विचार


म पुनः हाजिर भएँ

म पुनः हाजिर भएँ

टीकाराम राई
चैत २८, २०७८ सोमबार ८:४०, काठमाडौँ

पत्रकारिता लेखनमा करिब साढे तीन वर्षको विश्रामपछि म पुनः हाजिर भएँ। सरकारले गोरखापत्र संस्थान सुधारका लागि व्यवस्थापन विज्ञ सल्लाहकारमा २०७५ मंसिर ८ गते नियुक्त गरेपछि मेरो पत्रकारिता लेखन अवरुद्ध भएको थियो। त्यो भन्दा अगाडि हिमालखबर पत्रिकामा दक्षिण एसियाको रणनीतिक विषयमा तीन वर्ष पाक्षिक रुपमा नियमित लेखेँ। हिमालमा लेखिरहँदा नै नेपालखबरमा सामाजिक विकृति विषयमा करिब एक वर्ष कलम चलाएँ। अखबारहरुको स्तम्भकार हुनुअगाडि म चर्चित अनुसन्धानात्मक पत्रिकाद्वय काठमाडौँ टुडे र अपरान्ह दैनिकको प्रकाशक र सम्पादक थिएँ। काठमाडौँ टुडे पाक्षिक २०५२ सालतिरको खोजमूलक ‘ट्रेन्ड सेटर’ पाक्षिक पत्रिका हो। 

२०७७ मंसिरमा गोरखापत्र संस्थानबाट बिदा भएपछि उद्यमी बन्ने र नेपालका सार्वजनिक संस्थाहरुको केस स्टडी लेख्ने यात्रामा थिएँ। उद्यममार्फत सामाजिक समस्याको समाधान गर्न म उद्यमी बन्ने निर्णयमा पुगेको थिएँ। समाजको समस्या समाधान गर्न उद्यमशीलताको जन्म हुन्छ। गोरखापत्र संस्थानमाा संलग्न हुँदा अमेरिकाको वेस्ट क्लिप युनिभर्सिटीको काठमाडौँस्थित कलेज प्रेसिडेन्टल बिजनेस स्कुलमा एमबीए पढाइ सुरु गरेँ। एमबीए पढाइको दौरान प्रत्येक हप्ता अनुसन्धान र मौलिकतामा आधारित असाइन्मेन्ट गर्नु पर्थ्यो। दुर्भाग्यको कुरा असाइन्मेन्ट गर्दा नेपाली उदाहरणहरु चाहेर पनि समावेश गर्नबाट बञ्चित भएँ। किनभने नेपालका सार्वजनिक संस्थाहरुबारे लेखिएका रिभ्यु, केस स्टडी ख्यातिप्राप्त जर्नलहरुमा एकदमै कम छापिएका छन्। यो नेपाली विश्वविद्यालय, बिजनेस स्कुलहरु, व्यवस्थापन विषयका प्राध्यापकहरु र विद्यार्थीहरुका लागि लाजमर्दो कुरा हो। त्यो अभावले गर्दा नेपालका सार्वजनिक संस्थाहरुमाथि वैज्ञानिक अनुसन्धान गर्ने र केस स्टडी लेख्ने भोक ममा जागेको छ।

एमबीए पढ्नुअघि ग्रामीण विकास, समाजशास्त्र तथा मानवशास्त्रको विद्यार्थी थिएँ। त्यो बेलाको समाजशास्त्र र मानवशास्त्रको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको छ। तर एमबीए पढाईको क्रममा थाहा भयो, नेपाली विश्वविद्यालयमा कसरी पास हुने र कसरी बढी नम्बर ल्याउने भनेर सिकाइन्छ। तर, मैले पढेको विश्वविद्यालयले चाहिँ पढेको कुरा व्यवहारिक जीवनमा कहाँ प्रयोग हुन्छ, कसरी प्रयोग गर्ने र समस्याको समाधान कसरी गर्ने भन्ने सिकाउँछ। यही अनुभव कफी भेटघाटमा यो पत्रिकाका प्रधानसम्पादक पूर्ण बस्नेतसँग सेयर हुन्थ्यो। अनि उहाँले पटकपटक उद्यम र उद्यमीहरुमाथि लेख्न उकास्नुभयो। परिणाम म फेरि नेपालखबर डिजिटल पत्रिकामार्फत पाठकहरुबीच हाजिर भएको छु। यो पत्रिकामा पाक्षिक रुपमा मैले उद्यम, उद्यमी, नेपालको सार्वजनिक संस्थाहरु र बजारशास्त्रबारे लेख्नेछु। प्रधानसम्पादक बस्नेतले लेखकीय स्वतन्त्रता प्रदान गर्ने बाचा गर्नुभएको छ।

पछिल्लो समयमा निजी स्कुल, ग्रामीण सडक सञ्जाल र उद्यम तथा उद्यमी शब्दको प्रयोगमा बाढी नै आएको छ। कृषि उद्यम तथा उद्यमी प्रवद्र्धन गर्न सरकारले प्याक्टजस्ता अनुदान कार्यक्रम नै चलायो। सहुलियतपूर्ण बिमा र ऋण कार्यक्रम पनि चालु छ। तर प्रत्येक वर्ष कृषिजन्य उत्पादनको आयात चाहिँ बढिरहेको छ। रुसले युक्रेनमा सैन्य हस्तक्षेप गरेपछि नेपालमा खाने तेलको मूल्य ह्वातै बढेको छ। गोलभेँडा र आलु आयात पनि वृद्धि भइरहेको छ। यो अर्थमा कृषिमा प्रदान गर्ने प्याक्ट र स्थानीय सरकारले प्रदान गर्ने अनुदान कार्यक्रमले अपेक्षित परिणाम ल्याउन सकेन। कृषिप्रधान देश कृषिमै आत्मनिर्भर हुन नसक्नु लज्जाजनक छ। 

कृषि अनुदान र सहुलियतपूर्ण ऋणबाट अपेक्षित परिणाम आउन किन सकेन? यसका दुई कारणहरु छन्, पहिलो कृषि अनुदानको दुरुपयोग र दोस्रो गलत बैंकिङ नीति। कृषि अनुदान सही उद्यमीहरु समक्ष पुग्दै पुगेन। राजनीतिक हस्तक्षेप र भ्रष्ट नोकरशाहरुहरुको कारण भ्रष्ट राजनीतिक कार्यकर्ताहरु मात्र यसबाट लाभान्वित भए। प्याक्टबाट अनुदान पाएका कृषि फार्महरु प्रायः अहिले बन्द भइसकेका छन्। ती अनुदान लिने कृषक तथा अनुदान दिने कर्मचारीहरु बा, जय नेपाल र मुड्की उज्याउँदै अहिले पार्टी कार्यालय र नेताहरुको वरिपरि घुमिरहेका छन्। प्याक्टको अनुदान लिई बीचमै कृषि फार्म बन्द गर्ने र अनुदान प्रदान गर्ने प्याक्टको कर्मचारीमाथि अख्तियारबाट छानबिन हुन सकेन। अब ट्रान्सपरेन्सी नेपाल र खोज पत्रकारिता केन्द्रजस्ता संस्थाले प्याक्टबाट अनुदान लिने फार्म तथा व्यक्तिहरुको नाम र अहिलेको स्थिति खोजी सार्वजनिक गर्नुपर्छ। ती भ्रष्ट्रहरुले उन्मुक्ति पाउनु हुँदैन। 

अब गलत बैंकिङ नीतिबारे छलफल गरौँ। नेपालको बैंकिङ नीति बढी ट्रेडिङ अर्थात बनियाहरुबाट प्रभावित छ। बैंकिङ नीति बन्दा उद्यमशील दृष्टिकोणलाई पुरै उपेक्षा गरिन्छ। सम्भवतः उद्योग वाणिज्य महासंघमा ट्रेडिङ गर्नेहरुको बाहुल्यता भएको कारण ऋण नीति ट्रेडिङ र सुदखोरहरुबाट बढी प्रभावित छ। उद्यमीमैत्री बैंक नीति नभएको दुई दृष्टान्तहरु छन्– नवउद्यमीले उद्यम सुरु गरेको पहिलो वर्ष नै नाफा हुन्छ भन्ने हिसाबले नीति बनिनु र दोस्रो उद्यम जीवनचक्रको सबैभन्दा जटिल चरणबाट पार पाउन पुनः कर्जा प्राप्त गर्ने नीति नहुनु। 

नवउद्यम वा उद्योगले पहिलो वर्षमै नाफा आर्जन गर्दैन। ट्रेडिङमा मात्र पहिलो वर्षमै नाफा आर्जन हुन्छ। उदाहरणका लागि भारतबाट संगिनी सुई लगाएको खसी र चीनबाट स्याउ आयात गर्यो। नेपालमा बेच्यो। तर, नवउद्यम वा उद्योगले नाफा आर्जन गरेको वासलात नदेखाए ऋण नवीकरण हुँदैन। यही कारण ऋण नवीकरण गर्न उद्यमीहरुले पनि सुदखोर संस्कृति अवलम्बन गरिरहेका छन्। उद्यमका पाँच चरणहरु हुन्छन्। जसमध्ये सबैभन्दा जटिल चरण चाहिँ उद्यमको स्थापना र मर्नुबाँच्नुको जटिल चरणबाट मुक्ति पाउनु। मर्नुबाँच्नुको चरणबाट मुक्ति पाउन पुनः लगानीको आवश्यकता पर्छ। पुनः लगानीको व्यवस्था नभए त्यो उद्यमले नाफा आर्जन गर्ने होइन मुत्युवरण गर्छ। नवउद्यम बन्द हुँदा एक सपनाधारी उद्यमीको सपना चकनाचुर मात्र हुँदैन, सरकारले ऋण र वीमामा प्रदान गरेको सहुलियत र बैंकको लगानी पनि डुब्छ। 

बैंकिङ नीति निर्माण गरिँदा उद्यम दृष्टिकोण उपेक्षित हुनाले उद्यमी नफस्टाएका हुन्। तथापि वर्तमान अर्थमन्त्री जनार्दन शर्माको सार्वजनिक अभिव्यक्ति उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका छन्। उनले सार्वजनिक रुपमा भनेका छन्, उत्पादन र ट्रेडिङबीच फरक हुनुपर्छ। मन्त्री शर्मा बोल्नेभन्दा गर्ने कित्ताका नेता हुन्। यही कारण उनका अभिव्यक्तिमा मलाई विश्वास लाग्छ।

उद्यमीहरुको आवाजलाई अर्थतन्त्रको मूलधारमा ल्याउन पनि म पत्रकारिता लेखनमा पुनः हाजिर भएँ। 

इमेलः ktmtoday@gmail.com

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .