गण्डकी


पोखराका सहकारीपीडित सडक संघर्षमा

पोखराका सहकारीपीडित सडक संघर्षमा

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार २०:१९, काठमाडौँ

कास्कीका सहकारी पीडितहरू सडक संघर्षमा उत्रिने भएका छन्।

सहकारी बचत पीडित संघर्ष समितिको आह्वानमा सोमबार पोखरमा बृहत दबाब र्‍याली हुँदै छ। प्रदर्शन बिहान १० बजे गैह्रापाटनबाट सुरु हुने समितिका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए।

यसअघि सहकारीका पीडित बचतकर्ताले सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति गठन गरेका थिए। समितिमा इमेज सहकारी, शिव शिखर सहकारी, मित्र मिलन सहकारी र बलिदानी सहकारीका पीडितहरू छन्।

अध्यक्ष श्रेष्ठले अहिले कास्कीमा यी ६ वटा सहकारीविरुद्ध उजुरी परेको, मुद्दा प्रक्रिया अगाडि बढेको तथा केही सञ्चालक पक्राउ परे पनि बचतकर्ताले रकम फिर्ता पाउन नसकेको बताए। पोखरामा रहेका अन्य सहकारीले पनि बचतकर्तालाई रकम नदिएको उनको भनाइ छ।

‘बाहिर ६ वटाले मात्र ठगे भनिए पनि यहाँ रहेका कयौं सानाठूला सहकारीले बचतकर्ताको रकम दिएका छैनन्,’ उनले भने, ‘उनीहरूको आवाजलाई मुखरित गर्न र बचत फिर्ताको लागि सम्बन्धित निकायलाई दबाब दिन प्रदर्शनमा जानुपरेको हो।’

सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरूले चासो नदिएको पनि उनको गुनासो छ। कास्कीमा खुलेका सहकारीमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट मात्र १ अर्ब ३१ करोडभन्दा बढी अपचलन भएको छ। त्यसको रकम हिनामिना प्रकरणमा वर्तमान गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको छ।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा नाम मुछिएका रविमाथि अनुसन्धान गर्न संसदीय समितिको माग गरे पनि सत्ता गठबन्धनले त्यसलाई स्वीकारेको छैन।

कांग्रेसको अवरोधकै बीच संसद अधिवेशन अन्त्य गरिएको छ। पोखरामै खुलेको अर्को इमेज बचत तथा ऋण सहकारीबाट पोखरामा मात्र करिब १ अर्ब अपचलन भएको छ।

पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज सहकारी चलाएका ढोरपाटनका मेयर देवकुमार नेपाली पनि सहकारी ठगीमा फरार छन्।

यस्तै, मित्रमिलन, शिव शिखर, बलिदानी सहकारीले पनि करोडौं ठगी गरेको आरोप अदालतमा विचाराधीन छ। यी ठगीका केही आरोपी अझै फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .