ad ad

म्यागेजिन


अक्सफोर्डबाट महाविद्यावारिधि पाएको त्यो दिन

अक्सफोर्डबाट महाविद्यावारिधि पाएको त्यो दिन

प्रा. सूर्य सुवेदी


भगीरथ योगी/नवीन पोखरेल
चैत १७, २०८० शनिबार ७:४,

बेलायतबाट कानुनमा स्नातकोत्तर सकी नेपाल फर्केर प्रधानन्यायाधीशको अनुसन्धान अधिकृत र राजा वीरेन्द्रको कानुनी सल्लाहकारजस्ता महत्वपूर्ण भूमिकामा राष्ट्रको सेवा गरेको एक वर्षपछि डा. सूर्य सुवेदी अक्टोबर १९८९ मा आफ्नी गर्भवती श्रीमतीका साथ विद्यावारिधिको अध्ययन सुरु गर्न नेपालबाट अक्सफोर्ड आइपुगे। नयाँ शैक्षिक सत्रको पठनपाठन तुरुन्त सुरु हुन लागेको र श्रीमतीसहित परिवारको पनि घरजम गर्नुपर्ने दुवै जिम्मेवारी उनको काँधमा आइपुगेको थियो। उनले पाएको छात्रवृत्ति एकल थियो। अरु कमनवेल्थ मुलुकबाट आउने सहपाठीहरूले पारिवारिक भत्ता पनि पाउँथे। तर कहिल्यै बेलायती उपनिवेश नभएको नेपालको नागरिक सुवेदीको छात्रवृत्ति फरक थियो। अक्सफोर्डमा उनले अध्ययन सुरु गरेपछि पहिलो वर्ष मास्टर अफ लेटर्स भन्ने डिग्रीका लागि पढ्नुपर्दथ्यो। त्यो डिग्रीमा सफल भइसकेपछि मात्रै विद्यावारिधिका लागि अध्ययन सुरु हुन्थ्यो।

अक्सफोर्डको विद्यावारिधि
अक्सफोर्डको प्राज्ञिक वातावरण उत्कृष्ट थियो। त्यहाँका प्राध्यापकहरू धेरै सहयोगी र उत्साह भर्ने किसिमका थिए। त्यस अलवा अक्सफोर्डले संसारभरिका ठूलठूला विद्वानहरूलाई आगन्तुक प्राध्यापकका रूपमा प्रवचन दिन बोलाइरहन्थ्यो। प्राध्यापक सुवेदीका आफ्नै सुपरीवेक्षक प्राध्यापक क्रिश्चिन ग्रेले सुवेदीलाई आफ्नो थेसिस विस्तार गर्न मनग्गे स्वतन्त्रता दिइन् र सुवेदीले लेखेका अध्यायहरूमाथि धेरै गहिरा टिप्पणी गर्दथिन्। उनले आफ्नो अध्ययन सकेपछि तयार पारेको शोधग्रन्थको मौखिक परीक्षा अक्सफोर्डको धेरै सुन्दर मानिने कलेज अल सोल्स्को भव्य कक्षमा भएको थियो।

मौखिक परीक्षा सकिएपछि प्राध्यापक इयान ब्राउन्लीले उनलाई निजी अध्ययन कक्षमा लगेर आफूले जिन्दगीभर संकलन गरेका ग्रन्थहरू र ऐतिहासिक रूपका महत्वपूर्ण दस्तावेजहरूको संग्रह देखाएका थिए। पछि कालान्तरमा गएर प्राध्यापक इयान ब्राउन्लीका संग्रहमध्ये बेलायतले भारतमा शासन गर्दा तयार पारेको भारतको नक्सा भएको किताब सुवेदीका लागि धेरै महत्वपूर्ण बन्न पुग्यो। किनभने सन् २०२० मा आएर नेपालले भारतसँगको सीमा विवाद उठेपछि संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको राजनीतिक नक्सामा समावेश गरी प्रकाशन गर्ने क्रममा नेपालले सीमा विज्ञहरूको एउटा समूह गठन गरी प्राध्यापक सुवेदीलाई सदस्य नियुक्त गरेको थियो। नेपालको भारतसँगको यथार्थ सीमा के हो भन्ने प्रमाण जुटाउने, त्यसको निर्क्यौल गर्ने र नेपाल सरकारलाई आवश्यक सुझाव दिने सो विज्ञ समितिको कार्यभार थियो। यसरी प्रमाण संकलन गर्ने क्रममा सुवेदीलाई प्राध्यापक ब्राउन्लीको संग्रहमा भएको उक्त किताबले धेरै मद्दत गरेको थियो। किनभने उक्त किताबमा तत्कालीन भारत सरकार आफैंले प्रकाशन गरेको नक्साहरूमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भागमा पर्नेगरी देखाइएको थियो। 

सुवेदीको अक्सफोर्ड बसाइको पहिलो ६ महिनामै पहिलो सन्तान प्राप्ति भएको थियो। सुवेदी दम्पतीको नेपालमा गुमाएको पहिलो सन्ततिपछि प्राप्त भएको नयाँ सन्ततिले उनीहरूमा हर्ष र उत्साह थपेको थियो।

सुवेदीको शोधपत्रको विषयवस्तु

सुवेदीको शोधपत्रको विषयवस्तु संसारमा निशस्त्रीकरण कसरी गर्न सकिन्छ, तत्कालको शीतयुद्धले जन्माएको दुई महाशक्तिबीचको होडबाट साना राष्ट्रहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ र अन्तर्राष्ट्रिय कानुनले त्यसमा के भूमिका खेल्न सक्दछ भन्नेमा केन्द्रित थियो। नेपालका राजा वीरेन्द्रको नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव र संसारका अन्य ७ वटा स्थलगत, सामुद्रिक र भौगोलिक क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर्न गरिएका प्रस्तावहरूको अन्तर्राष्ट्रिय कानुनमा कस्तो स्थान रहन्छ भन्नेमा केन्द्रित थियो। यो शोधग्रन्थ तयार गर्ने क्रममा सुवेदीले जेनेभा र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको संग्रहालयमा राखिएका अभिलेखहरू अध्ययन गर्न जाने मौका पनि पाएका थिए।

यसरी ऐतिहासिक अभिलेखहरूको समेत मूल्यांकन गरी अन्तर्राष्ट्रिय कानुनमा शान्तिक्षेत्रको अवधारणा विकसित गर्ने श्रेय सुवेदीले पाएका थिए। त्यही योगदानको मूल्यांकन गर्दै अक्सफोर्ड विश्वविद्यालयले सुवेदीलाई सन् १९९३ को दास्तुर जादा पाभ्री मेमोरियल पुरस्कार प्रदान गरेको थियो। यसबाट उत्साहित भएर सुवेदीले आफ्नो शोधग्रन्थलाई आवश्यक परिमार्जनसहित प्रकाशनार्थ अक्सफोर्ड विश्वविद्यालय प्रेसमा प्रस्तुत गरे र सन् १९९७ मा त्यो ग्रन्थ प्रकाशित भयो। सुवेदीले अक्सफोर्डमा अध्ययन समापन गरेको झण्डै २० वर्षपछि सन् २०१६ मा अक्सफोर्डले प्रत्येक वर्ष आगन्तुक प्राध्यापकको रूपमा काम गर्न निमन्त्रणा दियो। सो क्रमलाई सुवेदीले अहिलेसम्म निरन्तरता दिइरहेका छन्।

अक्सफोर्डको महाविद्यावारिधि
अक्सफोर्डबाट विद्यावारिधि गरेपछि सुवेदीले बेलायत, अमेरिका, नेदरल्यान्ड्स र स्विडेन लगायत देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेपछि र अन्तर्राष्ट्रिय कानुनका विभिन्न आयाममा १० वटा ग्रन्थ र झण्डै ६० वटा अनुसन्धनात्मक लेखहरू प्रकाशन गरिसकेपछि उनलाई अक्सफोर्डको महाविद्यावारिधिका लागि प्रतिस्पर्धामा भाग लिने विचार आयो।

अक्सफोर्डको महाविद्यावारिधि प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानिन्छ। त्यो उपाधि प्राप्त गर्न धेरै उच्च तहका प्रावधान पूरा गर्नुपर्छ। जसमध्ये सम्बन्धित व्यक्तिले प्रकाशन गरेका ग्रन्थहरू मौलिक हुनुपर्ने, ती ग्रन्थहरू संसारभरी पढिएको हुनुपर्ने, ती ग्रन्थहरूले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुनुपर्ने र ती ग्रन्थहरूले सम्बन्धित विधाको विभिन्न क्षेत्र समेटेको हुनुपर्ने र प्रकाशनहरू उच्चकोटी र यथेष्ट संख्यामा हुनुपर्ने अक्सफोर्ड विश्वविद्यालयको नियम छ।

सुवेदीले आफूले प्रकाशित गरेका सबै ग्रन्थहरू र ती ग्रन्थहरूले अक्सफोर्डको प्रावधानहरू कसरी पूरा गर्छन् भन्ने विस्तृत व्याख्यासहितको दस्तावेज प्रस्तुत गरेका थिए। उनका ग्रन्थहरूलाई मूल्यांकन गर्न अक्सफोर्ड विश्वविद्यालयले एक उच्चस्तरीय मूल्यांकन समिति गठन गरेको थियो। त्यो समितिले झण्डै एक वर्ष लगाएर सुवेदीका ग्रन्थहरू अध्ययन गरेपछि सुवेदी अक्सफोर्डको महाविद्यावारिधिका लागि योग्य व्यक्ति हुन् भन्ने निर्णयमा समिति पुग्यो। सो समितिले दिएको प्रतिवेदन आफैँमा एउटा लामो दस्तावेज थियो। जसमा सुवेदीका ग्रन्थहरूको समीक्षा गरिएको थियो। यसरी अक्सफोर्डबाट महाविद्यावारिधि पाउने विरलै व्यक्तित्वभित्र सुवेदी समावेश हुन पुगे।

अक्सफोर्ड विश्वविद्यालयले सुवेदीलाई महाविद्यावारिधिको घोषणा गर्दा उनी आफ्नो लन्डनको घरमा आफ्ना मातापिताको सम्मान र सम्झनामा एक श्रीमद्भागवद् महापुराण लगाइरहेका थिए। त्यो खबरले यज्ञमा समाहित सबैमा खुसीको सञ्चार भएको थियो भने नेपालमा, अक्सफोर्डमा, सुवेदीले प्राध्यापन गर्ने आफ्नो विश्वविद्यालय र उनले कानुनी पेसा गर्ने लन्डनको ब्यारिस्टरको संस्थामा प्रमुख खबरको रूपमा स्थान पाएको थियो। 

अक्सफोर्डमा भव्य समारोह
कोभिड महामारीका कारण तीन वर्षसम्म दीक्षान्त समारोहहरू स्थगित भएको कारणले प्रा सुवेदीको महाविद्यावारिधि ग्रहण गर्ने पालो ३ वर्षपछि मात्र आयो। अक्सफोर्ड विश्वविद्यालय अंग्रेजी बोल्ने देशमा रहेकामध्ये सबैभन्दा पुरानो विश्वविद्यालय हो। जसको झण्डै ८ सय वर्ष पुरानो इतिहास छ। बेलायतका सबैभन्दा बढी प्रधानमन्त्री उत्पादन गरेको विश्वविद्यालय पनि हो यो। यस विश्वविद्यालयमा अध्ययन गरेका थुप्रै मानिसहरू राष्ट्रप्रमुख र सरकार प्रमुख भएका छन्।

अहिले पनि अक्सफोर्ड विश्वविद्यालय संसारकै सर्वोत्कृष्ट शैक्षिक संस्थामा पंक्तिवद्ध छ। यो सबैभन्दा ठूलो विश्वविद्यालय त होइन, तर ऐतिहासिक र शैक्षिक गुणस्तरको हिसाबले सर्वोत्कृष्ट मानिन्छ। यसका प्रमुख कारणमध्ये एउटा त शैक्षिक वातावरण, दोश्रो ट्युटोरियल सिस्टम (अधिकांश वान टु वान ट्युटोरियल), आगन्तुक प्राध्यापकहरूको स्तर, पुस्तकालय र अन्य शैक्षिक सामग्रीहरूको पर्याप्त उपलब्धता आदि हुन्। 

अक्सफोर्ड विश्वविद्यालय संघीय प्रणालीमा आधारित शिक्षण संस्था हो जसमा झण्डै ४० वटा कलेज आवद्ध छन्। अक्सफोर्डको प्रत्येक विद्यार्थी एउटा कलेजको सदस्य हुन्छ र त्यो कलेजले ट्युटोरिएल व्यवस्था गरेको हुन्छ। कलेजले प्रदान गर्ने ट्युटोरिएलको शिक्षा र विश्वविद्यालयले प्रदान गर्ने लेक्चरका कारणले विद्यार्थीहरूले धेरै सिक्ने मौका पाउँछन्।

यही विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्‍यो सन् २०२२ को सेप्टेम्बर दोश्रो साता। त्यो भव्य दीक्षान्त समारोह प्राचीन शेल्दोनिअन थिएटरमा भएको थियो। यस्तो दीक्षान्त समारोह गर्ने परम्परा १२ औँ शताब्दीदेखि चल्दै आएको छ र अझै पनि उही प्राचीन परम्परामा दीक्षान्त समारोह सञ्चालन गरिन्छ। दीक्षान्त समारोह प्राचीन ल्याटिन भाषामा गर्ने प्रचलन छ। 

शेल्दोनिअन थिएटर पनि झण्डै ६ सय वर्ष पुरानो भवन हो। त्यही थिएटरमा ३५० वर्षदेखि दीक्षान्त समारोह हुँदै आएको छ। यो थिएटर बेलायतका प्रसिद्ध कलाकार क्रिष्टोफर रेनले बनाएका थिए जो आफैँ विश्वविद्यालयमा खगोलविद्याका प्राध्यापक थिए। उक्त ऐतिहासिक थिएटरमा आयोजित एक भव्य दीक्षान्त समारोहमा अक्सफोर्डको कानुन संकायकी डिन प्राध्यापक आन डेभिसले सुवेदीलाई प्रस्तुत गरेकी थिइन् भने अक्सफोर्डकी उपकुलपतिले महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन्। महाविद्यावारिधि विरलै प्रदान गरिने अक्सफोर्डको उपाधि हो र आफ्नो साधनाको क्षेत्रमा असाधारण योगदान गरेको व्यक्तिलाई मात्र यो उपाधि प्रदान गरिन्छ। पाँचसात वर्षमा एकाध व्यक्तिलाई मात्र यस्तो उपाधि प्रदान गरिँदै आएको छ। 

दीक्षान्त समारोहमा दीक्षित हुने व्यक्तिले हल प्रवेश गर्दा आफूले पहिला पाएको शैक्षिक उपाधिको गाउन लगाएर प्रवेश गर्नुपर्छ र दीक्षान्त समारोहमा नयाँ उपाधि लिएपछि थिएटर बाहिर निस्किएर अक्सफोर्डको डिभिनिटी स्कुलमा गएर आफ्नो नयाँ योग्यता बमोजिमको गाउन लगाई फेरि थिएटरमा प्रवेश गर्नुपर्छ। त्यसरी प्रवेश गर्दा महाविद्यावारिधि प्राप्त व्यक्तिलाई थिएटरका सम्पूर्ण व्यक्तिहरूले करतल ध्वनिका साथ स्वागत गर्दै बधाइ दिन्छन्। त्यो नै समारोहको सबैभन्दा मनमोहक र गर्व गर्न लायक क्षण हो। 

झण्डै डेढ घण्टाको शेल्डोनियन थिएटरको समारोह सकिएपछि प्राध्यापक सुवेदी त्यो दिनको दोश्रो कार्यक्रम हुने स्थल आफ्नो कलेज एक्सेटरमा प्रवेश गरे, जहाँ उनलाई कलेजका प्राचार्य सर रिक ट्रेनरले स्वागत गरे। कलेजभित्र प्रवेश गरेपछि कलेजका प्राचार्यले समारोहमा सहभागीहरूलाई सम्वोधन गर्दै प्रा सुवेदीले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा दिएको असाधारण योगदानको चर्चा गरे। त्यस क्रममा उनले प्राध्यापक सुवेदीका प्रकाशित ग्रन्थहरू र संसारलाई अन्य विभिन्न रूपमा दिएको योगदानको प्रशंसा गरे। 

त्यसपछि प्रा सुवेदीले प्रत्युत्तर सम्बोधनका क्रममा आफू अक्सफोर्ड विश्वविद्यालय र एक्सेटर कलेजप्रति आभारी भएको बताए। प्रा सुवेदीले मन्तव्यका क्रममा सधैँ संसारमा कानुन बमोजिमको शासन कसरी प्रवर्द्धन गर्न सकिन्छ, मानवअधिकार र लोकतन्त्रको अझ बढी संस्थागत विकास कसरी गर्न सकिन्छ र संसारका मुलुकहरूबीचको सम्बन्ध कसरी न्यायपूर्ण रूपले विकास गर्न सकिन्छ भन्ने विषयमा आफूले जिन्दगीभर कलम चलाएको र त्यस्तो योगदानको कदर गर्दै अक्सफोर्डले महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि प्रदान गरेकोमा आफू गौरवान्वित र हर्षित भएको बताए। सो अवसरमा प्राचार्य ट्रेनरले प्राध्यापक सुवेदीको सम्मानमा दिवाभोज आयोजना गरेका थिए।

(‘प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको एक अंश। पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलको लेखन तथा सम्पादन रहेको पुस्तक हालै काठमाडौँमा लोकार्पण गरिएको थियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .