ad ad

कला


हाम्रो फिल्म फ्लप बनाउन साइबर सेना खटिएका छन् : दीपकराज गिरी (अन्तर्वार्ता)

‘फिल्म जुधाएर हाम्रो केही रकम कम होला, उत्साहमा फरक पर्दैन’
हाम्रो फिल्म फ्लप बनाउन साइबर सेना खटिएका छन् : दीपकराज गिरी (अन्तर्वार्ता)

लक्ष्मी बलायर
असोज २२, २०८१ मंगलबार १७:२३, काठमाडौँ

यो वर्षको दसैँ नेपाली दर्शकका लागि विशेष बन्दैछ। किनकि फूलपातीबाट तीन ठूला फिल्म रिलिज हुँदैछन्। दीपकदीपाको ‘छक्का पञ्जा ५’, जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ बीच महाभिडन्त हुँदैछ।  

‘छक्का पञ्जा ५’ चर्चित फिल्मको पाँचौँ शृंखला हो। सिरिजका अरु फिल्मजस्तै आक्रामक व्यापार गर्न यो फिल्मलाई यसपटक चुनौती थपिएको छ। एकैदिन २ ठूला फिल्मसँग जुध्नुपर्दा। त्यसमाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आइरहेका छन्। जसले फिल्मको कठिनाइ बढाउन पनि सक्छ।

यसै सेरोफेरोमा रहेर ‘छक्का पञ्जा ५’ अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीसँग नेपालखबरले गरेको कुराकानी:

फिल्म रिलिजको तरखरमा छ, दौडधुप कत्तिको छ नि?
अहिले प्रचारप्रसारमा पनि लागिरहेका छौँ। सिनेमाको काम पनि गरिरहेका छौँ। प्रचारप्रसारभन्दा पनि हामीविरुद्ध भइरहेको दुष्प्रचारविरुद्ध लागिरहेका छौँ। अलिकति नराम्रो चिजहरू हाबी भइरहेको छ फिल्म उद्योगमा।

हाम्रो सामग्रीमा आएर नकारात्मक कमेन्ट गर्ने र आफ्नो प्रचार गर्न लगाउने काम भइरहेको छ। साइबर सेना खटाएर गीतदेखि ट्रेलरसम्म गाली आइरहेको छ। भोलि फिल्म आउँदा पनि गाली गर्न रेडी छन् उनीहरू।

हामीले लगाएको सेतो लुगालाई ५० जनाले कालो भन्दा मान्छेमा दुविधा हुन्छ। त्यो भाष्य निर्माण गर्न खोजिँदैछ। त्यसको लागि हामी कसरी भिड्ने, छलफलमा छौँ। र, चिन्तित पनि छौँ। किनभने कामले हराउन नसकेपछि मान्छेहरू यो तरिका अपनाइरहेका छन्।

तपाईंलाई यो पटक फिल्मलक्षित नकारात्मक टिप्पणी बढी आइरहेको जस्तो लाग्छ?
अहिले सामाजिक सञ्जाल एकदमै बलियो छ। ५० जना लाग्दा प्रभाव बनाउन सक्छ। त्यसकारण हाम्रो चलचित्रप्रति लक्षित ठूलै आक्रमण देखिरहेको छु। त्यो स्वाभाविक होइन। कसैलाई फुसर्द छैन कि दीपकराज गिरीलाई गाली गर्न। मेरो पोस्टमा आएर १२ गाउँ किन लेख्ने? आफ्नै पोस्टमा लेखे भइहाल्यो नि। यो स्वाभाविक छैन।

यसलाई केही गरी हराउन सकिन्न, अब इमेजमा हान्नुपर्‍यो। जनतामाझ यसको बारेमा गतल भाष्य निर्माण गर्नुपर्‍यो भनेर मान्छेहरू लागिरहेका छन्। त्यसमा हाम्रै साथीहरूको ठूलो भूमिका छ। जब मान्छे कामले सक्दैन, तब अस्त्र प्रयोग गर्न थाल्छ। हामीलाई दर्शकले गरेको यति लामो माया केही साथीहरूलाई पचेको छैन। जसकारण यो दुष्प्रचारतिर लाग्नु भएको छ।

सोही दिन अरु दुई फिल्म पनि रिलिज हुँदैछन्, त्यसले व्यापारलाई असर कत्तिको असर गर्ला?
सबभन्दा पहिले मैले नै रिलिज डेट तोकेको हुँ। अहिले यो कुरा कसैले उठाउँदैन। यदि हामीले पछि तोकेको भए यो भिड्न आयो भनेर भन्थे। चलचित्रसम्बन्धित संघसंस्थाहरूको नि काम छैन। राजनीति गर्ने ठाउँ मात्रै हो। हाम्रोमा अर्काको फिल्म फ्लप हुँदा पार्टी गर्ने चलन छ।

हुन त यो क्षेत्र व्यापार हो, कसैलाई रोक्न सकिन्न। तर, अस्वाभाविक रूपमा आउनु ठिक होइन। त्यसको निर्क्यौल दर्शकले पक्कै गर्लान्। छक्का पञ्जाको स्वाद थाहा पाउने दर्शकहरूले हाम्रो फिल्म हेर्नुहुन्छ। सिनेमाको सबै सामग्री आइसकेका छन्। सिनेमा आफैँ बोल्नुपर्छ जस्तो लाग्छ।  

छक्का पञ्जाजस्तो हिट सिरिज बक्सअफिसमा फ्लप भयो भने के होला? त्यसबारे सोच्नुभएको छ?
म दुवै कुराको लागि तयार छु। एउटा मान्छे निरन्तर सफल भएपछि त्यसलाई असफल भएको हेर्न चाहने जमात ठूलो हुन्छ। हामी पनि बलियो टिम अर्जेन्टिना र साउदीबीच खेल हुँदा साउदीतिर लाग्छौँ। हाम्रो मानसिकता नै जितिरहेको मान्छेले हारोस् भन्ने हुन्छ। भोलि कदाचित् हारिए पनि तयार छु।

जिन्दगीभर हिटको ठेक्का त कसले लिएको छ र? भारतमा पनि शोले बनाउने मान्छे पछि फ्लप भए। यो संसार नै अस्थायी छ। एकदिन हामी फ्लप भएर घाटतिर जान्छौँ। सिनेमाको के कुरा गर्नु! मेरो भाग्यमा यहाँभन्दा बढी प्राप्त गर्न लेखेको छैन भने म त्यहाँभन्दा बढी पाउँदिनँ। तर, मलाई खुसी चाहिँ के लाग्छ भने यत्रो ठूलो आक्रमण गर्ने अवस्थामा पुगेछु।

तर, हारिएछ भने मलाई दु:ख चाहिँ अहिले जुन खालको कुरा भएको छ। यो सफल हुँदा अब एकले अर्कोलाई यस्तै हतियार प्रयोग गर्छ। यो हतियार फिल्म राम्रो बनाउनेले भन्दा पनि फिल्मतिर ध्यान नदिनेले फोकस हुन्छ।

मलाई के विश्वास छ भने दर्शकले फिल्म हेर्ने हो र रमाइलो गर्ने हो। जति नै गाली आए पनि हाम्रो सिनेमा हेर्ने बानी लागेकाले फिल्म हेर्नुहुन्छ। फिल्म जुधाएर उहाँहरूले हाम्रो केही रकम कम गराउन सक्नुहोला। तर, त्यसले हाम्रो उत्साह, जाँगर र लगनशीलतामा फरक पर्दैन।

फिल्मको कथावस्तु के छ र अघिल्ला सिरिजभन्दा कसरी फरक छ?  
हुन त ट्रेलरले नै फिल्मको कथावस्तुबारे हिन्ट दिइसकेको छ। यो फिल्म राजनीति र कर्मचारीतन्त्रको बारेमा बढी छ। अहिले देश र समाजको स्थिति जे छ, त्यही नै फिल्मको कथा हो। भ्रष्टाचारको बारेमा मिसन कसरी अगाडि बढ्छ भन्ने फिल्मभित्र छ। रमाइलोसहित मनछुने कुरा पनि छन्। यो फिल्म सबै कुराको मिश्रण हो।

पाँचसम्म आउँदा हाम्रो हरेक फिल्मको कथा एकअर्कासँग मिल्दैन। फरकफरक मुद्धा उठाएका हुन्छौँ। यसपटक पनि हामीले फरक विषय उठाएका छौँ। त्यो फरक इस्युमा मेरो र माग्ने बुढाको पात्र उही होला। अरु पात्रहरू नयाँ छन्।

पाँच सिरिजसम्म बनिसकेको छ, कहिलेसम्म ब्याज खाइरहने?
एउटै कथामा बनाउँदा ब्याज खाने भन्ने हुन्छ। हामी हरेकपटक नयाँ कथा भनिरहेका छौँ। पहिलो श्रृंखलामा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा थियो। दोस्रोमा विदेशको पीआरका लागि जबर्जस्ती बिहे गर्ने कुरा उठान गरिएको थियो। तेस्रो श्रृंखलाले स्कुलमा हुने राजनीति र चौथोमा सामाजिक सञ्जालको प्रयोगमार्फत सत्तामा पुग्ने दलीय प्रवृत्तिलाई चित्रण गरिएको थियो।

नयाँ नभएको भए दर्शकले माया गर्दैनथे होला। अरु सिक्वेल पनि त छन् नि। हामी नयाँनयाँ घटनामा स्टोरी भनिरहेका हुन्छौँ। जसकारण यसलाई ब्याज ठ्याक्कै भन्न मिल्दैन। यो सहकर्मीहरूको आशीर्वाद हो। नामको कुरा गर्दा छक्का पञ्जा भएनि सत्ता अठ्ठा भएनि के फरक पर्छ र?

छक्का पञ्जा सिरिजबाहेक अरु बनाउने सोच छ कि नाइँ?
छ माया छपक्कै भन्ने फिल्म हामीले नै बनाएको हो। हामी हरेकपटक फिल्ममा नयाँ नयाँ भेराइटी दिइरहेका छौँ। एउटै चिज भएको भए दर्शकले हेर्दैनन्। नयाँ नामको हिसाबले पनि जान सकिन्छ। यसमा पनि सोच्दैछौँ।

फिल्ममा समावेश बिहे भाको छैन र ब्रेकअप सङ विवादमा तानिएका छन्, यसमा के छ तपाईंको प्रतिक्रिया?
गीत विवादित हुनु त्यही समूहकै काम हो। कुमारी होइन भन्नु कसरी छाडा भयो? केटाले कुमार छैन भन्दा हुने तर केटीले भन्दा यत्रो समस्या।

यदि फिल्मको गीत हिट नभएको भए फ्लप भनेर हल्ला गरिन्थ्यो। तर, उनीहरू यो पटक जे आउँछ, छोड्दिनँ भनेर रेडी छन्। अर्को कुरा सिनेमा र गीत भनेको नैतिक शिक्षा होइन। गीतमा त मनोरञ्जन हुन्छ।

यदि नैतिक शिक्षा दिनु कलाकारको दायित्व हो भने फिल्ममा किन बलात्कारका सिन राख्छन्। सिनेमामा त्यस्तो सिन राख्दा पनि त बच्चाले रेप गर्न सिक्छ नि। यो रेप गर्नु राम्रो होइन भनेर सिकाउने अभिभावकको काम हो।

ब्रेकअप सङमा पनि सुन्न नसकिने गाली छैनन्। सामान्यतया रिस उठ्दा ढाडै सर्कियोस् र घुट्टै मर्कियोस् भनिन्छ नि। फेरि हामीले गाली गर्नु सामाजिक अपराध हो पनि राखेका छौँ। अब   जे गरे पनि यसको विरोध गर्छु भन्ने लागेपछि कसको बाउको के लाग्छ र! यो नकारात्मतासँग हामीहरू एक्लै लडिरहेका छौँ। सफलताको विपक्षमा मान्छे लाग्छन्।

वर्षा शिवाकोटीसँग पहिलो सहकार्य कस्तो रह्यो र कुन अभिनेत्रीसँग बढी जोडी सुहाएजस्तो लाग्छ?
वर्षाजीले एकदमै राम्रो काम गर्नुभएको छ। उहाँसँग मेरो केमेस्ट्री मिलेको जस्तो लाग्छ। दर्शकले पनि वर्षासँग राम्रो देखिँदोरहेछ भनेर प्रतिक्रिया दिनुभएको छ।

सबैसँग राम्रो छ, एउटासँग भन्दा अन्याय होला। तैपनि अलि बढी खेलेको भएर प्रियंकासँग बढी सुहाउँछ कि लाग्छ। संख्यात्मक हिसाबले उहाँसँग बढी सहकार्य भएकाले राम्रो देखिन्छजस्तो लाग्छ।

अन्त्यमा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ?
अहिले कस्तो खालको सञ्जाल विकसित भयो भने केहीलाई प्रयोग गरेर राम्रोलाई नराम्रो, चोरलाई साधु र साधुलाई चोर बनाउने बेला आएको छ। त्यसमा सचेत भइदिनोस्। सिनेमा चले पनि उहाँहरू चलचित्रबारेमा नकारात्मकता फैलाउन तयार हुनुहुन्छ। त्यस्तो चिजहरू नसुन्दिनुहोला। यस्ता युट्युब र फेसबुकका कमेन्टमा विश्वास नगर्नुहोला। आफ्नो हिसाबले जज गर्नुहोला भन्न चाहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .