हङकङ निवासी नेपाली धावक दिना विश्व प्रसिद्ध अल्ट्राट्रेल दौडमा भाग लिँदै

हङकङ निवासी नेपाली धावक दिना विश्व प्रसिद्ध अल्ट्राट्रेल दौडमा भाग लिँदै

माउन्टेन अल्ट्राम्याराथन धावक दिननाथ बगाले


मगेन्द्र राई
भदौ ७, २०८० बिहिबार १६:४०, हङकङ

हङकङ निवासी नेपाली धावक दिननाथ बगाले विश्व प्रसिद्ध अल्ट्राट्रेल दौडमा भाग लिनको लागि फ्रान्स पुगेका छन्। भेटेरन माउन्टेन अल्ट्राम्याराथन धावक बगाले फ्रान्सको दक्षिणपूर्वी पर्यटकीय क्षेत्र सामोनीमा २८ अगस्टमा आयोजना हुन लागेको विश्व प्रसिद्ध अल्ट्रा ट्रैल डु मोन्ट ब्लन्क (युटीएमबी) वर्ल्ड सिरिज फाइनलका लागि त्यहाँ पुगेका हुन्।

उनले युटीएमबीअन्तर्गत १४५ किलोमिटर लामो  दौड ‘सुर लेस ट्रेसेस डेस डुक्स डे सवोइए’ (टीडीएस)मा भाग लिँदैछन्। उक्त विधाको प्रतियोगितामा भाग लिने उनी एक मात्र नेपाली हुन्। सोही प्रतियोगिताको अन्य विधामा नेपालबाट दुई महिला र एक पुरुष प्रतियोगीको पनि सहभागिता रहनेछ।

अल्ट्राट्रेल दौडको लागि विश्वकपको रूपमा मानिने उक्त दौडमा सहभागिताको लागि प्रवेश पाउनु मात्रै पनि ठूलो कुरा मानिन्छ। सन् २००३ बाट सुरु गरिएको र हरेक वर्षको अगस्टमा सम्पन्न हुने उक्त प्रतियोगिताको छैटौं संस्करणमा ८ मिनेटभित्र ६ हजार प्रतियोगीले नाम दर्ता गरेपछि क्वालिफाइङ पोइन्टको आधारमा प्रवेश गराउन थालिएको हो।

त्यसैले उक्त प्रतियोगितामा सहभागी हुन ट्रेल रनरहरूले सुरुआतदेखि सपना पालेका हुन्छन्। दीननाथले उक्त आवश्यक सर्तहरू पूरा गरेर प्रवेश पाएका हुन्।

ठूला चुनौतीलाई पार गर्नुपर्ने यस हिमाली दौड साहसिक खेल हो। दीननाथ सहभागी हुने खेल २८ अगस्टमा फ्रान्सेली समयअनुसार राति ११:३० बजे सुरु हुनेछ।

कडा मिहिनेत र तयारी चाहिने यस दौड प्रतियोगितामा संसारभरका उत्कृष्ट करिब १६०० धावक/धाविकाले भाग लिनेछन्।

दौड उत्तरी इटालीको कोउर्मयेउरबाट सुरु भएर फ्रान्सको सामोनीमा पुगी अन्त्य हुनेछ। यस दौडको क्रममा धावकले स्वीटजरल्यान्ड तथा इटलीका विभिन्न स्थान पार गर्नेछन् र फेरि फ्रान्स फर्कनेछन्।

प्रतियोगिताका लागि अभ्यास गर्दै दीननाथ
९ हजार १०० मिटर उकालो पार गर्ने सिलसिलामा धावकहरूले अनेकौँ हिमशृङ्खला पार गर्नु पर्नेछ।

हङकङवासी दीननाथसँगै अन्य प्रतिस्पर्धीले दौडका क्रममा अँध्यारो, चिसो हावा, मुटु काप्ने जाडो, वर्षा, हिउँ आदिको सामना गर्नु पर्नेछ। यसको लागि राम्रो प्रशिक्षण र अभ्यासको आवश्यकता पर्दछ। जुन दीननाथले गरेका छन्।

दीननाथ यी सबै चुनौती स्विकार्दै प्रतियोगितामा सामेल हुँदैछन्। उनसँग सन् २०१९ मा सोही प्रतियोगिता अन्तर्गतको १७१ किलोमिटर दौड पूरा गरेको अनुभव छ। साथै, उनले गत डिसेम्बरमा युटीएमबी थाइल्यान्डमा १६१ किलोमिटर तथा गत मेमा युटीएमबी अस्ट्रेलियामा १०० किलोमिटरको दौड पूरा गरेका थिए।

लामो दुरीका अनुभवी दिनाले दौडको राम्रो तयारी गरेको नेपालखबरलाई बताउँदै भने, ‘नेपालको झण्डा बोकेर सयौँ देशबीच प्रतिनिधित्व गर्न पाउँदा गर्वले छाती फुलेको छ।’

प्रतियोगितामा ४४ घन्टा कटअफ समय तोकिएको छ। दिननाथले २५-२७ घन्टामा पार गर्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .