गण्डकी


कास्कीको मादी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

कास्कीको मादी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

गाउँपालिका अध्यक्ष देवीज‌ंग गुरुङ


नेपालखबर
असार ७, २०८० बिहिबार २१:१०, पोखरा

कास्कीको उत्तरपूर्वी पालिका मादीले ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देवीजंग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रममार्फत् विपन्न एकल पुरुषलाई भत्ता दिने घोषणा गरेका हुन्। पालिकाले दलित वर्गको निशुल्क स्वास्थ्य बीमा तथा प्लस टु अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिको पनि घोषणा गरेको छ।

तेस्रो मादी गाउँपालिकाको गाउँसभामा अध्यक्ष गुरुङले कृषि उत्पादन बढाउने, बाँझो जग्गाको उपयोग गर्नेलगायतका कार्यक्रम पनि अगाडि सारे। नीति तथा कार्यक्रममा कृषि एम्बुलेन्स खरिद, स्थानीय कृषि उत्पादनहरु सिन्की, गुन्द्रुक तथा राडी,भ्राङ्ग्रा र बख्खुको ब्राण्डिङ गरिने पनि उल्लेख गरिउको छ। यस्तै, गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरू पाल्ने कृषकलाई अनुदान दिने तथा गोठदेखि ओठसम्म स्वच्छ उत्पादनलाई जोड दिने पनि पालिकाको उद्घोष छ।

पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पनि विशेष जोड दिएको छ। नीति तथा कार्यक्रममा हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप गरिने र त्यसको लागि ‘नो ब्याग, नो बुक’ कार्यक्रम ल्याइएको छ। पालिकाको आफ्नै पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयले बस संचालन गर्न चाहेमा ५० प्रतिशत अनुदान,हरेक विद्यालयमा कम्प्युटर र छात्रवृत्तिको घोषणा पनि नीति तथा कार्यक्रममार्फत् गरिएको छ।

पालिकाले सिक्लेस–कोरी–मनाङ पदयात्रा मार्ग निर्माणलाई विशेष जोड दिएको छ। संघीय सरकारकै बजेटमा समेटिएको सो आयोजना संघ सरकारसँगकै साझेदारीमा अगाडि बढाइने पालिकाले जनाएको छ। सिक्लेस र ताङतिङसहितका गुरुङहरुको बाक्लो बस्ती रहेको मादी गाउँपालिकामा संसारकै कम उचाइमा रहेको कपुचे हिमताल पनि रहेको छ।

अन्नपूर्ण हिमालको फेदीमा रहेको यो क्षेत्र हुँदै मध्यपहाडी लोकमार्ग निर्माण हुँदैछ। पालिकाले बसाइँसराइ रोक्न मध्यपहाडी राजमार्गको वरपर बस्ती विकासलाई पनि जोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .