ad ad

ब्लग


दाजु अस्पतालमा बित्नुभयो, म बिरामी श्रीमतीसँग बाटैमा ४ दिन रोकिएँ

दाजु अस्पतालमा बित्नुभयो, म बिरामी श्रीमतीसँग बाटैमा ४ दिन रोकिएँ

नेत्र रम्तेल
असोज २२, २०८१ मंगलबार ६:३२, काठमाडौँ

मेरो अभिभावक आदरणीय दाजु काठमाडौँको टिचिङ अस्पतालमा जीवन र मृत्युुको लडाइँ लडिरहनु भएको थियो। उहाँलाई बढी नै गाह्रो भएको जानकारी पाएपछि असोज ११ गते बिहान बर्दिबासबाट काठमाडौंका लागि हिँडेँ। अघिल्लो दिन (असोज १० मा) मात्रै भान्जाले दाजुलाई काठमाडौं लिएर गएका थिए।  

बिहानैदेखि ठूलो पानी परिरहेको थियो। पानीकै बीचमा श्रीमती बबिता र म घरबाट निस्कियौँ। बबिता २५ वर्षदेखि सुगरको बिरामी हुन्। दिनमा ४ पटक इन्सुलिन दिनुपर्छ। उनलाई पनि उपचारका लागि लैजानुपर्ने भएकाले दाजुलाई भान्जाले लिएर गए। म भोलिपल्ट बबितालाई लिएर निस्कने सल्लाह थियो। असोज १४ गतेका लागि बबिता र मेरो आफ्नो पनि स्वास्थ्य जाँचका लागि डाक्टरको समय लिएका थियौँ। 

ठूलो पानी परिरहेकाले बबिताले भान्जालाई बरु थप एकदिन अस्पतालमा बसिदिनुस् भनेर आज ननिस्किने कि भनिन्। तर, दाजु जीवन–मरणको अन्तिम लडाइँ लडिरहनुभएको खबरपछि त्यसै बसिरहन सकिएन। 

आरीघोप्टे पानी परिरहेको त्यो क्षणमा बाइकबाट काठमाडौँ नजानका लागि धेरै बहानाहरू हुन सक्थे। तर काँधमा बोकेर जीवन देखाउने पितातुल्य दाजुलाई अस्पतालको शय्यामा भेट्न जानबाट कुन पहाडले छेक्न सक्थ्यो र? हामी बीपी राजमार्ग हुँदै अघि बढ्यौँ।

मंगलटार कटेर झन्डै १० किलोमिटरजति अगाडि पुगेका थियौँ। अस्पतालबाट खबर आयो, दाजु अब रहनुभएन। एकछिन, त्यहीँ रोकिएर बसेँ। दाजुका छोराहरू र भान्जासँग कुरा गरेँ। मेरो छोरा पनि काठमाडौंमै थियो। अन्तिम संस्कार गाउँमै गरिने भएपछि म काठमाडौं जानुको अर्थ भएन।

‘म यतैबाट फर्किन्छु, तिमीहरू शव लिएर आउनू,’ मैले उनीहरूलाई भनेँ। दिउँसोको ३ बजेको थियो। म घरमा गएर सबै व्यवस्था मिलाउँछु, तिमीहरू बिस्तारै आओ भनेँ। 

मंगलटारको थोरै उतापट्टि एउटा सानो खहरे थियो। जाने बेलामा त्यही खहरे कटेर गएको। आउँदा खहरे बढेछ। खहरेले मोटरसाइकलसहित लडायो। श्रीमान्–श्रीमती लड्यौं, औषधि र अस्पतालको कार्डसहितको झोला पनि भिज्यो। वरपर नजिकै ३/४ जना व्यक्तिहरू हुनुहन्थ्यो, उहाँहरू तुरुन्तै आएर हामीलाई उद्धार गर्नुभयो।

खहरेबाट निस्किएपछि फेरि बाइक स्टार्ट गरेर अगाडि बढें। मंगलटारबाट दुई किलोमिटरजति यता (बर्दिबास आउनेतिर) कालढुंगा भन्ने ठाउँमा (त्यसलाई डम्फु चोक पनि भन्ने रहेछन्) ठूलो खहरे रहेछ। पहिला जाँदा त्यहाँ ह्युम पाइप थियो। तर फर्किंदा त्यो सबै बगाइसकेको रहेछ। पानी परिरहेकै थियो। त्यहाँबाट अब कट्न सक्ने स्थिति भएन। अब न घर फर्किन सकियो, न त काठमाडौँतिर जान नै। त्यहाँ रहनुभएको प्रहरीहरूले पनि हामीलाई भन्नुभयो, ‘अब आज सम्भव छैन, भोलि पनि भन्न सकिँदैन, तपाईंहरू सुरक्षित ठाउँमा बस्नुस् कोठा लिएर।’

अनि हामी त्यहीँ छेउकै एउटा घरमा कोठा माग्न गयौं। अलपत्र यात्रुहरू बास माग्दै गएकाले घरमा भिडभाड नै थियो। हामी पनि त्यही भिडमा मिसिएका थियौँ। खचाखच मान्छे भएकाले सुत्ने ठाउँ थिएन। कोही बेन्चमा, कोही त्यत्तिकै भुइँमा सुत्यौं।  

बेलुका होटलमा बास बस्न पुग्दासम्म रोशी खोला निकै पर थियो। तर, ठूलो गड्गडाहट थियो। रोशीको अशान्त छालले बिहान झिसमिसेपख निल्न लागिसकेको रहेछ। हतारहतार गएर घरबेटीलाई खबर गरियो। भिडभाडका कारण बिहानीपख मात्रै झकाउन पाएका घरबेटी रुन थाले। आत्तिँदै हामीलाई भाग्नुस् भन्न थाले। ‘अब घर लगिहाल्छ, तपाईंहरू सबै भाग्नुस्’ भनेर घरबेटीले भने।  

अब होटेलसहित बग्ने अवस्था आएपछि त्यहाँबाट भाग्नुको विकल्प थिएन। 

कहाँ छ सुरक्षित ठाउँ? हामीले घरबेटीलाई सोध्यौँ। 

मास्तिर डाँडा देखाउँदै उनले त्यहाँ घर पनि रहेको र सम्म टारजस्तो रहेकाले त्यहाँ सुरक्षित हुनसक्ने बताए। 

पानी रोकिएको थिएन। न त रोकिने छाँट नै थियो। असोज १२ गतेको बिहानी मुसलधारे वर्षाकाबीच हामी ज्यान जोगाउन सुरक्षित ठाउँ खोजिरहेका थियौँ। 

झोलामा रहेको चाउचाउ, बिस्कुट, स्याउ र पानी बोकेर हामी भिज्दै त्यो घरबाट निस्कियौं। 

एकातिर खोलाले लखेट्ने, अर्कातिर पहिराले थिच्न खोज्ने। फेरि अर्कातिर दबदबे हिलो, खुट्टा गाडिएर जमिनमै दफन गर्न खोज्ने। टाउकोमाथि मृत्यु मडारिरहेको त्यो क्षण जीवनकै अन्तिम युद्ध र कुनै भयानक सिनेमाको दृश्यजस्तै थियो। अब जिउँदै घर पुगिने आशा लगभग सकिँदै थियो। 

तर मान्छेले अन्तिम सास रहुन्जेलसम्म बाँच्ने प्रयास गर्ने रहेछ।

बिरामी बबिता डाँडा चढ्न सक्ने थिइनन्। डाँडा चढ्न नसकेपछि त्यहीँ रुन थालिन्। रुँदै भन्न थालिन्, ‘एकजना त बाँच्नुपर्छ, मलाई यहीँ छोड्दिनु, तपाईं जानू!’

बाँचे सँगै बाँचौला, मरे सँगै मरौँला भन्ने कसम खाएर जीवन सुरु गरेको आफ्नो श्रीमतीलाई कसरी छोड्नु? सकिन्छ र? 

डाँडा चढ्न नसकेपछि श्रीमतीलाई हातमा समातेर मंलटारतिर जाने बाटोमा भाग्न थालेँ। तर त्यहाँ अर्को खहरे थियो। पहिरो खस्न थाल्यो। पहिरो झरेपछि त्यहाँ मान्छेको भागाभाग भयो। हाहाकार भयो। त्यहाँबाट फेरि अगाडि बढियो। 

अन्तिम अवस्था भएपछि मान्छेले बाँच्नलाई निकै बल गर्दो रहेछ। बबिताले पनि बिरामी शरीर लिएर भाग्नलाई निकै बल गरिन्। दलदलबाट निस्कियौँ। खहरेबाट पनि कटियो। खहरे कट्ने बित्तिकै त्यही खहरेले एकैछिनमा माथिबाट ल्याएर टन्नै ढुंगा थुपार्‍यो। खहर कटेपछि चाहिँ लामो श्वास फेर्‍यौँ। बल्ल बाँचियो भन्ने भयो। बबिता थरथर काँपिरहेकी थिइन्। त्यहाँबाट पनि अझै अगाडि लिएर गएँ।

मंगलटार नजिकै पुगेपछि चाहिँ त्यहाँ एक ठाउँमा घर खुल्ला रहेछ। सबै मानिसहरू त्यहीँ रहेछन्। मैले पनि बबितालाई लगेर त्यहीँ राखेँ। एकजना साथीले अघिल्लो दिनै त्यहाँको प्रहरी चौकीको नम्बर दिनुभएको थियो। म त्यहाँ गएर भेटेँ। उहाँले हामीलाई एउटा सुरक्षित कोठा     खोजेर सहयोग गर्नुभयो। बबितालाई लगेर त्यही कोठामा राखेँ। 

एउटा संकटबाट त पार भइयो, तर बबिताको औषधि सकिँदै थियो। म पनि सुगरको बिरामी। मैले औषधि मात्रै खाने भए पनि बबितालाई इन्सुलिन नै लगाउनुपथ्र्यो। अर्को त त्यहाँ पानीको अभाव थियो। बजारमा मिनरल वाटरका बोतलहरू सकिइसकेको थियो। स्थानीयले प्रयोग गर्ने धारा पनि बगाइहाल्यो। 

‘दाइ, पुर्‍याएर खानु है’ भनेर एकजना प्रहरी साथीले सुटुक्क दुई बोतल पानी दिएका थिए। केही समय त त्यही पानीले पुग्यो। दुई बोतल पानी कति हुन्छ र? त्यसपछि भने बाटोबाटोमा फालिएका बोतल संकलन गर्‍यौँ। कुनैमा आधा, कुनैमा आधाभन्दा अलि कम पानी थियो। सायद दुईचार दिन अगाडि त्यो बाटोमा हिँड्ने यात्रुले आधा पानी खाएर फालेको बोतलहरू थिए। हामीलाई यो बेला जुठो–चोखो, कसैले फालेको वा अरू केहीको  मतलब थिएन। खाली बाँच्नु थियो। चारपाँच बोतल पानी जम्मा गरेँ। त्यो पानी लगेर कोठामा राखेँ। 

पानीको जोहो भएपनि खानेकुराहरू खान पाउने ठाउँ थिएन। होटलहरू त थियो तर पानी नभएका कारण खाना नबन्ने रहेछ। हामी बसेको होटलको घरबेटीसँग बबिताको लागि अलिकति खाना मागेँ। बिरामी छिन् भनेर सुइहरू देखाएपछि उहाँहरूले आफ्नो लागि बनाएको खानाबाटै अलिकति खाना बबिताको लागि दिनुभयो। हामी चाहिँ प्रहरी चौकीमा गयौँ, त्यहाँ हामीलाई चिउरा र दालमोठ दिए। चिउरा र दालमोठ खायौं र त्यहीँ प्रहरी चौकीमा अलिकति पानी पनि मागेर खायौं। 

चारैतिर बाटो बिग्रियो, अब १०/१५ दिन गाडी चल्दैन भन्ने भइसकेपछि भोलिपल्ट (१३ गते) मान्छेहरू हिँड्न थाले। हिँडेर तिमालको डाँडा कटेर जानुपर्ने थियो। अलिअलि दलदलजस्तो पनि थियो बाटो। आफू एक्लै हिँडेर पनि भएन, बबिताको स्वास्थ्यले हिँड्न दिँदैन थियो। जान सक्ने स्थिति नै भएन। हामी त्यहीँ अलपत्रजस्तो भयौँ। एकदुईजना साथीहरूलाई फोन गरेँ। अलपत्र परेका बिरामी र बच्चाबुढालाई सेनाले उद्धार गर्दैछ रे भनेको पनि सुनेँ। साथीहरूले प्रहरी चौकीमा बुझ्नु, उद्धार हुनसक्छ भन्ने खबर दिए।   

प्रहरी चौकी (इलाका प्रहरी कार्यालय मंगलटार)मा गएर बुझेँ। रोगी/बिरामीहरू, अशक्तहरूलाई सम्भावना छ भन्ने जानकारी पाएपछि अलिकति आशा जाग्यो। नाम टिपाएँ। बेलुकातिर भएपछि आउँछ रे भन्ने जानकारी थियो। हेलिप्याड बनाएको ठाउँमा गएर बस्नुस् भनिएको थियो। हामी त्यहाँ गएर बस्यौं। हेलिप्याड बनाएको नजिकै बोडी रोपिएको बारी रहेछ। बारीमा फलेको बोडी टिपेर खाँदै अलिकलि भोक र प्यास मेटायौँ। बोडीले पानीको तिर्खा पनि मेटाउँदो रहेछ भनेर मैले पहिलोपटक थाहा पाएँ। 

हेलिकप्टर कुरिरहेको ठाउँमा चिनजानकै केही मानिसहरू पनि भेटिनुभयो। आफ्नै ठाउँका मानिसहरू पनि भेट भयो। राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष शशिकला दाहाल पनि हेलिकप्टरको पर्खाइमा त्यही हुनुहुँदो रहेछ। उहाँ पनि तीन दिनदेखि अक्सिजन लिन पाइरहनु भएको थिएन। निकै गाह्रो भइरहेको थियो। अर्को एकजना कमल पोखरेलको परिवार पनि त्यहाँ भेट हुनुभयो। सबैजना भेट भएपछि चाहिँ मनलाई अलि शान्ति मिल्यो। एक्लै रहेनछु भन्ने भयो। 

तर, त्यो दिन हेलिकप्टर आएन। नआएपछि मलाई फेरि डर लाग्न थाल्यो। किनकि, १४ गते बेलुकासम्मको मात्रै इन्सुलिन थियो, बबिताको। १४ गते बिहान फेरि प्रहरी चौकीमा गएर बुझ्यौँ। ‘खै, भन्नै सकिंदैन, अहिलेसम्म आएको छैन। आउँछ आउँछ भन्छ आउँदैन’ भन्नुभयो। सेनाको हेलिकप्टर नआएकाले गाउँमा पनि खबर गरेको थिएँ। गिरिराजमणि पोखरेल दाइलाई पनि खबर गरेको थिएँ। सेनाको हेलिकप्टर नआएको खबर पाएपछि हामीलाई उद्धार गर्न स्कुलका सबै सर–म्याडमहरूले पैसा संकलन गर्न थाल्नुभएछ। ‘हामी तपाईंलाई जसरी पनि ल्याउँछौं, नआत्तिनुहोला सर’ भन्ने खबर आयो स्कुलबाट।

त्यसो भनेको डेढ/दुई घण्टापछि सेनाको हेलिकप्टर आयो। हेलिकप्टर त्यहाँ बस्न नसक्ने भएपछि फेरि रोशी खोला लैजानु पर्ने भयो। प्रहरी र सेनाको दौडधूप सुरु भयो। उद्धारमा आएका सैनिक र प्रहरीहरूले बिरामीहरूलाई एकएक गर्दै बोकेर लगे। नेपाली सेना र नेपाल प्रहरीप्रति एकदमै ठूलो सम्मान बढेर आयो। परेको खण्डमा सेनाप्रहरीले कसरी नागरिकको सेवा गर्दा रहेछन् भन्ने मैले आफैंले अनुभव गरेँ। आफ्नै आँखाले देखें। ल आउनुस् आमा, ल आउनुस् बुवा भन्दै अशक्तहरू हरेकलाई आफ्नै आमा बुवाजस्तो गरेर बोक्दै लिएर गए उनीहरूले। 

शशिकला म्यामलाई पनि त्यसरी नै बोकेर लगेको देखेँ। सेनाको त्यो हेलिकप्टरमा ५० जना अट्ने रहेछ। हेलिकप्टरमा बसिसकेपछि अब बाँचिन्छ भन्ने भयो। सेनाले धुलिखेल ल्याइदियो। कतिपय बिरामी त्यही भर्ना हुनुभयो। भर्ना हुनु नपर्नेहरू फर्किनुभयो।

दाजुको दाहसंस्कारको लागि जतिसक्दो छिटो घर आइपुग्नुपर्ने थियो। धेरै ठाउँमा भनसुन गर्दा गर्दा बल्ल प्लेनको टिकट पाइयो। सुरुमा पाएको एउटा टिकटमा बबितालाई पठाएँ। एकछिन कुरेपछि फेरि थप दुईवटा टिकट खाली भएर टिकट पाएपछि म पनि बुद्ध एयरबाट जनकपुर हुँदै आएँ। बाटो जताततै अवरुद्ध भएर दाजुको शव ल्याउन छोराहरूलाई कठिन भइरहेको थियो। वैकल्पिक बाटो (हेटौँडा–सिमभञ्ज्याङ) भएर उनीहरू एम्बुलेन्समा शव लिएर आए।   

(नेत्र रम्तेल जनता मावि गौरीडाँडा, महोत्तरीका शिक्षक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .