मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन।
सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबन्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो।
मन्त्रिपरिषदले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डाको विषय मोटामोटी टुंगिएको बताएका छन्।
सत्ता साझेदार दलहरुको छलफलबाट एक दुई दिन भित्रै मन्त्रिमण्डलले पूर्णता पाउने बताइएको छ। मधेश सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन्।
यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ।
यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिएपनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेश सरकारमा सहभागी नगराउने एमालेका संसदीय दलका नेता एवम् बिनाविभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिए।
मंगलबार अबेर रातिसम्म बिनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरिने उनले बताए।
मन्त्री यादवले सत्ता साझेदार दलहरुको बैठकबाट मन्त्रालय भागबन्डाको सहमति जुटाइने बताए। अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।
प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उनी जनकपुरधाम आए लगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने मन्त्री यादवले बताए। यसका साथै प्रदेशमा मन्त्रालयहरुको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उनले बताए।
मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिएका थिए।
Shares
प्रतिक्रिया