ad ad

म्यागेजिन


कोही कसरी भेषबहादुर थापा बन्छ?

कोही कसरी भेषबहादुर थापा बन्छ?

‘भेषबहादुर थापा असफल पञ्चायतका सफल कूटनीतिज्ञ हुन्’


विष्णु रिजाल
मंसिर २३, २०८० शनिबार १७:१, काठमाडौँ

८८ वर्षको उमेरमा बहुआयामिक व्यक्तित्व डा. भेषबहादुर थापाको आत्मवृत्तान्त ‘राष्ट्र–परराष्ट्र’ सार्वजनिक भएको छ।

पुस्तक सार्वजनिक गर्दा कार्यक्रममा देखापरेको उपस्थिति र हाल बजारमा व्यक्त प्रतिक्रियाले उहाँको व्यक्तित्वको स्वीकार्यता र उचाइ देखाउँछ। जीवनको उत्तरार्द्धमा पुग्नुभएका थापालाई ठूलो प्रशंसा वा घोर विरोधले खासै फरक पार्दैन होला। त्यसकारण सबैको सद्भाव प्राप्त होस् र आफ्ना अनुभवलाई सार्वजनिक स्मरणमा पुस्तकाकार राखूँ भनेरै उहाँले पुस्तक लेख्नुभएको होला। 

व्यक्तिगत जीवनसँगै मुलुकको राजनीति, प्रशासन, अर्थतन्त्र र कूटनीतिलाई नीतिगत र कार्यान्वयनका दुवै कोणबाट प्रस्तुत गरेको पुस्तक पढिसकेपछि मैले लेख्नुपर्ने थियो– पुस्तक समीक्षा। तर, पुस्तकमाथि आवश्यक चर्चा भएकै छ, थप हुने नै छ र मलाई चाहिँ पुस्तकभन्दा माथि उठेर पठनयोग्य पुस्तक तयार गर्नुहुने डा. भेषबहादुर थापामाथि समीक्षा गर्न सान्दर्भिक लागेको छ।

डा. भेषबहादुर थापासँग मेरो स-सानो परिचय छ। खासगरी, २०७६ मा परराष्ट्र मन्त्रालयको सहयोगमा मैले पूर्वराजदूतहरूको अनुभवमा आधारित पुस्तक तयार पार्ने क्रममा उहाँसँग उठबस हुन पुगेको हो।

कुराकानीका क्रममा कतिपय छाप्न नमिल्ने, कतिपय सुनेर भुलिदिनुपर्ने, कतिपय पारिवारिक र कतिपय व्यावहारिक कुरा उहाँकै मुखबाट सुन्न पाएकाले पुस्तक मेरा लागि त्यति नयाँ छैन। तर पनि एकै ठाउँमा समग्र कुरा सँगालेर पुस्तक सार्वजनिक भएकाले महत्त्वपूर्ण छ। आजको पुस्ताका लागि पुरानो पुस्ताको योगदान, हामीले हिँडेको बाटो, हाम्रा संवेदनशीलता र चुनौतीहरूका विषयमा एउटा गतिलो अनुभव दस्तावेजीकरण भएको छ।

मैले राज्य–संयन्त्रमा स–सानो भूमिकामा २० महिना जति काम गर्न पाएँ। अर्थात्, राज्यलाई छेउमा बसेर हेर्न पाएँ। त्यसक्रममा ९० प्रतिशतजसो विभिन्न लाभका आकांक्षीहरूले समय खाए भने केहीचाहिँ आफूले सम्मान गर्ने र भेट्न चाहेका व्यक्तिहरूसँग पनि परिचय हुन पायो।

त्यही क्रममा मैले भेटेका एकजना सम्मानित व्यक्तित्व डा. भेषबहादुर थापाका बारेमा कसैले खासै नराम्रो कुरा गरेको सुनेको छैन। ‘म मञ्जुश्रीको बुबा’ (मेरोचाहिँ मञ्जुश्रीसँग चिनजान छैन) भनेर आफ्नी कान्छी छोरीको नाम लिएर पहिलोपटक जहाजमा चिनजान भएदेखि हालै पुस्तक विमोचनमा ‘विष्णु भाइ, आजकल आउनै छाड्नुभयो’ भन्ने बेलासम्मको व्यवहारमा मैले उस्तै आत्मीयता पाएको छु।

पुस्तकको शीर्षकजस्तै मैले पुस्तक राष्ट्रदेखि सुरु गरेर परराष्ट्रसम्म पुगेर सिध्याएँ। काठमाडौँमा पढ्न सुरु गरेको थिएँ, चीन जाँदा जहाजमा पनि पढेँ र चीन बसाइका क्रममा छिचोलेँ। पुस्तक पढ्दै गर्दा र सिध्याइसक्दा मनमा एउटा प्रश्न खडा हुन्छ– आखिर भेषबहादुर थापाको निर्माण कसरी हुन्छ? कोही मान्छे कसरी र कुन प्रक्रियाले भेषबहादुर थापा बन्छ? अनि अरू कोही किन भेषबहादुर थापा बन्न सक्दैनन्?

मैले धेरै नेताहरूसँग संगत गरेको छु। कूटनीतिप्रति रुचि राख्छु। नेपालको कूटनीतिक अभ्यासलाई व्यवहारबाट हेरेको छु। धेरैका पुस्तक पढेको छु। नेपालमा पुरानो पुस्ताका मानिसहरू मात्र होइन, नयाँले पनि कहिलेकाहीँ भन्नुहुन्छ– ‘हाम्रोमा भेषबहादुर थापाजस्ता कूटनीतिज्ञ किन निर्माण हुन सकेनन्? हिजो राजाले गर्ने छनोट राम्रो थियो, आज तिमी दलका मानिसहरूले मान्छे चिन्नै सकेनौ। राजाको ३० वर्षे शासनमा उत्पादन भएकै कूटनीतिज्ञबाट अहिले पनि चलाइरहेका छौ। तिमीहरूको बहुदलको ३० वर्षमा उत्पादन भएका कूटनीतिज्ञ खोइ?’

सरसर्ती हेर्दा प्रश्न नाजायज छैन। साथै, यो कुरा पनि पक्का हो– सुरुमा जग बसाल्ने बेला काम गरेकाले त्यस्ता मानिसहरूप्रति अलि बढी विश्वास हुन्छ। अहिले पनि योग्य मानिसहरू हुँदै नभएका होइनन्। अपेक्षा गरेजति चाहिँ छैनन्।

पक्कै पनि राजा महेन्द्रमा मान्छे परख गर्ने गजबको क्षमता थियो। उनी आफैँले चाहिँ औपचारिक शिक्षा प्राप्त गरेका थिएनन् तर पढेलेखेका मानिसहरूप्रति उनको ठूलो भरोसा थियो। राजनीतिक रूपमा उनी निरंकुश थिए तर कला, साहित्य, कूटनीति, अर्थनीतिका साथै मुलुकको रणनीति तय गर्नमा उनको क्षमता विशिष्ट थियो।

सक्रिय शासक बन्ने उनको राजनीतिक महत्त्वाकांक्षालाई बौद्धिक, योग्य र व्यावसायिक मानिसहरूको साथले जमिनमा उभ्याएको थियो। अमेरिकामा एक छिन भेटेका भरमा पढिरहेका भेषबहादुर थापालाई एकैपटक सचिवमा नियुक्त गर्नु र लगातार जिम्मेवारी दिनुमा हरहालतमा कामलाई परिणाममुखी बनाउने राजाको चाहनाले काम गरेको पाइन्छ।

आजभन्दा साढे छ दशकअघिको समयलाई त्यही रूपमा हेरियो भने यसलाई बुझ्न सकिन्छ।

२०१७ पुस १ गतेको ‘कु’पछि राजा महेन्द्रले एकैपटक ९ जना युवकलाई सिधै सचिवमा नियुक्त गरेका थिए। तीमध्येका एक भेषबहादुर थापाले २४ वर्षमै सचिव हुँदा ‘तपाईंको त ओठ निचोर्दा पनि दूध आउँछ’ भन्ने वाणी सुन्नु नपरेको होइन।

पुस्तकमा र व्यक्तिगत कुराकानीमा पनि उहाँले नढाँटेको कुरा के छ भने राजाले पत्याएको र मन परेको मान्छे भनेपछि कसैले विरोधै गरिहाल्ने आँट गरेनन्, राजाले आफ्नो ढोका उहाँका लागि सधैँ खुला राखे। एकातिर राजाको बलियो विश्वास अनि अर्कातिर अमेरिका पढ्दापढ्दै फर्केकाले केही गरेर देखाउनुपर्छ भन्ने प्रतिबद्धताले भेषबहादुर थापालाई जुन राजा र जुन शासन आए पनि एउटा अपरिहार्य व्यक्तित्वका रूपमा स्थापित गराएको हो भन्दा फरक नपर्ला।

मान्छेलाई जिम्मेवारी दिनु कुनै बक्सिस होइन। मान्छेहरू आज पनि मौका पाउँछन्। व्यक्तिगत सम्बन्धका आधारमा नियुक्तिहरू हुनु अनौठो होइन। यस्तो जहाँ पनि हुन्छ। तर, त्यसरी मान्छे छान्दा कुन मानिस कुन ठाउँका लागि उपयुक्त हुन्छ भन्ने कुरामा पटक्कै ख्याल गरेको पाइँदैन।

हामीकहाँ त राम्रो गराउने काममा होइन, नराम्रो गर्ने कुरामा प्रतिस्पर्धा हुन्छ। एकपटक कांग्रेसले आँखा रोग विशेषज्ञलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाउँदा नेकपा (एमाले) ले चाहिँ खेलकुद परिषदका आकांक्षीलाई योजना आयोगमा पठाएको सम्झना हुन्छ। भेषबहादुर थापाले जुन समयमा मौका पाउनुभयो र क्षमता देखाउनुभयो, सबैका लागि त्यस्तै मौका आउँछ भन्ने होइन। तर, एकपटक मौका आउँदा क्षमता देखाएर काम गर्न सक्दा बाँकी अवधिमा त कामले आफैँ खोजेर आउँछजस्तो लाग्छ।

डा. भेषबहादुर थापाले लगातार पाँच वर्ष पाँचवटा बजेट पेस गर्न पाएजस्तो सौभाग्य आजसमम्म अर्को कुनै अर्थमन्त्रीले पाएको छैन। औसतमा ९/१० महिना सरकार चल्ने, एउटै सरकार चले पनि बीचबीचमा सबैलाई पालो पुर्‍याउन मन्त्री बदल्नुपर्ने अवस्थामा विज्ञ उत्पादन हुने कुरा त कल्पनाभन्दा बाहिरै हुन्छ। अनि कसले कति बेला हटाउँछ भन्ने त्रासमा रहेको कुनै अधिकारीले गर्ने निर्णयमा त्यसको प्रभाव परिहाल्छ। भेषबहादुर थापाले निस्फिक्री भएर काम गर्न पाउँदा परिणाममुखी हुन सकेको पाइन्छ।

जब कुनै मानिसले १४ वर्ष राजदूत हुने मौका पाउँछ, अनि त्यसले गरेका कुराले कूटनीतिमा अर्थ नराखेर ‘कोटा’ बुझाएर कोटामा परेकाहरूका कुरा बिक्छन् त?

कूटनीतिमा अनुभवलाई ठूलो महत्त्व दिइन्छ। नेपालजस्तो राष्ट्रका लागि कूटनीति ठूलो हतियार हो। किनभने, मीठो बोली, राम्रो व्यवहार र सक्रियताबाहेक कूटनीतिक समुदायलाई प्रभाव पार्ने हामीसँग कुनै प्रभावकारी उपाय छैनन्। यसै पनि माग्नेको हात तलै हुन्छ। राजाको होस् वा प्रधानमन्त्रीको भ्रमण होस्, कति माग्न सक्यो भन्ने आधारमा सफलता मापन हुने मुलुकमा सफल राजदूत हुनु प्रायः असम्भव विषय हो। असफल पञ्चायतका सफल कूटनीतिज्ञका रूपमा थापाले आर्जन गरेको प्रतिष्ठामा व्यक्तिगत क्षमताले काम गरेको पाइन्छ।

संकटका बेला नेपाल राष्ट्र बैंकको गभर्नर भएर काम फत्ते गरेपछि अर्थसचिवको जिम्मेवारी पाउनु र त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री हुनुले थापाले राज्यसंयन्त्रको अन्तरकुन्तरका सबै खुड्किला थाहा पाए। फाइल कहाँ अड्किन्छ, समस्या कहाँ पर्छ, समाधान कहाँ छ भन्ने थाहा पाएपछि त्यस्तो मानिसलाई हतपत्ति कसैले ढाँटिहाल्नचाहिँ मुस्किलै हुन्छ।

अर्थमन्त्रीका रूपमा लगातार पाँचवटा बजेट ल्याउँदा देशको ढुकढुकी बुझेका थापा हाम्रो विकास र आधुनिक निर्माणका एकजना साक्षी हुनुहुन्छ। पूर्व–पश्चिम राजमार्ग बन्दाका अर्थमन्त्री, चीनसँग कोदारी राजमार्ग बनाउँदाका हस्ताक्षरकर्ता, मुग्लिङ–पोखरा सडक निर्माणका योजनाकार– के मात्र छैनन् भेषबहादुर थापाका अनुभव?

अनि कम्युनिस्ट मुलुक चीनसँग सडक जोड्यो भनेर रिसाएको अमेरिकालाई सम्झाउन वासिङ्टन पुग्ने पनि उही भेषबहादुर थापा। एक प्रकारले भन्ने हो भने आजका जति पनि भौतिक संरचना छन्, तिनको जगमा भेषबहादुर थापाको योगदान छ।

भेषबहादुर थापाको पेसागत जीवन सधैँभरि सत्ताको वरिपरि घुमेको छ। पटक–पटक मन्त्री भए पनि उहाँले आफूलाई राजनीतिमा चाहिँ कहिल्यै होम्नुभएन। ०४८ मा तनहुँबाट स्वतन्त्र रूपमा चुनाव लडेर परीक्षण गरेपछि राजनीति आफ्ना लागि होइन रहेछ भन्ने प्रमाणित भएको अनुभव उहाँसँग छ।

पञ्चायत ढल्नासाथ पुरानो सत्ताका धेरै मान्छे आत्तिए। कसैले आफैँले विरोध गर्दै आएको दलीय व्यवस्थामा हतारहतार दल गठन गरे, कसैले त्यतिबेलाको बलियो नेपाली कांग्रेस रोजे। तर, डा. थापाले चाहिँ सर्वोच्च नेता गणेशमान सिंह र कांग्रेस सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई घरमै आएर आग्रह गर्दा पनि पार्टी प्रवेश गर्नुभएन। सायद उहाँको यही निर्णयले उहाँ सबैका लागि स्वीकार्य भइरहन सक्नुभएको होला। 

महेन्द्रका पालामा सिधै सचिव र गभर्नर, वीरेन्द्रका पालामा मन्त्री र राजदूत हुनुभएका डा. थापा बहुदलीय व्यवस्थामा कांग्रेसको पालामा अमेरिका र भारतमा राजदूत मात्र हुनुभएन, ज्ञानेन्द्रले २०५९ असोज १८ मा पहिलो पटक कु गरेपछि २०६० मा सूर्यबहादुर थापाको पालामा सुरुमा एम्बास्डर एट लार्ज र पछि परराष्ट्रमन्त्री हुनुभयो।

त्यति मात्र होइन, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोलीको प्रधानमन्त्रित्वकालमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को संयोजकसमेत हुनुभयो। बिनाकुनै आग्रह र बिनाकुनै चाकडी एउटै मानिसले आफूलाई सबैका लागि अपरिहार्य बनाउन सक्नुमा भेषबहादुर थापाको विश्वसनीयता, बौद्धिकता, नम्रता र व्यावसायिकता मुख्य कारण होला भन्न सकिन्छ। आफ्नो नाति पुस्तासँग कुराकानी गर्दा पनि उहाँमा देखिने विनम्रता र संवेदनशीलताबाट उहाँको शैली बुझ्न सकिन्छ।

चन्द्रमामा पनि दाग हुन्छ भनिन्छ। पुस्तकमा विभिन्न ठाउँमा उहाँ आफैँले पनि आफ्ना बारेमा मूल्यांकन गर्नुभएको छ। राजाका भाइ ज्ञानेन्द्रले पानीजहाज कम्पनी चलाउन नपाएको झोँकमा गलैँचा काण्डमार्फत् आफूमाथि बदला साँधेको उहाँको निष्कर्ष छ। त्यसबाहेक त्यसमा उहाँको न अलग्गै भूमिका देखिन्छ, न त कुनै कारबाही नै भएको पाइन्छ।

पञ्चायतकालमा दरबारभित्र अर्को सिंहदबार चलाउने कर्मचारीतन्त्रलाई राजा वीरेन्द्रले दिएको प्रश्रयले राजतन्त्रलाई घाटा पुर्‍याएको उहाँको निष्कर्षले त्यतिबेला पञ्चायतभित्रका अन्तरविरोधहरूलाई बुझ्न मद्दत गर्दछ। 

अमेरिकामा एउटा अन्तर्वार्ता छापिँदा राजा वीरेन्द्रलाई इदी अमिनसँग दाँज्यो भनेर दरबारका सचिव चिरनशमशेर थापाले सोधखोज गरेको प्रसंग होस् वा त्यसलाई विषय बनाउँदा राजा वीरेन्द्र स्वयंले खारेज गरेको प्रसंग होस्, उहाँमा राजाप्रति साह्रै विश्वास र कर्मचारीप्रति आक्रोश रहेको बुझिन्छ।

पञ्चायतकालमा सरदार यदुनाथ खनालजस्ता मानिसहरू पनि थिए, जसले राजाबाट परराष्ट्रमन्त्री बन्न आग्रह हुँदा ‘दरबारमा अल्लारेहरू छन्, काम गर्न दिन्नन्’ भनेर पन्छाए। अझ भेषबहादुर थापा त्यही कुरा गर्न घरमा आए होलान् भन्ने पहिल्यै बुझेर आफैँ कुरा झिकेर सिधै अस्वीकार गर्ने कस्तो मन होला? राजनीतिप्रति रुचि नभएका, आफ्ना मर्यादामा उभिने र आफ्नो विषयभन्दा बाहिर नजाने यदुनाथ खनालको व्यक्तित्व हाम्रो कूटनीतिमा अप्रतिस्पर्धी छ।

हुन त एकपटक प्रा.डा. लोकराज बरालले मसँग ‘यदुनाथजी ओभर–रेटेड (अधिमूल्यांकित) जस्तो लाग्छ, कूटनीतिमा खासै त्यस्तो के गर्नुभएको छ र?’ भनेको सम्झिन्छु। यसलाई मैले सरदार खनालले आजीवन लिएको राष्ट्रवादी अडानका कारण एउटा तप्का सन्तुष्ट रहेनछ भन्ने रूपमा बुझेको छ। भेषबहादुर थापा भने सम्मान गर्ने एक पात्रका रूपमा खनाललाई केन्द्रमा राख्नुहुन्छ।

कूटनीतिमा स–साना कुराले पनि गम्भीर अर्थ राख्छ भन्ने कुरा डा. भेषबहादुर थापाको जीवनबाट सिक्न सकिन्छ।

कुन मोडमा र कुन बेलामा कुन मित्र कहाँ काम लाग्छ, थाहै हुँदैन। त्यसैले कूटनीतिमा मित्रता, खानपिन र बसउठलाई खुबै महत्त्व दिइन्छ। साथै, कुनै व्यक्तिलाई राजदूत बनाएर पठाउँदा उसको पृष्ठभूमि, शिक्षादीक्षा र व्यक्तित्वका साथै राज्यले कत्तिको विश्वास गरेको छ भन्ने कुराले पनि उसको तौल निर्धारण हुन्छ।

थापाको राजदूतका रूपमा अमेरिकाको पहिलो र दोस्रो कार्यकाललाई तुलना गर्दा यसबारेमा छर्लंग हुन्छ। पहिलो पटकका सक्रिय, प्रभावकारी, चलायमान र होनहार राजदूतले दोस्रोपटक निरीह हुनुपर्दा बीचैमा राजीनामा दिएर फर्किनुपरेको छ। 

राजा वीरेन्द्रको अमेरिकाप्रति र अमेरिकाको राजा वीरेन्द्रप्रति सकारात्मक धारणा नहुँदा नहुँदै पनि बिनासन्दर्भ राजकीय भ्रमण गराउन सक्नु राजदूतका रूपमा थापाले आफ्नो कार्यकालमा गरेको बिर्सिन नसक्ने काम हो। त्यसमा उनको अमेरिकी शिक्षादीक्षा, फराकिलो साथी समूह र श्रीमती रीता थापाको कुशल भूमिकाले मुख्य काम गरेको देखिन्छ। उहाँ आफैँ पनि सायद आफ्नो व्यावसायिक जीवनको त्यस भूमिकाबाट सबभन्दा बढी सन्तुष्ट हुनुहुन्छ होला।

केही राम्रो गर्छु र त्यसबाट स्वतः हुने लाभ हासिल गर्छु भन्ने कुरालाई सबैले सकारात्मक रूपमा लिनुपर्छ। अहिले त चार आनाको काम गर्‍यो भने आठ आनाको प्रचार चाहिन्छ। अनि त्यतिले नपुगेर कसैले राम्रो गरेको छ भने त्यसको प्रशंसा गर्नुपूर्व कुन पार्टीको हो र त्यसबाट नाफा–घाटा के पर्छ भनेर तौलिने चलन छ। यस्तो प्रवृत्तिले न कसैले मन लगाएर काम गर्छ, न कुनै विज्ञ नै उत्पादन हुन्छ। 

पञ्चायतकालमा कुरा लगाएरै जीविका चलाउने र पृथ्वी घुम्दा त्यसको केन्द्र नै मेरो घरमा छ भनेर भ्रम दिने रमेशनाथ पाण्डेजस्ता गफाडीहरू पनि नभएका होइनन्। तर, पदमबहादुर खत्री, डा. भेषबहादुर थापा, डा. यादवप्रसाद पन्त, डा. देवेन्द्रराज पाण्डे, नरकान्त अधिकारी, कुलशेखर शर्माजस्ता उच्च नैतिकता भएका मानिसहरूका कारण एउटा मानक निर्धारण भएको पाइन्छ।

राजा वीरेन्द्रले एकपटक भेषबहादुर थापासँग भनेको कुरा हाम्रो मुलुकका लागि आज मात्र होइन, भोलिका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ।

कुनै पनि मुलुकले गर्ने सहयोगलाई सापेक्ष रूपमा हेर्नुपर्छ। इरानका राजा रेजा पल्हवीले अमेरिकालाई सहयोग गरे, त्यही अभियोगमा उनका विरुद्धमा विद्रोह उठ्यो। तर, जब उनले देश छाड्नुपर्ने अवस्था आयो, अमेरिकाले शरण दिन पनि मानेन।

कुनै पनि शासकले आफूलाई कहाँ उभ्याउने भन्ने कुरा यस्ता घटनाबाट सिक्नुपर्छ। साथै, नेपालजस्तो मुलुकका लागि टाढा–टाढाका शक्तिराष्ट्र होइन, आफ्नै छिमेकी महत्त्वपूर्ण छन्। चीन र भारतलाई ठीक ठाउँमा राखेर सम्बन्ध अघि बढाउन सक्यौँ भने हामीलाई पुग्छ भन्ने निष्कर्ष साह्रै गम्भीर छ। हामीले दुई मुलुकबीच सन्तुलन कायम गर्नुबाहेक अरू उपाय छैन पनि। 

नेपालका सन्दर्भमा भारत धेरै हिसाबले जोडिन्छ, महत्त्वपूर्ण छ। उच्च पदमा रहँदा र भारतमै राजदूत भएका कारणले डा. भेषबहादुर थापाले भारतका बारेमा राखेका धारणाहरू झन् बढी व्यावहारिक र महत्त्वपूर्ण छन्।

पूर्व–पश्चिम राजमार्ग निर्माणका बेला भारतको भूमिका, व्यापार तथा पारवहन सन्धिको गोलचक्कर, गान्धी परिवारसँग राजपरिवारको सम्बन्ध, कालापानीमा भारतीय सेनाको उपस्थितिमा राजा महेन्द्रले खेलेको दोहोरो भूमिकादेखि प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन बेवारिसे हुँदासम्मका विषयमा सम्भवतः पहिलोपटक उहाँ खुलेर प्रस्तुत हुनुभएको छ। पुस्तकमा कतिपय अपेक्षित विषय नआए पनि जति आएका छन्, ती महत्त्वपूर्ण सन्दर्भ सामग्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .