कर्णाली


मध्यपश्चिम विश्वविद्यालयको प्रगति अरुभन्दा उच्च : ओली

मध्यपश्चिम विश्वविद्यालयको प्रगति अरुभन्दा उच्च : ओली

नेपालखबर
माघ ५, २०८० शुक्रबार १९:१५, सुर्खेत

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अन्य विश्वविद्यालयका तुलनामा मध्यपश्चिम विश्वविद्यालयले भौतिक, प्राविधिक र शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरको बताएका छन्।

ओलीले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ‘विद्यार्थीहरूसँग केपी शर्मा ओली’ अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले अन्य विश्वविद्यालयहरू भन्दा मध्यपश्चिम विश्वविद्यालय सबै कुरामा उत्कृष्ट देखेको उल्लेख गर्दै विश्वविद्यालयलाई थप प्राज्ञिक र ज्ञानको थलो बनाउनु पर्नेमा जोड दिए।

उनले भने, ‘आफूले योग्य र काम गर्ने हुटहुटी बोकेको देखेर विश्वविद्यालयको उपकुलपतीमा नन्दबहादुर सिंहलाई सिफारिस गरेको हो। यहाँ जतिको काम गर्नसक्ने भिसी नेपालका अन्य विश्वविद्यालयमा छैनन्। सिंह उपकुलपति भएर आएदेखि म बाहेक अन्य कुनै पनि प्रधानमन्त्रीले सहयोग नगरेको अवस्था देखेँ। विश्वविद्यालयले गरेको प्रगति देखेर खुशी भएको छु।’  

पछिल्लो समय नेताका आसपासमा डुल्नेलाई भिसी बनाउने प्रचलन बढ्दै गएको उल्लेख गर्दै भिजन र काम गर्न सक्ने आँट भएकालाई अवसर दिनुपर्ने लाइनमा आफू रहेको अध्यक्ष ओलीले दाबी गरे।  

यस्तै, राजनैतिक दलहरुको कमजोर मानसिकताका आधारमा बेला–बेला शैक्षिक धरोहर जस्तो विश्वविद्यालयमा चावी लगाएर रमाउने मनोवृत्ति बढेकोले उक्त सोच आजैबाट त्याग्नुपर्ने बताए।

उनले भने, ‘राजनीतिक र व्यक्तिगत स्वार्थमा लिप्त व्यक्तिका कारण विश्वविद्यालयप्रतिको नजिर गलत सावित हुँदै छ। विश्वविद्यालयहरु राजनीतिक रुपमा स्वायत्त हुनुपर्ने हो। हामी कहाँ सरकार फेरिने बित्तिकै कुन पार्टीको भिसी हो भने मनोवृत्ति बसेको छ, आज झिना मसिना कुराले विश्वविद्यालयमा ताला लागेका छन्, विश्वविद्यालयमा शिक्षा आर्जन गर्न आउने हो कि नारावाजी लगाउन, तोडफोड गर्न, ताला चावी लगाउन आउने हो? ताला चावी लगाउने हो भने विश्वविद्यालयमा नआउनुहोस्, घरमै बसे हुन्छ।’

यस्तै, ओलीले आफूले सुरु गरेको डिजिटल अभियानको स्मरण गर्दै विश्वविद्यालयलाई समयानुकल परिमार्जित गर्दै विश्वमा बिक्ने प्रविधियूक्त जनशक्ति उत्पादमा जोड दिनुपर्ने भनाई राखे।

विद्यार्थीहरुले विश्वविद्यालयमा बढ्दो राजनीतिक प्रभावका कारण आन्दोलन तथा हड्तालले शैक्षिक गतिविधिहरु प्रभावित हुँदा निराशा बढाएको बताएका थिए।
 
जवाफमा ओलीले प्राज्ञिक र अनुसन्धानको थलोमा राजनीतिक गतिविधी हुनु दुखद् भएको बताउँदै शैक्षिक धरोहरलाई स्वायत्त राखेमात्र विश्वविद्यालयहरु बाँच्ने बताए। त्यसतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .