वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्,
साथै, उनले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए। लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ। उनले नेताहरुले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताए।
‘नेपाल प्रज्ञा प्रतिष्ठानमा आएपछि मैले के कुरा उठाएँ भने सत्यमोहन जोशीको संयोजकत्वमा यस्तो काम गरेको छ। नेपाल चिनाउने ग्रन्थ छैन, अहिले नेपाल सात प्रदेशमा विभाजित भयो, सातै प्रदेशको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ रचना गर्नुपर्छ भनेर एउटा परियोजना सञ्चालन गर्ने लक्ष्य राखेको थियौँ,’ उनले भने, ‘तर नेपाल सरकारबाट सहयोग भएन। प्रज्ञा प्रतिष्ठानको बजेट कटाएर अहिले समस्या कहाँ छ त, कुन प्रदेशमा छ भन्दा मधेस प्रदेश। मधेसको अनुसन्धान गर्नुपर्छ, तर पहाडकाले होइन, मधेसकैले हो। हाम्रो इतिहास अर्कोले लेखेर बिगारिदियो भन्छ।’
आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागेपनि सरकारले सहयोग नगरेको गुनासो उनको थियो। नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको उनले बताए।
‘सातै प्रदेश रहन्छ की रहँदैन, रहँदैन भन्छन्, नेताहरू। तर नेपाल त रहन्छ। नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन हुन्छ र प्रकाशन हुन्छ। यसले राजाको मात्रै कुरा गर्छ भन्लान्। नेपाललाई चिनाउने इन्साइक्लोपिडिया छ त? छैन,’ उनले भने, ‘चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ। अहिलेका कतिपयलाई लोकले मानेको छ? मानेको छैन। राष्ट्रपति हुँदैमा सम्माननीय हुँदैन। लोकले मान्नुपर्छ।’
उहाँले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए।
यस पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन्। ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाइएको छ।
Shares
प्रतिक्रिया