्यसो त, 'नहुँदा तेरो, हुँदा सबै मेरो' भन्ने उखान पुरानै हो। यद्यपि, त्यस्ता पात्र हुन्छन् भन्ने जान्दाजान्दै पनि एउटा असल पात्रलाई खराब देखाउन निर्देशकले केही दृश्य खर्चन सकेको भए हुन्थ्यो भन्ने महसुस हुन्छ नै। या त फेरि खराब देखाइसकेपछि त्यस खराब चरित्रमै पनि केही समय रहन दिएको भए!

अभिनय
थङ्गलान, आरन, मुनि आदि अनेक भूमिकामा देखिएका चियान विक्रमको अभिनय कौशल एउटा मात्र तत्व हो जसले दर्शकलाई सिनेमाहलको कुर्सीबाट उठ्नबाट रोकेर राख्नेछ।

त्यसो त थङ्गलानकी 'बाइडी' बनेर खेल्ने पार्वती थिरुभोतुलाई जब जब पर्दामा देखिन्छ घट्दै गएको दर्शकको रुचि नजानिँदो किसिमले बढिदिन्छ।

आरतीको भूमिकामा माल्विका मोहननको काम पनि प्रशंसालायक छ। त्यसो त वर्धा र अरसानीको भूमिकामा देखिएका हरि कृष्णन र प्रीति करनको काम पनि सम्झनलायक छ।

मुख्यदेखि सहायक गरी सबै सबै चरित्रमा सबै सबै कलाकारले उत्कृष्ट काम गर्दागर्दै पनि सिनेमा हलको कुर्सीमा अढाई घण्टा बस्दा छटपटी भइरहनु फिल्म चुक्नुबाहेक अरू के हुनसक्ला।

जाँदाजाँदै, फिल्मको खाँटी कथा भने फिल्मले तपाईंलाई भनिरहेकै थिएन भन्दा पत्याउनुहुन्छ? इतिहासको कुनै कालखण्डमा शक्ति र वैभवले सम्पन्न नागा जाति आज निम्न जातिको रूपमा विभेदको सिकार बनाइएका छन्। फिल्मको खाँटी कथा यही हो जसलाई मुख्य पात्रले सन्देशको रूपमा एउटा लामो संवादमार्फत् दर्शकलाई बुझाउने चेष्टा गर्छन्।

जे होस्, बलियो कथामा फितलो प्रस्तुतिसहित बनेको यो फिल्मले दर्शकलाई नछोए पनि अभिनय र विषयवस्तुकै कारण दर्शकले भने फिल्मलाई सुमसुम्याउने नै छन्। दुत्कारिहाल्न सक्नेछैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .