चीनका गैरसरकारीमध्ये अग्रणी थिंकट्यांकमा पर्छ, चाहर इन्स्टिच्युट। सोही इन्स्टिच्युटका वरिष्ठ अनुसन्धाता प्रोफेसर चेङ सिजोङ झण्डै आधा दर्जन अनुसन्धाताको टोलीसहित काठमाडौँमा छन्।
प्रो. चेङ नेपालका शीर्ष राजनीतिक नेताहरूका लागि भने नयाँ नाम होइनन्। अहिले फरक भूमिकामा रहे पनि उनी सन् २००९ सम्म काठमाडौँस्थित चिनियाँ राजदूतावासमा मिलिटरी एट्याची (सैनिक सहचारी) को भूमिकामा थिए।
सिनियर कर्णेलका रूपमा काठमाडौँमा सैनिक सहचारीको भूमिका निर्वाह गर्नुअघि उनले नयाँदिल्ली (भारत), इस्लामावाद (पाकिस्तान), ढाका (बंगलादेश) र काबुल (अफगानिस्तान) स्थित चिनियाँ राजदूतावासहरूमा सैन्य कूटनीतिज्ञका रूपमा काम गरेका थिए।
नेपाल–चीन सरकारबीचको सम्बन्ध सामान्य र सुमधुर रहेका बेला जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन भन्दै चाहर इन्स्टिच्युटले नेपाल मामिलाका अनुभवी रिसर्च फेलो प्रो. चेङको नेतृत्वमा अन्य प्रोफेसर सहितको टोली काठमाडौँ पठाएको हो।
यसक्रममा उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्रीहरू सुजाता कोइराला र प्रदीप ज्ञवाली लगायतसँग भेटघाट र कुराकानी गरे। केही प्राज्ञिक संस्था र व्यक्तिहरूसँग पनि अन्तर्क्रिया गरे।
प्रस्तुत छ, चिनियाँ जनमुक्ति सेनाबाट अवकाश प्राप्त गरेपछि प्राज्ञिक कर्ममा लागेका तिनै प्रोफेसर चेङसँग काठमाडौँमा भएको वार्ता :
खासमा यसपटकको भ्रमणको मुख्य उद्देश्य के हो?
चाहर इन्स्टिच्युट पब्लिक डिप्लोमेसीको क्षेत्रमा काम गर्ने चीनको अग्रणी थिंकट्यांक हो। दुई मुलुकका जनता–जनताबीचको सम्बन्ध अभिवृद्धिका लागि हामी आएका हौँ।
नेपाल–चीनबीच तीन प्रकारको सम्बन्ध छ। पहिलो, सरकार–सरकारबीचको सम्बन्ध। दोस्रो, पार्टी–पार्टीबीचको सम्बन्ध। तेस्रो, जनता–जनताबीचको सम्बन्ध। तीनै तहमा दुई देशबीच निकै राम्रो सम्बन्ध छ।
माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसजस्ता महत्वपूर्ण दलहरूसँग चीनको सम्बन्ध घनिष्ठ छ। क्षेत्रीय दल र अन्य साना दलसँग पनि चीनले सुमधुर सम्बन्ध निर्माण गरिरहेको छ।
चाहर इन्स्टिच्युट ‘थिंकट्यांक’ मात्र होइन, ‘थिंक एण्ड एक्सन’ मा सक्रिय संस्था हो। हामी सोच्दैनौँ मात्र, काम पनि गर्छाैं। कुनै मुलुकसँगको सम्बन्धमा आधिकारिक समस्या देखा पर्दा चाहर इन्स्टिच्युटले समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
तर, अहिले चीन र नेपालबीचको सम्बन्ध सामान्य छ, सुमधुर छ। त्यसैले यो बेला हामी जनता र पार्टीहरूसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन आएका हौँ।
नेपाली कांग्रेससँग अहिले चीनको सम्बन्ध कस्तो छ त?
जब नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भयो, सुरुमा हाम्रो सम्बन्ध एमालेसँग थियो। त्यो बेला माओवादीसँग हाम्रो सम्बन्ध थिएन। २०६३ को परिवर्तनमार्फत् जब माओवादी संसदमा आयो, त्यसपछि मात्र चीन– माओवादीबीच सम्बन्धको सुरुवात भएको हो।
यस सन्दर्भमा आफू नेपालमा कार्यरत रहँदाको अनुभव पनि सेयर गर्न चाहन्छु। त्यो बेला एमालेका नेताहरूसँग सहज रूपमा कुराकानी हुनसक्थ्यो। कुराकानीमा भाषा (अंग्रेजी) को समस्या थिएन।
तर, माओवादीका ती नेताहरूसँग मात्र मेरो कुरा हुन्थ्यो, जोसँग कुराकानी हुँदा भाषाको समस्या पर्दैनथ्यो।
जहाँसम्म कांग्रेससँगको सम्बन्ध हो, म सुरुमा नेपाल आउँदा केही मानिसहरू मलाई भन्ने गर्थे, ‘नेपाली कांग्रेस राष्ट्रवादी पार्टी होइन।’ त्यो बेला मेरो नेपाली कांग्रेसका साथीहरूसँग सम्पर्क थिए।
तर, बिस्तारै नेपाली कांग्रेसका नेताहरूसँग मेरो सम्बन्ध विकास हुँदै गयो। त्यसक्रममा थाहा भयो, नेपाली कांग्रेस चीनसँग बलियो र सुमधुर सम्बन्धको पक्षमा रहेछ। बिस्तारै मेरो सम्बन्ध शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सुजाता कोइराला लगायतका नेताहरूसँग भयो।
नेताहरूसँगको भेटघाट र कुराकानीपछि मैले थाहा पाएँ, नेपाली कांग्रेस राष्ट्रवादी र देशभक्त पार्टी रहेछ। अरुले ‘नेपाली कांग्रेस राष्ट्रवादी पार्टी होइन’ भनेर गरेको प्रचार झुटो रहेछ।
‘कांग्रेस राष्ट्रवादी पार्टी होइन’ भन्नेहरूले उसलाई ‘प्रो–इन्डियन’ र ‘प्रो–अमेरिकन’ पार्टीको रूपमा व्याख्या गर्थे। नेपाली कांग्रेसमात्र होइन, अन्य केही पार्टीबारे पनि यस्तो प्रचार गर्ने गरिएको थियो।
यति हुँदाहुँदै पनि मैले नेपाली कांग्रेसका साथीहरूसँग मित्रता बढाएँ। उहाँहरूसँग डिनर खाएँ, कुराकानी गरेँ। नेपाल आएको एक महिनापछि म के निष्कर्षमा पुगेँ भने, ‘प्रो’ शब्दावलीको अर्थ अझ बढी व्यावहारिक हुनु हो।
उनीहरूसँग एक महिनाको संगतबाट मेरो मस्तिष्क र हृदयबाट नै महसुस गरेँ कि उनीहरू चीनका पनि असल साथी रहेछन्, उनीहरू चीनसँग पनि सुमधुर सम्बन्ध चाहँदा रहेछन्।
‘प्रो’ हुनुलाई कसरी व्यावहारिक भन्नुहुन्छ?
आफै उत्पादन गर्न नसक्ने पेट्रोल, ग्यास लगायतका उपभोग्य वस्तु नेपालले भारत हुँदै खरिद गर्नुपर्छ। चीनतर्फ ठूला–ठूला पहाड र हिमालय छन्। भारततर्फ समथर मैदान छ। भारततर्फ भौगोलिक अवरोध छैन। भूपरिवेष्ठित भएकाले नेपालको भारतसँग अझ राम्रो सम्बन्ध हुनुपर्छ।
त्यसैले, मैले नेपालको भारतसँग सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने कुरामा जोड दिएँ। चीनले पनि सदैव यसै कुरामा जोड दिँदै आएको हो। भारतसँगको सम्बन्ध नेपालका लागि महत्वपूर्ण छ, यो वास्तविकता हो।
नेपाली कांग्रेस आफैले चाहिँ पछिल्लो समय चीनसँग सम्बन्ध अभिवृद्धि गर्न हिच्किचाएको देखिन्छ, हैन?
मेरो विचारमा नेपाली कांग्रेस निकै परिपक्व राजनीतिक दल हो। नेपाली कांग्रेस अहिलेको सरकारको साझेदार भएकाले सत्तारुढ दल पनि हो। कांग्रेस नै सहभागी भएको पहिलेको सरकारभन्दा अहिलेको सरकार बढी परिपक्व छ। नेपाली कांग्रेसले पनि नेपालको चीनसँग सम्बन्धलाई महत्त्व दिएको छ।
तर, चीनसँगको बीआरआई सम्बन्धी समझदारी कार्यान्वयन गर्न कांग्रेस त्यति धेरै इच्छुक देखिँदैन नि?
केही नेता वा केही मन्त्रीविशेषमा बीआरआईबारे फरक धारणा हुनसक्छ, समग्रमा होइन।
बीआरआई लगायत अन्य विषयमा पनि केही वर्षयता नेपाल–चीनबीच धेरै सन्धि, सम्झौता, सहमति र समझदारीहरू भएका छन्। नेपाली जनता दुई मुलुकबीच भएका यी सन्धि–सम्झौता, सहमति–समझदारीको कार्यान्वयन चाहन्छन्। कार्यान्वयन रोक्ने विषयलाई नेपाली जनताले स्वीकार गर्ने छैनन्। मलाई यो कुरामा दृढ विश्वास छ।
चीन बीआरआई अघि बढाउन दृढतापूर्वक लागेको छ। कुनै पनि शक्तिले बीआरआई रोक्न सक्दैन। पूर्णस्वरूपको सहकार्यका लागि बीआरआई सबैभन्दा राम्रो ‘प्लाटफर्म’ हो। यो ‘प्लाटफर्म’बाट नेपाल पनि लाभान्वित हुन्छ। यदि हामी कोही यसबाट भाग्न खोज्छौँ भने जनताले दुःख पाउँछन्।
मैले अघि पनि भनेँ, हामीले धेरै सहमतिहरूमा यसअघि नै हस्ताक्षर गरिसकेका छौँ। मलाई विश्वास छ, बीआरआई लगायत भएका सहमति–समझदारीहरू कार्यान्वयन गरिनेछन्।
भारतसँग सम्बन्धको महत्व तपाईंले मात्र महसुस गर्नुभएको हो कि चीन सरकारले पनि महसुस गरेको छ?
चीनले पनि सदैव यसै कुरामा जोड दिँदै आएको छ। भारतसँगको सम्बन्ध नेपालका लागि महत्त्वपूर्ण छ, यो वास्तविकता हो।
नेपाल–चीन र भारत–चीन नजिक हुनैपर्छ। हामीहरूको सुखद भविष्य त्रिदेशीय साझेदारीमा छ। चीन र भारतको बीचमा भएकाले नेपालले दुई मुलुकबीच पुलको भूमिका निर्वाह गर्न सक्छ। राजनीतिक हिसाबले मात्र होइन, भौगोलिक र आर्थिक पुलको भूमिका पनि नेपालले निर्वाह गर्न सक्छ।
रेलमार्ग छ, राजमार्ग अझ राम्रो अवस्थामा छन् भने हामीले व्यापार अभिवृद्धि गर्न सक्छौँ। त्रिदेशीय साझेदारीका सन्दर्भमा नेपालले राजनीतिक र भौगोलिक मात्र होइन, आर्थिक रूपले पनि पुलको भूमिका निर्वाह गर्न सक्छ।
भारतीय अरुचिका बीच त्रिदेशीय सहकार्यको अवधारणाले मूर्तरूप पाउन सक्छ जस्तो लाग्छ?
असम्भव भन्ने कुरा केही हुँदैन। तर, निरन्तर प्रयास जारी राख्नुपर्छ। यसलाई मूर्तरूप प्रदान गर्न केही वर्षदेखि प्रयास गरिरहेका छौँ, काम पनि गरिरहेका छौँ।
द्विपक्षीय (चीन–भारत) सम्बन्ध नै सुमधुर नरहेको स्थितिमा कसरी त्रिदेशीय सहकार्य अघि बढ्छ त!
चीन–भारत सम्बन्धलाई सामान्यरूपमा फर्काउन चीनले सक्दो प्रयास गरिरहेको छ। हामीबीच शताब्दियौँ वर्ष पुरानो सम्बन्ध छ। चीनले कहिल्यै पनि ‘भारत हाम्रो शत्रु हो’ भन्ने हिसाबले रणनीति निर्माण गरेको छैन। ‘भारत हाम्रो शताब्दियौँ पुरानो मित्र हो’ भन्ने वास्तविकता मनन गर्दै चीनले भारतसम्बन्धी नीति निर्माण गर्दै आएको छ। भारत हाम्रो साथी हो।
तर, भारतमा अझै पनि चीनसँग सम्बन्ध सुधार गर्न हिच्किचाहट देखिन्छ। यस्तो स्थितिमा कसरी दुई मुलुकको सम्बन्ध सुधार होला?
दुई मुलुकबीचको व्यापार प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको पनि त छ नि! अझ पछिल्लो वर्ष त दुई मुलुकबीचको व्यापारले यसअघिको रेकर्ड नै तोड्यो।
राजनीतिक सम्बन्धमा केही समस्या रहे पनि दुई मुलुकबीच आर्थिक र व्यापारिक सम्बन्ध अझ वृद्धि हुँदै जानु भनेको सम्बन्ध अझै प्राकृतिक बन्दैछ भन्ने कुराको संकेत हो। यसले देखाउँछ– चीन र भारतको अर्थतन्त्र एकापसमा अन्तरनिर्भर भइसकेको छ।
तपाईंको विचारमा दुई मुलुकबीच राजनीतिक सम्बन्ध सुमधुर नहुनुको मुख्य कारण के हो?
भारतले चीनलाई आफ्नो मित्र ठानेर रणनीति नबनाउनु नै मुख्य कारण हो। भारतीय नीतिको यही कमजोरीका कारण दुई मुलुकबीचको राजनीतिक सम्बन्धमा अवरोध सिर्जना भएको हो।
‘चाहर इन्स्टिच्युट’ चीनको महत्त्वपूर्ण थिंकट्यांक हो। यसपटक प्रतिनिधिमण्डलको नेतृत्वका लागि इन्स्टिच्युटले तपाईंलाई छनोट गर्नुको कारण के हो?
चाहर इन्स्टिच्युट चीनको अग्रणी थिंकट्यांक हो। जब चाहर इन्स्टिच्युट अघि बढ्छ, अरुले यसलाई पछ्याँछन्।
कोभिड–१९ महामारीभन्दा पहिले हाम्रा (चाहर इन्स्टिच्युटका) अध्यक्ष डा. हान फाङमिङले नेपाल भ्रमण गर्नुभएको थियो। त्यो भ्रमणले नेपालबारे उहाँमा निकै गहिरो प्रभाव पारेको रहेछ। ‘नेपाल महत्वपूर्ण मुलुक हो र यो मुलुकसँग हामीले मजबुत सम्बन्ध निर्माण गर्नुपर्छ’ भन्ने सोच्नुभएको रहेछ।
‘जापान, दक्षिण कोरिया, अमेरिका, रुस लगायतका शक्तिराष्ट्रहरूलाई त हामीले महत्व दिएकै छौँ, यसबाहेक छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई पनि प्राथमिकता दिनुपर्छ’ भन्ने उहाँलाई लागेको रहेछ।
त्यसैले, यसपटक उहाँले मलाई सम्पर्क गर्नुभयो र यो प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपाल पठाउनु भयो। अर्थात्, नेपाललाई उहाँले दिनुभएको महत्वको आधारमा म छनोट भएको हुँ।
नेपालमा हामीले अन्य थिंकट्यांक र अनुसन्धानसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्न खोजेका छौँ। यहाँका धेरै थिंकट्यांक र इन्स्टिच्युटहरूले हामीलाई स्वागत गरेका छन्। हामी पनि उनीहरूलाई चीनमा स्वागत गर्न चाहन्छौँ ताकि हामीबीच नियमित रूपमा आदानप्रदान हुन सकोस्।
अघि हामीले नेपाली कांग्रेसबारे कुरा गर्यौँ, नेपाली कम्युनिस्टहरूबारे के भन्नुहुन्छ?
नेपालमा कम्युनिस्टहरू शक्तिशाली छन्। एकपटक त संसदमा उनीहरूले दुई तिहाइ बहुमत नै हासिल गरेका थिए। उनीहरू कहिले एकता, कहिले विभाजनको बाटो हुँदै अघि बढिरहेका छन्।
जे भए पनि उनीहरू समय सान्दर्भिक छन्। उनीहरू लोकतान्त्रिक बाटोबाट अघि बढिरहेका छन्। यहाँको लोकतान्त्रिक आन्दोलनमा उनीहरू समाहित छन्। यहाँ एउटा कम्युनिस्ट पार्टीमा रहेकाहरूले सजिलै पार्टी छाड्न सक्छन् र अर्काे पार्टी प्रवेश गर्न सक्छन्।
जब वामपन्थी जनमतले समान ढंगले सोच्न थाल्छ, नेपालका कम्युनिस्ट पार्टीहरू एकताको प्रक्रियामा जान्छ। जब जनताको विचारमा भिन्नता आउन थाल्छ, उनीहरू पनि विभाजित हुने गरेका छन्।
मेरो विचारमा समय लाग्ला। तर उनीहरूबीच फेरि एकता हुनेछ। नेपाली जनताको आशा पनि यही छ कि उनीहरूबीच एकता होस्।
नेपालका ‘कम्युनिस्टहरू लोकतान्त्रिक छन्’ भन्नुभयो। कुन सन्दर्भमा हो?
उनीहरू लोकतान्त्रिक बाटोबाट अघि बढिरहेका छन्। यहाँको लोकतान्त्रिक आन्दोलनमा उनीहरू समाहित छन्।
अर्काे कुरा, कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले यहाँ सजिलै पार्टी छाड्न सक्छन् र अर्काे पार्टी प्रवेश गर्न सक्छन्, दल छनोटमा उनीहरू स्वतन्त्र छन्। यस्तो विशेषता अन्य मुलुकमा देख्न मुस्किल छ।
फरक वैचारिक पृष्ठभूमिका नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन निर्माण गरेका छन्। के उनीहरूले दाबी गरेजस्तो यो गठबन्धनले ‘राजनीतिक स्थिरता’ प्रदान गर्ला?
नेपालमा धेरैपटक छिटोछिटो सरकार परिवर्तन भएका छन्। यति हुँदाहुँदै पनि सकारात्मक पक्ष के हो भने राजनीतिक अस्थिरताले मुलुकको स्थिरतामा कुनै असर गरेको छैन, सामाजिक स्थिरतालाई पनि असर पुर्याएको छैन।
दक्षिण एसियाका अन्य मुलुकमा भन्दा यहाँको राजनीतिक र सामाजिक स्थिति राम्रो छ। दक्षिण एसियामा सबैभन्दा सुरक्षित मुलुक नेपाल नै हो। विश्वका विभिन्न मुलुकका नागरिकहरू भ्रमणका लागि नेपाल आउनुको कारण यही हो।
कांग्रेस र नेपालका कम्युनिस्टहरूबीच अहिले कुनै भिन्नता देख्नुहुन्छ?
उनीहरूमा केही नीतिगत भिन्नता अवश्य छ। नेपाली कांग्रेस नेपालको पुरानो पार्टी हो, यो पनि क्रान्तिकारी पार्टी हो। माओवादी वा कम्युनिस्ट पार्टीहरूजस्तै नेपाली कांग्रेस पनि सुरुवातदेखि नै क्रान्तिकारी पार्टी हो।
एमाले–कांग्रेस गठबन्धन निर्माणमा कुनै भूराजनीतिक प्रभाव देख्नुहुन्छ?
केही मानिसहरू एमाले–माओवादी केन्द्रबीचको गठबन्धन निर्माणमा चीनको हात रहेको ठान्छन्। तर, मलाई त्यस्तो लाग्दैन। मुलुक ठूलो होस् वा सानो, त्यसको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैन। नेपालको आन्तरिक मामिलामा त झन् हस्तक्षेप गर्ने कुरै भएन।
आफ्नो नीति वा निर्णयका आधारमा नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता हुन्छ भने हामी खुसी नै हुन्छौँ। तर, एकताका लागि भनेर उनीहरूको आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्दैनौँ।
एमाले–माओवादी केन्द्रबीच फेरि एकता सम्भव छ?
सम्भावना धेरै छ। किनभने दुवैतिर एकता गर्नुपर्छ भन्ने भावना छ। यसका लागि समय लाग्न सक्छ, धैर्यको आवश्यकता पनि पर्छ।
यसपटकको नेपाल भ्रमणको क्रममा एउटा कम्युनिस्ट पार्टीका नेताको भनाइ थियो– पार्टीभित्रै पनि सुधारको आवश्यकता छ, सुधारपछि एकता सम्भव हुनसक्छ।
मेरो विचारमा उनीहरूले आ–आफ्नो पार्टीको स्वार्थ हेरेर होइन, समग्र देश र जनताको स्वार्थ ख्याल गरेर निर्णय गर्न जरुरी छ।
यो कुरा नेपाली कांग्रेसको सन्दर्भमा पनि लागू हुन्छ। नेपाली कांग्रेसभित्रको एकता सरकार र राजनीतिक स्थिरताका लागि फलदायी हुनसक्छ। सरकारको स्थिरता र राजनीतिक स्थिरताले नेपालको आर्थिक–सामाजिक विकासमा पनि सघाउ पुर्याउँछ।
तपाईं लामो समय नेपाल, भारत, पाकिस्तान र बंगलादेशजस्ता मुलुकमा सैन्य–कूटनीतिज्ञका रूपमा रहनुभयो। सैन्य सेवामा रहेको मानिस किन र कसरी प्राज्ञिक संसारतिर लाग्नुभयो?
हो, सबै सैनिक अधिकारीहरू अवकाशपछि प्राज्ञिक क्षेत्रमा लाग्दैनन्। यति हुँदाहुँदै पनि सैन्य सेवामै रहँदा मेरो रुचि अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनतर्फ थियो। खासगरी दक्षिण एसियाली मामिलामा मेरो रुचि थियो।
त्यहीकारण सेवामा रहँदा मैले सरकार वा सेनाको तर्फबाट ‘रिसर्च फेलो’ को रूपमा जिम्मेवारी निर्वाह गरेको थिएँ। प्रोफेसर बराबरकै हैसियतमा मलाई ती जिम्मेवारी प्रदान गरिएको थियो।
सैन्य जीवनमा मेरो ध्यान चीनको दक्षिण एसियाली मुलुकसँग सम्बन्धमा केन्द्रित थियोे। म सैन्य कूटनीतिज्ञको रूपमा दुईपटक गरी ७ वर्ष भारतमा रहेँ। दक्षिण एसियाका पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा पनि मैले काम गरेँ।
नेपालमा त अझ भारतभन्दा पनि बढी ७ वर्ष ३ महिना काम गरेँ। कारण यही हो कि, केही चिनियाँहरू मलाई नेपाल मामिला विशेषज्ञको रूपमा चिन्छन्। म जहाँ जाँदा पनि नेपालको विकास र समृद्धिको कामना गर्छु।
Shares
प्रतिक्रिया