ad ad

ग्लोबल


कंग्रेसको शक्ति दोब्बर, के भारतमा विपक्षी ब्युँतिएकै हो?

कंग्रेसको शक्ति दोब्बर, के भारतमा विपक्षी ब्युँतिएकै हो?

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:३५,

भनिन्छ, प्रतिपक्ष कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ। एक दशकयता भारतमा विपक्षी दलहरु कमजोर बन्दै जाँदा यही चिन्ता जनाइँदै आएको थियो। किनकि, प्रतिपक्षी दलहरुको स्थिति दयनीय थियो।

२०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले ५४३ सदस्यीय लोकसभामा ३०३ सिट जितेको थियो। त्यो भनेको प्रमुख प्रतिपक्षी दल कंग्रेसभन्दा ६ गुणा ज्यादा हो।

कंग्रेस ५२ सिटमा खुम्चिएसँगै भारतको सबैभन्दा पुरानो र सबैभन्दा लामो समय शासन चलाएको यो पार्टीको भविष्यप्रति शंका उब्जिन थालेका थिए। यो पार्टीलाई ब्युँताउने हो भने गान्धी परिवारको पकडबाट बाहिर निकाल्नुपर्ने र कार्यकर्तामाझबाट नेता चुन्नुपर्ने बताइन थालिएको थियो।

दुई पटक लगातार चुनाव हारिसकेको यो दलले यो चुनावमा राम्रो प्रदर्शन गर्ने अपेक्षा थिएन। एक्जिट पोलहरुमा भाजपाको सिट अझ बढ्ने प्रक्षेपण गरिएको थियो।

तर, मंगलबार मतपरिणाम सार्वजनिक हुँदै गर्दा कंग्रेसले सोचेभन्दा धेरै राम्रो गर्ने देखिएको छ। कंग्रेस र उसका सहयोगी दलहरुले २३० हाराहारी सिट जित्ने देखिएको छ।

यसबाट कंग्रेस मुख्यालय दिल्लीको माहौल नै उत्सवमय बन्न पुगेको छ। 

‘अन्तिम नतिजा जे आए पनि एउटा कुरा स्पष्ट छ, यो कंग्रेस र हाम्रा नेता राहुल गान्धीको नैतिक विजय हो र भाजपाको पराजय हो,’ कंग्रेस कार्यकर्ता रविन माइकल भन्छन्।

मोदीलाई सत्ताबाट हटाउन पर्याप्त सिट कंग्रेस नेतृत्वको विपक्षी गठबन्धनले जित्न सकेको छैन। तैपनि मोदीको अपराजेय छवि ध्वस्त पारेको कंग्रेस कार्यकर्ताहरुको मत छ।

उनीहरुले जवाहरलाल नेहरुका पनाति राहुल गान्धीको प्रशंसा पनि गरे।

गत वर्ष गान्धीले देशव्यापी भारत जोडो यात्रा आयोजना गरेका थिए। यसले उनको प्रभाव बढाउने काम गर्‍यो।

भाजपाले उनलाई गालीबेइज्जतीको मुद्दा हाल्यो। जसमा अदालतले उनलाई संसदबाटै निष्कासित गरेको थियो। 

पछि सर्वोच्च अदालतले उनलाई पुनः संसदमा फर्कायो। अहिले उनी केरला र उत्तर प्रदेश दुवै सिटमा जिततर्फ उन्मुख छन्।

यो घटनाले भाजपाको नियतबारे आम जनमानसमा शंका पैदा गरेका थियो। चुनावको मुखमा अरविन्द केजरीवाल र हेमन्त सोरेनजस्ता मुख्यमन्त्रीलाई जेल हालेपछि भाजपाले निरंकुशता लाद्न खोजेको आशंका पनि गरिएको थियो।

भाजपाले एकपछि अर्को चुनाव विशाल अन्तरले जितिरहँदा भारतको राजनीतिको केन्द्रमा रहेको दाबी गर्ने कंग्रेस भने दिशाविहीन देखिएको थियो। उसले भाजपाको हिन्दुत्वको वैचारिक विकल्प पनि दिन सकेको थिएन। 

पार्टी अलमलिइरहँदा उसका थुप्रै नेता भाजपामा सामेल हुन पुगेका थिए। 

यद्यपि, यसपटक कंग्रेस एक्लै एक सय सिट जित्ने सँघारमा छ। जुन, अघिल्लो पालिको भन्दा दोब्बर हो। यो नतिजाबाट धेरैले कंग्रेस ब्युँतिन थालेको निष्कर्ष निकालेका छन्।

‘मोदीलाई यो देशको मजाक बनाउन हामी दिने छैनौँ। यो देशका जनतालाई एकअर्काविरुद्ध जाइलाग्न हामी दिने छैनौँ,’ कंग्रेस कार्यकर्ता सन्दीप मिश्र भन्छन्, ‘जनता मोदीसँग अघाइसके।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .