ad ad

गण्डकी


एमाले बागलुङमा सर्वसम्मत, पर्वतमा मन्त्री पदम गिरीनिकट प्यानलै निर्वाचित

कानुनमन्त्री गिरी पर्वतमा झन् शक्तिशाली
एमाले बागलुङमा सर्वसम्मत, पर्वतमा मन्त्री पदम गिरीनिकट प्यानलै निर्वाचित

नेपालखबर
बैशाख १, २०८१ शनिबार १२:२३, पोखरा

नेकपा एमाले बागलुङको नेतृत्व चयनमा सधैँ प्रतिस्पर्धा हुन्थ्यो। अघिल्लोपटक गण्डकीका विभिन्न जिल्लामा एमाले नेतृत्व सर्वसम्मत चयन हुँदा बागलुङमा चुनाव नै गर्नुपरेको थियो। नवौँ अधिवेशनमा हीराबहादुर केसी र कृष्ण पाठक मैदानमा उत्रिँदा कार्यकर्ताले हीरालाई नै पत्याए।

अहिले दशौँ महाधिवेशनमा भने परिस्थिति बदलियो। छिमेकी जिल्ला पर्वतमा नेतृत्वका लागि केन्द्रीय सरकारका कानुनमन्त्री पदम गिरी तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना समर्थित समूह चुनावी मैदानमा उत्रिँदा बागलुङमा एमाले नेतृत्व सर्वसम्मत चयन भएको हो। 

एमाले बागलुङ जिल्ला नेतृत्वका लागि गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले ‘सहमति’का लागि चुनावी मैदान छाडेपछि हीराबहादुर केसी नै दोस्रो कार्यकालका लागि पनि निर्विरोध अध्यक्ष बनेका हुन्। उनी मात्र होइन, पूरै जिल्ला कमिटी नै सर्वसम्मत भएको हो। 

उपाध्यक्षमा विष्णु भुसाल, सचिवमा गणेश थापा, उपसचिवमा धनबहादुर परियार र करमतीका साथै सदस्यहरू पनि सबै सर्वसम्त चयन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए। 

उता पर्वतमा भने सिंगो पार्टी नेतृत्व पंक्ति एकातिर हुँदा पनि कानुनमन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य पदम गिरी समर्थित गोविन्द पहाडी गिरीले चुनाव जितेका छन्। उनले यसअघिका उपाध्यक्ष पदमपाणि शर्मालाई अध्यक्षमा भारी मतले हराएका हुन्। गोविन्दले २४८ मत पाउँदा पदमपाणिले १२७ मत मात्र ल्याए।

उपाध्यक्षमा भने विमल लामिछाने, सचिवमा सुवास पौडेल तथा उपसचिवमा चण्डी भुर्तेल र बिन्दु अधिकारी निर्वाचित भएका छन्। उनीहरू सबै गिरी समूहका हुन्।

राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कल्पना चापागाईं, पूर्वमन्त्री तथा संविधानसभा सदस्य विकास लम्साल, प्रदेश सांसदहरू मित्रलाल बस्याल र भक्त कुवँरसहितका निवर्तमान अध्यक्ष राजु पौडेलहरूको सर्मर्थनमा उपाध्यक्षमा उम्मेदवारी दिएका मीनप्रसाद श्रेष्ठ, सचिवमा शिवप्रसाद पौडेल, उपसचिवमा जीवनविक्रम उचै र सरिता भण्डारी भने पराजित भए। 

पार्टीका अधिकांश चिनिएका नेता विपक्षमा रहँदा पनि आफूपक्षीय उम्मेदवारलाई जिताएपछि कानुनमन्त्री गिरी पर्वतमा झन् शक्तिशाली बनेका छन्।

माधव नेपालपक्षीय नेताहरूलाई तह लगाउनकै लागि जिल्ला समितिका सदस्यबाट एकैपटक अध्यक्ष बनेका गिरीले यो जितसँगै आफैँलाई अध्यक्ष बनाउने पूर्वअध्यक्ष विकास लम्साललगायतका नेताहरूलाई पछाडि छाडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .