कोशी


प्रदेश १ : ओली-प्रचण्डको निर्णय कुर्दा सरकार गठनमा अलमल

सरकार बनाउन एक हप्ताको समयसीमा
प्रदेश १ : ओली-प्रचण्डको निर्णय कुर्दा सरकार गठनमा अलमल

मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो र हिक्मत कार्की। साथमा मुख्यमन्त्री राजेन्द्र राई।


ध्रुव भट्टराई
पुस १७, २०७९ आइतबार १६:५१, विराटनगर

फेरिएको सत्ता समीकरणसँगै प्रदेश १ मा सरकारको नेतृत्वबारे केन्द्रको निर्णय कुरेर बसेका सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्र अलमलमा परेका छन्। 

केन्द्रले मुख्यमन्त्रीको विषयमा टुंगो लगाउन ढिलाइ गर्दा ति दलले सरकार गठनका लागि आवश्य छलफल नै अगाडि बढाउन सकेका छैनन्। यद्यपी ति दलका नेताहरू भने सरकार गठनका निम्ति छलफल सुरु हुने दाबी गरेका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेश सरकार गठनको आह्वान गरेका छन्। उनले प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न समयसिमा दिएका छन्।  प्रदेश १ मा एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गर्दै आएका छन्।

एमालेले मुख्यमन्त्रीका रुपमा संसदीय दलका नेता हिक्मत कार्कीलाई अघि सारेको छ भने माअ‍ोवादीले दलका नेता रहेका इन्द्र आङ्बोलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ। यद्यपी केन्द्रबाट भने मुख्यमन्त्रीको बारेमा कुनै निर्णय अहिलेसम्म भएको छैन।

माअ‍ोवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरिसकेकाले केन्द्रमा बनेको गठबन्धन भित्रका दलहरुलाई प्रतिनिधित्व गर्ने पार्टीबीच प्रदेशको सरकार गठनका लागि छलफल चलाइने बताए।

केन्द्रमा बनेको गठबन्धले शक्ति बाँडफाँडका विषयमा गरेको निर्णय आफूहरुलाई स्वीकार्य हुने पनि उनले बताए। तर माओवादीले मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको उनको भनाई छ।

आङ्बोले अघिल्लो पटक एमालेलाई सरकारको निम्ति सहयोग गरेकाले अबको सरकारको नेतृत्वमा एमालेले आफूहरुलाई सहयोग गर्नुपर्ने बताए। यसअघि मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख एमालेलाई दिएर सहयोगी दलका रुपमा आफूहरुले भूमिका निर्वाह गरेकाले पनि यसपटक आफ्नो दाबी स्वभाविक रहेको उनको भनाई छ।

यता, एमालेले पनि प्रदेश सभाको सबै भन्दा ठूलो दल भएकाले आफूहरुले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ। 

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले अहिलेको अवस्थामा प्रदेश १ को मुख्यमन्त्रीमा एमालेको सशक्त दाबी रहेको बताए। यद्यपी सत्ता गठबन्धनभित्रका दलहरुमा शक्ति बाडफाँडबारे केन्द्रबाट आउने निर्णय अनुसार आफूहरु अघि बढ्ने उनको भनाई छ।

केन्द्रले गरेको निर्णयलाई कार्यान्वयन गर्दै सत्ता गठबन्धन दलहरुबीच आपसी छलफलबाट पद बाँडफाँडको विषय टुंग्याउने कार्कीले बताए।

प्रदेश प्रमुखले दिएको समयसीमा अगावै सहमति गरी सरकार गठनको प्रकृया अघि बढाइने उनको दाबी छ। 

मंसिर ४ को निर्वाचनम कुनै पनि दलले बहमुत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख खापुङले एक साताको समय दिएर संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणका आह्वान गरेका हुन्। ्प्र

देश १ मा सबे भन्दा ठूलो दल एमालेको ४० सिट रहेको छ। कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ।

बहुमतको सरकार निर्माणका लागि ४७ सिट संख्या आवश्यक पर्छ। प्रदेशमा एकल सरकार निर्माणको लागि प्रष्ट बहुमत पुग्ने अवस्था छैन। तर केन्द्रमा फेरिएको समीकरण अनुसार एमाले र माओवादी मिलेमा पनि सुविधासहितको सरकार गठन हुने अवस्था छ। 

यहाँ गत आइतवार निर्मित सत्ता गठबन्धनको बहुमत छ। प्रदेश १ मा एमाले, माओवादी र राप्रपा मिलेर सजिलै सरकार बनाउन सक्छन्।

अहिले सातदलीय गठबन्धनका दलहरु एमालेका ४०, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादीका १ गरी ६० सांसद हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .