ad ad

लुम्बिनी


संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : सांसद भण्डारी

संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : सांसद भण्डारी

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १९:५८, रुपन्देही

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन्।

शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरू बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे।

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने बताए।

जनतालाई गरिब बनाएर, लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताएका हुन्।

सांसद भण्डारीले स्थानीय तह राम्रो भए पनि काम गर्नका लागि बजेटको अभाव रहेको बताए।

‘हामीले बनाएको स्थानीय तह एकदम राम्रो छ। कहिले को आउँछ, कहिले को आउँछ। तर यो जनताको सबैभन्दा नजिकको छ। तर यससँग बजेटको कमी छ,’ सांसद भण्डारीले भने, ‘हामीले अधिकार सम्पन्न गरेका छौँ। तर ऐन, कानुन पूरा बनाउन सकेका छैनौँ।’

सांसद भण्डारीले थपे, ‘सदनमा झगडा हुने हो। एकले अर्कालाई गाली गर्ने मात्रै हो। गुनासो मात्रै हो। मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ।’

मुलुुक यसरी बन्छ, मुलुक यसरी बनाउनु पर्छ भन्दाभन्दै कलिला मेयरहरूको कपाल फुल्छ कि भन्ने आफूलाई डर भएको भण्डारी बताउँछन्।

‘संविधान त राम्रो बनायौँ। अहिले व्यापारी, उद्योगपति, किसानहरू बढी मर्कामा छन्। वरिपरि जनतालाई गरिब बनाएर, जनतालाई लिलामीमा राखेर बीचको ठूलो घर सुरक्षित हुन सक्दैन’ सांसद भण्डारीको कथन छ, ‘त्यसकारणले म भन्दैछु– जे दिन थिए, थिए। अब हामीले धेरै दिन यो अराजकता, यो लुटतन्त्र रहन दिँदैनौँ।’

सांसद भण्डारीले व्यापारी, उद्योगपति र किसानहरू मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरूलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .