ad ad

गण्डकी


स्याङ्जाको यो दुखान्त : घर बगाएपछि छिमेकीकहाँ पुगे, त्यहाँ पनि पहिरोमै पुरिएर अस्ताए

स्याङ्जाको यो दुखान्त : घर बगाएपछि छिमेकीकहाँ पुगे, त्यहाँ पनि पहिरोमै पुरिएर अस्ताए

तस्बिर: स्थानीय डीआर पोखरेलको फेसबुक वालबाट।


वाशुदेव मिश्र
असार २२, २०८१ शनिबार १९:४६, पोखरा

शनिबार बिहान ५ बजेतिर घरमाथिबाट एक्कासी आएको ठूलो पहिरोले माधवप्रसाद शर्माको घर पुर्‍यो। माधवप्रसाद र उनकी श्रीमती गुह्येश्वरी शर्मा जसोतसो उम्किए।

पक्की घर नै पुरिए पनि जसोतसो ज्यान जोगाएका उनीहरू सुरक्षा खोज्न परको करिब एक किलोमिटर माथि रहेको ईश्वरी लम्सालको घरमा पुगे। 

छिमेकी ५८ वर्षीया हरिदेवी शर्मा पनि लम्सालकै घरमा शरण लिन पुगिन्। 

घटना स्याङ्जाको बिरुवा गाउँपालिका-६, लामाखेतको हो। तर, सुरक्षा खोज्न हिँडेका यी तीनैजनालाई विपदले छाडेन।

ओत लागेको घरमाथि नै दिउँसो एक बजेतिर पहिरो खस्यो। पहिरोमा पुरिएर ६६ वर्षीय माधव र ६५ वर्षीया गुह्येश्वरी शर्मा दम्पती तथा ५८ वर्षीया हरिदेवी शर्माको निधन भयो।

बिरुवा–६ का वडाध्यक्ष कृष्णबहादुर क्षत्रीका अनुसार, गुह्येश्वरी र हरिदेवीको तत्काल उद्धार गरिए पनि ज्यान जोगिएन भने पुरिएका माधवको बढो कष्टसाथ शव निकालिएको हो।

‘बिहान ५ बजेतिर नै घरको तीन सय मिटरमाथिबाट आएको पहिरोबाट उहाँहरु जोगिनुभएछ र सुरक्षित ठाउँ खोज्न माथि (ईश्वरीप्रसाद लम्सालको घर) जानुभएको रहेछ तर त्यहाँ पनि पहिरो आएपछि उहाँहरूको निधन भएको हो,’ वडाध्यक्ष क्षत्रीले भने,‘ पहिरोमा परी ईश्वरीप्रसाद, उहाँका परिवारका सदस्यहरू पनि घाइते हुनुभएको छ। उहाँहरूलाई सामान्य चोट छ।’

हजुरआमाको साथ लागेर त्यहाँ पुगेका एक बालक भने पहिरोबाट बचेको उनले बताए। भाग्यले बाँचेका उनी हरिमायाका नाती हुन्। 

‘आफ्नो घरमाथिबाट आएको पहिरोबाट  पनि बँचेका उनी ओत लाग्न गएको घरमा पहिरो आउँदा बाहिर खेल्दै रहेछन्,उता झ्यालबाट निस्केर सकुशल रहेका उनी यता पनि भाग्यले सकुशल नै रहेका छन्,’वडाध्यक्ष क्षेत्रीले भने।

वडाध्यक्ष क्षेत्रीका अनुसार, अहिले सम्भावित खतरालाई मध्यनजर राख्दै नागरिकलाई सुरक्षित स्थलतर्फ लगिएको छ।

‘वर्षा केही कम भएको छ तर ज्याग्दी खोला गड्गडाएको छ। बाटो चाहिँ  अवरुद्ध छ, अवस्था दुःखद छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .