ad ad

कोशी


बचतकर्ताको रकम हिनामिना गरेर सहकारी अध्यक्ष फरार, उपाध्यक्ष र सचिव पक्राउ

बचतकर्ताको रकम हिनामिना गरेर सहकारी अध्यक्ष फरार, उपाध्यक्ष र सचिव पक्राउ

ध्रुव भट्टराई
फागुन ४, २०७९ बिहिबार २०:३१, विराटनगर

विराटनगरकी ४ की बिमला भट्टराईले तुलसी सहकारीमा मुद्दती खातामा १८ लाख जम्मा गरेको वर्ष दिन पूरा भएको छ। एक वर्षका लागि भनेर जम्मा गरेको आफ्नो पैसाको साँवा र ब्याज रकम सहकारीले दिन आलटाल गर्दै आएको छ।

‘मुद्दती खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महिनौं हुन लागिसक्यो। तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ।’ 

उनका अनुसार शुक्रबार सहकारीले साँवा र ब्याज रकम दिने भने पनि अहिलेसम्म नदिएको उनले बताइन्।

सहकारीले दिएको समयसीमा भन्दा दुई दिनपछि उनी आफ्नो पैसा फिर्ताका लागि बुधबार सहकारीमा आइन्। तर सहकारीका सञ्चालक र समितिका कोही प्रतिनिधिलाई समेत फेला पार्न नसकेको बिमलाले बताइन्।

उनीमात्र होइन विराटनगरकी ममता कुमारी साहले पनि तुलसी बहुमुखी सहकारीमा १८ लाख रुपैयाँ बचत गरेकी छिन्। उनी पनि पछिल्ला दिन सहकारीमा आफ्नो रकम फिर्ताको लागि धाएको निकै भयो। तर पैसा फिर्ता पाउन सकेकी छैनन्।

बुधबार सहकारीको कार्यालयमा भेटिएकी ममताले भनिन्, ‘फिक्स डिपोजिट गरेको वर्ष दिन भयो। अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तौं बितिसक्यो। अहिलेसम्म दिने छाँटकाँट छैन,’ उनले भनिन्।

‘आफूसँग भएको रकम सबै यही सहकारीमा बचत गरेको छु,’ उनले भनिन्, ‘जम्मा गरेको रकम सहकारीले दिएन भने म त सडकमा आउँछु।’

तुलसा र ममता जस्तै धेरै बचतकर्ता तुलसी सहकारीमा अहिले जम्मा गरेको रकम फिर्ता लिन आउनेको भिड लाग्ने गरेको छ। पछिल्लो दश दिनयता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका छन्। 

सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन्। उनी अहिले कार्यालयमा आउने नगरेको त्यहाँका कर्मचारीले बताएका छन्। २०७१ सालमा सहकारी स्थापना भएको थियो। बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका थिए।

सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ।

सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो। जसले गर्दा एकपछि अर्को सहकारी संस्थामा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेको छ। विराटनगरको ठूलो सहकारीको रुपमा चिनिएको तुलसी बहुमुखी सहकारीमा बचत र मुद्दती बचत गरेका निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको छ।

दुःख गरेर आर्जेको रकम जोखिममा पर्ने भएपछि निक्षेपकर्ताहरु आन्दोलनमा होमिएका छन्।

बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार दुई सञ्चालकलाई पक्राउ गरेको हो। 

बचत गरेको रकम साँवा र ब्याजसहित दिनुपर्ने माग राख्दै निरन्तर रुपमा निक्षेपकर्ताहरू आन्दोलनमा उत्रिएपछि सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए।

‘जिल्ला प्रशासन कार्यालय मोरङमा निक्षेपकर्ताहरुसँग प्रशासनको छलफल भएको थियो। छलफलमा ढिलोमा पाँच दिनसम्म अवधि पूरा भएको निक्षेपकर्ताहरुको रकम फिर्ता दिए पक्राउ परेका सचिव र उपाध्यक्षलाई प्रहरीले छोड्ने छ,’ डीएसपी कार्कीले भने, ‘नभए प्रहरीले कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। अहिले अभद्र व्यवहारमा म्याद थप गरिएको छ।’

अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्रअधिकार भन्दा बाहिर गएर सहकारी ऐन अनुसार काम कारबाही नगर्दा तुलसी सहकारीको करोडौं रुपैयाँ जोखिममा रहेको छ।

सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन्। तर, बचतकर्ताको रकम झिकेर सञ्चालकले मनोमानी व्यक्तिगत खर्च गरेका कारण सहकारीमा समस्या आएको बुझिएको छ। तुलसीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामासमेत नै तालाबन्दी भएको छ।

सहकारीले टाँसेको सूचनामा भने हाल विश्वव्यापी रुपमा भइरहेको आर्थिक मन्दीको प्रभाव परेको उल्लेख छ।

लगानी गरेको रकम फिर्ता नआउँदा समस्या परेको उल्लेख गरिए पनि सञ्चालक सम्पर्कमा नआउँदा र बचतकर्ता सामु सहकारीको अवस्था सार्वजनिक नगर्दा समस्या देखिएको छ।

सहकारीका मेनेजर सिताराम अधिकारीले बचतकर्ताको सम्पूर्ण रकम फिर्ता दिने बताए। 

‘अहिले तरलता अभावको कारणले समस्या आएको हो,’ उनले भने, ‘जम्मा गरेको बचतकर्ताहरुको रकम क्रमश: फिर्ता दिनेछौं। केही समय लाग्छ।’

उनले बचतकर्ताको रकम फिर्ता दिन सहकारीका सञ्चालक लागिपरेको दाबी गरे।

‘तरलता अभावको कारणले समस्या आएको हो’ उनले भने, ‘यो समस्या समाधान गर्नेतर्फ सहकारीका संचालकहरु लागिपरेका छौं। बिस्तारै सबैको पैसा फिर्ता हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .