लुम्बिनी


कला-संस्कृति संरक्षण गर्न पाल्पामा लोकवार्ता सम्मेलन

कला-संस्कृति संरक्षण गर्न पाल्पामा लोकवार्ता सम्मेलन

नेपालखबर
फागुन ७, २०७९ आइतबार १२:१४, पाल्पा

लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबार ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ। समुदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो।

जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्दै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकाले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताए।

‘हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ’, उनले भने, ‘लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ।’ उनले  लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताए। 

पाल्पाका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्त्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ। यहाँका स्थानीय संस्था, स्थानीय सरकारले लोकवार्ता परिषद्को अभियानलाई पछ्याउन पनि उनले सुझाव दिए। सम्मेलनको दोस्रो सत्रमा विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत तथा छलफल र बहस भएका छन्। 

प्रा डा माधवप्रसाद पोखरेलले संयोजन गरेका कार्यपत्र प्रस्तुति सत्रमा प्रा डा सावित्री मल्ल कक्षपतिले नेवार समुदायले मनाउने गथामुःग, झपेन्द्र जिसीले कडुवा गीत नृत्य : जीवन्त पाल्पाली संस्कृति एक झलक, कृष्णप्रसाद कोइरालाले रूरू क्षेत्र– एक प्रमुख धाार्मिक, पर्यटकीयस्थल, मन गैरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण, रोहित ज्ञवालीले पाल्पाका ब्राह्मणको कुलायन पूजा परम्पराः यसको सांस्कृतिक तथा सामाजिक महत्वका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका छन्। 

यस्तै मदन देउरालीले पाल्पामा भएका मन्दिर र मनाइने जात्रा, प्रा डा भवेश्वर पङ्गेनीले पाल्पा र यसको गौरव (पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व), विष्णु घर्ती ‘भनभनेली’ ले गुल्मेली घर्ती/भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्था र रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गरेका छन्। 

सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का महासचिव प्रा डा ध्रुवप्रसाद भट्टराईले जानकारी दिए। स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्कोवर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताव छाप्ने काम गरिएको छ। कला संस्कृतिसहितको संरक्षण गर्दै मूर्तअमूर्त कला संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्ककका रुपमा प्रकाशन गर्नेगरी सम्मेलन आयोजना गरिएको लोकवार्ता परिषद नेपालका अध्यक्ष प्राध्यापक डा प्रेमकुमार खत्रीले बताए। 

‘राम्रा कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिन चरणबद्ध रुपमा जिल्ला जिल्लामा स्थलगत रुपमा अवलोकन गरी लोकवार्ता सम्मेलन गरिरहेका छौँ, हाम्रा परम्परागत लोक संस्कृति बचाउन र त्यसलाई अभिलेखीकरण गर्न सम्मेलन आयोजना गरेका हौँ’, उनले भने। 

सम्मेलन पाल्पाको रानीमहल, अर्गली, रिडी हुँदै गुल्मीको रिडी, तम्घास र अर्घाखाँचीको सन्धिखर्कमा पुगेर फागुन ११ गते सम्पन्न हुने परिषद्का अध्यक्ष प्रा डा खत्रीले जानकारी दिए। तानसेनमा भएको सम्मेलनलाई सफल बनाउन तानसेन नगरपालिकाका साथै बगनासकाली,  रैनादेवीछहरा र रिब्दिकोट गाउँपालिका तथा पाल्पा बाँसटारी ढाकाटोपी उद्योग, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, पौडेल ढाका उद्योग पाल्पाको सहयोग गरेका छन्। 

नेपालका ७७ वटै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता छ। कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका छात्राहरुले मगर जातिको मौलिक पहिरनमा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए। विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोक संस्कृति, लोक साहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ। यस संस्थाले नेपालका करिब २२ जिल्लामा सम्मेलन आयोजना गरेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .