फिने हङकङमा सोयना ढकाल : उद्यमशील कसरी बन्ने? यसरी बाँडिन् ज्ञान

फिने हङकङमा सोयना ढकाल : उद्यमशील कसरी बन्ने? यसरी बाँडिन् ज्ञान

कार्यक्रममा सोयना ढकाल (सबै तस्बिर : फिने हङकङ)


नेपालखबर
भदौ १६, २०८१ आइतबार २३:०, हङकङ

हरेक महिनाको अन्तिम आइतबार ‘फिने कफी टक’ मार्फत हङकङमा रहेका युवा उद्यमी त्यसमा पनि विशेष गरी नेपाली समुदायलाई लक्षित गरी बजारको अवस्था, उद्योग, प्रवृत्ति, चुनौती लगायतका विषयमा छलफल गर्ने फिने हङकङको आजको अंकमा वक्ता थिइन् सोयना ढकाल।

ढकालले निजी इक्विटीका प्रकार, तिनीहरूले सिर्जना गर्ने मूल्य र निजी इक्विटी लगानीका फाइदाका विषयमा उपस्थितलाई सुसूचित गराइन्।

‘अ लुक इन्टु प्राइभेट मार्केट : प्राइभेट इक्विटी फन्ड्स’ शीर्षकको कार्यक्रममा ढकालले विश्वस्तरमा नेपाली निजी लगानीकर्ताको अवस्था कस्तो छ? निजी इक्विटी फन्डमा कसरी लगानी गर्न सकिन्छ? कसरी पहुँच स्थापना गर्न सकिन्छ? जस्ता विषयमा प्रकाश पारेकी थिइन्।

हङकङमा एपीएसी केन्द्रित निजी इक्विटी प्लेसमेन्ट फर्मको क्षेत्रमा कार्यरत ढकाल सिंगापुरको नेसनल युनिभर्सिटीबाट फाइनान्समा स्नातकोत्तर हुन्। हाल उनी प्राइभेट इक्विटी एडभाइजरीको निर्देशक छन्।

उनी हङकङको वित्त क्षेत्रमा सानै उमेरमा निकै ज्ञान र उचाइ छोएकी सम्भवतस् पहिली नेपाली छोरी हुन्। हङकङमा जन्मेरहुर्केकी उनी मेफु डेल्या स्कुलबाट प्राइमरी पूरा गरी वाईएमसीए कलेज तुङचुङमा सेकेन्डरीका लागि छन‍ोट भइन्। क्लास टप भएकीले छात्रवृत्ति पाइन् र अनुशासनमा समेत रोल मोडल बनिन्। उक्त कलेजको पढाइभर कलेज गर्ल्स प्रिफेक्टमा छानिइन्। अहिले पनि यो कलेजमा भर्ना हुन चाहनेले उनको रिफ्रेन्स लिन चाहन्छन्।

त्यसपछि हङकङको सिटी युनिभर्सिटीबाट ग्लोबल फाइनान्समा ब्याचलर गरेर उनी मास्टर्सको लागि सिंगापुर पुगेकी थिइन्। उनले मास्टर्स अफ साइन्स इन फाइनान्समा मास्टर्स गरेकी छन्।

ढकालसँग स्वेदशका वित्तीय क्षेत्रको पनि अनुभव छ। उनले नेपालमा लक्ष्मी बैंक र लक्ष्मी क्यापिटलबाट एसेट मेनेजमेन्टमा इन्टर्नसिप गरेकी थिइन्।

सांघाइमा पनि उनको यसै प्रकृतिको इन्टर्नसिप अनुभव छ। मेन्डरिन भाषामा समेत राम्रो दक्खल राख्ने उनले सांघाइकै निकै ठूलो बिमा कम्पनी चुङ आन इन्स्योरेन्स कम्पनीमा इन्टर्नसिप गरिन्। यसले उनलाई फाइनान्ससम्बन्धी ज्ञानको दायरा फराकिलो पार्न मद्दत पुर्‍यायो।

ढकाल नेपालखबर डटकमको फ्रिल्यान्स राइटर समेत हुन्।

सानै उमेरमा वित्त क्षेत्रकी ज्ञाता बनेकी सोयनाले आजको कफी टकमा वक्ता बनेर वित्त साक्षरता बाँडिन्।

फिने हङकङले मासिक रूपमा गर्ने कार्यक्रम हो फिने कफी टक। यो कार्यक्रम युवाहरू अझ विशेषगरी नेपाली समुदायका युवालाई कसरी उद्यमी बन्न सकिन्छ भन्नेबारे ज्ञान बाँड्न डिजाइन गरिएको संस्थाका उपाध्यक्ष इन्दर पुन बताउँछन्।

कार्यक्रममा यससम्बन्धी तालिम, किनोट, वर्कसपहरू हुने गर्दछन्।

‘आजको कार्यक्रम अलिकति विशिष्ट नै भयो। प्राइभेट इक्विटी फन्ड भनेको के हो? भेन्चर क्यापिटलिस्टले कतिखेर फन्ड गर्छ र प्राइभेट इक्विटीले कतिखेर फन्ड गर्छ भन्ने कुराहरूको जानकारी वक्ता सोयना ढकालले सहभागीलाई अवगत गराउनुभयो,’ उपाध्यक्ष पुन भन्छन्, ‘साथै, यी दुईबीचको फरकको बारेमा कार्यक्रममा अवगत गराइएको थियो।’

भेन्चर क्यापिटलले सुरुको स्थितिमै सिट फन्डिङ गर्ने गर्दछ तर प्राइभेट इक्विटी फन्ड चाहिँ सुरुका ३/४ वर्ष बिजनेस स्थापित गर्नमै केन्द्रित हुन्छ भन्ने जस्ता कुरा कार्यक्रममा अवगत गराइएको नेपालखबरसँगको कुराकानीमा पुनले बताए।

साथै वक्ता ढकालले नेपालको सन्दर्भमा पनि सहभागीलाई अवगत गराएकी थिइन्।

‘नेपालको हालको अवस्था कस्तो छ? प्राइभेट इक्विटीहरू कुन तहका छन्? भेन्चर क्यापिटलहरू कस्ता छन् भन्ने कुरामा वक्ता ढकालले जानकारी गराउनुभएको थियो,’ पुन थप्छन्।

यो जानकारीले नेपालमा लगानी गर्न चाहने नयाँ पिँढीलाई लाभ पुग्ने उनको धारणा छ। कार्यक्रम याउमा तेइ, काउलुनस्थित बगैंचा रेस्टुरेन्ट एन्ड बारमा भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .