फुटबल स्टारर लियोनल मेस्सी अनुबन्धित क्लब इन्टर मियामी र हङकङको टोलीबीच आगामी फेब्रुअरी ४ मा हङकङमा हुने मैत्रीपूर्ण खेलका सबै टिकट बिक्री भएको खेलको व्यावसायिक साझेदार ट्याटलर एसियाले जानकारी दिएको छ।
टिकट खुलाइएको एक घण्टाको अवधिमा सबै टिकट बिक्री भएपछि कालोबजारीबाट बिक्री गरिने टिकटबाट ठगिने सम्भावना रहेको भन्दै यसबाट बच्न अधिकारीहरूले सचेत गराएका छन्।
खेलको टिकट क्यूआर कोडमा आउने र यसको आधिकारिता खेलअघि प्रमाणित गर्न नसकिने भएकोले ठगहरूबाट बच्न सचेत गराइएको हो।
‘थोरै संख्यामा टिकटहरू पुनः बिक्रीको लागि राखिन सक्छन्,’ खेलकुद मन्त्री केभिन युन–हङको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम एससीएमपीमा लेखिएको छ, ‘सबै होसियार हुनुपर्दछ, किनकि खेलअघि क्यूआर कोड प्रमाणित गर्न असम्भव छ।’
कुनै पनि अनौपचारिक च्यानलबाट टिकट खरिद नगर्न पनि अधिकारीहरूले सचेत गराएका छन्।
त्यस्तै, खेलको व्यावसायिक साझेदार ट्याटलर एसियाले इन्टर मियामी र हङकङ टोलीबीच फेब्रुअरी ४ मा हुने खेलमा सहभागी हुन चाहनेहरूलाई क्यूआर कोडमा टिकट पठाइसकिएको स्मरण गराएको छ।
टिकटको पुनः बिक्रीका सम्बन्धमा ट्याटलरले पनि ठगिनबाट बच्न होसियार रहन सुझाएको छ। उसले अनौपचारिक च्यानलहरूमार्फत टिकट खरिद नगर्न चेतावनी समेत दिएको छ।
‘प्रत्येक टिकट एक पटकको प्रवेशको लागि मात्र मान्य छ र गैर–आधिकारिक च्यानलबाट खरिद गर्नेहरूले ठूलो जोखिम लिइरहेका छन्,’ ट्याटलरले इन्स्टाग्राममा पोस्ट गर्दै भनेको छ, ‘किनभने तिनीहरूको ई–टिकटको वैधता पहिचान गर्ने कुनै तरिका छैन।’
Shares
प्रतिक्रिया