गण्डकी


अवैध संरचना हटाउन डोजर लिएर निस्किए पोखराका मेयर

अवैध संरचना हटाउन डोजर लिएर निस्किए पोखराका मेयर

वाशुदेव मिश्र
असार २५, २०८० सोमबार १२:२९, पोखरा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह डोजर लिएर अवैध संरचना हटाउन निस्किएपछि धेरै टिकाटिप्पणी र चर्चा भए।

सोही शैलीमा अब पोखरा महानगरपालिका पनि डोजर लिएर अवैध संरचना हटाउन निस्किएको छ। पोखरा महानगरले पृथ्वी राजमार्ग खण्डअन्तर्गत पोखरा बसपार्कदेखि विजयपुर खोलासम्मको अतिक्रमण हटाउन सुरु गरेको छ।

महानगरले सार्वजनिक सूचना जारी गरी सोमबारदेखि सो सडक खण्डको दायाँबायाँ रहेका अवैध संरचना हटाउन सुरु गरेको हो। सो क्षेत्रको दूरी १०.६ किलोमिटर रहेको छ। पृथ्वी राजमार्गको स्तरोन्नतिको लागि अवैध संरचना हटाउनुपर्ने भएकाले सो क्षेत्रमा डोजर चलाइएको पोखरामा मेयर धनराज आचार्यले बताए। सडक मापदण्ड अनुसार पृथ्वी राजमार्गको दुवैतर्फ २५/२५ मिटर खाली ठाउँ हुनुपर्छ।

तर,पोखराको मुख्य  बजार क्षेत्र छिर्ने विजयपुर खोलाबाट पृथ्वीचोकसम्मको सो क्षेत्र अतिक्रमणमा परेको छ। कतिपय ठाउँमा निर्माण सामग्री राखिएको छ भने केही ठाउँमा जग्गा नै हडपिएको छ। भौतिक निर्माण, बिजुलीका पोलहरु नहटाइए पृथ्वी राजमार्ग स्तरोन्नति परियोजना अगाडि नबढ्ने भएकाले सार्वजनिक सूचना जारी गरेरै डोजर चलाइएको मेयर आचार्यको भनाइ छ। विजयपुर खोलाभन्द उताको क्षेत्रमा मुआब्जा र राइट अफ वे टुंगिन बाँकी रहेकाले अहिले डोजर नचलाइएको मेयर आचार्यको भनाइ छ।

कुल ८४.३ मिटर लामो मुग्लिन–पोखरा सडक खण्डमध्ये पश्चिम खण्ड अर्थात् पोखरा क्षेत्रको कामले गति नलिएपछि दाता एसियाली विकास र्बैंक रुष्ट छ। २०८१ भदौभित्र निर्माण सम्पन्न हुनुपर्ने सडकको हालसम्म ७ प्रतिशत काम पनि हुन सकेको छैन। कामको अनुगमनको लागि यही असार २७ गते एसियाली विकास बैंकको टोली आउने भएपछि पोखरा महागनर तात्तिएको हो। 

 ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन गुडाउन मिल्ने गरी ४ लेनको बनाउने गरी काम भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन सडकको ठेक्का चाहिँ चिनियाँ कम्पनीले पाएका छन्। मुग्लिन–पोखरा सडक खण्डलाई मुग्लिन–आँबुखैरेनी,आबुँखैरेनी–दमौली, दमौली–विजयपुर खोला र विजयपुरबाट पृथ्वीचोक गरी ४ खण्डमा विभाजन गरिएको छ। 

मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ। २०८१ साल वैशाखसम्म निर्माण सक्नेगरी ठेक्का लिएको मुग्लिन– पोखरा सडक परियोजना ९पूर्वी खण्ड० का प्रमुख इञ्जिनियर सीडीइ नरेन्द्र सुवेदीले जानकारी दिए।  

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनलाई दिइयो।  २०७८ जेठ २ गते सात अर्ब ४० करोड ४६ लाखमा गरिएको सम्झौताको म्याद २०८१ साल भदौसम्म कायम गरिएको छ। प्रमुख इञ्जिनियर नरेन्द्र सुवेदीका अनुसार पूर्वी खण्डमा करिब २०.५ प्रतिशत मात्र प्रगति भएको छ भने पश्चिम खण्डमा ७ प्रतिशत पनि काम हुन सकेको छैन।

काम सुस्त भएसँगै  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत छन सोन, एसियाली विकास बैंकका प्रमुख,पालिका प्रमुख, सडक विभागका अधिकारीसहितको टोलीले यसअघि पनि सो सडकको निरीक्षण गरेका थिए।

महागनरले यसअघि विजयपुर खोलादेखि पृथ्वीचोकसम्मका सोलार लाइटका पोलहरु हटाएको थियो।

यो पनि

धुलो खाँदै चिनियाँ राजदूत पृथ्वी राजमार्गमा

दाता एडीबी असन्तुष्ट भएसँगै उपप्रधानमन्त्रीसहित चिनियाँ राजदूतको टोली मुग्लिन-पोखरा सडक अनुगमनमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .