ad ad

जीवनशैली


खाना सर्किनु पनि रोग हो, यसरी गर्न सकिन्छ उपचार

खाना सर्किनु पनि रोग हो, यसरी गर्न सकिन्छ उपचार

डा. प्रियंका गुप्ता


डा. प्रियंका गुप्ता
चैत २७, २०८० मंगलबार ७:९, काठमाडौँ

घटना १– गत फागुन ५ गते रामेछाप नगरपालिकाका कर्मचारीको खाना सर्केर मृत्यु भयो। वनभोज खान गएका रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो। रामेछाप नगरपालिकाका सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आयोजना गरिएको वनभोजमा खाना सर्किएर सिकिस्त भएका उनलाई अस्पताल त लगियो तर, बचाउन सकिएन। खाना सर्किएपछि खोकी नै नरोकिएका श्रेष्ठको रामेछाप जिल्ला अस्पतालमा मृत्यु भयो। 

घटना २– जिल्ला कारागार रामेछापमा पानी सर्किएर कैदीको मृत्यु भयो। लागुऔषध मुद्दामा ६ वर्षको कैदसजाय भोगिरहेका रुपन्देहीका ३९ वर्षीय सुशील श्रेष्ठको पानी सर्केर २०७५ असोजमा मृत्यु भएको थियो। पानी खाने क्रममा सर्केर कारागारभित्र नै ढलेका श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा मृत्यु भएको थियो। 

घटना ३– २०८० वैशाखमा ताप्लेजुङको आम्बेगुदिनमा आमाको दूध सर्केर दुई महिने बच्चाको मृत्यु भयो। कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने छोरीको दूध ख्वाउने क्रममा सर्केर घरमै मृत्यु भएको थियो।

घटना ४– तेह्रथुमको म्याङलुङ नगरपालिका १० तम्फुला निवासी ३ वर्षीय बालक न्युसन निङ्लेकुको खाना सर्केर मृत्यु भयो। आफ्नै घरमा खाना खाइरहेका विशाल तरकारीमा मिसाएको न्युट्रेला खानेक्रममा सर्केर सिकिस्त भएका थिए। उनको २०७६ जेठमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

खानेकुरा निल्दा श्वास नलीमा समस्या आएर यस्ता घटना हुन्छन्। खानेकुरा निल्दा श्वास फेर्न गाह्रो भयो भने एस्पिरेसन पनि हुनसक्छ। कहिलेकाहीँ हामीले खाने वा पिउने कुरा खाद्यनलीबाट नगई श्वासनलीबाट जाने अवस्थालाई चिकित्सा भाषामा एस्पिरेसन भनिन्छ। 

यसरी श्वासनलीबाट जाँदा हामीले खाएको वा पिएको खानेकुरा फोक्सोसम्म पुग्नसक्ने हुन्छ। कहिलेकाहीँ स्वस्थ मानिसमा समेत यस्तो हुनसक्छ। निल्ने क्रममा गलत नलीबाट खानेकुरा जाँदा श्वासनलीले त्यो थाहा पाउँछ र त्यसलाई हटाउन र फोक्सोलाई जोगाउन बेस्सरी खोकी लाग्ने हुन्छ। 

यो पनि एक प्रकारको रोग हो। हामीलाई एकैपटक घटना भैसकेपछि थाहा हुन्छ। यसका पनि लक्षण र समाधानका उपाय हुन्छन्। तर, हामीले यसलाई रोगको रुपमा लिएकै छैनौँ, खाना सर्किएर मृत्यु भएका घटना पनि रोगका कारण भएका हुन् भन्ने थाहा छैन।

एस्पिरेसनका लक्षणहरु के–के हुन्? 
जब निल्ने क्रममा गाह्रो हुन्छ वा घाँटीमा अप्ठ्यारो महसुस हुन्छ। मुखबाट भित्र जाने जुनसुकै कुरा फोक्सोसम्म पुग्नसक्ने हुन्छ। एस्पिरेसनका केही लक्षणहरु निम्नानुसार छन् 

–एकदमै खोकी लाग्नु
–खाँदा श्वास फेर्न गाह्रो हुनु 
–निल्न गाह्रो हुनु, 
–खाँदा दबाब महसुस गर्नु

बारम्बार यस्तो भैरहेको खण्डमा निमोनिया हुने जोखिम बढाउने हुँदा एस्पिरेसनलाई गम्भीर रुपमा लिनुपर्ने हुन्छ। 

के कारणले हुन्छ एस्पिरेसन? 
यो धेरै कारणले हुनसक्छ। कहिलेकाहीँ कान, नाक र घाँटी (ईएनटी)का विशेषज्ञ वा ओटोलरिन्जोलोजिस्टले नै यसलाई हेर्नुपर्ने हुनसक्छ। यदि तपाईंलाई खाँदा वा पिउँदा बारम्बार खोकी लागिरहन्छ भने यो यसको लक्षण पनि हुनसक्छ। तपाईंले निल्दा समस्या हुने गरेकोबारे डाक्टरलाई जानकारी गराउनुपर्ने हुन्छ। एस्पिरेसनले निमोनिया पनि हुनसक्ने सम्भावनाको हिसाबले सुरुमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ। कहिलेकाहीँ स्ट्रोक वा अन्य अवस्थाले पनि भोकल कर्डलाई कम सेन्सिटिभ बनाउँछ। यस्तो अवस्थामा निल्दा हुने कठिनाइलाई खोकीले मात्र संकेत नगर्न सक्छ। जसले साइलेन्ट एस्पिरेसन पनि हुनसक्छ। 

कसरी गर्ने उपचार? 
निल्ने क्रममा हुने समस्याहरुको परीक्षण गर्न डाक्टरहरुले स्पिच ल्यांग्वेज प्याथोलोजिस्ट (एसएलपी)हरुजस्ता अन्य स्वास्थ्यसेवा प्रदायकसँग पनि सोध्ने गर्छन्। उनीहरुले एउटा सानो क्यामेरा नाकको प्वालबाट राखेर निल्ने क्रममा कसरी खानेकुरा भ्वाइस बक्स हुँदै इसोफागस (अन्ननली) मा पुग्छन् भन्ने परीक्षण गर्छन्। विशेषखालको एक्सरे भिडिओबाट पनि यसको परीक्षण गर्न सकिन्छ जसलाई एउटा मोडिफाइड ब्यारियम स्वालो पनि भनिन्छ। यसले एसएलपी र डक्टरलाई खाना खाँदा पूरै निल्ने प्रक्रिया (मुखदेखि अन्ननलीसम्म) हेर्न मद्दत गर्छ। यी परीक्षणले निल्ने प्रक्रियामा केही गलत भइरहेको भए देखाउँछ र सुरक्षित रुपमा कसरी खाने र पिउने भनेर बिरामीलाई मद्दत गर्ने उपाय पत्ता लगाउन सकिन्छ। 

कहिलेकाहीँ, सामान्य खानेकुरा परिवर्तन गरेर पनि एस्पिरेसन टार्न सकिन्छ। अन्य अवस्थामा निल्ने थेरापीको जरुरत पर्न सक्छ। थेरापीका क्रममा निल्ने अभ्यास गर्दा त्यसमा आबद्ध मांसपेशीलाई बलियो बनाउन मद्दत पुग्छ। तर केही निल्ने समस्या जटिल पनि हुनसक्ने हुँदा शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ।

(डा. प्रियंका गुप्ता थापाथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिककी नाक, कान घाँटी रोग विशेषज्ञ हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .