ad ad

ग्लोबल


इरानका ड्रोन र मिसाइलबाट इजरायलमा कति भयो क्षति?

यस्तो छ घटनाको नालीबेली
इरानका ड्रोन र मिसाइलबाट इजरायलमा कति भयो क्षति?

इरानद्वारा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्दाको दृश्य


नेपालखबर
बैशाख २, २०८१ आइतबार २०:७, काठमाडौँ

इरानले आफ्नो कट्टर प्रतिद्वन्द्वी इजरायलको भूमिमा आक्रमण गरेको यो पहिलोपटक हो।

इजरायलमा शनिबार मध्यराति हवाई आक्रमणको अलर्ट जारी गरिएको थियो। मानिसहरूलाई सुरक्षित स्थानमा शरण लिन आग्रह गरिएको थियो। यी सबैको बीचमा वायु रक्षा सक्रिय भएका कारण इजरायलमा लगातार विस्फोटको आवाज सुनिएको थियो।

क्षेप्यास्त्र र ड्रोनले धेरै ठाउँमा आकाश चम्किरहेको थियो। धेरै ड्रोन र मिसाइलहरू इजरायल र यसका सहयोगीहरूले इजरायली भूमिमा पुग्नुअघि नै खसालेका थिए।

यो सैन्य द्वन्द्वमा कम्तीमा नौ देश संलग्न थिए। एकातिर इरान, इराक, सिरिया र यमनबाट मिसाइल प्रहार भयो भने अर्कातर्फ जोर्डनसहित इजरायल, अमेरिका र फ्रान्सले ती बीचमै खसाले।

ड्रोन, क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार 

इरानका धेरै स्थानमा इरानीहरूले इजरायलविरुद्ध आक्रमणको खुसियाली मनाए।

इजरायली सेनाले आइतबार बिहान इरानले इजरायलमा ३०० सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको बताएको छ। इरानदेखि इजरायलको सबैभन्दा छोटो दूरी इराक, सिरिया र जोर्डन हुँदै करिब एक हजार किलोमिटर (६२० माइल) छ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले एक टेलिभिजन वक्तव्यमा प्रहार गरिएकामध्ये १७० ड्रोन र ३० वटा क्रुज मिसाइल इजरायली क्षेत्रमा प्रवेश गर्न नसक्ने खालका थिए। थप ११० ब्यालिस्टिक मिसाइलमध्ये केही इजरायली क्षेत्रसम्म पुगेका थिए।

इजरायली सेनाले छुट्टै विज्ञप्तिमा भनेको छ, ‘यसबीच सतहबाट सतहमा प्रहार गरिने दर्जनौँ  क्षेप्यास्त्रको प्रक्षेपणबारे पनि जानकारी प्राप्त भयो, जसमध्ये अधिकांशलाई इजरायली क्षेत्रमा प्रवेश गर्नुअघि रोकिएको थियो।’

धेरै देशबाट आक्रमण
शनिबार राति इरानको रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले आफूले ड्रोन र मिसाइलले आक्रमण गरेको बताएको थियो।

इराकी सुरक्षा स्रोतहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार केही गोला इराकमाथि उडेको पनि देखियो, जसको दिशा इजरायलतर्फ थियो। 

आईआरजीसीका अनुसार ढिलो गतिमा चल्ने ड्रोन प्रहारको करिब एक घण्टापछि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो, ताकि तिनीहरू लगभग एकै समयमा इजरायलमा खसून्। 

अमेरिकी रक्षा मन्त्रालयले भने आफ्ना सेनाले इरान, इराक, सिरिया र यमनबाट प्रहार गरिएका दर्जनौँ मिसाइल र ड्रोनलाई इजरायल पुग्नुअघि नै रोकेको दाबी गरेको छ। 

लेबनानमा इरान समर्थित हिजबुल्लाह समूहले पनि गोलान हाइट्समा रहेको इजरायली सैन्य आधारमा रकेट प्रहार गरेको बताएको छ। गोलान हाइट्स इजरायलले सिरियाबाट कब्जा गरेको एक पठार हो, जसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन।

हिजबुल्लाह समूहका अनुसार इजरायल र उसका सहयोगीहरूले अधिकांश ड्रोन र मिसाइल रोके।

रियर एडमिरल हगारीले इजरायलतर्फ आउँदै गरेका ड्रोन र क्षेप्यास्त्रमध्ये करिब ९९ प्रतिशत इजरायलको हवाई क्षेत्र बाहिर वा आफ्नो क्षेत्रभित्र पनि रोकिएको दाबी गरे। 

इरानी आक्रमणपछि इजरायलको आइरन डोम

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाले इरानले प्रहार गरेका ‘लगभग सबै ड्रोन र मिसाइल खसाल्न मद्दत गरेको’ बताएका छन्।

विज्ञप्तिमा उनले यो अभूतपूर्व आक्रमणअघि नै अमेरिकाले यस क्षेत्रमा आफ्ना विमान र युद्धपोत पठाउन थालेको उल्लेख गरेका छन्। 

अज्ञात स्थानबाट अमेरिकी सुरक्षा बलले जोर्डनको सीमा नजिकै दक्षिणी सिरियामा धेरै इरानी ड्रोनहरू खसालेको सुरक्षा स्रोतले रोयटर्सलाई बताएको छ।

ड्रोन खसाल्न ब्रिटिस रोयल एयर फोर्स (आरएएफ) टाइफुन लडाकु जेट पनि तैनाथ गरिएको थियो। यी विमान इजरायल होइन, इराक र सिरियामाथि परिक्रमा गरिरहेका थिए।

इजरायलसँग शान्ति सम्झौता गर्ने तर प्यालेस्टाइनमा इजरायली कारबाहीको खुलेर आलोचना गर्ने जोर्डनले पनि विज्ञप्तिमार्फत आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आफूले आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्ने धेरै उडान वस्तु रोकेको बताएको छ।

इजरायली सेनाले भनेको छ, ‘फ्रान्सले हवाई क्षेत्रमा गस्ती गर्न मद्दत गरेको थियो तर उसले कुनै ड्रोन वा मिसाइल खसाल्यो वा खसालेन, स्पष्ट छैन।’

मिसाइलबाट कति क्षति भयो? 
जेरुसेलमका बीबीसी संवाददाताहरूले साइरन सुनेको र इजरायलको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणाली सक्रिय भएको देखेको बताएका छन्।

यो प्रणालीले रकेटहरू ट्र्याक गर्न रडार प्रयोग गर्दछ र लक्षित क्षेत्रमा आक्रमण गर्न सक्ने र अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने रकेटहरू बीच फरक छुट्याउन सक्छ।

इन्टरसेप्टर मिसाइल ती रकेटमा प्रहार गरिन्छ, जुन मानव बसोबास भएका क्षेत्रमा खस्ने सम्भावना हुन्छ।

रियर एडमिरल हगारीले केही ब्यालेस्टिक मिसाइल सफल भएर इजरायली क्षेत्रमा खसेको बताए।

उनले तीमध्ये एकले दक्षिणी इजरायलको नेगेभ मरुभूमि क्षेत्रमा रहेको नेभाटिन एयर फोर्स बेसमा ‘थोरै प्रहार’ गरेको बताए।

रियर एडमिरल हगारीका अनुसार उक्त सैन्य अखडाको सञ्चालन अझै जारी छ।

इरानको सरकारी समाचार एजेन्सी इरनाले उक्त आक्रमणले इजरायली सैन्य अखडामा ‘ठूलो धक्का’ पुगेको दाबी गरेको छ। 

रियल एडमिरल हागारीले आक्रमणबाट इजरायलभरि १२ जना घाइते भएको बताएका छन्।

घाइतेमा एकजना अरब बेदुइन समुदायकी ७ वर्षीया बालिका पनि छिन्। जो आराद सहरमा बस्छिन्। एउटा इरानी ड्रोन ती बालिकाको टाउकोमा खसेको रिपोर्ट गरिएको छ। जसको छर्राले उनी गम्भीर घाइते भएकी छन्। अहिले उनी सघन उपचार कक्ष अर्थात आईसीयूमा छिन्।

जोर्डनले पनि केही छर्रा आफ्नो क्षेत्रमा पनि खसेको तर यसले कुनै पनि नागरिकलाई ठूलो क्षति नपुर्‍याएको बताएको छ। 

अब के हुन्छ?
इजरायलको च्यानल १२ टीभीले एक इजरायली अधिकारीलाई उद्धृत गर्दै यस आक्रमणको ‘उचित जवाफ’ दिइने बताएको छ।

इजरायल र यसका छिमेकीहरूमाथिको हवाई क्षेत्र अब फेरि खोलिएको छ तर रक्षामन्त्री याभ गालान्टले इरानसँगको द्वन्द्व ‘अझै नसकिएको’ बताएका छन्। 

यसैबीच इरानले इजरायललाई चेतावनी दिएको छ। इरानको सशस्त्र बलका प्रमुख मेजर जनरल मोहम्मद बगेरीले भनेका छन्, ‘यदि इजरायलले इरानसँग बदला लिन्छ भने यसपटक हाम्रो सैन्य कारबाहीको दायरा अझ व्यापक हुनेछ।’

यस्तै उनले यदि अमेरिकाले इजरायललाई जवाफी कारबाहीमा सहयोग गरेमा उसविरुद्ध पनि आक्रमण हुने चेतावनी दिएका छन्। 

आईआरजीसी कमान्डर होसेन सलामीले तेहरानले आफ्नो हित, अधिकारी वा नागरिकलाई हानि हुने  कुनै पनि इजरायली आक्रमणको जवाफ दिने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .