मधेस


महोत्तरीमा सर्पदंश : सरकारी भेन्टिलेटर गोदाममा थन्किँदा निजी अस्पताल मालामाल

महोत्तरीमा सर्पदंश : सरकारी भेन्टिलेटर गोदाममा थन्किँदा निजी अस्पताल मालामाल

जनार्दन पोखरेल
असार १७, २०८० आइतबार १५:५, सर्लाही

तराई/मधेशमा यतिबेला सर्पदंशको डर धेरै छ। विषालु सर्पको टोकाइबाट तराई मधेशका जिल्लामा वर्षेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्।

विषालु सर्पले टोकेका गम्भीर बिरामीलाई बचाउन एन्टी स्नेक भेनमसँगै आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ। तर, तराई मधेशका अधिकांश सर्पदंश उपचार केन्द्रमा यो सुविधा छैन।

सर्पदंश उपचार केन्द्रमा मात्रै होइन, मधेशका सबैजसो जिल्ला अस्पतालमा पनि आईसीयू र भेन्टिलेटरको सुविधा उपलब्ध छैन।

वीरगञ्ज, जनकपुर जस्ता ठूला सहरका अस्पतालबाहेक मधेश प्रदेशका सबैजसो सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटरको सुविधा नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउनु परिरहेको छ।

सर्पदंश उपचार केन्द्र बर्दिबासमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनको लागि स्थानीय स्तरबाट आवाज उठेको धेरै भयो। सर्पले डसेका बिरामीको मृत्यु हुँदा केन्द्रमा आईसीयू र भेन्टिलेटर सञ्चालनको विषयले निकै चर्चा पनि पाउँछ। तर, घटना पुरानो हुँदै गएपछि यो विषय त्यसै सेलाउने गरेको छ।

५० शय्याको बर्दिबास अस्पतालमा पनि आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्ने भनेर हल्लाखल्ला हुन थालेको धेरै भयो। निर्वाचनको बेला यहाँ आईसीयू र भेन्टिलेटरको चर्चा धेरै हुन्छ। निर्वाचन सकिएपछि बिस्तारै यो विषय ओझेल पर्ने गरेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको भेन्टिलेटर नगरपालिकाको गोदाममा
पूर्वस्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल र बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीको पहलपछि करिब दश महिनाअघि स्वास्थ्य मन्त्रालयले बर्दिबास अस्पताललाई एउटा भेन्टिलेटर मेसिन प्रदान गरेको थियो। तर, स्वास्थ्य मन्त्रालयले दिएको त्यो भेन्टिलेटर मेसिन पनि १० महिनादेखि बर्दिबास नगरपालिकाको स्टोर (गोदाममा) थन्क्याएर राखिएको छ।

बर्दिबास अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णा महर्जन दक्ष जनशक्तिको अभावमा आईसीयू र भेन्टिलेटर मेसिन सञ्चालन गर्न नसकिएको बताउँछिन्।

‘हामीकहाँ तीनवटा पोर्जेवल र एउटा ठूलो भेन्टिलेटर मेसिन छ, तर त्यसलाई चलाउने दक्ष जनशक्ति भने छैनन्,’ डा.महर्जनले नेपालखबरसँग भनिन्, ‘भेन्टिलेटर सञ्चालन गर्न आईसीयू सेन्टर चाहिन्छ। एनएसथेसियोलोजिस्टसहित दक्ष जनशक्ति चाहिन्छ। तालिम प्राप्त दक्ष जनशक्तिबिना भेन्टिलेटर चलाउने अधिकार हामीलाई छैन।’

बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले पटकपटक आफ्नो स्टोरबाट भेन्टिलेटर लैजानुस् भने पनि आफूहरुले ल्याउन नचाहेको उनले बताइन्।

‘उहाँहरु हाम्रो स्टोरबाट भेन्टिलेटर लैजानुस् भन्नुहुन्छ,’ डा. महर्जनले भनिन्, ‘ल्याएर मात्रै के गर्नु? पहिला अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नुस् अनि लैजाउँला भनेर टार्दै आएका छौँ।’

बर्दिबासको सरकारी अस्पतालमा सर्पदंशको उपचार सेवा छैन। बर्दिबास ३ गौरीडाँडामा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा मात्रै सर्पले टोकेका बिरामीको उपचार हुन्छ।

महोत्तरीसँगै धनुषा, सिन्धुली, सर्लाही, रामेछाप, उदयपुर, ओखलढुंगाबाट सर्पदंशका बिरामी उपचारको लागि यहाँ आउँछन्। त्यतिमात्रै होइन, भारत सितामढीकासमेत धेरै बिरामीले यहाँ सर्पदंशको उपचार सेवा लिएका छन्।

केन्द्रमा एन्टीस्नेक भेनम पर्याप्त मात्रामा भए पनि गम्भीर अवस्थाका बिरामीलाई उपचारमा सहयोग पुग्ने आईसीयू र भेन्टिलेटर सेवा भने दिन नसकिएको अध्यक्ष कृष्ण देवकोटाले बताए।

बर्दिबास नगरपालिकाले बर्दिबास अस्पतालमा रहेकामध्ये एउटा पोर्टेवल भेन्टिलेटर र एउटा अक्सिजन कन्सन्ट्रेटर दुई साताअघि सर्पदंश उपचार केन्द्रलाई उपलब्ध गराएको थियो।

तर, दक्ष जनशक्ति नहुँदा त्यो भेन्टिलेटर पनि थन्क्याएर राख्नुपरेको केन्द्रका इन्चार्ज अनुप कटुवालले बताए।

‘आजभोलि दिनहुँ पाँच सात जना सर्पदंशका बिरामी यहाँ उपचारको लागि आउँछन्,’ कटुवालले भने, ‘हामीले केन्द्रमा उपलब्ध स्रोत साधनबाट प्रभावकारी ढंगले बिरामीको उपचार गर्दै आएका छौँ। तर, सर्पदंशका कतिपय गम्भीर प्रकृतिका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने हुन्छ। त्यस्ता बिरामीलाई भने हामी बाहिर रेफर गर्छौं।’

सरकारी अस्पतालमा भेन्टिलेटर थन्किँदा निजी मालामाल
पछिल्लो सयम सर्पदंश उपचार केन्द्र बर्दिबासबाट रेफर भएका तीनजना बिरामीले निजी स्तरबाट सञ्चालित बर्दिबास जनसेवा अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा लिएका छन्।

जनसेवा अस्पतालले एक महिनाअघि मात्रै भेन्टिलेटर सेवा सुरु गरेको हो।

त्यसरी सेवा लिएकामध्ये दुईजना बिरामी उपचारपछि ठिक भएर घर फर्किसकेका छन्। एकजना बिरामीको अहिले पनि भेन्टिलेटरमै राखेर उपचार भइरहेको जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले जानकारी दिए।

सर्पदंशबाट गम्भीर बिरामी भएकी महोत्तरीकै औरही नगरपालिका ७ की ४० वर्षीया सुनैनादेवी साहलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

गत जेठको अन्तिम साता सर्पदंशबाट गम्भीर बिरामी परेकी महोत्तरीकै गौशाला नगरपालिका १ रामनगरकी नौ वर्षीया बालिका खुशी महतोले जनसेवा अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरेपछि नयाँ जीवन पाइएकी थिइन्।

आफ्नै घरमा खेलिरहँदा उनलाई गोमन सर्पले डसेको थियो। सर्पले डसेपछि अभिभावकले उनलाई उपचारको लागि गौरीडाँडाको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए।

केन्द्रमा एन्टीस्नेक भेनम दिएर उपचार गर्दैगर्दा उनी अचेत भएकी थिइन्। त्यसपछि उनलाई अभिभावकले नजिकै रहेको जनसेवा अस्पतालको भेन्टिलेटरमा पुर्याएका थिए। लगातार छ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि उनको होस खुलेको थियो।

होस खुलेपछि पनि उनलाई झण्डै एकसाता जनसेवामै राखेर उपचार गरिएको थियो। भेन्टिलेटर सेवा लिएबापत बालिकाका अभिभावकले झण्डै डेढ लाख रुपैयाँ जनसेवा अस्पताललाई बुझाएका छन्।

महंगो खर्च लागे पनि मर्ने अवस्थामा पुगेका सर्पदंशका बिरामीले भेन्टिलेटरको सहायतामा नयाँ जीवन पाएको विषयले यतिबेला बर्दिबास क्षेत्रमा चर्चा पाएको छ।

‘हाम्रो अस्पतालमा बिरामीलाई भेन्टिलेटरमा राख्दा औषधिबाहेक दैनिक २५ हजार रुपैयाँ जति खर्च लाग्छ,’ जनसेवा अस्पतालका सञ्चालक सुमन भूजेलले भने, ‘हामीसँग दुईवटा भेन्टिलेटर र ६ वटा आइसीयूका बेड छन्। तुरुन्तै टाढा पुर्याउन नसकिने गम्भीर प्रकृतिका बिरामीलाई अब हामी बचाउन सक्ने अवस्थामा पुगेका छौँ।’

भेन्टिलेटर सेवा सुरु गरेको एक महिनामै १५ जनाले जनसेवा अस्पतालमा भेन्टिेलटर सेवा लिएका छन्। ‘विशेषगरी विषालु सर्पले टोकेका र विष सेवन गरेका गम्भीर विरामीले हाम्रो अस्पतालमा भेन्टिलेटर सेवा लिनु भएको छ,’ भुजेलले भने।

समुदाय र सरकारी लगानीमा सञ्चालित गौरीडाँडाको सर्पदंश उपचार केन्द्रमा सेवा लिएबापट बिरामीले दुई हजार रुपैयाँ मात्रै सेवा शुल्क तिर्नुपर्छ।

केन्द्रमा उपचार गर्दा एन्टीस्नेक भेनमसँगै अन्य धेरै थरीका औषधि पनि बिरामीले निःशुल्क पाउँछन्। तर, केन्द्रबाट रेफर भएका बिरामीले नजिकैको जनसेवा अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा लिँदा लाखौँ बुझाउनु पर्ने बाध्यता छ।

सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर सञ्चालनको पहल
केन्द्रलाई बर्दिबास अस्पतालले दिएको पोर्टेवल भेन्टिलेटर सञ्चालनको लागि पहल भइरहेको सर्पदंश उपचार केन्द्र बर्दिबासका अध्यक्ष कृष्ण देवकोटाले बताए।

‘त्यो भेन्टिलेटर जडान गर्दा सुरुमै ३५ हजार रुपैयाँ खर्च लाग्ने रहेछ,’ हाल काठमाडौंमा रहेका देवकोटाले नेपालखबरसँग भने, ‘म त्यहि भेन्टिलेटर सञ्चालनको आवश्यक तयारीको लागि अहिले यता आएको छु।’

सरकारले सम्पूर्ण दायित्व नलिने हो भने केन्द्रले ठूलो भेन्टिलेटर चलाउन सक्ने अवस्था नरहेको उनले बताए।

‘ठूलो भेन्टिलेटर चलाउँदा बिजुलीकै महिनाको झण्डै दुई लाख रुपैयाँसम्म बिल उठ्ने रहेछ,’ उनले भने, ‘दक्ष जनशक्तिसहित सबै स्रोत साधनको व्यवस्था राज्यले नै नगर्ने हो भने भेन्टिलेटर चलाउन गाह्रो रहेछ।’

सर्पदंशका अधिकांश बिरामी आर्थिक रुपमा बिपन्न हुने भएकाले उनीहरुले लाखौँ रुपैयाँ खर्च गरेर भेन्टिलेटरमा उपचार गर्न नसक्ने उनले बताए। ‘त्यस्ता बिरामीको प्रभावकारी उपचारमा राज्यले नै ध्यान दिनुपर्छ,’ उनले भने।

बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले प्राविधिक जनशक्तिको व्यवस्थापन गरेर चाँडै सर्पदंश उपचार केन्द्र र बर्दिबास अस्पतालमा भेन्टिलेटर सेवा सुरु गरिने बताए।

‘हामीले प्रदेश र केन्द्र सरकारसँग भेन्टिलेटर सञ्चालनको लागि दक्ष जनशक्ति माग गरेका छौँ,’ क्षेत्रीले भने, ‘उहाँहरुले जनशक्ति व्यवस्थापन गर्ने आश्वासन दिनु भएको छ।’

सर्पदंश उपचार केन्द्र गौरीडाँडामा वर्षेनी सर्पदंशका बिरामीको संख्या बढिरहेको छ। गत आर्थिक वर्ष यहाँ ४ हजार १ सय ९१ जना सर्पदंशका बिरामीले उपचार सेवा लिएका थिए।

गएको वैशाख १ गतेदेखि असार १६ गतेसम्म १७३ जना सर्पदंशका बिरामीले उपचार सेवा लिएका केन्द्रका इन्चार्ज कटुवालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .