बेलायतमा सम्पन्न नेप्ब्रिज गल्फ टुर्नामेन्टको उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङलाई

बेलायतमा सम्पन्न नेप्ब्रिज गल्फ टुर्नामेन्टको उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङलाई

नेप्ब्रिज गल्फ टुर्नामेन्टको ट्रफी थाप्दै गजेन्द्र ‘ग्याज’ गुरुङ (बीचमा)


मगेन्द्र राई
भदौ १७, २०८१ सोमबार ८:५२, बेलायत

बेलायत (यूके) मा गोर्खा गल्फ सोसाइटीले आयोजना गरेको एकदिवसीय ‘नेप्ब्रिज गल्फ टुर्नामेन्ट २०२४’ को प्रमुख उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङले जितेका छन्। 

गत शनिबार (अगस्ट ३१ मा) क्याम्बर्लीस्थित पाइन रिज गल्फ क्लबमा सम्पन्न उक्त प्रतियोगितामा ग्रसतर्फको खेलमा ग्याजले पूरा १८ होलको पार ७२ मा ६८ स्कोर गरी ४ अन्डर गर्दै ग्याजले प्रमुख उपाधि जितेका हुन्। सो प्रतिस्पर्धामा नीलकुमार थापा र महेन्द्र फगामी क्रमशः दोस्रो र तेस्रो बनेका छन्। 

नेटतर्फ तेज लिम्बु, आशबहादुर गुरुङ र अशोक गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन्। लिजेन्डतर्फ बालकृष्ण गुरुङ र देव घले पहिलो र दोस्रो बने।

स्टेबल फोर्डतर्फ पूर्ण गर्बुजा र जीवन फागो प्रथम र दोस्रो बने।

 नोभेल्टिज (नयाँ खेलाडी) तर्फ तेज लिम्बु, सरोज राई प्रशान्त गुरुङले ट्रफी हात पारे।

प्रतियोगिताको टाइटल स्पोन्सर नेप्ब्रिज कम्पनीले गरेको हो। नेपालीको स्वामित्वमा रहेको उक्त कम्पनीले बेलायतमा विभिन्न व्यावसायिक तालिम सञ्चालनका साथै सेक्युरिटी, हेल्थकेयर, हस्पिटालिटी, वेरहाउस आदि क्षेत्रमा दक्ष जनशक्ति आपूर्ति गर्ने गरेको छ। उक्त कम्पनीका प्रबन्ध निर्देशक सोम घले स्वयं गल्फप्रेमी हुन्।

प्रतियोगिताको यो दोस्रो संस्करण हो। गत वर्षदेखि आयोजना गरिएको उक्त प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनसमेत ग्याज गुरुङ नै हुन्। विजेता खेलाडीहरूलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरियो। 

प्रतियोगितामा सयभन्दा बढी नेपाली गल्फर सहभागी भएका थिए।

आगामी प्रतियोगिता अझ आकर्षक र भव्य गर्ने योजना रहेको प्रायोजक सोम घलेले नेपालखबरलाई जानकारी गराए।

को हुन् ‘ग्याज’?
पाँचथर रानीटार स्थायी घर भएका ग्याज सुरुमा नेपालका राष्ट्रिय फुटबल खेलाडी बन्न चाहन्थे।

तर त्यो सपनालाई देउरालीमै चढाएर उनी गोर्खा भर्तीमा छाती नपाउन पुगे। अनि सन् २००१ को इन्टेकमा भर्ती भएर बेलायत छिरे।

बेलायति सेनामा भर्ना भएपश्चात् आर्मी फुटबलको ट्रफी जितेपछि ग्याज

क्विन गोर्खा इन्जिनियर्समा कार्यरत उनले फुटबललाई निरन्तरता दिए। प्रगति भए पनि सोचेजस्तो सफलता हात लागेन। एकदिन पल्टन घरकै  एकजना सहकर्मीले उनलाई गल्फ खेल्न उक्साए।

तर उनलाई गल्फमा खासै रुचि थिएन। तैपनि लहलहैमा प्राक्टिस रेन्जमा पुगे। सुरुमा केही बल हाने तर त्यसले भुइँ छाडेन।

सहकर्मीबाट केही टिप्स लिएर जसै उनले हाने, बलले डाँडा काट्यो। त्यो एक सटले नै उनको खेल  जीवनमा गल्फसँग गहिरो प्रेम पर्‍यो। त्यसपछि उनी एक आइरन (क्लब) र एक दर्जन बल किनेर दैनिक प्राक्टिस रेन्ज धाउन थाले। यो सन् २०१० तिरको कुरो हो।

उनी प्रतियोगिताको पहिलो सहभागितामै प्रथम बने। दुई वर्षभित्र २ ह्यान्डिक्याप बने। ब्रुनाइमा पल्टन सरेपछि त ब्रुनाइ, मलेसिया आदि देशमा पुगेर गल्फ खेले। एकपछि अर्को प्रतियोगिता जित्दै गए।

उनी खेलाडीमा मात्र सीमित रहेनन्। उनले सन् २०१५ मा युरोपियन गल्फ टिचिङ फेडेरेसन (ईजीटीएफ) बाट सर्टिफाइड कोचसमेत बने।

उनी हाल बेलायती सेनामा साजेन्ट छन्। पूरै बेलायती स्थल सेनामा उनी गल्फको वरीयतामा दोस्रो स्थानमा छन्।

उनी चारपटक आर्मी च्याम्पियनसिपको रनरअप बनिसकेका छन्। गल्फ खेलको उक्त स्थानमा पुग्ने उनी प्रथम नेपाली हुन्। 

उनले गत जनवरीमा धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न गल्फ प्रतियोगिता पनि जिते।

उनी यही महिना हुने वायुसेना, जलसेना र स्थलसेनाबीच हुने गल्फ प्रतियोगितामा स्थलसेनातर्फ छनोट भएका छन्। उक्त प्रतियोगिता टुर लेभलको मानिन्छ। यो प्रतियोगितामा भाग लिने उनी पहिलो नेपाली हुन्।

गजेन्द्र ‘ग्याज’ गुरुङका विभिन्न समयका तस्बिर-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .