राजनीति


उपेन्द्र यादवको आरोप–सीके राउत विदेशी शक्तिकेन्द्रबाट परिचालित छन्

उपेन्द्र यादवको आरोप–सीके राउत विदेशी शक्तिकेन्द्रबाट परिचालित छन्

नेपालखबर
बैशाख ४, २०८० सोमबार २१:८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत विदेशी शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्। 

साथै, उनले राउतको चरित्र आपराधिक प्रवित्तिको भएको पनि आरोप लगाएका छन्। 

बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएकोले जसपाविरुद्ध भ्रमको खेती गरेर मधेशलाई कमजोर बताउन चाहेको आरोप लगाएका हुन्।

सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘सीके राउत को हुन? कहाँबाट परिचालित छन्? के का लागि परिचालित छन्? भन्ने कुरा रहस्यमयी छ, यस बारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दै जानेछ।’

देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको स्मरण गराउँदै यादवले अहिलेपनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको टिप्पणी गरे।

मधेसलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सीके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघाती जस्तै छ।’ 

राजनीतिक एजेण्डाविहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृति भएकाहरुले मधेसमा जातीवादको विष घोलेर समाजलाई कमजोर बनाउन खोजेको आरोप यादवको छ। 

राउतले मधेसीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको पनि उनले बतताए।

बारा २ मा उपेन्द्र यादव बाहिरका उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले भने, ‘आफनै देशको नागरिक आफनै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत)ले लिएर आएको भाड़ाको उम्मेदवार बाहिरिया हुन्छ? यसको जवाफ बैशाख १० मा बारा २ का जनताले दिनेछन्।’

मधेसका दलित र उत्पीडि़त समुदायले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धी भएको जिकीर उनले गरे। 

‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ। शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाइ राज्यले सम्बोधन गर्नैपर्छ,’ यादवले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .