यमनका हुती लडाकुहरुले अमेरिकी सेनाको एमक्यू–९ रिपर ड्रोन खसाएको बताएका छन्। इरान समर्थित सो समूहले गाजामा इजरायली आक्रमणको विरोध गर्दै विरोधीहरुलाई निसाना बनाउँदै आएको छ।
सो समूहका सैन्य प्रवक्ता याया सारीले एक भिडिओ सन्देश सार्वजनिक गर्दै लाल सागरमा एउटा तेल बोक्ने जहाजमा क्षेप्यास्त्र प्रहार गरिएको पनि बताएका छन्।
अमेरिकी सेनाले एन्ड्रोमेडा स्टार नामक जहाजमा क्षति पुगेको पुष्टि गरेको छ। सो जहाज हालै सेसेल्समा दर्ता कम्पनीलाई बेचिएको बताइएको छ।
त्यसका लागि हुती लडाकुले तीन वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाको भनाइ छ।
सो जहाजमा सामान्य क्षति पुगेको र उसले यात्रा जारी राखेको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।
त्यसका अलावा आक्रमण गर्न आएको एउटा एमक्यू–९ रिपर ड्रोन खसाइएको हुतीका सैन्य प्रवक्ताको भनाइ छ।
यसबारे भने अमेरिकी सेनाले केही बताएको छैन।
तर, अमेरिकी प्रसारक सीबीएसले एउटा ड्रोन दुर्घटना भएको पुष्टि भएको छ।
यस्तो ड्रोनको मूल्य प्रतिगोटा ३ करोड डलर पर्ने बताइन्छ। दुर्घटनाको कारणबारे छानबिन भइरहेको सीबीएसले जनाएको छ।
गाजा युद्ध सुरु भएयता हुतीहरुले खसाएको यो तेस्रो अमेरिकी ड्रोन हो। यसअघि उनीहरुले नोभेम्बर र फेब्रुअरीमा एमक्यू–९ रिपर खसाएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया