ad ad

जीवनशैली


गर्मीमा आँखामा आउने ३ समस्या र समाधानका उपाय (भिडिओ)

गर्मीमा आँखामा आउने ३ समस्या र समाधानका उपाय (भिडिओ)

शैलेश प्रधान कान्तिपुर अप्टिकल त्रिपुरेश्वरका आँखा रोग विशेषज्ञ हुन्


शैलेश प्रधान
चैत १८, २०८० आइतबार ७:१४, काठमाडौँ

मोबाइल, कम्प्युटर, टेलिभिजन मानिसका दैनिक जीवनका अभिन्न अंगजस्तै भैसकेका छन्। अर्कोतिर धुलो–धुँवाले हामीलाई रोगी बनाउँदै लगेको छ। बाहिर निस्किएर हिँडीसाध्य छैन। यसका अनेक साइडइफेक्ट छन्। दैनिक जीवनमा गाँसिएको प्रविधि र विषाक्त वातावरणको सीधा असर आँखामा पर्ने गर्छ।

मानव शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा। आँखाको राम्रो हेरचाह नगर्ने हो भने दृष्टि नै गुम्न सक्छ। जसले संसार अन्धकार बनाउँछ। कष्टकर हुन्छ। त्यसैले आँखामा देखिने स–साना समस्यालाई पनि गम्भीरताका साथ लिनु पर्छ। पछिल्लो समय सहरी भेगका मानिसहरु आँखा स्वास्थ्यका बारेमा सचेत छन्। तर, ग्रामीण क्षेत्रका मानिसले अझै पनि आँखा स्वास्थ्यलाई गम्भीरताका साथ लिनुपर्छ भन्ने बुझेकै छैनन्। 

आँखामा देखिने समस्या पनि मौसम अनुसार परिवर्तन भैरहन्छन्। जाडो सकिएर गर्मी सिजन सुरु भएको छ। आज गर्मी सिजनमा आँखामा आउनसक्ने समस्या र यसका समाधानका उपायका बारेमा चर्चा गर्छु। यो याममा हावा चल्ने, धुलोधुँवाले आँखामा विभिन्न खाले समस्या ल्याउने हुन्छ। यसैले गर्मीमा आँखाको विशेष ख्याल गर्नुपर्छ। यो समयमा आँखा सुख्खा हुने, एलर्जी तथा आँखा पाक्ने लगायतका समस्या देखिन्छन्।

आँखा पाक्ने समस्या
हाम्रो आँखाको सेतो भागमा देखिने झिल्ली हुन्छ। आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ। यसले गर्दा आँखा पाक्ने समस्या आउँछ। मुख्यतः भाइरस र ब्याक्टेरियाको संक्रमणले नै आँखा पाक्छ। यो बाहेक अन्य किटाणुको कारणले पनि आँखा पाक्छ। शरीरको प्रतिरक्षा प्रणालीले ब्याक्टेरियासँग लड्न क्षमता कम भयो भने पनि संक्रमण देखिन्छ। 

आँखा पाक्ने रोगलाई सरूवा रोगका रुपमा हेरिन्छ। आँखा पाकेका मानिसका आँखामा हेर्दा यो रोग सर्छ भन्ने आम मान्यता छ। तर, हेर्दैमा रोग सर्ने होइन। आँखा पाकेको मानिसको आँखाको आँसुबाट यो रोग अर्को मानिसमा सर्छ। 

आँखा पाक्ने रोगका लक्षणहरू
–आँखामा अप्ठेरो महसुस हुन्छ।
–आँखा रातो हुन्छ।
–आँखाबाट चिप्रा आउने समस्या हुन्छ।
–आँखाको वरिपरिको ढकनी सुन्निन्छ।
– उज्यालोमा हेर्न गाह्रो हुन्छ।

भिडिओ :

उपचार
आँखामा देखिएको समस्याको हचुवाका भरमा उपचार गर्नु हुँदैन। आँखामा अनुमानका भरमा जे पायो त्यही औषधि हाल्नु हुँदैन। आँखामा समस्या आएपछि नेत्र विशेषज्ञको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्छ। हामीले संक्रमण कम गर्नको लागि औषधि दिन्छौँ। आँखाको सरसफाइमा ध्यान दिनुपर्छ। आँखामा लागेको कचेरा सफा गर्नुपर्छ। आँखालाई हातले छुनुहुँदैन। यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ। जो व्यक्तिले आँखामा औषधि हाल्छ, उसले पनि हात धुनुपर्छ। बिरामीले प्रयोग गर्ने रूमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ। आँखा छोएको हातले साना केटाकेटी छन् भने तिनलाई छुनु हुँदैन।

आँखा चिलाउने
आँखा चिलाउने एउटा एलर्जी नै हो। यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षण नै गर्नुपर्छ। तर हामीले हेर्दा धुवाँ–धुलो अनि घामको कारणले पनि आँखा चिलाउँछ। 

आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँसु आउने लगायतका समस्या देखा पर्छन्। एलर्जीका कारण कतिपय मानिसको आँखाको सेतो भाग नै पहेँलो हुने समस्या हुन्छ। यस्तो भएको खण्डमा पहिला एलर्जी भएको हो होइन, यकिन गर्नुपर्छ। एलर्जी भएको खण्डमा एलर्जी विरूद्धको औषधि खानुपर्छ। एलर्जीको औषधि अलि लामो समयसम्म पनि खानु पर्ने हुनसक्छ।

जोगिने उपाय
एलर्जीबाट जोगिन बाहिर धुलोमा हिँड्दा चस्मा लगाउनुपर्छ। आँखाको सुरक्षा गर्नुपर्छ। चिसोले, बरफले आँखा सेक्नुपर्छ। यसले आँखालाई फाइदा गर्छ। राम्रो र ब्रान्डेड चस्मा प्रयोग गर्दा आँखाको सुरक्षा राम्रो हुने समाजमा भ्रम पनि पाइन्छ। तर, साधारण चस्माले पनि आँखाको सुरक्षा गर्छ।

आँखा पोल्ने समस्या
गर्मी मौसममा आँखा पोल्ने समस्या पनि देखिन सक्छ। आँखामा आँसुको कमी भएमा आँखा पोल्ने समस्या हुन्छ। आँखामा आँसुको कमी भएर आँखा पोल्ने समस्या भयो भने औषधि मार्फत आँसुको मात्रा बढाउन सकिन्छ। धेरै नै आँसुको मात्रा कम भएको खण्डमा र आँसुको मात्रा अलिकति कम भएको समयमा प्रयोग गर्ने औषधि भने फरक हुन्छ।

आँखा पोल्ने कारण अन्य पनि हुन सक्छन्। आँखा पोल्ने समस्या भएको व्यक्ति धुलो र घामबाट जोगिनुपर्छ।

समाधानका उपाय
बरफले सेक्यो भने फाइदा हुन्छ। चस्मा लगाउनुपर्छ। ओपीडीमा आउने बिरामीको समस्या हेर्दा धेरै प्रतिशत आँखा पोल्ने, चिलाउने, निद्रा नलाग्ने, थकानजस्तो भयो भन्ने गरेका हुन्छन्। यो सबै आँखा सुक्खा भएर हुने हो। काठमाडौँको धुवाँ–धुलोको कारणले यस्तो समस्या उत्पन्न हुन्छ।

(कान्तिपुर अप्टिकल त्रिपुरेश्वरका आँखा रोग विशेषज्ञ शैलेश प्रधानसँग राधिका अधिकारीले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .