नेकपा माओवादी केन्द्रको भदौ ५ गतेदेखि केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीसहितको परामर्श समिति बैठक चलिरहेको छ। प्रदेशहरूमा भइरहेका ती परामर्श बैठकहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित पदाधिकारीहरूको टिम नै लिएर सहभागी भइरहेका छन्। आगामी असोज १ गतेसम्म चल्ने ती बैठकहरूबाट आफ्नो पक्षमा माहोल थप बलियो बनाउन अध्यक्ष प्रचण्डले प्रयास गरिरहेको देखिन्छ।
साउन २६ गते बसेको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको आगामी कार्यदिशा र माओवादीको भविष्यबारेमा राखेको १२ पृष्ठको प्रस्तावले हलचल पैदा गरेको छ। यद्यपी त्यसअघि बसेको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डले साढे तीन दशकदेखि सम्हाल्दै आएको पार्टीको नेतृत्व छाड्न चाहे आफुहरूमध्ये कोही तयार हुनु पर्ने बताएका थिए। तथापी उनले अहिलेको पार्टी रुपान्तरणको नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्नु पर्ने धारणा पनि राखेका थिए।
प्रचण्डले अब पार्टी अध्यक्ष छाड्नु पर्ने बहस चलेपछि केन्द्रीय समिति बैठकलाई समेत धकेलेर माओवादी परामर्श बैठकतिर लागेको हो। तर अझै पनि यी बैठकको उद्देश्य प्रष्ट छैन। यही पछिल्लो सन्दर्भमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग नेपालखबरले गरेको कुराकानी :
माओवादीले अहिले प्रदेश परामर्श बैठक राख्नुको खास कारण के हो?
हाम्रो पार्टी अहिले केन्द्रीय समिति बैठकको तयारीमा छ। त्यो केन्द्रीय समिति बैठकमा सबै कमरेडहरूलाई बोल्ने पर्याप्त समय नहुन पनि सक्छ, एक। दोस्रो कुरा, हरेक प्रदेशमा जाँदाखेरी त्यो प्रदेशको वस्तुस्थितिको बारेमा उहाँहरूले बोल्न पाउनुहुन्छ। हामीले पनि बुझ्न पाउँछौँ। यी परामर्श बैठकहरू केन्द्रीय समितिको बैठकको तयारीका निम्ति गृहकार्य पनि हुन्। त्यहाँ भएका सबै छलफलका निष्कर्षहरू, जो सकारात्मक छन्, त्यसलाई संश्लेषण गरेर हामी केन्द्रीय समिति बैठकको दस्तावेजमा सामेल गर्ने दिशातिर जानेछौँ।
त्यो भन्दा पनि महत्वपूर्ण कुरा, अहिले देश जस्तो अवस्थामा छ, हाम्रो कम्युनिस्ट आन्दोलन जुन अवस्थामा छ, हाम्रो पार्टीको अवस्था जे छ, त्यसबारे अहिले हामी अलि गम्भीर ढंगले सोच्न गइराखेका छौँ। देशमा गम्भीर चुनौतीहरू छन्, त्यसलाई कसरी चिर्ने, नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट कसरी माथि उठाउने, मुख्यतः त्यसको नेतृत्व गर्ने हाम्रो पार्टीको सकारात्मक पक्ष के हुन्, हाम्रा गल्ती र कमजोर पक्षहरू के हुन्, जसलाई सच्याएर मात्रै हामीले अहिले जो समाजवाद उन्मुख समृद्धिको हाम्रो मूल कार्यनीति र समाजवादमा जाने हाम्रो रणनीतिको कार्यभार पूरा गर्नेगरी नेतृत्व गर्न सक्छौँ, त्यसको निम्ति हामी छलफलमा छौँ।
हाम्रो पार्टी अहिले सबैभन्दा राम्रो पार्टी हो। हाम्रो पार्टीले नै यो कामको नेतृत्व गर्नुपर्ने जिम्मेवारी छ तर हाम्रो पार्टीले यथास्थितिमा यो काम गर्न सम्भव छैन। त्यसकारण परामर्श बैठकहरूचाहिँ त्यो कुराको बुझाइलाई एकरूप ढंगले पार्टीमा ल्याउन र सामूहिक चेत र विवेक, सामूहिक संकल्प र प्रतिबद्धता पैदा गर्ने उद्देश्यले आयोजना गरेका हौँ।
स्थायी समिति बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले १२ पृष्ठको प्रस्ताव नल्याएको भए र माओवादी यतिबेला सरकारमै भएको भए पनि यहाँहरू यसरी परामर्श बैठक गर्दै देश दौडाहमा निस्कनुहुन्थ्यो?
समयको चापको हिसाबले हामीले कतिखेर गर्थ्यौँ, त्यो त हामी हेर्थ्यौँ। तर, यो प्रकारको छलफल त हामी गर्थ्यौँ नै। किनभने ऐतिहासिक जिम्मेवारी बढेको छ, त्यो जिम्मेवारी पूरा गर्ने नेतृत्व हाम्रो पार्टीले नै गर्नुपरेको छ। यो निष्कर्ष एउटा।
दोस्रो भनेको, हाम्रो पार्टीले यस अगाडि पनि विभिन्न बैठकहरू गरेर पार्टीलाई रूपान्तरण गर्नुपर्छ, पुनर्गठन गर्नुपर्छ भनेर निष्कर्ष निकालेको तर काम भने यथास्थितिवादी ढंगले नै अघि बढिराखेको कारणले त्यसलाई हामीले छिचोल्नुपर्छ, पहिलाजस्तै गर्ने हो भने हाम्रो पार्टीले ऐतिहासिक जिम्मेवारी पनि पूरा गर्न सक्दैन, पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न पनि सकिँदैन।
त्यसकारणले नयाँ स्तरको सामूहिक चेत, विवेक, सामूहिक प्रतिबद्धता र संकल्प पैदा गर्नको निम्ति हामीले पार्टीव्यापी छलफल गर्नुपर्छ र प्रजातान्त्रिक अभ्यासद्वारा पार्टीलाई नयाँ ठाउँमा पुर्याउनको निम्ति केन्द्रीयता पैदा गर्नुपर्छ भनेर सोचिरहेका थियौँ। अहिलेचाहिँ त्यो अनुकूल समय भएर गरिएको हो, यसमा कमरेड जनार्दन शर्माले राख्नुभएको आफ्नो विचारको कुनै भूमिका छैन। यद्यपि, हरेक विचारहरू जो पार्टीमा छलफलका लागि आउँछन्, त्यसले सकारात्मक ढंगले योगदान त गर्छ नै।
अनि परामर्श बैठकमा कस्ता खालका सुझाहरू पाउनु भयो?
हाम्रो पार्टीले ऐतिहासिक उपलब्धिका लागि ठूलो संघर्ष गर्यो। नेपालको राष्ट्रियता, सामाजिक/आर्थिक रूपान्तरण, उपलब्धिको रक्षा, शान्ति प्रक्रिया पूरा गर्नुपर्ने जिम्मेवारी मूलभूत रूपमा हाम्रै पार्टीको काँधमा छ।
तर अहिले हामी सरकारमा छैनौँ। त्यसकारणले गर्दा यो जिम्मेवारी पूरा गर्नको निम्ति हामीले पार्टीलाई सुदृढ बनाउने, क्रान्तिकारी, शक्तिशाली बनाउने र त्यसको निम्ति आफ्नो पार्टीलाई रूपान्तरण गर्ने कुरा अहिलेको सबै छलफलहरूको सार हो।
तर हिजोअस्ति भनेजस्तो रूपान्तरणको निष्कर्ष निकाल्ने तर तदर्थवादी ढंगले काम गरिरहने, मूलभूत रूपमा यथास्थितिवाद नै हाबी हुने स्थिति रह्यो भने हाम्रो पार्टीले आफ्नो औचित्य समाप्त गर्नसक्छ। त्यसकारण यो पार्टीको औचित्य पुष्टि गर्न देशले सुम्पिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो पार्टीको रूपान्तरण र पुनर्गठनको अभियानलाई ठूलो आन्दोलनको रूपमा अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष अहिलेको हो।
प्रदेशका सातवटा बैठक सकिँदा अधिकांश बैठकमा नेतृत्वको कार्यशैली, शीर्ष नेताहरूको जीवनशैलीका बारेमा विभिन्न कोणबाट असन्तुष्टि व्यक्त भएका छन्। प्रचण्डलाई अब नेतृत्वबाट विदा दिनुपर्छ भन्ने कुराहरू पनि आएका छन्। यी प्रश्न र असन्तुष्टिहरूमा नेतृत्वले कस्तो जवाफ दियो?
तपाईंले भन्नुभएको कुरा सही हो। किनभने हामीले नै सबै कुरा खुला ढंगले राख्न उत्प्रेरित गरेका थियौँ। आफूलाई जे लागेको छ, त्यसलाई नलुकाइकन, कुनै दकस नराखीकन, हाम्रो देशको अहिलेको सन्दर्भमा र हाम्रो पार्टीको अहिलेको सन्दर्भमा सम्भावना के हो, जिम्मेवारी के हो र हाम्रो कमजोरी के हो, तपाईंहरूलाई लागेको कुरा सबै खुलेर भन्नुस् भनेका थियौं। अहिले यस सन्दर्भमा पार्टीका साथीहरूले आफूलाई लागेको कुरा राम्रोसँग भन्नुभएको छ, त्यसक्रममा पार्टी नेतृत्वको भूमिकादेखि पार्टीको अहिलेको चरित्र, कार्यशैली, संस्कृतिका बारेमा गम्भीर आलोचना पनि गर्नुभएको छ र रूपान्तरणको आवश्यकतामा जोड दिनुभएको छ।
त्यसो त आलोचना मात्रै होइन, कमरेड प्रचण्डकै नेतृत्वमा नै अहिले अगाडि बढ्नुपर्छ। अरू कुरा छलफल गर्नु नै उपयुक्त छैन भन्ने विचारहरू पनि छन् र मुख्यतः कमरेड प्रचण्डकै नेतृत्वमा अहिले अगाडि बढ्ने, किनभने उहाँले नै नेतृत्व गर्नुपर्छ र रूपान्तरण र पुनर्गठनको अभियान पनि उहाँले नै अगाडि बढाउनुपर्छ भन्ने विचार छ। साथसाथै उहाँ पनि रूपान्तरण हुनुपर्छ र सिङ्गो पार्टी रूपान्तरण हुनुपर्छ, यो रूपान्तरणको प्रक्रियाको नेतृत्वचाहिँ माथिबाट गर्नुपर्ने हुनाले कमरेड प्रचण्ड र अरू सबै पदाधिकारी पनि रूपान्तरित हुँदै नयाँ ढंगले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउनुपर्छ भन्ने आम रूपमा सबैको निष्कर्ष रहेको छ।
नेतृत्व हस्तान्तरणको बहस बाहिर आएपछि अहिले माओवादीको नेतृत्वकर्ता प्रचण्ड एकमात्रै हो भन्ने कुरा अनुमोदन गराउन यहाँहरू यसरी प्रदेश प्रदेश हिँड्नुभयो भन्ने आरोप छ नि।
त्यो पटक्कै होइन। बरू यी बैठकहरूमा सबै साथीहरूले आम रूपमै कमरेड प्रचण्डले नै अहिले नेतृत्व गर्नुपर्यो, तपाईं नै तयार हुनुपर्यो भन्नुभएको छ। कमरेड प्रचण्डले पनि ‘मलाई अब अध्यक्ष नै भएर नेतृत्व गरिरहने इच्छा छैन तर अहिले नै छोड्दाखेरी मैले आफ्नो जिम्मेवारी पूरा नगरेको ठहर्छ। अबको ऐतिहासिक जिम्मेवारी पूरा गर्नेगरी यो पार्टीलाई रूपान्तरण र पुनर्गठनको गर्ने काम म आफैँ रूपान्तरण हुँदै केही समय गर्छु। तर लामो समय होइन। छोटो अवधिमा त्यो गरेर अनि नेतृत्व हस्तान्तरण गर्ने ठाउँमा पुर्याउनुपर्छ। र, हाम्रो पार्टीमा प्रचण्ड नभएपछि यो पार्टी कहाँ जान्छ होला भनेर कसैले चिन्ता नगर्नुहोला’ भनेर अध्यक्ष कमरेडले सबै ठाउँमा भन्नुभएको छ।
‘अन्तर्राष्ट्रिय/राष्ट्रिय रूपमा स्थापित, क्षमता र प्रतिभा भएका अत्यन्तै राम्रा नेताहरू हामीसँग छन्, जसले यो पार्टी राम्रोसँग सञ्चालन गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ, तर अहिले नै रूपान्तरण र पुनर्गठनको एक स्तरको काम सकेर, पार्टीलाई अलि माथि पुर्याएर छोड्न पाए हुन्थ्यो भन्ने मलाई लागेको छ, मैले जिम्मेवारी पनि त्यसरी बोध गरेको छु तर म अध्यक्षमा अब बसिरहन्नँ’ भनेर उहाँ आफैले भनिराख्नु भएको छ।
प्रदेश–प्रदेश पुगेर परामर्श बैठकमा नेता/कार्यकर्ताहरूको कुरा सुनिरहँदा उहाँहरूमा आवेग, गुनासा वा सुझाव के बढी पाउनुभयो?
स्वाभाविक रूपमा हामीले यत्रो ठूलो संघर्ष गर्यौँ, जुन परिवर्तनको निम्ति लड्यौँ, त्यो लक्ष्य अहिले कहाँ पुगेको छ? त्यो लक्ष्य/उद्देश्यलाई पूरा गर्न हामी कसरी जाने हो भन्ने केही वैचारिक स्पष्टताको अभाव पनि छ। केही चाहिँ हाम्रो पार्टीमा देखा परेको जुन प्रकारको वैचारिक/सांस्कृतिक स्खलन छ, त्यसले पैदा गरेको असन्तुष्टि छ। तर पनि जिम्मेवारी पूरा गर्नलाई हाम्रो पार्टीले के गर्नपर्छ भन्ने कुरामा नै छलफल केन्द्रित गरेको हुनाले चिन्ता, चासो, सरोकार नै बढी देखिएको छ।
तपाईंहरू आफैँले भनिरहनुभएको छ, ‘जुन बाटोमा हामी हिँड्नुपर्ने थियो त्यो बाटोमा हिँड्न सकिएन’ भनेर। प्रदेशहरूमा पुगेर गरिएको परामर्श बैठकबाट माओवादी पार्टी बन्ने आधारहरू के पाउनुभयो?
आधार छ। किनभने हाम्रो पार्टीले इतिहासलाई पूजा गरेर अहिलेको समस्या समाधान गर्नेगरी आफूलाई विकास गर्न सक्दैन भन्ने थाहा छ। तर इतिहासको सम्मान हामीले किन गर्नुपर्छ भने त्यो ऐतिहासिक, युगान्तकारी परिवर्तनमाथि अहिले पनि खतरा छ र त्यो हाम्रै मुख्य भूमिकामा स्थापित भएकाले त्यो खतराबाट बचाउने जिम्मेवारी पनि हाम्रो छ। हामीमा त्यो प्रकारको संकल्प र प्रतिबद्धता भएकाले हामी बदल्न सक्छौँ।
दोस्रो कुरा, गत समयमा हामीले नै प्रतिगमनको खतराको विरुद्ध संघर्ष गरेर यसको रक्षा गरियो।
तेस्रो कुरा, हामीले नै सरकारमा रहँदाखेरी अरूभन्दा भिन्न ढंगले काम गरेका हौँ। सरकारबाट निस्कँदाखेरी जनतामा जान नसक्ने, केही समय कुर्नुपर्ने अलिअलि मनस्थिति केलाइसकेपछि मुद्दा खोजेर सडकमा जाने जो स्थिति थियो, हाम्रो स्थिति त्यो होइन। सरकारमा रहँदा चाहे त्यो लोडसेडिङ अन्त्य गर्ने काम होस्, चाहे हामीले मिटरब्याजी पीडितलाई न्याय दिने वर्ग केन्द्रित काम होस्, चाहे राज्य लुट्ने/ठग्ने वा भ्रष्टाचार गर्ने र अनियमितता गर्ने ठूलाठूला भनिएकाहरूलाई कारबाही गरेर सुशासन स्थापित गर्ने काम, त्यो हामीले नै गरेका छौँ। त्यो स्थापित भएको तथ्य हो। त्यसकारण गर्न सकिन्छ, देश बनाउन सकिन्छ भन्ने विश्वास हामीमा छ।
चौथो कुरा, हामीसँग एजेन्डा छन्। हामी राष्ट्रियतामा अडिग छौँ। ठूलो परिवर्तनपछाडि सामाजिक/आर्थिक क्षेत्रमा रूपान्तरण गरेर आम जनताको जीवन फेर्नुपर्छ र त्यसपछि मात्रै समाजवादको यात्रामा जान सकिन्छ भन्ने दृढ एजेन्डा पनि हामीसँगै छ।
अर्को महत्त्वपूर्ण कुरा, अब हामीले माथि भनिएका काम गरेनौँ भने, हामी हिजो परिवर्तन ल्याउने मुख्य पार्टी हो, प्रतिगमन विरोधी संघर्ष पनि हामीले नै गरेका हौँ भनेर मात्रै हाम्रो औचित्य सिद्ध गर्न सक्दैनौँ। हामीले पार्टीका सकारात्मक कुरालाई आत्मसात गर्दै, कमजोरी र नकारात्मक पक्षहरूको आत्मसमीक्षाद्वारा दृढतापूर्वक सच्याउँदै र रूपान्तरण गर्दै अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेको कारणले यो सम्भावना छ।
केहीगरी यो बीचमा अहिले भइरहेको गठबन्धन टुट्यो र फेरि माओवादी सरकारमा जाने स्थिति बन्यो भने पार्टी बनाउने यी सबै कुरा त बिर्सिइएला नि, हैन?
पहिलो कुरा त, हामी अहिले यो सरकारलाई कसरी भत्काउने वा फेरि सरकारमा कसरी जाने भन्ने ढंगले सोचिराखेका छैनौँ। हामी अहिले अलि नयाँ ढंगले सोचिरहेका छौँ। पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित गर्ने, रूपान्तरणसहित। जनतामा जाने र जनताको मुद्दा उठाउने कुरामा नै हाम्रो अहिले मुख्य ध्यान केन्द्रित भएको छ। देशको परिस्थिति र अरू सन्दर्भहरूले भोलि कस्तो स्थिति ल्याउँछ त्यो त हामी हेर्छौं नै तर हामी हर हमेसा अबचाहिँ पार्टी निर्माणको प्रक्रिया र जनताको मुद्दा उठाउने कामलाई नै मुख्य मान्छौँ।
Shares
प्रतिक्रिया