मधेस


सर्लाहीमा मधेश प्रदेशस्तरीय कृषि प्रदर्शनी, काठमाडौँदेखिका व्यवसायी सहभागी

सर्लाहीमा मधेश प्रदेशस्तरीय कृषि प्रदर्शनी, काठमाडौँदेखिका व्यवसायी सहभागी

जनार्दन पोखरेल
बैशाख १४, २०८० बिहिबार ९:५७, सर्लाही

प्रविधि प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय कृषि तथा डेरी प्रदर्शनी भइरहेको छ। मंगलबार उद्घाटन गरिएको प्रदर्शनी आज (बिहीबार) साँझ समापन गरिँदै छ। 

‘कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नवीनतम् प्रविधि’ मूल नाराका साथ हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेस प्रदेशले संयुक्त रुपमा प्रदर्शनी आयोजना गरेका हुन्।

प्रदर्शनीमा विभिन्न कम्पनीले कृषि औजार र कृषि यन्त्र राखेका छन्। किसानले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राखेका छन् भने व्यवसायीहरुले पनि दैनिक उपभोग्य वस्तुका विभिन्न स्टलहरु प्रदर्शनीमा राखेका छन्। प्रदर्शनीमा ३० वटा भन्दा धेरै स्टल राखिएका छन्। ती सबै स्टललाई नगरपालिकाले निःशुल्क राख्ने व्यवस्था मिलाएको छ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले तीन महिनाको तयारीपछि कृषि तथा डेरी प्रदर्शनी आयोजना गरिएको जानकारी दिए।

ग्रामीण क्षेत्रका किसानलाई आधुनिक कृषि औजार र यन्त्रको प्रयोगद्वारा कृषि उत्पादन वृद्धिमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ।

‘मधेश प्रदेशमै पहिलोपटक हामीले यस्तो प्रदर्शनी गर्ने अवसर पाएका छौँ’, मेयर बुढाथोकीले भने, ‘अब परम्परागत ढंगले गरेको खेतीपातीले किसानको जीविका चल्दैन। अन्नको भण्डारका रुपमा परिचित मधेशका किसानले अब कृषि पेसा गर्दा प्रविधि र औजारको प्रयोग गरेर कृषि उत्पादन वृद्धि गर्नुपर्छ। त्यसका लागि हामी कृषिमा यान्त्रीकरणको प्रक्रियामा जानैपर्छ।’

मंगलबार प्रदर्शनी उद्घाटन समारोमा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहा प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए। उनले कृषिमा यान्त्रीकरणबिना मुलुक कृषि उत्पादनमा आत्मनिर्भर बन्न नसक्नेमा जोड दिए।

यस वर्ष मधेश प्रदेशमा खेतीपातीको सिजनमा रासायनिक मल अभाव हुन नदिने दाबी गर्दै मन्त्री कुशवाहाले भने, ‘यस वर्ष रासायिनक मलका लागि ३८ अर्ब बजेट व्यवस्था गरेका छौँ। गत वर्षजस्तो यस वर्ष किसानलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुनेछैन।’

कृषि उत्पादन बिक्री गरेर किसानको जीवनस्तर उकास्न मधेश प्रदेश मन्त्रालयले विभिन्न योजनामा काम गरिरहेको उनले बताए। 

‘मधेश प्रदेशका सबै (१२७९ वटा) वडामा जैविक मलको साना उद्योग स्थापना गर्ने, किसानले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि पालिका स्तरमा बजार व्यवस्थापन गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छन्’, उनले भने।

मन्त्री कुशवाहाले मधेश प्रदेशका ३२ स्थानमा शीतभण्डार निर्माण गर्ने, एक लाख किसानलाई अनुदानमा गाईभैँसी दिनेलगायत योजना पनि प्रदेश मन्त्रालयले बनाएको जानकारी दिए।

प्रदर्शनीमा काठमाडौँ, हेटौँडा र विराटनगरदेखिका व्यापारी

प्रदर्शनीमा भाग लिन काठमाडौँ, हेटौँडा र विराटनगरदेखिका व्यवसायी पनि हरिवन आएका छन्।

नेसनल रेफ्रिजेरेटर उद्योग काठमाडौँ, चिलिम नेपाल विराटनगर, नेपाल चिलिम ब्याट इन्डस्ट्रिज प्रालि हेटौँडा, श्रीराम बायोटेक प्राली वीरगन्ज, रवी मत्स्य उद्योग प्राली चन्द्रनगर सर्लाही, दुग्ध विकास संस्थान डुमरबाना बारा, दुग्ध उत्पादन सहकारी संस्था डुमराबाना बारा, नेपाल मौरीपालक महासंघ सर्लाही, सगुन एग्रो एन्ड डेरी उद्योग प्रालि सर्लाही, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवा, प्रदेश दुग्ध विकास बोर्ड, जनकपुरले स्टल राखेर सेवा प्रदान गरिरहेका छन्।

त्यसैगरी राकेश दालमोड उद्योग हरिवन, युनिषा गार्मेन्ट तथा ब्याग उद्योग सर्लाही, इन्दु शंकर चिनी उद्योग हरिवन, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी, हरिवन नगर सहकारी सञ्जाल, मंगलम डेरी उद्योग, लालबन्दी, राष्ट्रिय पशु आहारा उद्योग सर्लाही, उष्ण प्रदेशीय बागबानी केन्द्र सर्लाही, अशोकलाल जुस उद्योग महोत्तरी, कुशवाहा टपरी उद्योग सर्लाही, सृजनशील झोला लघु उद्यमी समूह सर्लाही, नेपाल कन्सल्टेन्सी प्रालि वीरगन्ज, चक्रेश्वर मौरी फर्म लालबन्दी, जानकी कृषि सञ्चार जनपकपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मलंगवा, बिसौनी डाँडा कृषक समूह हरिवन २, कविता एग्रो प्रालि काठमाडौँ, नेपाल चाइना एग्रिकल्चर सेन्टर काठमाडौँले पनि स्टल राखेका छन्। 

स्टलमा किसानहरुले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् भने उद्योगीहरुले कृषि औजार, कृषि यन्त्र प्रदर्शनी र बिक्रीका लागि राखेका छन्। विषेशगरी बिहान र साँझपख पदर्शनी स्थलमा घुइँचो लाग्ने गरेको छ। 

प्रदर्शनी स्थलमा भेटिएका मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहाले किसानले आफ्ना उत्पादनको उचित मूल्य नपाउञ्जेल देश समृद्ध बन्न नसक्ने बताए। 

‘हामी नेपाललाई कृषिप्रधान मुलुक भन्छौँ, तर बर्सेनि कृषि र पशुजन्य उत्पादन घट्दै गएको छ’, उनले भने, ‘कृषि उत्पादन वृद्धिका लागि राज्यले किसानलाई प्रोत्साहन हुने खालका सहुलियत कार्यक्रम ल्याउनुपर्छ। किसानले उत्साहित भएर खेती गर्ने अवस्था नआएसम्म मुलुक समृद्ध बन्न सक्दैन।’

सर्लाहीको लालबन्दी २ जुटपानीका किसान सन्त लोप्चनले गँड्यौला पालेर प्रांगारिक मल उत्पादन गर्न थालेको १२ वर्ष भयो। उनले ‘लोप्चन गाई तथा भर्मि कम्पोस्ट फर्म’ दर्ता गरेर कृषि पेसालाई व्यवस्थित ढंगले अघि बढाउने प्रयास गरिरहेका छन्।

उनले पनि आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्। पाँच र २५ केजीका प्याकेटमा उनले गँड्यौलाको मल बिक्रीका लागि राखेका छन्। यो पेसाबाट आफूले मनग्य आम्दानी गरिरहेको उनले सुनाए। 

नेपाल मौरीपालक किसान संघ जिल्ला शाखा सर्लाहीले पनि किसानले उत्पादन गरेको मह बिक्रीका लागि प्रदर्शनीमा राखेको छ। 

संघका सदस्यसमेत रहेका मौरीपालक किसान केशवप्रसाद मैनालीले प्रदर्शनीमा प्रतिकिलो ८ सयदेखि हजार रुपैयाँसम्म दरले मह बिक्री भइरहेको सुनाए। 

‘तोरीको स्रोतको मह प्रतिकिलो ८ सय र जंगली फलफूलका स्रोतको मह प्रतिकिलो १ हजार रुपैयाँमा हामी बिक्री गरिरहेका छौँ’, मैनालीले भने, ‘यो प्रदर्शनीले किसानलाई आफ्ना उत्पादनको बजार वृद्धिमा सहयोग पुगेको छ।’

प्रदर्शनी स्थलनजिकै रहेको इन्दु शंकर चिनी उद्योगले पनि एउटा स्टल राखेर किसानलाई सेवा प्रदान गरिरहेको छ। इन्दु शंकरका प्राविधिकले उखुको जात, त्यसको खेती गर्ने विधिलगायतका विषयमा किसानलाई जानकारी दिने गरेको छ। 

त्यसैगरी माटो परीक्षण प्रयोगशाला राजविराज सप्तरीले पनि कृषि प्रदर्शनी स्थलमा निःशुल्क माटो परीक्षण सेवा प्रदान गरिरहेको छ। प्रदर्शनी स्थलमा स्टल लिएर बसेका सबै कम्पनी, उद्योग र व्यवसायीलाई बिहीबार दिउँसो प्रमाणपत्र दिएर बिदा गरिने मेयर बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .