ad ad

जीवनशैली


यसरी गर्न सकिन्छ बिनाचिरफार स्ट्रोकको उपचार

यसरी गर्न सकिन्छ बिनाचिरफार स्ट्रोकको उपचार

डा. सुवास फुयाँल
साउन २, २०८१ बुधबार ८:२२, काठमाडौँ

मानव शरीरका सम्पूर्ण अंग उत्तिकै महत्वपूर्ण छन्। तर, ती अंगहरूलाई पनि नियन्त्रण गर्ने क्षमताका कारण मानव मस्तिष्कलाई प्रधान अंग मानिन्छ। आठवटा अत्यन्त कडा हाडहरूको बीचमा रहेको एउटा सानो खोपीमा हाम्रो मस्तिष्क सुरक्षित हुन्छन्।

मानव मूितष्क जति सुरक्षित तवरले बसेको हुन्छ, बिरामी भएको खण्डमा उपचार पनि त्यति नै जटिल हुने गर्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जना मानिस मस्तिष्कका बिरामी हुन्छन्। अर्थात् उनीहरूलाई स्ट्रोक (मस्तिष्काघात) हुने गरेको छ। प्रत्येक ४ व्यक्तिमा १ जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने तथ्यांकले देखाउँछ।

विश्वमा हृदय रोगपछि मृत्युको दोस्रो कारण मस्तिष्काघात देखिएको छ। मस्तिष्काघातले मानिसलाई दीर्घकालीन रूपमा अशक्त बनाउँछ। मस्तिष्कलाई असर गर्ने वा बिरामी पार्ने खाना नखाने र त्यही अनुसारको जीवनशैली अपनाउने हो भने मस्तिष्काघात हुनबाट केही हदसम्म जोगाउन सकिन्छ।

मस्तिष्काघात रोगको उपचार विधिलाई लिएर पनि निकै डराउने गर्छन्। मस्तिष्काघात भएको खण्डमा टाउको खोलेर गर्नुपर्ने उपचार विधि सबैलाई थाहा छ। तर, पछिल्लो समय टाउको नखोली मस्तिष्काघातको सफल उपचार भइरहेको छ। जसलाई न्युरोइन्टरभेनसनल विधि भनिन्छ। 

यसमा टाउकोको चिरफार नगरी भित्र–भित्रै नसाबाट मस्तिष्कसम्म तार पुर्‍याएर जमेको रगतले अवरोध भएको नसा खोलेर रक्त सञ्चार गराइन्छ। यसलाई ‘मेकानिकल थ्रोम्बेक्टोमी’ भनिन्छ। तारबाट उपचार गरिएको छ भने सात दिनमै बिरामीलाई डिस्चार्ज गरेर घर पठाउन सकिन्छ। 

त्यस्तै हेमोरेजिक भएमा चिरफार र तारको माध्यम दुवैबाट उपचार गर्न सकिन्छ। यी दुईमध्ये तारबाट गरिने विधि प्रभावकारी मानिन्छ। यसमा टाउको खोलेर गर्ने शल्यक्रिया जति जटिलता तारबाट गर्ने विधिमा नदेखिने र बिरामीलाई पनि तुलनात्मक रूपमा सहज हुन्छ।

चिरफार गरेर गरिने शल्यक्रिया धेरैजसो अस्पतालमा भए पनि बिनाचिरफार गरिने मेकानिकल थ्रोम्बेक्टोमी विधि थोरै अस्पतालमा मात्र छ। यो प्रविधि सन् २०१९ बाट नेपालमा भित्रिएको हो। यो सुविधा सरकारी अस्पतालमा छैन।

सरकारी अस्पतालमा सेवा बिस्तार नभएकै कारण सर्वसाधारण सजिलो विधिको उपचारबाट वञ्चित छन्। यो विधिबाट उपचार गर्न खर्च ज्यादा लाग्छ। यसमा जरुरी उपकरण एकदमै महँगो हुने भएकाले पनि उपचार खर्च बढेको हो। त्यसैले पनि थाहा पाएका कयौँ सर्वसाधारण यो विधिबाट उपचार गर्न आइपुग्दैनन्। यदि सरकारी स्तरका अस्पतालमा यो विधिबाट उपचार गर्ने उपकरण ल्याएर सहुलियत दरमा उपचार गर्ने हो भने सबै बिरामीले बिनाचिरफार मस्तिष्काघातको उपचार पाउने थिए। 

हाल काठमाडौँको ग्रान्डी सिटी अस्पताल र न्युरो अस्पताल बाँसबारीमा मात्र अत्याधुनिक मेसिन सहितको यो सुविधा छ। कुन अस्पतालमा यो उपचार सुविधा छ भन्ने पहिचान नहुँदा र समयमा उपचार नहुँदा पक्षघात हुने र ज्यान नै गुम्ने जोखिम छ।

के हो मस्तिष्काघात? 
मस्तिष्कमा रक्तसञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्थालाई मस्तिष्काघात भनिन्छ। सामान्यतयाः मस्तिष्काघात दुई किसिमको हुन्छ। एउटा स्केमिक स्ट्रोक र अर्को हेमोरेजिक स्ट्रोक।

मस्तिष्कको नसा बन्द भई रक्तसञ्चार एक्कासि बन्द हुनुलाई स्केमिक स्ट्रोक भनिन्छ। यस्तोमा मस्तिष्कले अक्सिजन र पोषण रगतबाट पाउँदैन। यी दुईबिना दिमागको कोष विस्तारै मर्दै जान्छन्।

त्यस्तै, मस्तिष्कमा एक्कासि नसा फुटेर रगत प्रवाह हुनुलाई हेमोरेजिक स्ट्रोक भनिन्छ। बगेको अत्याधिक रगतले दिमागको तन्तुहरूलाई दबाब दिई क्षति पुर्‍याउँछ। यी दुई मस्तिष्काघातमध्ये धेरैलाई स्केमिक स्ट्रोक हुनेगर्छ।

मस्तिष्काघातको जोखिम कसलाई?
उमेर समूहका हिसाबले ५० वर्ष उमेर पार गरेका मानिस यो रोगको जोखिममा हुने गर्छन्। तथापि पछिल्लो समय युवाअवस्थामै मस्तिष्काघात भएर उपचारमा आउने तथा जीवन गुमाउनेका संख्या पनि बाक्लिँदै गएको छ। उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलजस्ता समस्या भएकाहरू पनि यो रोगको जोखिम वर्गमा पर्छन्। 

त्यस्तै, खानैपर्ने औषधि नखाएका वा खाँदै छाडेकालाई पनि मस्तिष्काघात हुनसक्छ। अनियन्त्रित खानपान, मोटोपन, व्यायाम नगर्ने, चुरोट तान्ने व्यक्तिलाई मस्तिष्काघात हुनसक्छ।

कम उमेरमै मुटुको समस्या भएकाहरूमा मुटुमा रगत जमेर विस्तारै मस्तिष्कको नसासम्म पुगी मस्तिष्काघात हुनसक्छ। मस्तिष्काघातको लक्षण छिटो देखिन्छ। लक्षण देखिएको केही क्षणमै अवस्था गम्भीर बन्न सक्छ, जुन एक घण्टादेखि एक दिनसम्म पनि हुनसक्छ।

मस्तिष्काघातका लक्षण
-बोल्न कठिन हुनु, मुख बाङ्गिनु, बोली लर्बराउनु
-शरीरको एक भाग अचानक कमजोरी अनुभव हुनु
-अचानक टाउको दुख्नु
-एक वा दुईआँखाले हेर्न कठिनाइ हुनु
-हिँड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु

नसा फुटेर रक्तस्राव हुनुपूर्व अत्यधिक टाउको दुख्ने, बेहोस हुनेलगायतका लक्षण पनि देखिन सक्छ।

यी लक्षण एक्कासि देखिए तुरुन्त अस्पताल जानुपर्छ। खासगरी नसा खोल्नका लागि उपकरण भएको अस्पतालमा पुग्नु उत्तम हुन्छ। किनभने लक्षण देखिएको २४ घण्टाभित्र विस्तारै मस्तिष्कको कोष मर्दै जाने हुँदा एक/एक मिनेटको महत्व हुन्छ। मरिसकेको तन्तु वा नसालाई केही गर्न नसके पनि बाँकी भएकालाई नसामा भएको अवरोध खोलेर रक्तसञ्चार गराउन सकिन्छ। यसले बिरामी बाँच्ने सम्भावना बढ्छ।

मस्तिष्काघात थाहा पाउने तरिका
सिटीस्क्यान, एन्जियोग्राफी र  एमआरआईबाट मस्तिष्कमा रगत बगिरहेको वा तन्तु र कोष कति क्षति पुगेको छ भनेर विस्तृतमा देखिन्छ। जसबाट उपचार प्रक्रिया कसरी गर्ने भन्नेबारे टुंगो गर्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .