जीवनशैली


स्वस्थ जीवनका लागि पुरुषले अपनाउनुपर्ने ६ व्यवहार

स्वस्थ जीवनका लागि पुरुषले अपनाउनुपर्ने ६ व्यवहार

नेपालखबर
असार १३, २०७९ सोमबार ६:५१, काठमाडौँ

कहिलेकाहीँ पुरुषहरु रुघाखोकी मात्र लाग्यो भने यसलाई खासै वास्ता गर्दैनन्। तर, यही समस्या बल्झिँदै गएर पछि निमोनिया वा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छ। गम्भीर समस्या नदेखिएसम्म उनीहरु आफ्नो समस्या घटाउनको लागि डाक्टरसँग परामर्श गर्न पनि जाँदैनन्।

हङकङका डाक्टर जोनाथन चोउ जुन–फुङका अनुसार पुरुषहरु आफूलाई महिलाभन्दा बलियो भन्ने सोच्छन्। त्यसैले उनीहरु सामान्य स्वास्थ्य लक्षणलाई वास्ता गर्दैनन्। साथै केही पुरुषहरु आफूले के कुरा गलत गरिरहेको छु भनेर सुन्न पनि खोज्दैनन्। जसका कारण उनीहरुले सही समयमा आवश्यक स्याहार नपाउन सक्छन्।

विश्वव्यापीरुपमा पुरुषको औसत आयु पनि महिलाको भन्दा कम छ। पाँचमध्ये एक पुरुषको मृत्यु ६५ वर्षभन्दा अगाडि नै हुने गरेको छ। जसमध्ये समयभन्दा अगाडि नै हुने मृत्युको पनि ७५ प्रतिशतभन्दा धेरैको कारण मुटुसम्बन्धी रोग रहने गरेको छ। त्यस्तै ६७ प्रतिशत पुरुषको मृत्यु अत्यधिक तौलको कारण हुने गरेको छ।

आधा उमेरका पुरुषमा महिलाको तुलनामा मधुमेह हुने जोखिम दुईगुणा धेरै हुन्छ। त्यस्तै आत्महत्या गर्ने पाँचमध्ये चारजना पुरुष रहने गरेका छन्।

महिलाको तुलनामा पुरुषले धेरै धुम्रपान गर्ने, मदिरा पिउने र अस्वस्थकर खानेकुरा खानाले पनि पुरुषको औसत आयु कम हुने गरेको जुन–फुङको भनाइ छ।

त्यसैले पुरुषले बेलाबेलामा आफैंले पनि आफ्नो स्वास्थ्यको जाँच गर्नु जरुरी हुन्छ। बेलायती च्यारिटी संस्था मेन्स हेल्थ फोरमले पुरुषको  स्वास्थ्यका लागि सुझाएका सुझाव यस्ता छन् –

१. पल्स रेट नियमित परीक्षण गर्नु

दैनिकरुपमा नै आफूले आफ्नो मुटुको गति कस्तो छ भनेर जाँच गर्न सकिन्छ। सामान्य अवस्थामा मुटुको गति र शारीरिक अभ्यासपछिको मुटुको गति कस्तो छ र अभ्यासपछि सामान्य अवस्थामा आउन कति समय लाग्छ भन्ने पनि महत्वपूर्ण हुन्छ। धेरै समय मुटुको गति कम रहनु स्वस्थ मानिँदैन।

२. तौल जाँच गर्नु

आफ्नो पेटको तल्लो भागबाट वरिपरि नाप्दा ९४ सेन्टिमिटर (३७ इन्च)भन्दा धेरै हुन्छ भने तपाईँको तौल धेरै हुन सक्छ। जसले मुटुसम्बन्धी रोग, मधुमेह र क्यान्सरसम्मको जोखिम बढाउँछ। त्यति उक्त नाप १०१ सेन्टिमिटरभन्दा धेरै छ भने तपाईँले एकपटक डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।

३. शरीरमा देखिने सामान्य परिवर्तनमा पनि ध्यान दिनु

कहिलेकाहीँ ऐना हेर्दा शरीमा केही बिबिरा, गिर्खा वा केही देखिएको हुन सक्छ। कहिलेकाहीँ शरीर छाम्दा फेला पर्ने गाँठोहरु वा श्वासप्रश्वासमा आउने समस्या तथा छाती दुख्ने समस्यालाई सामान्यरुपमा लिनुहुँदैन। त्यस्तै सामान्य अवस्थाबाहेकको केही परिवर्तन देखिएको अवस्थामा तत्कालै डाक्टरको सल्लाह लिनुपर्छ। यसले कुनै पनि रोगलाई जटिल हुनबाट बचाउन सक्छ।

४. शौचको समस्यामा ध्यान दिनुहोस्

दिनमा कतिपटक पिसाब लाग्छ? पिसाब गर्दा कुनै समस्या छ कि छैन? राति पिसाब लागेर उठ्नुपर्ने समस्या छ कि छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। अक्सर गरेर पिसाब गर्न कठिन हुनुको कारण प्रेस्टेट बढ्नु हो। त्यस्तै धेरै मात्रामा पिसाब लाग्नु मधुमेहको लक्षण हुन सक्छ।

५. नियमित रक्तचाप परीक्षण

रक्तचाप सन्तुलनमा राख्नु अन्य स्वास्थ्य समस्याबाट बच्न निकै महत्वपूर्ण हुन्छ। खानपानमा ध्यान दिने तथा तौल घटाएर पनि रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ। उच्च रक्तचाप, अत्यधिक तनावजस्ता समस्या हृदयाघातजस्ता जटिल रोग पनि निम्त्याउन सक्छ।

६. शरीरमा देखिने समस्यालाई बेवास्ता नगर्ने

कहिलेकाहीँ नुहाउँदा शरीरमा गाँठो वा असामान्य बिमिरा देखा पर्न सक्छ। यस्तो गाँठो देखिनु टेस्टिकुलर क्यान्सरको लक्षण हुन सक्छ। पुरुषको २० देखि ३० को दशकको मध्यसम्म यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ। समस्यामा नै पत्ता लागे यो निको हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .