ad ad

गण्डकी


सेती खोँचका यी दुखान्तहरू

सेती खोँचका यी दुखान्तहरू

वाशुदेव मिश्र
फागुन १७, २०८० बिहिबार २०:२४, पोखरा

अमेरिकी नागरिक डेनियल सी टेलर र जेनिफरले सन् १९७१ ताका पोखरालाई चिरेर बग्ने अनि कतै देखिने र कतै लुक्ने सेती नदीको ३ किलोमिटर क्षेत्रमा र्‍याफ्टिङ गरे।

हिमाल र यतीबारे लामो अनुसन्धान गरेका उनको त्यो साहसिक कार्यले सेती विश्वमाझ चिनियो। गोर्खा दक्षिणबाहुले सम्मानित डेनियलले सेती चिनाउनुअघि नै नेपालीले सेतीका अनेकौँ किस्सा नसुनेका भने होइनन्।

अन्नपूर्ण हिमालको काखमा उत्पत्ति भएर दक्षिण–पूर्वतर्फ बग्ने सेती नदी पोखरा–१, केआई सिंह पुलनेर आइपुगेपछि साँघुरो र गहिरो गल्छी हुँदै बग्छ। त्यहाँबाट पोखरा १५ र १७ को दोसाँध ढुंगेसाँघुसम्म यो कतै देखिन्छ तर धेरैजसो लुक्छ। भूगर्भविद् डा कृष्ण केसीका अनुसार केआई सिंह पुलदेखि ढुंगेसाँघुसम्मको करिब ६ किलोमिटरको यात्रामा सेती नदी तुलसीघाट, नारायणस्थान र रामघाट क्षेत्रमा देखिन्छ।

केआई सिंह पुलदेखि पृथ्वीनारायण क्याम्पसको तल पर्ने तुलसीघाट क्षेत्रसम्म गल्छीको गहिराइ ६०-६५ मिटर र चौडाइ १५-२० मिटर रहेको छ। नारायणस्थानदेखि रामघाटसम्मको गहिराइ ६५-७० मिटर र चौडाइ ३०-३५ मिटरसम्म छ।

रामघाटदेखि ढुंगेसाँघुसम्म भने चौडाइ ५-१५ मिटर र गहिराइ ७५ देखि १ सय मिटरसम्म छ। पोखरालाई चिरेर बग्ने सेतीको भौगोलिक कथा यत्ति हो।

आङै सिरिंग पार्ने त्यो नमिता–सुनीता काण्ड
सेती नदी, खोँच र यसका बगरसँग केही यस्ता दुःखान्त र अपराधहरू पनि जोडिएका छन्,जसले सिंगो देशलाई हल्लाइरहन्छ। र, त्यसमध्ये सर्वाधिक चर्चित काण्ड हो– नमिता सुनीता काण्ड।

यो २०३८ सालको कुरा हो। काठमाडौंको सम्पन्न परिवारका दुई छोरी नमिता र सुनीता जेठ १८ गते पोखरा आइपुग्छन्। घुम्नकै लागि पोखरा आएका उनीहरूसँग नीरा पराजुली पनि हुन्छिन्।

जेठ २४ गते उनीहरू बेपत्ता हुन्छन्। त्यसको पाँच दिनपछि पोखराको पृथ्वीनारायण क्याम्पस तलको बगरमा एक किशोरीको लास भेटिन्छ। टाउको पूर्व फर्किएको र उत्तानो अवस्थामा भेटिएको सो शव नमिताको थियो।

नमिताको शव पाइएको ९  दिनपछि पिता माधवराज भण्डारीले अर्की छोरी सुनीताको शवको सनाखत गर्नुपर्‍यो। सुनीताको शव पनि पृथ्वीनारायण क्याम्पस तलको बगरमा भेटिएको थियो।

काठमाडौंबाट आएका किशोरीहरूको हत्याले सिंगो देश तात्यो। यो हत्याकाण्डबारे पत्रकार किशोर श्रेष्ठले ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’ मा विस्तृत चर्चा गरेका छन्। उनले दृष्टि साप्ताहिकका लागि यो विषयमा केन्द्रित रहेर लेखेका कयौं सामग्रीलाई पुस्तकको रूप दिएका हुन्।

त्यसो त, तत्कालीन कास्कीका प्रमुख जिल्ला अधिकारी रहेका सूर्य सेन ओलीले यो घटना र अनुसन्धानमा खटिँदाको स्मरण आफ्नो आत्मकथामा पनि समेटेका छन्। सो हत्याकाण्डमा को संलग्न थियो, खुलेको छैन। कतिसम्म भने नीरा पराजुलीको अवस्था अहिलेसम्म अज्ञात छ। नमिता–सुुनीता हत्याकाण्डको पाँच महिनापछि सेती खोँचमा अर्की एक महिलाको शव भेटियो।

बोरामा बाँधिएको शव कसको थियो भन्ने गहिरो अनुसन्धान गरिएन। तत्कालीन प्रजिअ ओलीले चाहिँ त्यो शव नीराकै भएको अनुमान गरेका छन्। त्यस्तै सो घटनालाई प्रत्यक्ष देखेको मानिने वनपाले चूडामणि अधिकारीको पनि रहस्यमय हत्या भएको थियो।

सुन्दा पनि आङ सिरिंग पार्ने यस हत्याकाण्डको फाइल बन्द गरिएको पनि वर्षौं भइसकेको छ। तर, सेती नदीको प्रसंगमा सो घटनाको स्मरण गर्न छाडिएको छैन।

सधैँ असुरक्षित
पृथ्वीनारायण क्याम्पसबाट नारायणस्थानसम्मको करिब १ किलोमिटर क्षेत्रमा सेती देखिएर बग्छ र खोँचमा विलीन हुन्छ। जमिनभित्र लुक्ने सेती आफैँमा रहस्य हो। पर्यटकका लागि आकर्षणको केन्द्र हो। तर, पोखरेलीका लागि कहिलेकाहीँ यो अभिशाप पनि बन्दै आएको छ। सेती खोँचमा केही अड्किए हत्पत्ति बाहिर आउँदैन।

सेतीमा खसेका र बगाइएकाहरूलाई खोज्न पनि सजिलो छैन। कथंकदाचित कोही खसेको खण्डमा चाहिँ लास नै भए पनि झिक्न पानीको बहाव बढाउनुपर्छ। कास्की प्रहरीले बेलाबेला आफन्तहरूको अनुरोधमा पानीको बहाव बढाएर खोजी कार्य गर्दै आइरहेको छ।

यही उपक्रममा बिहीबार पनि सेतीमा पानीको बहाव बढाइयो। पोखरा १, सिम्पानी बस्ने मानबहादुर तामाङ माछा मार्ने क्रममा बेपत्ता बनेपछि खोज्नको लागि नदीमा बढी पानी छाडिएको थियो। तामाङ फागुन १३ गते बेपत्ता भएका थिए। उनको शुक्रबार शव भेटिएको छ।

पानीको बहाव बढाउनचाहिँ केही माथि जौबारीमा रहेको सेती नहरको बाँध खोलिन्छ। सो बाँध सिँचाइका लागि बनाइएको हो।

२०३७ सालमा मित्रराष्ट्र चीनको प्रावधिक र आर्थिक सहयोगमा पोखरा जल उपयोग तथा सिँचाइ आयोजना सुरु गरिएको हो। सोही परियोजनाअन्तर्गत पोखरा १६ र १ को बीचमा पर्ने जौबारीनेर सेतीमा ड्याम बनाइयो।

सिँचाइका अलावा सो परियोजनाअन्तर्गत नै पोखराको नारायणस्थानमा ५ सय किलोवाटका तीनवटा टर्बाइनबाट १५ सय किलोवाट विद्युत उत्पादन गरियो। २०४१ सालमा निर्माण सम्पन्न भएको र २० वर्षको आयु निर्धारण गरिएको परियोजना हालसम्म पनि उही अवस्थामा छ। यो बाँधको लम्बाइ ८० मिटर रहेको छ भने मुख्य नहरको लम्बाइ ७.६९१ मिटर रहेको छ।

सेती नदी वरपरको क्षेत्र सधैँ असुरक्षित रहँदै आएको छ।

२०६५ असार १० गते साढे दुई वर्षीया आराधना प्रधान सेती खोँचमा खसिन्। ६० फिट तल खोँचमा खसेकी बालिकाको उद्धार गर्न ठूलै समूह परिचालन भयो। तर, खोँचको ढुंगामा अड्किएकी उनलाई निकाल्न हम्मे पर्‍यो। सोही ठाउँ बस्ने १२ वर्षीय कमल नेपालीले ‘बहिनीलाई म निकाल्छु’ भन्ने उद्घोष गरे।

सानो काँठीका र सो क्षेत्रमा खाइखेलेका कमललाई क्यानोनिङ टोलीले खोँचमा पठायो। कमलले खोँचमा खसेकी आराधनाको २३ घण्टापछि सकुशल उद्धार गरे। उनी राष्ट्रिय हिरो बने।

तर, सबैको भाग्य आराधनाको जस्तो हुँदैन।

उदाहरणका लागि, पोखराको पृथ्वीचोकमा रहेको चाइना पुलबाट २०७४ असोज ९ गते एक युवक नदीमा खसे। उनको प्रहरीले उद्धार गर्‍यो। २०७६ माघ २८ गते कुकुरसहित घुम्न निस्केका युवकको पनि उद्धारपछि ज्यान जोगियो। तर २०७७ असोज १६ गते बिहान सवा ९ बजेतिर सेती खोँचमा खसेका अन्दाजी २२ वर्षीय अर्का एक युवकको उपचारको क्रममा मृत्यु भयो।

२०७७ असोज १६ गते पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेर एकजनाले ज्यान गुमाएका थिए।

सेती नदीमा खसेर हालसम्म कति जनाले ज्यान गुमाए, कतिको उद्धार भयो भन्ने पूरा तथ्यांक नभए पनि हरेक वर्षजसो सेतीले मान्छे खाने गरेको छ। असुरक्षित सेती नदी क्षेत्र वरपर तारजाली लगाउनुपर्ने माग उठेको धेरै भइसकेको छ। तर, यो योजना कागजमा सीमित छ।

पोखरा महानगरले सार्वजनिक-निजी साझेदारी अवधारणा अनुसार ‘सेती खोँच अवलोकन परियोजना’ निर्माणको घोषणा गरेको थियो। यसअघिका मेयर मानबहादुर जीसीकै पालामा घोषित सो परियोजनाअनुसार घाईघाटबाट रातोपैह्रोसम्म सेती किनारा र खोचमा हिँड्ने बाटो बनाउने र क्यानोनिङ चलाउने योजना समेटिएको थियो। तर, त्यो योजनाले गति लिएको छैन।

‘ज्यान फाल्छु नै भन्नेलाई तारले रोक्न त सकिँदैन तर सुरक्षा प्रबन्ध गरिँदा उसको मन बदलिन सक्छ। सेती नदीको सवालमा पनि त्यही विषयलाई ध्यान दिनुपर्छ,’ यसअघि कास्की प्रहरीको डीएसपी हुँदा सुन्दर तिवारीले सार्वजनिक कार्यक्रममा भनेका थिए,‘सोझै हाम्फाल्न मिल्नेभन्दा तारजाली लगाइएको छ भने मान्छेको मन बदलिन सक्छ। यतातर्फ ध्यान दिनैपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .