मधेस


सरकारी स्कुलमा विद्यार्थी घटेपछि निजीका बसलाई गाउँ प्रवेशमै निषेध!

बोर्डिङ पढ्छन् वडाध्यक्षकै छोराछोरी
सरकारी स्कुलमा विद्यार्थी घटेपछि निजीका बसलाई गाउँ प्रवेशमै निषेध!

जनार्दन पोखरेल
बैशाख ४, २०८० सोमबार २०:५०, महोत्तरी

सरकारी विद्यालयको पढाइ सुधार गर्न भन्दै महोत्तरीको बर्दिबासस्थित एउटा वडा कार्यालयले निजी विद्यालयका बसलाई गाउँ प्रवेशमै रोक लागाउने निर्णय गरेको छ।

बर्दिबास नगरपालिका– ३ का वडाध्यक्ष बिराट विष्टले चालु शैक्षिक सत्रदेखि निजी विद्यालयका बसलाई आफ्नो गाउँमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन्।

वडाध्यक्ष विष्टले बर्दिबास ३ पाटु क्षेत्रमा बर्दिबासका निजी विद्यालयका बसलाई विद्यार्थी ओसापसारको लागि जान नदिने निर्णय गरेपछि उनको आलोचना सुरु भएको छ। 

वडाध्यक्ष विष्टले आइतबार बर्दिबास नगरपालिकामा वडा कार्यालयको तर्फबाट एक पत्र पठाउँदै बर्दिबासका चारवटा निजी विद्यालयका बसलाई पाटु क्षेत्रको कल्पेश्वर मन्दिरबाट तल र पाटु चोकबाट वडा कार्यालय हुँदै जाने बाटोमा प्रवेशमा रोक लगाइएको जानकारी गराएका छन्।

वडाध्यक्षले आफ्नो हस्ताक्षरसहित सार्वजनिक गरेको पत्रमा बर्दिबासको एभरेष्ट बोर्डिङ स्कुल, बर्दिबास बोर्डिङ स्कुल, नोबेल एकेडेमी र सनसाइन बोर्डिङ स्कुलका बसलाई गाउँमा विद्यार्थी लिन जान रोक लगाइएको जनाएका छन्।

ती विद्यालयहरुलाई पनि उक्त पत्र बोधार्थ पठाएको छ। 

पत्रमा पाटुस्थित जनजागृति माविमा भएको अभिभावक, वुद्धिजीवि तथा सरोकारवालाहरुको गएको चैत २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको उल्लेख छ। 

वडा कार्यालयको अगुवाइमा पाटु क्षेत्रमा निजी स्कुलका बसलाई विद्यार्थी लिन जान रोक लगाइएपछि बर्दिबासका निजी विद्यालयका सञ्चालकले तीव्र विरोध गरेका हुन्।

वडाध्यक्षका छोराछोरी भने बोर्डिङमा
गाउँमा निजी स्कुलका बसलाई प्रवेशमा रोक लगाउने वडाध्यक्ष विष्टका छोराछोरी भने बर्दिबासस्थित सनसाइन बोर्डिङ स्कुलमा पढ्दै आएका छन्। 

आफ्ना बालबालिकालाई बोर्डिङ स्कुलमा पढाउने विष्टले सस्तो लोकप्रियताको लागि हचुवाको भरमा निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक लगाएको भन्दै स्थानीयले उनको आलोचना गरेका हुन्।

तर, विष्टले भने स्थानीयको माग अनुसार नै वडा कार्यालयले यस्तो निर्णय गरेको बताए। उनले यस वर्षदेखि आफूले पनि आफना छोराछोरीलाई सरकारी स्कुलमा पढाउने तयारी गरिरहेको दाबी गरे। 

‘हाम्रो गाउँको जजामाविमा कक्षा १ देखि १२ कक्षासम्म जम्मा १६६ जना मात्रै विद्यार्थी छन्,’ नेपालखबरसँग उनले भने, ‘सरकारी स्कुलसँग करेसा जोडिएका घरबाटसमेत धुलो उडाउँदै बालबालिकालाई बोर्डिङ स्कुलका बसले लैजान थालेपछि स्थानीयको भावना अनुसार यस्तो निर्णय गरिएको हो।’  

बर्दिबासका नीजि विद्यालयका सञ्चालकले भने वडाध्यक्षले निषेध गरेको क्षेत्रमा नियमितरुपमा आफ्ना स्कुलका बसहरू सञ्चालन गर्ने बताएका छन्।

बर्दिबासस्थित एभरेस्ट पब्लिक एकेडेमीका संचालक अरुण कार्कीले वडाध्यक्ष विष्टले कानुन हातमा लिएर तनाशाही निर्णय गरेको आरोप लगाए। 

सामाजिक सञ्जालमार्फत् उनले फेरिपनि पाटुका गाउँबाट विद्यार्थी ओसार्नको लागि आफ्ना गाडिहरु निर्वाधरुपमा चल्ने बताए। 

‘पाटुका बाटोहरु वडाध्यक्षको निजी सम्पती हो?’ समाजिक सञ्जालमा प्रश्न गर्दै उनले लेखेका छन्, ‘याद गर्नुहोला, कुनै पनि गाडीमा क्षती भएमा त्यसको सम्पूर्ण जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष हुनेछन्।’

उनले भोलिदेखि पाटुमा आवतजावत गर्ने निजी विद्यालयका बसलाई रोकेर देखाउन पनि वडाध्यक्ष विष्टलाई चुनौती दिएका छन्। 

तर, वडाध्यक्ष विष्टले भने स्थानीयले निजी विद्यालयका बसलाई सोमबारदेखि नै गाउँमा प्रवेश गर्न निषेध गरिसकेको दाबी गरे। 

‘गाउँका चारसय भन्दा धेरै स्थानीय सडकमा भेला भएर आज पनि निजी विद्यालयका बसलाई गाउँमा प्रवेश गर्नबाट रोकेका छन्,’ उनले भने, ‘यो अभियानको प्रभावस्वरुप हिजो र आज गाउँको सरकारी विद्यालयमा ४० जना भन्दा धेरै नयाँ बालबालिका भर्ना भइसके। यो हाम्रो अभियानको सफलता हो।’ 

उनले गाउँको सरकारी विद्यालयको पढाइमा सुधार ल्याउन स्थानीयले गरेको पहलमा सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिए। 

‘नयाँ शैक्षिक सत्रदेखि विद्यालयको पठनपाठनमा सुधार ल्याउन सरकारी विद्यालयका शिक्षक, अभिभावकले पहल अघि बढाइसकेका छन्,’ उनले भने। 

तर, बर्दिबासका युवा राजु ढुंगानाले निजी विद्यालयका बसलाई गाउँ प्रवेशमा रोक लगाउने वडाध्यक्षको निर्णयलाई ‘केटाकेटी पन’को संज्ञा दिए। 

‘सरकारी विद्यालयको पठनपाठन गतिलो भए अभिभावकले आफ्ना बालबालिकालाई महंगो शुल्क तिरेर निजी स्कुलमा पढाउँदैनन्,’ उनले भने, ‘वडाध्यक्षमा सामान्य ज्ञान थियो भने उनले पहिला गाउँको सरकारी स्कुलको पढाइ सुधार्नेतिर ध्यान दिने थिए। निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक लगाउँछु भन्दै हिँड्दैनथे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .