साहित्य


शिव पलाँसको ‘माया गर्नुको अर्थ’ र दर्शन जस्ता गीतहरु

शिव पलाँसको ‘माया गर्नुको अर्थ’ र दर्शन जस्ता गीतहरु

दिलीप बान्तावा
असार २२, २०७९ बुधबार १९:११, काठमाडौँ

उसो त म काब्य चेत भएको मान्छे होइन। कविता वा गीति शब्दहरू उस्तरी बुझ्दिनँ जस्तो लाग्छ। तर कुनै कुनै गीत वा कविता पढ्दा शरीरले दिने अनौठो प्रतिक्रिया महसुस गर्दछु। सायद त्यो महसुस नै शब्दको शक्ति होला। 

कहिलेकाहीँ नशामा रगतको प्रवाह बढे जस्तो हुन्छ, कहिले शरीरको तापक्रम एक्कासि बढेर हपहप भए जस्तो लाग्छ। कहिले शरीरभरी काँडा पलाए जस्तो लाग्छ। शरीरलाई यो प्रतिक्रियामा पुर्‍याउने थोरै मात्रै त्यस्ता काव्यहरू भेट्छु। यतिखेर मसँग ठीक त्यस्तै महसुस गराउने एउटा गीति संग्रह छ, गीतकार शिव पलाँसको।

थोरै फुर्सदको बेला कि फेसबूकको न्यूज फिड स्क्रोल गर्नु या त युट्युबमा र्‍यान्डम भिडियोहरू खोज्दै हेर्नु। परदेशमा बेचिएको समय चोरेर गरिने यस्ता 'हर्कत'हरु सायद अधिकांशको साझा नियति हुन सक्छन्।

त्यसरी नै करिब एक बर्ष पहिले युट्युबमा कुनै मन छुने गीत भेटिने आशमा खोजी गर्दै थिएँ। त्यही बेला एउटा गीतमा पुगेर प्ले बटन थिचेँ। गीत बज्न थाल्यो, 'बेहोसीमै छोडी गयौ, मुटुमाझ छुरा चलाई...'। 

यो गीत दोहोर्याई तेहर्याई सुनेँ। थाहा छैन, म किन यस्ता बिछोड, वियोग, बेदना र पीडा भरिएका गीत सुन्न मन पराउँछु? यो सिलसिला आजको होइन, जतिखेर गीत अलिअलि बुझ्थेँ, त्यतिखेरैबाट म यस्तै गीतहरूमा तानिन्थेँ। यो गीतको शब्दले सार्है छोयो, गीतको विवरण हेर्दा गीतकारको नाममा शिव पलाँस थियो, संगीत/स्वर सन्तोष रुचालको। 

त्यसपछि शिव पलाँसका अन्य गीत पनि सुन्न मन लाग्यो। युट्युबमा खोज्न थालेँ। जति भेटेँ, सुनेँ, त्यति नै गीततिर तानिएँ। एक दिन फेसबुकमा नाम लेखेर खोजी गरेँ, प्रिय गीतकारलाई भेटेँ। साथी बन्ने प्रस्ताव पठाएँ। निक्कै कुरेपछि प्रस्ताव स्वीकार भयो। उहाँबारे उपलब्ध अनलाइन जानकारीहरुबाट उहाँ पनि परदेश रहनुभएको थाहा भयो। 

कहिलेकाहीँ लाग्छ, आफ्नो देशबारे चिन्तन गर्न वा देशको माया थाहा पाउन हरेक नागरिकले एक पटक देश छोड्नुपर्ने रहेछ क्यारे! नत्र हरेक प्रवासीको मनमा उठ्ने देश प्रेमको छाल  किन उस्तै हुने गर्दछ? भौतिक विकास र सेवा सुविधाको असीमित उपलब्धतामा बसेर पनि हामी किन देशका लागि चिन्ता गरिरहन्छौं? 

तर दु:ख त्यतिबेला लाग्दछ, जब देशमा बस्नेहरूले हाम्रो चिन्तालाई मजाक बनाइदिएर भन्छन्, 'आफ्नो चिन्ता गरेर देश छोड्नेले देशको चिन्ता गरेको सुहाउँदैन। तिमीहरुलाई देशबारे केही थाहा छैन। चुपचाप आफ्नो मजदुरी गरेर खाऊ।' शिव पलाँसले फेसबुकतिर घरीघरी लेख्ने लेखोटहरुले देशप्रतिको त्यही चिन्ता प्रस्तुत गर्दछन्। 

उहाँ यतिखेर मध्य दिनको बेफुर्सदिलो समय बिताइरहनुभएको होला। म मध्यरात हुन लागेको समयमा छु। अर्थात्, छुट्टाछुट्टै गोलार्द्धमा बसेर पनि शब्दको खेती गर्नेको भेट शब्दकै फाँटमा हुने रहेछ। 

केही समयअघि उहाँसँग 'ताल्चा'बारे केही कुरा गरेथेँ। सम्भव भए लिएर पढ्ने आश्वासन दिनुभयो। बरु त्यसैबेला आफ्नो गीति संग्रहको पीडीएफ फाइल मलाई पठाइदिनुभयो। 'माया गर्नुको अर्थ' संग्रहको नाम हो यो।

 यो अपूर्ण वाक्य आफैँमा एउटा पूर्ण तथ्य हो भन्ने लाग्दछ। हुन त यो रेकर्डेड गीत पनि  सुनिसकेको थिएँ। संग्रह पढ्दै जाँदा थाहा भयो यो गीत त उहाँको सुरुवाती समयकै रहेछ। पूर्ण रुपमा दार्शनिक लाग्ने यो गीतका हरेक तर्क मलाई जायज लाग्छन्। त्यसो त हिजोआज माया अर्थात् प्रेम र विवाहमा फरक खोज्ने क्रम बढिरहेको छ। 

धेरैजसोको जिन्दगी यस्तो भइदिन्छ कि प्रेम एक जनासँग हुन्छ, बिहे अर्कैसँग। र, त्यो प्रेम त्यतिकै टुक्रिएर जान्छ। अब भने प्रेमको यो शास्त्रीय मान्यतालाई बदल्नुपर्छ भन्ने पनि छन्। प्रेम गरिएको मान्छेसँग केवल प्रेम मात्रै गरिरहन किन नपाइने वा नसकिने? प्रेम गरेकैसँग बिहे गर्नुपर्छ भन्ने के छ? वा जोसँग बिहे गरिन्छ, उसैसँग प्रेम गरिएकै हुन्छ भन्ने के छ र? सायद यी सवालहरूमा हामीसँग विभाजित तर्क प्रशस्तै छन्। तर, यो गीतले भने स्वच्छन्द प्रेमको पैरवी गरेको छ भन्ने लाग्दछ।

संग्रहभित्र ८१ वटा गीत छन्। गीतहरूमा माया-प्रेम, विछोड र बेदनाका दार्शनिक व्याख्या मात्रै होइन, देश प्रेम र माटोप्रतिको अगाध श्रद्धासमेत पोखिएको छ।

बेहोसीमै छोडी गयौ, मुटुमाझ छुरा चलाई
तिमीबिना जिन्दगी नै अन्धकार लाग्छ मलाई
(पेज २२)

सुनको जलप लगाएको फलाम जस्तो रै'छ
राम्रोसँग बुझेँ तिम्रो माया कस्तो रै'छ
(पेज ४३)

अजम्मरी घाउ भयो, दर्द भयो माया
आफ्नै गला रेटिदिने कर्द भयो माया
(पेज ४५)

जीवनभन्दा धेरै दुख्ने घाउ भेटिएन
मृत्युभन्दा पर पुग्ने ठाउँ भेटिएन
(पेज ९९)

उल्लेखित केही प्रतिनिधि गीतका स्थायी हरफ हुन्, जसको दुई लाइनले नै सिंगो  गीतको भार उठाउन सक्छन्। संसारमा गरिने माया प्रेमको अर्को पाटोमा उस्तै धोका, घृणा वा तिरस्कारका सिँढी पनि भइहाल्छन् नै। दुवै पाटा छन् र त प्रेम महत्वपूर्ण छ। 

यदि प्रेम एक्लै वा केवल प्रेम मात्रै भइदिएको भए प्रेमप्रति यति आशक्त हुँदैनथ्यो होला यो दुनियाँ। तर, मान्छेले प्रेम मात्रै 
अपेक्षा गरिरहन्छ, प्रेमको अर्को पाटो बिर्सिदिन्छ एकछिनका लागि। त्यो बेला प्रेमको सट्टा अर्कै चिज उसका अघिल्तिर आइपुग्दा मान्छे आत्तिन्छ, हतास हुन्छ। 

प्रेम साट्न त प्रेमी-प्रेमिका साथमा हुन्छन्। तर, धोका र घृणा साट्ने मान्छे अक्सर कमै हुन्छन्। त्यसैले दर्द र बिछोडको पीडालाई भुलाउन मान्छेहरु मान्छेभन्दा पर जान्छन्। कोही शब्दहरूसँग खेल्छन्, कोही संगीतमा रमाउँछन्, कोही यी दुवैसँग हराएर नशामा डुब्न खोज्छन्, एकैछिन भए पनि। तिनै पीडाहरुको भार बोक्ने यी शब्दहरूमा सुन्दर, सलिल ढंगको अभिव्यक्तिबाट दर्दमा गुज्रिरहेका हरेक  मान्छेको भाव कुँदिएका छन्।

माया गर्नुको अर्थ सिउँदो भर्नु होइन
सिउँदो भर्नुको अर्थ माया गर्नु होइन।
(पेज १९)

गंगा जस्तै पवित्र छ, तिम्रो माया अपार छ
तिमी छौ त तिमीभित्रै मेरो सिंगो संसार छ।
(पेज ८०)

पत्थर खोपी लेखेको छु हिउँमाथि होइन
तिम्रो मेरो प्रेम कथा त्यसै मेटिँदैन।
(पेज ८६)

प्रेमप्रति प्रतिबद्ध उल्लिखित गीति हरफहरूमा सच्चा तथा बलिदानी प्रेम भेट्न सकिन्छ। प्रेमलाई परिभाषित गर्नेहरु प्रेमको अन्तिम विन्दु बिहेलाई मान्ने गर्दछन्। तर, प्रेमको अन्तिम लक्ष्य केवल प्रेमबाहेक अरु हुनै सक्दैन। कुनै कुराको अपेक्षासहित प्रेम गरिन्छ भने त्यो प्रेम नै होइन, लेनदेनमा प्रेमलाई खुम्च्याउन सकिन्न। 

गीतकार शिव पलाँस, आफैँ प्रवासमा बसिरहनुभएको छ। त्यसैले होला सायद उहाँका गीतहरूमा आफूले टेकेर आएका ती खोला-नदी, डाँडा-पाखा तथा ती ठाउँहरुमा गुञ्जिने प्राकृतिक धुन र ती सबैसँग आफूले बिताएका स्वर्णिम समयहरुको परावर्तन पाउन सकिन्छ। आफ्नो मातृभूमिसँग टाढिएर पराइका लागि पसिना बगाउनु रहर होइन। यो बाध्यात्मक कहरले मनमा उत्पन्न हुने बेचैनी र आफ्नो माटोको हरकको यादले लछप्पै भिजाउँछ यदाकदा। 

पानी मिच्यो, माटो मिच्यो, गर्‍यो घेराबन्दी
नेपालीलाई दुखेको छ सुगौलीको सन्धी
(पेज ४९)

भैगो मलाई टेक्नु छैन चन्द्रमाको छाती
खुट्टा टेक्न पाए पुग्छ यहि धरतीमाथि 
(पेज ५२)

सिमाना आफ्नो जोगाउन पर्खाल बनुँ कि म कतै
सारंगी रेट्दै देश गाउँदै, गाउँदै हिँडु कि म यतै
(पेज ७५)

अथाह छ मेरो माटो नङ्ग्रा खियाउन
बग्छन् मेरै खोला, नदी माटो भिजाउन
दयाको एक पात्र भई बाँच्न जान्दिनँ म
नेपाली हुँ दु:खदेखि भाग्न जान्दिनँ म
(पेज ८५)

१९ औँ शताब्दङीमा बेलायती साम्राज्यवादले समेत टेक्न नसकेको माटोमा यतिखेरको राजनैतिक अकर्मण्यताले गर्दा विदेशी बुट बजारिन खोजिरहेका छन्। देशलाई अकर्मण्यताको भूमरिमा पुर्‍याउने गलत र कुत्सित नियत भएकालाई खबरदारी गरिएका गीतहरूले भन्छन् ;

कायाकल्प गर्छौँ भन्यौँ नारा मात्र गायौ
उज्यालोको आशा देखाई अँध्यारोमा ल्यायौ
चढी हाम्रै काँधमाथि खोला, नदी तर्‍यौ
शिखरैमा पुगे पनि नजरबाट झर्‍यौ।
(पेज ९६)

संग्रहभित्रका कुनै कुनै गीतहरूले आफुले बाँचेर आएको समयतिर फर्किएर घोरिन बाध्य बनाउँछन्। जिन्दगीबारे बनिबनाउ धारणाहरूमाथि धावा बोलिदिन्छन्। बाँच्नुको नाममा आफैंलाई बिर्सिने गरी दौडिरहेको आफूलाई नै टक्क रोकिएर सोचमग्न बनाइदिन्छन्।

कैले बग्छ सङ्लिएर कैले आउँछ बाढी
भोग्नुपर्छ नसोचेको अनेक पला घडी
पानीभित्र आगो बोकी बग्नुपर्ने हुन्छ
खोला जस्तो जिन्दगी यो कहाँ पुगी रुक्छ
(पेज ३३)

अब केवल ढल्ने दिनको पर्खाइमा बसेको  छु
दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु
मक्किएर गए जरा, हाँगाबिँगा झर्न थाले
छहारीमा बस्नेहरु अन्तै बसाइँ सर्न थाले
(पेज ४१)

समग्रमा 'माया गर्नुको अर्थ' गीति संग्रह (गीत सञ्चयन) ले नेपाली काव्य लहरमा सशक्त उपस्थिति जनाएको छ। एउटा मान्छेमा उत्पन्न हुने सबै भावावेषहरुलाई सुन्दर शैली र गेयात्मकतामा चिटिक्क उन्न सफल गीतकार शिव पलाँस नेपाली गीति लेखनका लागि अब्बल सर्जक भएकोमा अलमल छैन।

संग्रहमा संकलित केही गीतहरू रेकर्ड गरिएका छन्। केही रेकर्ड गरिएका छन्। तर सबै गीतहरू उत्तिकै मर्मज्ञ र शक्तिशाली छन्।  गीतकार पलाँसबाट यस्ता सुन्दर सृजनाहरु  निरन्तर आइरहुन्। उहाँलाई हार्दिक शुभकामना!

हतुवागढी, भोजपुर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .