जीवनशैली


मोटोपन घटाउनेबारे नयाँ अनुसन्धान : कम खाएर पनि अघाउने उपाय

मोटोपन घटाउनेबारे नयाँ अनुसन्धान : कम खाएर पनि अघाउने उपाय

नेपालखबर
असार २८, २०७९ मंगलबार १२:४३, काठमाडौँ

तौल घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको कम खाने हो। तर, मोटोपनको समस्या भएका मानिसको लागि कम खानु सहज भने हुँदैन। उनीहरुलाई जति खाँदा पनि भोक नमरेको जस्तो लाग्छ, त्यसैले दिनानुदिन उनीहरुको मोटोपन घट्नुको सट्टा झन् बढ्दै जान्छ। 

यो समस्या समाधानको लागि शोधकर्ताहरुले एक तरिका फेला परेका छन्। जसले बढी तौल भएका मानिसलाई कम खाना खाँदा नै अघाएको जस्तो बनाउन सहयोग गर्छ। 

हङकङ बापटिस्ट युनिभर्सिटीको टोलीको नेतृत्वमा गरिएको अध्ययनमा उनीहरुले  भोक मेटाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने इन्जाइम पत्ता लगाएका हुन्। यसको आधारमा आगामी दिनमा मोटोपन घटाउने औषधि पनि विकास गर्न सकिने उनीहरुले बताएका छन्। 
नेचर मेटाबोलिज्म जर्नलमा प्रकाशित उक्त निष्कर्ष बढ्दो क्रममा रहेको मोटोपनको समस्या समाधानको लागि निकै महत्वपूर्ण हुन सक्ने शोधकर्ताहरुले बताएका छन्। 

अधिक तौलले मानिसहरूलाई हृदयाघात, मधुमेह र क्यान्सरजस्ता प्राणघातक  रोगको जोखिम बढाउँछ। त्यसैले मोटोपन कम गर्न वैज्ञानिकहरु नयाँ उपायको खोजीमा लागेका हुन्। 

डा जेभियर वोङ होइ–लेओङ र प्रोफेसर बियान झाओक्सियाङको नेतृत्वको वैज्ञानिकको टोलीले मानिसको मस्तिष्कमा भोक मेटिएको संकेत दिने इन्जाइम पत्ता लगाएका हुन्। यसलाई मेम्ब्रेन–टाइप १ म्याट्रिक्स मेटालोप्रोटिनेज (एमटी१–एमएमपी) भनिन्छ।

वोङले अनुसन्धानको क्रममा मानिसको भोकको नियमनको लागि एमटी१–एमएमपीको भूमिका रहने गरेको पाइएको बताए। यो अनुसन्धानले मोटोपनको उपचारको लागि यसले आशालाग्दो संकेत दिएको पनि उनले बताए। एमटी१–एमएमपीको प्रयोग गरेर औषधि विकास गर्नु व्यावहारिक परिवर्तन हुन सक्ने उनको भनाइ छ। 

विश्वव्यापीरुपमा गरिएको यो अनुसन्धान टोलीमा हङकङ युनिभर्सिटी, चाइनिज युनिभर्सिटी अफ हङकङ, युनिभर्सिटी अफ टेक्सास र हेल्सिन्की युनिभर्सिटीका वैज्ञानिक पनि सामेल थिए। 

वैज्ञानिकहरूले मोटो मुसाहरूको समूह बनाए र उनीहरूलाई फ्याटयुक्त आहार खुवाए र तिनीहरूको भोक मेटाउने संकेत दिने मस्तिष्कको नसामा एमटी१–एमएमपी घटाउँदै लगे र सोही खाना सामान्य मुसालाई पनि खुवाए। 

त्यसको १६ सातापछि एमटी१–एमएमपी घटाइएका मुसाले १० प्रतिशत कम खाना खाए। सो क्रममा उनीहरुको तौल पनि अन्य मुसाको भन्दा ५० प्रतिशत कम बढ्यो। यो अध्ययनले एमटी१–एमएमपीको मात्रा घटाउँदा मुसालाई मोटोपनबाट बचाउन सकिने देखाएको हो। 

शोधकर्ताको समूहले मोटो मुसाको मस्तिष्क पाइने एमटी१–एमएमपीको मात्रा पनि बढ्ने गरेको पत्ता लगाएको थियो। यसले पनि मोटोपन बढी भएका मानिसको तौल बढ्नुको कारण आफैं एमटी१–एमएमपीको मात्रा बढ्नु पनि हुन सक्ने अध्ययनको निष्कर्ष छ। 

यो अध्ययनको अबको चरण भनेको एमटी१–एमएमपीलाई आधार बनाएर औषधि विकास गर्नु हो। अध्ययनको क्रममा मुसाहरुले एमटी१–एमएमपीलाई रोक्ने विशेष तटस्थ एन्टिबडी विकास गरिएपछि भने मुसाहरुले कम खाएका थिए। 

यो अध्ययनको निष्कर्षले आगामी दिनमा एमटी१–एमएमपीलाई रोक्ने प्रक्रिया अपनाएर औषधि वा उपचार पद्धतिको विकास गर्न सकिने देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .