ad ad

ग्लोबल


चीन र फिलिपिन्स फेरि आमनेसामने

फिलिपिनो राष्ट्रपतिले दिए यस्तो चेतावनी
चीन र फिलिपिन्स फेरि आमनेसामने

चीन र फिलिपिन्सका जहाज सबिना शोलमा आपसमा ठोक्किएका छन्।


टेसा वोङ र जोएल गुइनटो
भदौ १३, २०८१ बिहिबार १०:२८, बीबीसी न्युज, सिंगापुर

दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन्।

दक्षिण चीन सागरमा रहेका विभिन्न टापुमा दुवै देशले आआफ्ना दाबी गरिरहेका छन्। 

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै गएको छ।

यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेका छन्।

तर गत हप्ता सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोकिएपछि भने अवस्था अझ बिग्रिएको छ। 

यस विषयमा फिलिपिन्स र चीनले एकअर्काविरुद्ध जहाज ठोकाएको आरोप लगाएका छन्।

यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरिरहेका छन्। यो फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ समुद्री माइल (लगभग १३८ किलोमिटर) र चीनबाट करिब ६३० समुद्री माइल (करिब ११६६ किलोमिटर) दूरीमा अवस्थित छ।

के भयो सबिना शोलमा?
अगस्ट १९ मा सबिना शोलनजिक चीन र फिलिपिन्सका जहाज आपसमा ठोक्किएका थिए। यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ। दुवै देशले धेरै वर्षदेखि यो क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन्।

चीनको तटरक्षकले फिलिपिन्सको जहाज जानाजानी ठोकाएको आरोप लगाएको छ भने फिलिपिन्सले चिनियाँ जहाजले आक्रामक युद्धाभ्यास गरिरहेको जिकिर गरिरहेको छ।

दुई देशबीच आइतबार फेरि झगडा परेको छ। यस विषयमा फिलिपिन्स र चीनले एकअर्कालाई आरोप लगाइरहेका छन्।

युरोपेली संघ, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतले चीनको आलोचना गरेका छन्।

फिलिपिन्सले सोमबार भनेको छ– ४० चिनियाँ जहाजले आफ्ना २ जहाजलाई टेरेसा म्याग्बुआना जहाजमा खाद्यान्न आपूर्ति गर्नबाट रोके। 

फिलिपिन्सले अप्रिलमा सबिनामा लामो समयसम्म राख्न टेरेसा म्यागबुआना जहाज पठाइएको बताएको छ।

उता चीनले भने टेरेसा म्यागबुआना जहाज फिलिपिन्स सबिना कब्जा गर्न चाहन्छ भन्ने प्रमाण भएको बताएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले हालै दोस्रो विश्वयुद्धको जीर्ण जहाज दोस्रो थोमस शोलमा खडा गर्ने संकेत गरेको थियो। 

धेरै सैनिकहरू अझै पनि यहाँ तैनाथ छन् र त्यहाँ रासनको आवश्यकता छ तर चीनले फिलिपिन्सलाई त्यसो गर्न अनुमति दिइरहेको छैन। 

सिन्ह्वाले भनेको छ– २५ वर्षपछि पनि यो उस्तै छ। फिलिपिन्सले फेरि त्यसै गर्न खोजिरहेको छ, तर यसपटक चीनले धोका खाने छैन।

दोस्रो विश्वयुद्धको समयको जहाज।

चीन र फिलिपिन्सबीच फेरि बढ्यो तनाव 

पछिल्ला महिनामा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भएका छन्। किनभने दुवै देशले दोस्रो थोमस शोल र स्कारबोरो शोलमा आआफ्नै दाबी गरिरहेका छन्।

फिलिपिन्सले चीनले पानी तोप र लेजर प्रयोग गरेको आरोप लगाएको छ। साथै चीन पक्षले आफ्नो जहाजमा चढेर सामान जफत गरेकाले झडप पनि भइरहेको उसको भनाइ छ।

फिलिपिन्सले हालै आरोप लगाएको छ- चिनियाँ तटरक्षक चक्कु र तरबार लिएर हाम्रो सैन्य जहाजमा चढे र हाम्रा सैनिकलाई धम्की दिए।

फिलिपिन्सका रक्षा प्रमुखले मंगलबार अन्तर्राष्ट्रिय समुदायलाई चीनविरुद्ध उभिन आह्वान गर्दै आफू अझ शक्तिशाली प्रतिद्वन्द्वीसँग लडिरहेको भनेका छन्। 

फिलिपिन्सले कसैको मृत्यु नभए पनि आफ्ना धेरै सैनिक घाइते भएको बताएको छ।

यस्तै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले चीनका कारण कुनै सैनिकको मृत्यु भएमा यसलाई ‘एक्टस् अफ वार’ (युद्धका कार्य) का रूपमा हेरिने चेतावनी दिएका छन्। 

अर्कातर्फ चीन र फिलिपिन्सबीचको विवादले दक्षिण चीन सागरमा ठूलो द्वन्द्व निम्त्याउन सक्ने भन्दै पर्यवेक्षकहरूले चिन्ता प्रकट गरेका छन्। 

संयुक्त राष्ट्र संघले कथित नाइन ड्यास लाइन (दक्षिण चीन सागरमा चीनले दाबी गर्ने रेखा) मा चीनको कुनै वैधता नभएको बताएको थियो। तर चीनले यो निर्णय स्वीकार गरेको छैन। हालैका हप्तामा दुवै देशले द्वन्द्व कम गर्ने प्रयास गरेको राष्ट्र संघले बताएको छ। 

गत हप्ता चीन दोस्रो थोमस शोलमा फिलिपिन्सका चौकीमा खाद्यान्न र अन्य आपूर्ति गर्न सहमत भएको छ। तर सबिना शोलमा भएको टकरावले भविष्यमा यस्ता प्रयास  सफल होलान् भन्ने प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .