‘खासमा ‘स्व’ मेरो तेस्रो उपन्यास हुनेवाला थियो। तर, हुन सकेन।’
कुराकानीको सुरुवातमै सरस्वती प्रतीक्षाले सुनाइन्, यो उपन्यास दोस्रो बन्नुका पछाडि दुई कारण छन्। दोस्रो उपन्यास लेख्दालेख्दै कोरोना महामारी आयो। जसले लेखन थोरै बिथोल्यो। त्यसपछि उनका जेठा भाइको मृत्यु भयो। भाइको मृत्युले दिएको अनुभूति, चेतना, संवेदना र बोधले उनलाई ‘स्व’ लेखनमा धकेल्यो।
‘सुरुमा म ‘स्व’ लेख्न बसेँ। पछि ‘स्व’ले नै मलाई लेखाउँदै गयो,’ सरस्वती सुनाउँछिन्।
यसअघि उनको ‘नथिया’ उपन्यास प्रकाशन भएको छ। पाठकबाट राम्रो प्रतिक्रिया पाएको यो कृति समाजिक विषयवस्तुमा आधारित यथार्थवादी उपन्यास थियो। सरस्वतीको पछिल्लो उपन्यास ‘स्व’को अघिल्लो भाग यथार्थमा आधारित छ। मध्यान्तरपछि स्वैरकाल्पनिक कथा छ।
‘नथियामा अरूका कथा मात्र उतारेकाले लेखक लगभग तटस्थ जस्तो छ। ‘स्व’को लेखकले भने ‘स्व’सित तटस्थ भएर लेख्न सकेन,’ सरस्वती आफ्नै लेखनको समीक्षा गर्छिन्।
सरस्वतीलाई बौद्ध दर्शनको स्वादसहितको उपन्यास लेख्ने रहर कतै न कतै थियो। उनीभित्र रहेको यो रहर लुम्बिनी, बोधगया, सारनाथ, राजगीर, वैशाली, कुशीनगर लगायतका ठाउँमा पुगेपछि झन् धेरै बढेर गयो।
सरस्वती ‘स्व’ उपन्यासका अध्यायहरू कागज वा ल्यापटपमा लेख्नुभन्दा अघि नै मष्तिष्कमा लेखेको बताउँछिन्। उनका भनाइमा, यो कथा कयौँपटक मष्तिष्कमै लेखन/पुनर्लेखन गरिन्। विषयगत अध्ययन र खोजमा निकै वर्ष बिते। खुरुखुरु लेख्नकै लागि २ वर्ष यस उपन्यासमा लगानी गर्नुपरेको छ।
‘मानिसको स्वत्व प्रकृतिमा छ र हाम्रो चेतनामा छ। हामी कुनै प्राणीको रूपमा सर्वप्रथम प्रकृतिको सिर्जना हौँ, जसरी अन्य पदार्थ र प्राणीहरू हुन्। प्रकृतिप्रदत्त जीवनमा मानवीय चेतनाको विकासक्रमको इतिहास छ। त्यसलाई हामी सिर्जना भन्न सक्छौँ,’ सरस्वतीको बुझाइ छ, ‘मानिसभित्र अन्तर्निहित यही चेतनाले मानिसलाई आफ्नो स्वत्व केमा छ भनी प्रश्न गर्न र उत्तरको खोजी गर्न प्रेरित गर्छ। सृष्टिमा पत्थरको पनि अस्तित्व छ र मान्छेको पनि। तर पत्थरको अस्तित्व जड छ। मान्छेको चेतनायुक्त छ र स्वत्वयुक्त छ। मानिसका समस्त बौद्धिक र हार्दिक विकास प्रक्रियाहरू स्वत्वसापेक्ष छन्।’
सरस्वती लेखन भन्नु नै पुनर्लेखन हो भन्नेमा विश्वास गर्ने लेखक हुन्। अझ भन्नुपर्दा उनी लेखनमा भन्दा ज्यादा पुनर्लेखनमा समय बिताउँछिन्। ‘स्व’ पनि ४ पटक पुनर्लेखनपछि किताबको स्वरूपमा आएको उनको भनाइ छ।
सरस्वतीको पछिल्लो उपन्यास ‘स्व’ बजारमा आएसँगै ‘स्वत्व’को खोजीबारे थुप्रै प्रतिक्रिया आइरहेका छन्। खास मान्छेले किन स्वत्वको खोजी गर्छ?
‘मान्छेको स्वत्व र स्वअस्तित्वको प्रश्न आदिम प्रश्न हो। जहाँ जति पर पुगे पनि मान्छे आफूभन्दा पर कहीँ पुग्न सक्दैन। जहाँ जोसित जति नजिक भए पनि मान्छे आफूभन्दा नजिक कसैसँग हुन सक्दैन। अरूलाई खुसी बनाउने ध्याउन्नमा आफैलाई बिर्सेर आफैलाई दुःखी बनाएर बाँच्न अभिशप्त छ मान्छे,’ सरस्वती भन्छिन्, ‘आफूलाई माया गर्दा कसैप्रति अन्याय नै हुन्छ भने पनि मान्छेले आफूलाई माया गर्न छोड्नुहुँदैन। एक वाक्यमा भन्नुपर्दा मान्छेले नैसर्गिक चेतनाको कारण स्वत्वको खोजी गर्छ।’
नारी स्वत्व र पुरुष स्वत्वमा कुनै फरक छैन भन्ने लाग्छ उनलाई। भिन्नतावादी दृष्टि भनेको पुरुषप्रधान दृष्टि हो, जसमा पुरुष श्रेष्ठताको वकालत गरिन्छ।
बृहदारण्यक उपनिषदमा विदुषी गार्गीले प्रश्न गर्दा उनका प्रश्नहरूको सामना गर्न नसकेर याज्ञवल्क्य भन्छन्, ‘गार्गी, यति धेरै प्रश्न नगर। तिम्रो टाउको फुट्न सक्छ। वैदिककालीन त्यो सन्दर्भ उप्काउँदै सरस्वती भन्छिन्, ‘वैदिक युगकी गार्गी हुन् कि अहिलेकी गौमाया वा गीताञ्जली, नारीलाई अवमूल्यन गर्ने रीत सधैँ उस्तै छ। नारी र पुरुषबीचको दैहिक अन्तर प्राकृतिक हो भने सामाजिक अन्तर पुरुष श्रेष्ठतावादी सोच हो।’
सबै मानिसले आफूलाई चिन्न सक्दैनन्। आफूलाई चिन्न नसकेर भौँतारिने मानिसको संख्या ठूलो छ। आफूलाई चिन्न सक्ने सामर्थ्य भएपछि मात्रै मानिसले आफूलाई चिन्न खोज्ने सरस्वतीको बुझाइ छ।
‘यो सामर्थ्य मानव चेतनाद्वारा समुत्पन्न छ। अन्य प्राणीहरूमा यो सामर्थ्यको अभाव छ,’ उनी भन्छिन्, ‘यदि मानव जातिसित आफूलाई चिन्ने सामर्थ्य नभएको भए अहिले पनि पृथ्वीमा जंगली अवस्थामा अन्य प्राणीहरूसित अस्तित्वको लागि संघर्ष गर्नुपर्ने अवस्थामा हुन्थ्यौँ। मान्छेसित मानवीय सभ्यता निर्माण गर्ने, कला रचना गर्ने, दर्शन र वैज्ञानिक आविष्कारबारे चिन्तन गर्ने फुर्सद हुन्थेन।’
सरस्वतीको मूल लेखन विधा कविताजस्तो देखिन्छ। कविका रूपमा उनले आफूलाई स्थापित गरेको थुप्रै वर्ष भयो। तर, उनी आख्यान र गैरआख्यान दुवै लेख्छिन्। उनका निम्ति छुट्टाछुट्टै विधाको छुट्टाछुट्टै अर्थ र महत्त्व छ।
‘कविता लेख्नु ध्यान गर्नुजस्तो हो,’ सरस्वती भन्छिन्, ‘राम्रो कविता आफैमा मन्त्र हुने हुनाले पनि यसको लागि गहन तपस्या चाहिन्छ, एकाग्रता चाहिन्छ।’
सरस्वतीको अर्को लेखन विधा निबन्ध हो। निबन्ध लेख्नुचाहिँ उनलाई रिल्याक्सेसनजस्तो हो।
‘निबन्धमा विचारको मनपरी परेड खेल्न सकिन्छ। एक्रोब्याट गर्न सकिन्छ। होइन, म तैरन्छु भो एक छिन भन्ने सोचेर तैरन पनि सकिन्छ,’ सरस्वतीले लेखनभित्रका अनुभूतिका पत्र यसरी खोलिन्, ‘स्वतन्त्रताप्रेमी हुनाले पनि निबन्धमा मलाई जहिले रिल्याक्सेसन फिल हुन्छ। अझ महत्त्वपूर्ण कुरा, निबन्धमा मज्जाले इन्टेलेक्चुअल जिम्न्यास्टिक गर्न पाइन्छ, जुन अरू विधामा सम्भव हुँदैन।’
उपन्यास लेखनचाहिँ उनका लागि निर्वाणको लामो यात्रामा हिँड्नुजस्तो हो। तर, यो यात्रा त्यति सहज भने छैन। दुईपटक यो लामो यात्रा पार गरेकी सरस्वती निर्वाणको यात्रामा हिँड्दा केही निश्चित नियम र अनुशासन पालना गर्नुपर्ने बताउँछिन्।
‘महायानीहरू एउटा साधकले निर्वाण प्राप्त गर्न पटकपटक जन्म लिनुपर्छ, पटकपटक मर्नुपर्छ र हर जन्ममा बोधिचर्या गर्दै हिँड्नुपर्छ भन्छन्। एउटा उपन्यास लेख्दै गर्दा पनि एउटा लेखक पटकपटक मर्छ, पटकपटक जन्म लिन्छ र अन्तिम अध्यायसँगै निर्वाण प्राप्त गर्छ,’ सरस्वती भन्छिन्, ‘यसरी आध्यात्मिक अर्थमा एउटा मान्छेले एकपटक मात्र निर्वाण प्राप्त गर्छ तर लेखक हुनुको सौभाग्य के हो भने उसले प्रत्येक किताबसँगै फेरिफेरि निर्वाण प्राप्त गर्ने सौभाग्य पाउँछ।’
आफूले अँगालेका तीनवटै विधा उनको दिलको नजिक छन्। सबै विधासँग उत्तिकै प्रेम भए पनि लेखनमा तीनवटै विधासँग एकसाथ उत्तिकै नजिक हुन सम्भव नरहेको सरस्वतीको अनुभूति छ।
भन्छिन्, ‘कति बेला कुन विधासित कति नजिक भन्ने कुराचाहिँ म के लेखिरहेकी छु भन्ने कुराले तय गर्छ।’
‘स्व’को चर्चासँगै सरस्वतीको अध्यात्ममा झुकाव बढेको तर्क सुरु भएको छ। तर, उनी भने यो कुरा इन्कार गर्छिन्। उनलाई आफ्नो स्वभाव नै आध्यात्मिक हो भन्ने लाग्छ।
‘वैज्ञानिकहरू जब क्वान्टम दुनियाँभित्र छिरे, क्रमशः विज्ञान र अध्यात्मको सादृश्यता देखिँदै जान थाल्यो। अहिलेको विश्वमा अध्यात्म दिनानुदिन लोकप्रिय भइरहेको छ। यो अब धर्मको कवचभित्र मात्र कैद छैन,’ उनी भन्छिन्, ‘यदि त्यस्तो हुँदो हो त अहिलेको संसारकी एक शक्तिशाली महिला ओपरा विनफ्रीले शक्तिशाली लेखक माया एन्जेलुलाई सारा दुनियाको सामु सी इज माइ स्पिरिच्युअल टिचर भन्ने थिइनन्।’
विश्व स्वास्थ्य संगठनले मान्छेको स्वास्थ्य सम्पूर्णत: ठीक हुनका लागि ५ प्रकारको स्वास्थ्य ठीक हुनुपर्छ भनेको छ। जसमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, सामाजिक स्वास्थ्य सँगसँगै आध्यात्मिक स्वास्थ्य पनि सामेल छ। खुसीको एक सूचकको रूपमा अध्यात्मलाई पहिलेदेखि नै स्वीकारिएकै हो।
अब विस्तारै अध्यात्मले विकासको सूचकांकको रूपमा पनि हैसियत प्राप्त गर्दै छ। आर्थिक प्रगतिसँगै देशको विकासको स्तर त्यो देशका जनताको मानसिक, भावनात्मक र आध्यात्मिक विकासले पनि तय गर्छ भन्ने अवधारणाले सुस्तरी लोकप्रियता पाउँदै छ। यो कुरा सरस्वतीले पहिल्यै बुझेकी थिइन् भन्न कर लाग्छ, जब ‘स्व’को विचरण गरिन्छ।
Shares
प्रतिक्रिया