ad ad

लुम्बिनी


सञ्चारमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र

सञ्चारमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र

नेपालखबर
मंसिर १७, २०८० आइतबार १७:४८, रुकुम पश्चिम

भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम आएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष यहाँका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन्।

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी उक्त ज्ञापानपत्र बुझाएको हो।

कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप विपद्‌मा परेकाले यसको सामना गर्नका लागि सरकारका तर्फबाट सहयोग आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

शाखाका अध्यक्ष लक्ष्मण केसीका अनुसार मन्त्री शर्मासँग भूकम्पबाट क्षति पुगेका सञ्चारमाध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग गर्न तथा भूकम्प प्रभावित पत्रकारहरूलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ।

त्यसैगरी, भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यामको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासङ्घले माग गरेको छ।  

महासङ्घ रुकुम पश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यमको सबलीकरणका लागि विशेष प्याकेजको माग गरेको छ भने प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई इन्टरनेट र विद्युत् सेवा निःशुल्क गरिदिने व्यवस्थाका लागि पनि माग गरेको छ।

प्रभावित पत्रकारहरूका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरू स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि ज्ञापनपत्रमार्फत गरिएको छ।

जिल्ला शाखा अध्यक्ष केसीले पत्रकारको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिदिन माग गरेको जानकारी दिए।

यस जिल्लामा आठ वटा रेडियो, दुई वटा साप्ताहिक र एक मासिक पत्रिका तथा चारवटा अनलाइन मिडिया सञ्चालनमा छन्।

यहाँ भूकम्पका कारण ३० जना पत्रकार प्रभावित भएका र एक रेडियोमा पूर्ण क्षति भएको अध्यक्ष केसीले बताए।

मन्त्री शर्माले ज्ञापनपत्र बुझ्दै सबै माग सकारात्मक रहेकाले माग पूरा गर्न आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .