२०७७ जेठ १० गते रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जना युवकको हत्या भयो। प्रेमिका भेट्न भन्दै साथीहरूसहित सो गाउँमा पुगेका उनीहरूको ज्यान लिइएको थियो।
समाजको सहानुभूति मारिनेहरूप्रति थियो। न्यायको लडाइँ सुरु भएको थियो। तर, अधिवक्ता नानी थापालाई भने नवराजकी प्रेमिका भनिएकी किशोरीको चिन्ताले सतायो। किनकि, उनी १८ वर्षमुनिकी थिइन्। यो हत्याकाण्डमा सबैभन्दा बढी पीडा र लान्छना उनैले खेपिरहेकी थिइन्। तर, उनलाई पनि मुद्दामा प्रतिवादी बनाइएको थियो।
मनोविज्ञान पनि अध्ययन गरेकी नानी थापा ती किशोरीलाई भेट्न रुकुम हिँडिन्। थुनछेक बहसपछि किशोरीलाई भक्तपुर ठिमीको सुधारगृहमा पठाइयो। सोही घटनामा संलग्न अर्का बालकलाई नेपालगञ्ज पठाइयो।
नानी थापालाई पनि तत्कालका लागि बालबालिकालाई सुधारगृहमै राख्नु ठीकजस्तो लाग्यो।
‘किनकि समाजमै रहँदा उनीहरूले थेग्नै नसक्ने आक्षेप र आलोचना हुने थियो,’ नानी भन्छिन्, ‘त्यति मात्रै होइन, उनीहरूप्रति घृणा र आक्रोश यति धेरै थियो कि कुनै बेला भौतिक हमला पनि हुन सक्थ्यो।’
लाग्न त लाग्यो, आफ्नो गाउँघरमा भन्दा सुधारगृहमै उनीहरू सुरक्षित हुन्छन्। तर, नानी निदाउन सकिरहेकै थिइनन्।
‘त्यसबेला मिडियामा आएका र मिसिलमा राखिएका तथ्य फरक थिए। त्यसैले पनि मलाई उनीहरूको अवस्था सम्झिएर ऐँठन हुन्थ्यो,’ उनी भन्छिन्।
त्यसपछि नानीले अठोट गरिन्, ‘म यी किशोरीको न्यायका लागि उभिनुपर्छ।’
न्यायको यो लडाइँ त्यति सजिलो थिएन। ७ दिनसम्म सरकारका तर्फबाट बहस भयो। नानी नियमित सहभागी भइन्। बहस सुनिन्। वरिपरि भएका मानिसले उनी को हुन्, थाहा पाएनन्। कुनामा बसेर कापीमा नोट गरिरहेकी नानीलाई धेरैले पत्रकार ठाने। जब उनले समाजले पीडक मानेका किशोरकिशोरीका पक्षमा बहस सुरु गरिन्, त्यसपछि सबैका आँखा उनीमाथि परे। त्यसपछि उनीसँग मान्छेहरूको व्यवहार परिवर्तन भयो।
जाहेरवाला पक्षका वकिलहरू त उनीसँग टाढिने नै भए। रुकुममै नानीका एक मिल्ने वकिल साथी थिए, उनी पनि नानीसँग बाटो काटेर हिँड्न थाले।
त्यसबेला रुकुम सदरमुकामको अवस्था तनावपूर्ण थियो। त्यत्रो हत्याकाण्डपछि पीडितको पक्षमा फैसला हुनुपर्ने माग स्वाभाविक पनि थियो। यस्तोमा हल्ला चल्यो, अधिवक्ता नानी थापा जनार्दन शर्माले पठाएकी वकिल हुन्।
शर्माले पीडक पक्षलाई बचाउन खोजेको आरोप लागिरहेको थियो। संसदमै शर्माले ती युवकहरू ‘आफैँ नदीमा हाम फाल्दा बगेको’ अभिव्यक्ति दिएका थिए। जाहेरवाला र त्यहाँका मानिसले नानी पनि जनार्दनकै मान्छे हुन् भनेर प्रचार गरे। त्यसपछि सुरक्षाकै चिन्ता बढ्यो। उनी राति ११ बजे अर्को होटलमा सरिन्।
यत्तिका अप्ठ्यारो झेलेर नानीले जुन किशोरीका पक्षमा लडेकी थिइन्, त्यसको उद्देश्य भने पूरा भयो। किशोरीले कैद बस्नुपरेन। यो फैसलासँगै नानीले त्यो समय झेलेको सबै अप्ठ्यारो बिर्सिदिइन्।
बलात्कार आरोपितको पक्षमा लड्नुपर्दा
संविधानले नै कुनै पनि आरोप लागेका व्यक्तिलाई कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक सुनिश्चित गरेको छ। आफूले वकिल राख्न नसक्नेका लागि सरकारले नै तलब दिएर प्रत्येक अदालतमा वकिलको व्यवस्था गरिदिएको छ, जसले निःशुल्क मुद्दा लडिदिन्छन्।
नानी पनि तिनैमध्येकी एक हुन्। अर्थात् गएको एक वर्ष उनले वैतनिक वकिलका हैसियतमा काम गरिन्।
गत वर्ष वैतनिक वकिलका रूपमा सिन्धुपाल्चोक जिल्ला अदालत पुग्दा उनले एउटा कठिन मुद्दा लड्नुपर्यो। ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका २० वर्षका युवकको पक्षबाट उनले वकालत गर्नुपर्ने भयो।
नानी रातभरि कोल्टे फेर्थिन्। एकापटि कोल्टे परेर ४ वर्षकी बच्ची सम्झिन्थिन्। फेरि अर्को कोल्टे फेरेर युवकलाई सम्झिन्थिन्। उनलाई कहाली लाग्थ्यो।
भन्छिन्, ‘मैले प्रतिवादी भनिएको मानिसको अवस्था र चेतना दुवै हेरेको छु। उसले आरोप अनुसारको कसुर गर्यो भन्ने मान्नै सक्दिनँ। फेरि ४ वर्षको बच्चा सम्झिन्छु, उसमाथि त्यो दुराचार भएकै रहेछ भने! भावनात्मक रूपमा निकै विचलित गरायो त्यस घटनाले।’
उनले पेसागत जीवनमा निकै सकस बेहोरेको अर्को घटना हो यो।
अन्त्यमा ती युवक दोषी ठहर भए। उनले २५ वर्षको कैद सजाय पाए।
वकिलले नै लुगा व्यापारी भनेपछि...
नानीले वकालत गर्न थालेको ८ वर्ष भयो। यस्ता अरू पनि अप्ठ्यारा मुद्दामा बहस गरिन्। उनको बहस हेरेर कानुन व्यवसायी आफ्नो प्रतिस्पर्धीका रूपमा लिन्छन्। त्यसैले इजलासबाहिर निस्किएर पनि उनको कुरा काट्छन्।
उनले कतिपय मुद्दा आफैले लगानी गरेर पनि बहस गरेकी छन्। त्यसैले आर्थिक रूपमा सबल बन्न अनामनगर भाटभटेनीअगाडि कपडा पसल खोलिन्। एक दिन विपक्षी वकिलले इजलासमै भने, ‘उहाँ कहाँ वकिल हो? ल, पढ्दैमा वकिल भइन्छ? उहाँ त लुगा बेच्ने व्यापारी हो।’
नानीले प्रतिरोध गरिन्।
तर, उनी यस्ता आक्रमणबाट पछि नहट्ने बताउँछिन्।
भन्छिन्, ‘ज्यानको जस्तै करिअरको माया हुन्छ। कयौंपटक मेरो करिअर पनि असुरक्षाको घेरामा परेको छ। शारीरिकसँगै प्रोफेसनमा पनि थ्रेट आइरहेका हुन्छन्। तर, म बाटो बदल्न यो यात्रामा निस्किएको होइन।’
१ वर्षमा ५० मुद्दा
नानी केही दिनअघि मात्रै वैतनिक वकिलको एक वर्षे कार्यकाल सकेर सिन्धुपाल्चोकबाट फर्किएकी छिन्। भावनात्मक रूपमा यो १ वर्ष उनका लागि कष्टकर रह्यो।
यस अवधिमा उनले लगभग ५० वटा मुद्दामा बहस गरिन्। त्यहाँ उनीसम्म आइपुग्ने मुद्दा सबै उत्पीडित वर्गका हुन्थे। उनीहरूमा न्यायिक प्रक्रियाबारे अत्यन्त कम जानकारी हुन्थ्यो।
भन्छिन्, ‘जसलाई आफ्नो प्रतिष्ठाको चिन्ता नै छैन, उनीहरूका लागि लड्नु चानचुने कुरा थिएन। फेरि मैले त सरकारको तलब खाएर सरकारकै विपक्षमा उभिनुपर्थ्यो।’
नानीले पछिल्लो समय जिल्ला अदालतले बिनाकसुर कैद गरेका कृष्णबहादुर सार्कीलाई न्याय दिलाइन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतका विपक्षमा उभिएर बहस गरिरहँदा उनले थुप्रै खाले अप्ठ्याराहरूको सामना गर्नुपर्यो।
मानव बेचबिखनको मुद्दामा जिल्ला अदालत, सिन्धुपाल्चोकले २० वर्ष कैद सजाय पाएका काले सार्कीको ठाउँमा पक्राउ परेका थिए कृष्णबहादुर सार्की। नानीले सिन्धुपाल्चोक जिल्ला अदालत र प्रहरीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरिन्।
यो निवेदन दर्ता गर्न नै उनले ठूलो सकस झेल्नुपरेको थियो। बहस गरिरहँदा उनीतिरै प्रश्न सोझियो, ‘यही अदालतको तलब खाएर यही अदालतको विपक्षमा उभिने?’
नानीको एउटै जवाफ हुन्थ्यो, ‘म कसैको पक्ष वा विपक्षमा उभिएको होइन। म भगवानकै विरुद्धमा उभिनु परे पनि पीडितको पक्षमा उभिन्छु।’
अन्ततः सर्वोच्च अदालतले कृष्णबहादुरलाई सफाइ दियो।
यो १ वर्षे यात्राले नानीलाई सिकायो, ‘वैतनिक वकिलसम्म आउने मुद्दाका पीडित सबैखाले पहुँचबाहिरका हुने रहेछन्।’
उनले वकालत गरेका सबैका कथा फरक छन्। नानी भन्छिन्, ‘हामी जहाँ जाँदा पनि हाम्रो ३ पुस्ते परिचय बोकेर हिँड्छौँ। तर, सामान्य कुरा पनि नहेरी कृष्णबहादुरहरू समातिन्छन्। म उनीहरूका पक्षमा उभिएर थाक्दिनँ।’
अधुरै रहेको एउटा लडाइँ
एक जना अधवैँशे पुरुष जर्बजस्ती करणीको मुद्दामा कैद सजाय काटिरहेका छन्। उनकै पक्षमा नानीले वैतनिक वकिलका रूपमा मुद्दा हेरिन्। यो मुद्दा पछि अरू कुनै वकिलले लिएछन्, नानीलाई थाहा भएन।
नानी बिदामा काठमाडौँ आएकी थिइन्। उनलाई कारागारबाट फोन आयो, फोनमा उनै कैदी सुनिए। उनले भने, ‘मिस, तपाईंले ५ लाख रुपैयाँ माग्नुभएको रहेछ। मेरो बुढीले ३ लाख जुटाई। बाँकी म बाहिर निस्किएपछि तपाईंलाई हेर्छु नि। अहिले बुढी स्याउलीबजार आएकी छ, भेटेर त्यति लिनू।’
उनले मेसो पाइहालिन्। उनले जवाफ दिइन्, ‘मैले पैसा मागेको छैन। तपाईंकी श्रीमतीलाई स्याउली बजारबाट घर फर्किन भन्नू।’
पछि कारागारमै ती कैदीले थाहा पाए, अर्कै वकिलले त्यो खेल लेखेका थिए।
उनले न्यायाधीशसँग इजलासमै कुरा गरिन्। कैद सजाय काटिरहेका पुरुषकी श्रीमतीलाई बिचौलियाले बाटोबाटै तानेर लगे। नानीले थाहा पाइहालिन्। उनी गएर महिलालाई इजलासमा उपस्थित गराइन्। पैसा माग्ने वकिलका बारेमा महिलाले भनिन्। त्यो दिन पनि ती महिला झोलामा ३ लाख बोकेरै आएकी थिइन्।
महिलाले न्यायाधीशसँग भनिन्, ‘मैले पैसा जुटाइसकेको छु। मेरो श्रीमानलाई छुटाइदिनू। नत्र मलाई पनि भित्र थुन्दिनू।’
यो मुद्दा अहिलेसम्म पेसी चढेको छैन।
Shares
प्रतिक्रिया