ad ad

कर्णाली


कर्णालीमा चाडपर्व सुरक्षा : ४ हजार बढी प्रहरी परिचालन, वीरेन्द्रनगरमै साढे ३ सय

कर्णालीमा चाडपर्व सुरक्षा : ४ हजार बढी प्रहरी परिचालन, वीरेन्द्रनगरमै साढे ३ सय

दिनेश बुढा
असोज २२, २०८१ मंगलबार १६:४१, सुर्खेत

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१’ तयार गरेको छ। प्रहरीले कर्णाली प्रदेशभर दसैँ, तिहार र छठ पर्वको अवसरमा हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागू गरेको हो।

प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले चाडपर्व सुरक्षा योजना कार्यान्वयन गर्न-गराउनका लागि प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट चार हजार ३५१ जना प्रहरीहरू परिचालन गरिएको जानकारी दिए। 

उनका अनुसार उक्त प्रहरीहरूलाई एक हजार ३२९ वटा ड्युटी स्थानहरूमा खटाइएको छ। 

चाडवाडको समयमा जुवातास, मापसे, लापसे सेवन गरी झै–झगडा, आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि निरुत्साहित गर्न सुरक्षा कार्ययोजना २०८१ नै तयार गरि कार्यान्वयनमा ल्याइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

ठाउँ–ठाउँमा खटाइएका प्रहरीमध्ये चार हजार ९९ जना जनपद प्रहरी रहेका छन् भने २५२ जना ट्राफिक प्रहरी रहेका छन्। सुरक्षा योजना अनुसार १२ वटा प्रदेश तथा जिल्ला कमान्ड पोस्टहरूमा १४५ जना प्रहरी परिचालन गरिएको छ। 

मोबाइल तथा मोटरसाइकल गस्ती टोली
यस्तै, प्रहरीले चाडपर्वमा सुरक्षाका लागि मोबाइल तथा मोटरसाइकल गस्ती टोली समेत बनाएको छ। जसमा ४८ वटा मोबाइल गस्ती टोलीमा २३४ जना प्रहरी खटाइएको छ।

प्रदेशभर १०२ ठाउँमा बनाइएको मोटरसाइकल गस्ती टोलीमा १५२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। साथै १०९ स्थानमा क्युआरटी (क्वीक रेस्पोन्स टिम) टिममा २४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। 

यस्तै, २३३ वटा पैदल गस्ती टोली बनाइएको छ भने उक्त टोलीहरूमा ६३७ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। लामो तथा छोटो दुरीको गस्ती १०० वटा बनाइएको छ। जसमा ३७७ जना प्रहरी खटाइएको छ। ११३ ठाउँमा पिकेट टोली बनाइएको छ जसमा २७६ प्रहरी परिचालन गरिएको छ।

अन्य कुन–कुन प्रयोजनमा कति प्रहरी?
यस्तै, प्रदेश प्रहरी कार्यालका सुचना अधिकारी डिएसपी नारायण धामीले स्ट्राईकिङ टोली ९ स्थानमा खटाइएको र त्यसमा ७६ प्रहरी परिचालन गरिएको नेपालखबरलाई जानकारी दिए। 

प्रदेशभित्रका महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागि १९८ प्रहरी परिचालन गरिएको छ। प्रहरीले त्यस्ता ४४ स्थानको पहिचान गरेर प्रहरी खटाएको हो। 

बैंक, वित्तीय संघ–संस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षा लगायतका अन्य स्थानमा समेत गरी १९८ स्थानहरूमा ७५० प्रहरी परिचालन गरिएको छ। ४२ प्रहरीलाई विभिन्न ठाउँमा सादा पोसाकमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। माइकिङ प्रचार प्रसारका लागि १७ वटा स्थानमा ४० जना प्रहरी खटाएको छ।

यस्तै, ४०१ प्रहरीको रिजर्भ टोली बनाइएको छ। उक्त टोली भवितव्य रूपमा कुनै घटना घटेको खण्डमा परिचालन गरेको प्रहरी जनशक्तिले नपुगेको खण्डमा रिजर्भ टोलीले सहयोग गर्छ। उनिहरुलाई प्रदेशका विभिन्न १४ वटा ठाउँका राखिएको छ। तीन वटा मातहत प्रहरी टोली बनाइएको छ। जसमा १४ जना प्रहरी जनशक्ति राखिएको छ। 

वीरेन्द्रनगर उपत्यकामा साढे ३ सय प्रहरी परिचालन
कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरको सुरक्षा योजना प्रहरीले निकै कडा बनाएको छ। सबैभन्दा धेरै जनसंख्या भएको आपराधिक गतिविधिहरू बढ्न सक्ने आकलन गर्दै वीरेन्द्रनगरमा मात्रै साढे तीन सयको हाराहारीमा प्रहरी परिचालन गर्ने काम भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत जिल्लाभर साढे ७ सय जनशक्ति वीरेन्द्रनगर उपत्यकामा मात्रै साढे तीन सय प्रहरी परिचालन गरिएको छ। वीरेन्द्रनगर उपत्यकाभित्र मोटरसइकमा ६० भन्दा बढी स्पिडमा चलाउने चालकहरुलाई ट्राफिकले नियम अनुसार कारबाही गरिरहेको छ। 

ठाउँ–ठाउँमा चेकिङ
कर्णालीका प्रायः राजमार्ग जीर्ण छन्। नदी किनाराका खोच भएर नागरिकहरू गन्तव्य पुग्नुपर्ने सडक छन्। प्रदेशका १० वटै जिल्लाका नागरिकहरु गाउँहरु फर्किनेहरुको लर्को लागेपछि प्रहरीले चेकजाँचका लागि थप प्रहरी परिचालन समेत गरेको छ।

सडक सुरक्षालाई कडाइ र व्यवस्थित बताउन राजमार्ग र सहायक मार्गमा १० जिल्लाका १६२ वटा स्थानमा नियमित, विशेष र आकस्मिक चेकिङको व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले बताए। 

चेकिङ स्थलमा २९० जना ट्राफिक र १९९ जना प्रहरी खटाइएरको र ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गरिरहेको उनले बताए।

यात्रुहरूको सहजताका लागि पर्व लक्षित ६० वटा यात्रु सहायता र नागरिक सहायता कक्षहरू स्थापना गरेर १७२ जना प्रहरीलाई खटाइएको छ। 

यस्तै, कोही गाडी नपाएका, समस्यामा परेका यात्रुहरूका लागि सहजीकरणक व्यवस्था गर्न यात्रु सहायता कक्षले व्यवस्थापन गर्ने जसका लागि ७ स्थानमा ‘रि–फ्रेस’ सेन्टर राखिने प्रहरीले जनाएको छ। ती सहायता कक्षमा लामा दुरीका सवारी साधनहरू रोक्न मिल्नुका साथै गाडी र यात्रुहरूले आराम गर्न पाउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .