कोशी


प्रदेश १ मा सत्ताको दौडधुप, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म क-कसको सम्भावना?

एमाले वा माओवाीले मुख्यमन्त्री लिने
प्रदेश १ मा सत्ताको दौडधुप, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म क-कसको सम्भावना?

फाइल तस्बिर


ध्रुव भट्टराई
पुस १४, २०७९ बिहिबार १४:४०, विराटनगर

केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रहितको सरकार बन्ने निश्चित भएको छ।

यी दुई ठूला दलमा सरकारको नेतृत्व कसले लिने पक्का नहुँदै मन्त्री बन्नेहरुको दौडधुप सुरु भएको छ। 

दुवै दलले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेका छन्। यस्तोमा एमाले संसदीय दलका नेतामा हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन्। उनीहरु दुवैले मुख्यमन्त्रीको दाबी गरेका छन्। 

यद्यपि सरकारको नेतृत्वको विषय शीर्ष नेताहरुले नै टुंगो लगाउने छन्। केन्द्रमा सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ।

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन्।

प्रदेश १ मा सबै भन्दा ठूलो दल भएकाले एमालेले मुख्यमन्त्री पाउने सम्भावना बढी छ।

माओवादी केन्द्र शक्तिको हिसाबमा प्रदेशमा तेस्रो स्थानमा छ। यसबाहेक प्रदेश प्रमुख, सभामुख, उपसभामुख लगायतका पद बाँडफाँट बाँकी छ।

तर, कुन दलको नेतृत्वमा सरकार बन्ने पक्कापक्की नहुँदै दुवै पार्टीमा मन्त्रीका लागि दौड सुरु भएको हो। दर्जन बढी नेताहरु मन्त्रीका लागि आकांक्षी बन्दै शीर्षतहका नेताहरुलाई रिझाउन लागिसकेका छन्। 

एमालेबाट
एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन हुँदा एमालेबाट सुनसरीका रेवतीरमण भण्डारी र ताप्लेजुङका लिकुमार मेन्याङ्बो दुवै मन्त्री हुने निश्चित छ।

यस्तै सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, इलामका राम राना मगर, मोरङका लीलावल्लभ अधिकारी, खोटाङका पाँचकर्ण राई, उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई मन्त्रीका दाबेदार हुन्। दोस्रो कार्यकालका लागि प्रदेशसभामा निर्वाचित धनकुटाका इन्द्रमणि पराजुली र निरन राई पनि मन्त्रीका दाबेदार हुन्।

माओवादीबाट

माओवादीबाट तेह्रथुमका दुर्गा चापागाईंको नाम मन्त्रीमा पक्कापाकी छ। उनी संसदीय दलको दौडमा रहे पनि माओवादी सरकारबाट नेतृत्व गर्ने सहमतिपछि दलको नेताबाट पछि हटेर इन्द्र आङ्म्बोलाई समर्थन गरेका थिए।

माओवादीबाटै संखुवासभाका राजेन्द्र कार्की, उदयपुरका नारायणबहादुर मगर र मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदार मानिएको छ। 

माओवादीभित्र साविकका तीन राज्य लिम्बुवान, किरात र कोचिलाबाट सन्तुलन मिलाएर सरकारमा पठाउने गरी गृहकार्य भइरहेको नेताहरुले बताएका छन्।

त्यसअनुसार लिम्बुवानबाट चापागाईं, किराँतबाट कार्की वा मगर र कोचिलाबाट उप्रेती मन्त्री हुने सम्भावना छ।

उपसभामुख नभएको अवस्थामा मोरङकी गीता तिम्सिना पनि मन्त्रीको दाबेदार हुन्। यस्तै, जनजातिबाट सोलुखुम्बुका गोम्बु शेर्पा पनि मन्त्री बन्ने लाइनमा छन्।

सरकारमा राप्रपा समेत सहभागी भएको अवस्थामा झापाका भक्ति सिटौला मन्त्री बन्ने सम्भावना छ।

यस्तै जसपाबाट एकमात्रै सांसद बनेकी ताप्लेजुङकी निर्मला लिम्बु राज्यमन्त्री बन्ने सम्भावना छ।

प्रदेशको मुख्यमन्त्री एमालेले पाएमा सभामुख माओवादीले र मुख्यमन्त्री माओवादीले पाए एमालेले सभामुख लिने नेताहरुले बताएका छन्।

एमालेले सभामुख पाएको अवस्थामा सुनसरीका भण्डारी र ताप्लेजुङका मेन्याङ्बो मुख्य दाबेदार मानिएका छन्। 

माओवादीको भागमा सभामुख परे संखुवासभाका राजेन्द्र कार्की र ओखलढुंगाका बाबुराम गौतममध्ये एक जनाको सम्भावना छ।

उपसभामुख माओवादीको भागमा पर्दा मोरङकी गीता तिम्सिना र एमालेको भागमा पर्दा उदयपुरकी सिर्जना दनुवार वा भोजपुरकी सिर्जना राईको सम्भावना रहेको नेताहरु बताउँछन्।

प्रदेश १ मा मुख्यमन्त्रीसहित अहिले १३ मन्त्रालय छन्। मुख्यमन्त्रीका दाबेदार कार्कीले जिम्मेवारी लिएपछि मन्त्रालयको संख्या घटाउने बताउँदै आएका छन्। संख्या घटेको अवस्थामा ९ देखि १० हुन सक्छ।

यद्यपि पार्टीभित्र मन्त्रीका दाबेदारको संख्या धेरै रहेकोले मन्त्रालय संख्या घटाउन सहज भने देखिँदैन।

१३ वटा मन्त्रालय कायम रहेको अवस्थामा माओवादी केन्द्रले ५ र एमालेले ८ वटा मन्त्रालय पाउन सक्छ।

राप्रपासहित अन्य दल पनि सरकारमा सहभागी भएको अवस्थामा त्यो संख्या घट्न सक्छ। मन्त्रालय संख्या घटेको अवस्थामा माओवादी ४ र एमाले ६ हुनसक्छ।

प्रदेश १ मा सत्तापक्षका दलहरु एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद छन्। यस्तै विपक्षी दल नेपाली काँग्रेसका २९ र नेकपा एकीकृत समाजवादीको ४ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .